Oct 28, 2008

एउटा सुब्बा बुढो जो समय र आयु किन्न खोजीरहेछ

राजेश राई
writer_bhumiputra@yahoo.com
जीन्दगी ७३ औ बसन्तको उत्तरार्द्धमा छ तर उसलाई कुनै फुर्सद छैन पछाडी फर्केर आजसम्म बाँचेको समयको आत्मसमिक्षा गर्न । उनलाई आजसम्म कुनै फुर्सद भएको छैन बितेको ७३ बसन्तलाई चिहाउने । उनलाई हतारो छ र अझै चिहाईरहेछन् एउटा उज्यालो जीन्दगीको बलेशीबाट नयाँ क्षितिजको उज्यालो । यद्यपी आजसम्म उनी उज्यालै उज्यालो बाटो हिडेर आएका छन् र पनि नयाँ उज्यालोहरु चिहाउँदै दौडिरहेछ एउटा पीरको भारी बोकेर । उनलाई सधै सताउने पीर हो - "कतै लेख्दा लेख्दै वा लेखी नसकी मरिने पो हो की ?" यही पीरको भारी बोकेर दौडीरहेको बेफुर्सदको जीन्दगी हो ७३ बर्षिय साहित्यकार धनहाङ्ग सुब्बाको ।
दार्जीलिङ्गको भारती कालदेखी उदाएका साहित्यकार धनहाङ्ग सुब्बाले बि.स २०१६

स्रष्टा धनहाङ्ग सुब्बा र उनको पछिल्लो कृति लिम्बुवानका लोककथा

मा नै "हसिमा"कथासंग्रह प्रकाशन गरेर जीवनको उज्यालो यात्रा सुरु गरेका हुन् त्यसपछि भविष्य निर्माणको क्रममा जीवनको झन्डै आधा वसन्त बेलायती सेनामा बिताए । बेलायती सेनाबाट अबकाश पछि भबिष्य निर्माणकै क्रममा बेलायती परियोजना लिएर २०/ २१ बर्षअघि नेपाल छिरेका सुब्बाले "सलमत जलान " कथा संग्रह धनकुटामा बसेर लेखे र उत्कृष्ट कथा सग्रहको दर्जामा दर्ता गराए । त्यसो तर इन्द्र बहादुर राई, राधिका राया,लिल बहादुर मुखिया जस्ता वरिष्ठ साहित्यकारहरु उनका समकालिन लेखक हुन् । बि.स २०१६ मा नै हसिमा कथासंग्रह प्रकाशन गर्दा यीनको लेखनमा उनीहरु जतिकै परिस्कृत लेख्ने गर्थे तर भविष्य निर्माणको क्रममा बेलायती सेनामा गएपछि उनका समकालिनहरुले जस्तै नगरी चहि लेख्न उनको ठम्याई छ ।
नेपाली साहित्यको उर्बर भुमी दार्जीलिङ्गमा जन्मिएर जीवनको उज्यालो खोज्दै हिड्दा बेलायतमा आधी जीवन बिताएर बाँकी जीवन धनकुटामा बिताउन आएका यी साहित्यकारलाई यतिबेला हतारो छ आफुले ओढेको आकाश र टेकेको धर्तीसगँको आफ्नो जातीको सम्बन्ध केलाउन र त उनी खोजीरहेछन् लिम्बुवान भित्र पुरिदै गएका लिम्बु जातिहरुको अतितको गौरव गाथा । मर्दै बाचेका ती विगतका गाथाहरुलाई जीवन भरीरहेका छन् । उनले भर्खर मात्र लिम्बुवानका लिम्बुहरुको आदिम इतिहासका ६० वटा प्रमाण बटुलेर प्रकाशन गरेका छन् लोककथा संग्रह "लिम्बुवानका लोककथा" ।
जीन्दगीलाई समिक्षा गरेर बस्ने बेला उनले पूर्वी नेपालको लिम्बुवानको लिम्बु बस्तीको चहारेर संकलन गरेका हुन् लिम्बुवान भित्रका ६० लोककथा । ती लोककथाहरुमा लिम्बु जातिको आदिमा इतिहास छ , आदिम संस्कतिको प्रतिबिम्ब छ लिम्बु जातिहरुले आदिम युगमा बाँचेको जीन्दगीको कथा छ । आज प्रबिधि र विज्ञानको युगमा कसैलाई यी कथाहरु .अकथा वा अरु केही लाग्न सक्ला तर यो कथाहरु लोकवार्ताविज्ञानको निमित्त एक अमुल्य निधि र लिम्बु जातिहरुको लागिको लिम्बु जाति भनिनु वा लिम्बु हुनुको एउटा गर्व हो । लिम्बुहरुले यो कथाहरु पढेर आफुले ओढेको आकाश र टेकेको माटोसगँको आफ्नो आदिम सम्बन्ध खोजी वर्तमानमा एउटा उत्साह बटुल्न सक्नेछन् लिम्ब हुनुको गर्व ।
लौरो टेकेर लिम्बुबस्ती चहादै लिम्बुवानको लोककथा प्रकाशन गरेपछि पनि सुब्बालाई फुर्सदको महशुस भएको छैन र फेरी सताईरहेछ त्यी चिन्ताले - "कतै लेख्दा लेख्दै वा लेखी नसकी मरिने पो हो की ?" आधा जीवन बन्दुक बोकर बिताएका सुब्बाले यो बेला भगवानसगँ प्राथना गरिरहेछ कलमसगँको सयम थपिदेउ भनेर । उनी भन्छन् मलाई अरु केही चिन्ता छैन केही बर्षअझै बाचेर लेख्न पाए हुन्थ्यो । बन्दुक बोक्दा पनि उनले नलेखेको नपढेको त कहाँ हो र बन्दुकको समय चोरेर उनी कहिले हराउँथे लक्ष्मीप्रसादरु र पारिजातहरुमा । डयुटीको सयम बाहेक सबै सयम अध्यान र लेखनमा लगाएको उनी
बताउँछन् । सुब्बा यो उमेरमा पनि दैनिक ५ घन्टा भन्दा पढार्इमा बढी र ४ घन्टा लेखीरहेका छन् । यतिबेला पनि सम्मान पुरस्कार थाप्न जादाँको समय भन्दा सबै लगानी गरीरहेछ लेखनमा । उनी अझ धेरै बाचेर धेरै लेख्न चहान्छ , आफुले आढेको आकाश र टेकेको धर्तीसगँको साईनो पत्ता लगाउन चहान्छ । उनी भन्छन्- "बेफुर्सद छ जीन्दगी , कसैसगँ समय अथवा आयु बिक्रीमा भए म किन्ने थिए ।" यदि कसैसगँ समय र आयु बिक्रीमा भए धनहाङ्ग सुब्बालाई खबर गरिदिनु होला ।

Oct 18, 2008

डीबीको ‘आलाप’, मेरो प्रलाप !

प्रदिप कन्दङवा(लिम्वू)
सँगीतका तीन सँघटकहरु भएको मानिल्याउँदा केन्द्रमा शब्द आसीन भएको मान्नुपर्दछ । शब्दको मियो समातेर संगीत र स्वरले आकार ग्रहण गर्दछन् । स्रष्टाको चेतनामा जब कुनै तार झँकृत हुन्छ तब त्यहाँ सहसा कुनै धुन तरँगित हुन्छ तर पूर्ण चेतनामा नभई अवचेतनमा हुन सक्दछ । तरँगित त्यही धुनको इर्दगिर्द केवल चेतनमा मात्रै होइन परन्तु चेतनाको अटल गहिराइमा थिग्रिएका, अबउप्रान्त भावना मात्र होइन, विचार सहितका शब्दहरु नै गीत बनेर सतहमा उत्रनुपर्दछ भन्ने आग्रह हो, दुराग्रह होइन । यसरी शब्दमा निहित सँगीतका धुनहरु भावनाको कोमल बाटो भएर पहिल्याउँछन् सँगीतकारहरु भनेर दाबी गरिदिँदा के कति होंचो अर्घेलो पर्ने हो भन्न सकिएन । शब्द र सँगीतको संयुक्त प्रयोजनबाट निर्मित गीतको गेडामा स्वर भर्छन् गायकहरु जो प्राकृतिक रुपमा स्वरसम्पन्न हुन्छन् । स्वर एउटा प्राकृतिक गुण हो । जो प्राकृतिक रुपले दरिद्र छ, उसले यो प्रयास गर्नु सोह्रैआना गलत भनिहाल्न पनि सकिँदैन, किनभने यदाकदा बढी मेहनतका कारण या अपवादिक रुपमा त्यस्ता गायकहरु पनि सफल भएको देख्न सुन्नमा आएको कुरा झुटो बुझ्नु हुँदैन । समग्रमा संगीत पनि जीवन जस्तै अपरिभाषित हुनेरहेछ । अथवा संगीतको सर्वमान्य परिभाषा नहुनेरहेछ, भन्ने लागेको छ ।मैले डीबी पालुङ्वालाई एक सशक्त कविको रुपमा लामो समयदेखि सुन्दै, पढ्दै र चिन्दै आएको थिएँ । एकदिन उनले साँगीतिक एलबमको तयारीमा आफू जुटिरहेको बताउँदा मनमा अनेकौं उत्सुकताहरु पलाएका थिए । पलाएका उत्सुकताहरु ओइलाउन ओइलाउन लाग्दा उनले “आलाप” नामको एक साँगीतितक एलबम मेरो हातमा थमाइदिए । त्यतिखेर उनको आँखामा आलोकित हर्षानुभूति मैले ऐकै निमेष अवलोकन गर्न भ्याएको थिएं । कामको थुप्रै चट्टारोबाट जबरजस्ति उम्किएर म आलापको विमोचन समारोहमा सरिक हुन पुगेको थिएं । त्यहाँ आलापबारे केही बोलिरहँदा परोक्षमा एउटा डरले गाँजिरहेको थियो । मैले आलापलाई दोहोर्‍याएर सुन्न भ्याएको थिइँन । कतै आलापउपर प्रलाप पो भइरहेको छ कि भन्ने एउटा धमिलो शंका मनमा हुर्किरहेको थियो । आलापमा आठ गीतहरु समाहित भएका छन् । डीबी पालुङ्वाको एकल रचनामा वरिष्ठ संगीतकार दिनेश सुब्बालगायत नेपालका ख्यातिप्राप्त संगीतकारहरुले संगीत दिएका छन् । त्यसैगरी स्वरका राजा राजेश पायल राई समेतलाई डीबीले आफ्नो एलबममा समेटेका छन् । राजेश पायललगायत अरु पनि ह स्ती गायकहरुले यो एलबममा स्वर भरेका छन् । डीबीले आफूलाई कविताबाट गीततर्फ संक्रमित गराउँदा के कति संकष्टहरु झेले होलान् ? -बेला बखत त्यतातिर मन सर्किरहन्छ । गीत लेखनमा एउटा संकुचनको अवस्था रहन्छ कवितमा जस्तो उन्मुक्ति हुँदैन । लगभग हात-खुट्टा बाँधिएको लाचार अवस्थामा गीतका शब्दहरु कोरलिन्छन् । तर जति कष्ट साध्य गरेर गीतकारहरुले गीत सृजना गर्छन् त्यस अनुपातमा क्रेडिट पाउँदैनन् । यो दुःखद बिडम्बनाबाट गीतकारहरु मुक्त हुन अब गीतमा कला, भावना र विचारको पनि खरो सम्मिश्रण हुनुपर्दछ । गीतमा भावना मात्र हुँदा श्रोताले गीत सुनेर आन्नद उठाउँछ र उसले सीधा स्वरसँग मात्र आफ्नो सम्बन्ध बनाउँछ । जब गीतमा विचारपक्षले आफ्नो ठाउँ बनाउँछ तब विचारले स्वाभाविक रुपमा श्रोताको दिमाग कोतर्न थाल्छ, परिणाममा श्रोता र गीतकारबीच एउटा पुल बाँधिनसक्छ । विचार र सिद्धान्त बोकेका गीतहरु विशुद्ध मनोरन्जनको कित्ताबाट अलग्गै हुनुहुँदैन तर गीत पनि समाज र राष्ट्र परिवर्तनको संवाहक हुनुपर्दछ, केवल मनोरन्जनमात्र गीतको अभीष्ट हुनुहुँदैन । सृजनामा विचार हावी भएपछि त्यसको कलापक्ष कमजोर हुन्छ भन्ने पूरातन मान्यताबाट निर्देशित छौं हामी, त्यो मान्यतालाई भत्काउन सृजनामा सावधानी अपनाउन आवश्यक देखिन्छ ।डीबीले निकै लामो समय, श्रम र पैसासमेत खर्चेर “आलाप” नामक जो गीति एलबम नेपाली संगीतमा भित्र्याएका छन्, विचारेर ल्याउँदा पहिलोजस्तो पटक्कै लाग्दैन । हुन त पहिलो सबै कमसल हुन्छ भन्ने पनि सत्य कुरा होइन । एलबमभित्र समेटिएका शब्दहरु शिल्प र शैलीगत हिसाबले उत्कृष्ट लाग्दछ । सृजनामार्फत आफूलाई अमर बनाउने गीतकारको चेष्टा गीतमा समेत अवतरित भएको छ । एलबम भरिका गीतहरुमध्ये “अजम्बरी” शीर्षकको पहिलो नम्बर गीतलाई शब्द, संगीत र स्वरको हिसाबले यो एलबमकै प्रतिनिधि गीतको रूपमा लिन सकिन्छ । त्यसपछि तीनवटा खुड्किला एकैचोटि चढेर “म त कुनै वस्तु भएछु” बोलको ५ नम्बरको गीतमा नपुगी धरै छैन । यो गीतमा प्रयुक्त भएका शब्दहरुबाट उदभेदन भएका विचारहरु दुई धारबाट नियाल्न सकिन्छ । पुरुष शासित समाजबाट परित्यक्त नारीले आफूलाई खेलौनाको रुपमा अनुभुत गर्दाको बिलौना हुनसक्छ यो । अर्को, समाजका जान्ने बाठाहरु, जाली झेलीहरु, राजनीतिक नेताहरुबाट एउटा आम मान्छे जसरी भकुन्डिन्छ त्यसैको प्रतिरुप हुनसक्छ यो गीत । झट्ट सुन्दा यो गीत पप फ्लेबरमा बनिएको रहेछ जस्तो लाग्छ तर त्यो भ्रम तत्काल निवारण हुन्छ जब श्रोता अन्तरामा प्रवेश गर्छ । यो गीतमा लासमितको स्वर लिम्बूनीको शिरमा शिरबन्दि जत्तिकै सुहाएको छ । फेरि पछाडि फर्केर “सुवास छरी” बोलको ३ नम्बरको गीतमा केही क्षण घोत्लिन मन लाग्छ । यो गीतले बोकेको भाव अमूर्त छ तर छ अभिब्यक्तिको जादुगरी । डीबीको शैली शिल्पको अनुपम नमुना । यो गीत वास्तवमा सुन्नमा जस्तै पढ्नमा पनि आनन्द आउने खालको छ । सुनिता सुब्बाको खारिएको स्वरले यो गीतको वजन केही बढाएको छ । उल्लेखित ३ बाहेक अरु ५ गीतलाई भावार्थ मात्र होइन, स्वर र संगीतको हिसाबले समेत एउटै कित्तामा राख्न सकिन्छ । यद्यपि “कल्पनाको सागरमा” बोलको ३ नम्बरको गीतको बारेमा थोरै चर्चा गर्दा स्वरका राजा राजेश पायल राईको संगीतपक्ष अलिक फितलो महशुस हुन्छ । तारा प्रकाश लिम्बू संगीतमा नयाँ नामजस्तो लाग्छ । नयाँ नाम हुँदैमा नयाँ काम हुन्छ भन्ने कुनै ज्ञारेन्टि हुँदैन । आधुनिक गीतको परम्परागत शैलीलाई उनले छोड्न नसकेको आभास हुन्छ ।आधुनिक संगीत संकटको भुमरीमा फसेको समयमा “आलाप” ले खुट्टा टेकेको छ । अब अगाडि बढ्न हिन्दी, पप, रिमिक्स, रिमेक, इङ्लिस, लोकगीत आदि ईत्यादिजस्ता बारहरु भत्काउनुपर्ने हुन्छ । जसको निम्ति नेपाली संगीतका श्रोताले आफ्नो मौलिकतामा विश्वास गर्न सक्नुपर्छ ।डीबीको प्रथम गीति एलबम आलापले नेपाली संगीतको दुनियाँमा आफ्नो स्थान बनाउला भन्ने कुरामा शँका नरहला । यद्यपि समग्रमा “आलाप” पारम्परित नेपाली आधुनिक गीतको कित्तामा उभिनेछ भनेर भन्दा अर्घेलो नहोला भन्ने आशय मात्र हो । डीबीलाई “आलाप”को निम्ति बधाइको साथमा सफलताको शूभकामना टक्र्याउँछु ।सेवारो आदाङ्वे ।

Aug 14, 2008

''आलाप'' लाई छोटो चिनारी

विमल राई
हङकङको कोलाहलमय कर्कष आवाजहरुलाई विस्थापित गर्दै भर्खरै आम् नेपालीहरुको समुदायमा एउटा गीति संगालो 'आलाप' सप्रेम् भेटको लागी आएको छ । सबै आधुनिक गीतहरु एउटा शुन्दर कृतिको रुपमा । हङकङकै मोफसलमा रहेर दिनचार्यबाट बचेखुचेको समयको पलहरुलाई सदुपयोग गर्दै आफ्नो भावनाको वाकटे हान्ने उही गीतकार डि.वी. पालुङ्वाको शब्दहरुमा सजिएको 'आलाप' । हङकङ नेपाली साहित्य प्रतिष्ठानले जुलाई एक तारिकका दिन जोर्डन स्थित नेपाली कलवको सभाकक्षमा आफ्नो नवौं वाषिकउत्सवको दिन हङकङका लागी नेपाली महाबाणिज्यदूत श्री केशव प्रसाद भट्टराईद्धारा लोकार्पण गरिएको थियो । यहांको साहित्यीक उर्वर भूमिमा श्रृजनाहरु एक पछि अर्को गर्दै जन्मिने क्रममा फेरी अर्को श्रृजनाको फ्ल फुलेको छ । सन्देह छैन गीतकार हङकङमा
गीतको क्षेत्रमा कलम चलाउने संग कुम दोजाउन आई पुग्नु भएको छ । वहांले आठ वटा गीतहरुलाई आफनो पहिलो कृतिको रुपमा संग्रह गर्न पुग्नु भएको छ । हामी नेपालीहरु प्रवासीए पछि गांउघरको लोकभाका र आधुनिक गीतहरुबाट करिव करिव वन्चितै हुन पुगेको अवस्थामा यस्ले हामीमा खटकिएको आभासलाई केही हद सम्म पुरा गरि दिएको छ ।
गीतहरुमा फरक फरक वान्की र स्वाद पस्कनु गीतकारको शिल्पमा निखारपन्को आभास पाईन्छ । गीत र संगीतको तालमेलमा ब्यापक सामन्जस्य छ । गीतकार भन्नुहन्छ एउटा पूर्ण गीत लेख्न त्यति सजिलो छैन , विषय वस्तुको गहिराइमा डुवेर आदी मध्य र अन्त्यमा एउटा सिङगो कथा अटेको हुनु पर्दछ । वास्तवमा वगुन्द्र शब्दहरुको थुप्रोबाट मात्रै गीतको स्वरुप बन्न सक्दैन । जसमा मौलिकताले सजाएर संगीतले स्वरुप दिनु पर्छ अनि स्वरले सिगार्नु पर्छ ।
माया, पिरती, र मिलन, विछोडको समानन्तरमा यथार्थपरक ''अजम्वरी को छ र'' - जस्ता शब्दहरुमा ''मान्छे संगै मरेर नजाओस कुनै श्रृजना'' भन्ने गीतकारको उत्वेगहरु अव्वल दर्जाका रचनाकार वन्नुका मापक हुन् । चार नम्वरको गीतमा प्रवासीनुको पीडाले गीतकार रुनु रुन्छन् । जुन यो सवै विदेशिएका प्रदेशीहरुको पीडाको प्रतिविम्व हो यो । संझदा संझदैं गाउमा आफनो खसम्लाई पर्खि वसेकी प्रियसीलाई अंगालोमा बांध्ने सपना बुनेर आस्वासन दिन्छ यसरी कि ''हत्तार छ मलाई पनि खुसी लिई आउन'' भन्ने उदघोषले प्रियसीको वहकिएको मनलाई बांध्ने मन्त्रको जाल फयांकेर भए पनि केही दिनको लागी धैर्य धारण गर्ने आश्वासन दिन सफल भएका छन् गीतकार यहां । सायद येही हो परदेशीहरुको मन बुझाउने आधार । धुनहरुले श्रृगार पटार गरेर चिटीक्क पारेका छन् । संगीतका हस्तीहरु दिनेश सुब्बा , शीला बहादुर मोक्तान , राजेश पायल राई , महेश खड्का , र तारा प्रकाश लिम्बुले नेपाली संगीतलाई कति पनि खति नगरीकन मौंलिक धुन भरेका छन् । पाश्चात्य संगीतको आंधीले नेपाली मौलिक संगीतलाई विस्थापित गर्लाकी भन्ने आजको अवस्थामा यस सांगीतिक संगालोले आम नेपाली चिन्तकको शंका केही हद सम्म निवारण गरीदिएको छ । स्वरका सगरमाथाहरु दिनेश सुब्बा , राजेश पायल राई , दीपक लिम्बु , लासमित राई , जगदीश समाल , सुनिता सुब्बा , अन्जु गुरुङ ,र रुपक डोटेलको आवाजहरुको बारेमा श्रोताहरुले नै मुल्याङकन गर्नु हुनेछ ।
गधताबाट पुरै अलग नगएर छन्दको पुरै कित्तामा नपरेर माझधारहरुमा अन्तराहरुको मिठासमा कता कता नौलो आभाष पाईन्छ । श्रोताहरुले श्रवण गर्दै जांदा भावनाको सम्प्रेसण आफैमा अन्त्यको महसुस हुन्छ । शब्द , संगीत , र स्वरको तादत्म्यता विशिष्टको छ भन्दा अतिरन्जित नहोला । श्रष्टाको श्रृजना
श्रेष्ठ भएर पनि र्सवश्रेष्ठ हुन सकेको पाइएन । म त कुनै वस्तुको वोलको गीत अरुको तुलनामा केही कमजोर छ र गीतहरु बज्नु भन्दा अघि गीतकार गीती संगालोको बारेमा एउटा चिनारी उदघोषण हुनु पर्थ्यो । जुन नेपाली परम्परा हो । श्रष्टाले आफनो श्रृजना जनसमक्ष ल्याउने सवालमा संभवत वहां नै प्रथम हुनुहुन्छ साक्षात्कार मार्फत आफना मनका मिठा शब्दहरु पोख्नुहुने । साक्षत्कारको विषय राखेर गीतकारले आफनो कवित्वको पहिचान दिएका छन् । उक्त अभिब्यक्तिले गीतकारबाट भबिष्यमा पुन अरु पनि केही आशा राख्नु पर्ने सम्भावना श्रृजना भएका छन् । मेरो तर्फबाट श्रध्दाका फूलहरु उनै डि.वी.पालुङवाका '' आलाप '' भित्रका शब्दहरुलाई , जसले श्रोताहरुको मन जित्न सकोस् ।

Jun 22, 2008

"सार,, अलवम सुनिसकेपछि

राम कृष्ण बान्तवा
साधरण यौटा लेखकले गीत संगीतको समिक्षा गर्नु भनेको आकासको ताराहरु गनिसक्छु भनेजस्तै हो । त्यसैले यो ,,सार अलवम,, को समिक्षा होईन मात्र सुनिसकेपछिको मेरो ब्यक्तिगत अभिब्यक्ति हो यो । संगीतको समिक्षा गर्नै परेमा हंगकंगका बरिस्ट संगीतकार व्दय दिनेश सुब्बा नागेन्द्र श्रेष्ठहरुनै गुहार्नुपर्ला र गीतको जो बोल छ त्यस्को लागि यो रामकृष्ण बान्तवा पर्याप्त नहोला । जे होस म यहा संगीतको कुरापनि गर्दिन । कवि टंक सम्वाहाम्फे मुलतः मैले चिनेको स्वच्छन्दतावादी कवि हुन । तर आज कविमात्र नभएर गीतकारको लहरमापनि चर्चित भईसक्नुभएको छ । उनै बहु प्रतिभाशाली लेखक गीतकार टंक सम्वाहाम्फे र उनकै बारेमा अलिकति र थोरै गायक कृष्णभक्त र्राई को बारेमा कुरा गर्न चाहन्छु यहाँ ।
मलाई थाहा भएअनुसार टंकजीको यो दोश्रो अलवम हो, पहिलो अलवम "मनोभाव,, त्यो पनि उच्च कोटीको मैले ठानेको छु । जुन अघिल्लो मनोभाव अलवम हो त्यस्को पुरै गीतहरुमा दिनेश सुब्बाले संगीत दिनु भएको थियो भने यस पटकको दोश्रो अलवम "सार,,मा भने पहिलो "गुरास टिपी लाएको थियौँ,, बोलको गीतमा श्री सुब्बाको संगीत रहेको छ र त्यसैगरी "अर्को एउटा सुन्दर संसार थियो,, भन्ने गीतको बोलमा हेमन्त शिशिरको संगीत रहेको छ, बाँकि अरु ८ गीतहरुमा चर्चित गायक कृष्णभक्त र्राई स्वयंको संगीत रहेको छ । ११ वटै गीतहरु टंक सम्वाहाम्फेका एकल रचना र कृष्णभक्त र्राईको एकल स्वर रहेको छ, अलवमको छोटकरी परिचय ।
एउटा कुरा यहाँ मलाई खट्केको र उल्लेख गर्न मनसुवा के छ भने अस्ति भर्खरै साप्ताहिक सनर्राईज पत्रिकाको कार्यलय जोर्डनमा अचानक गीत संगितको चर्चा परिचर्चा उठदा आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष तथा सनर्राईज साप्ताहिकको सम्पादक भुपेन्द्र चेम्जोङ र हंगकंगका बरिष्ट स्वतन्त्र पत्रकार तथा गीतकार र्राई चन्द्र दुमी ज्यु ले भन्नुभएको थियो "हैन बान्तवाजी पपगीतहरु त कति मार्मिकपनि छन, जस्तै तपाईको र नागेन्द्र श्रेष्ठको लोक तथा पपगीत "आवाजसंग शब्द छैन,, भन्ने उता गायिका आभा मुकारुङ र तपाईको "माया लाउँन पनि गाहारो,, भन्ने गीत भयो अरु गीतहरुपनि थुप्रै छन तर यो पप, रक र र्यापहरुले भर्खरका उमेरदारी युवा युवतीहरुलाई,त पागलमात्र बनाउँछ,, उहाँहरुले यसैगरी भन्नुभएको थियो र मैले भनेको थिएँ समय अनुसारको परिवर्तन हो यो ।
तर अहिलेत झनै नयाँ नेपालको परिकल्पनामा नयाँ नयाँ कुराहरुको जन्म सुरु भएको छ । त्यसैपनि नेपालमा बिभिन्न धारहरुमा गीत आईरहेको थिए र छन पनि । जस्तै पप गीतहरु भयो, रक र र्यापहरु,ज्याजहरु भयो तर पनि आधुनिक गीतहरुको कमी आएको छैन गीतकार टंक सम्वाहाम्फे र गायक कृष्णभक्त र्राईको "सार,, एलवमपनि आधुनिक गिती संग्रह नै हो । म के भन्छु भने यौटा गीतकार भएर गीत लेख्ने भन्दापनि फुर्नुपर्ने हुन्छ, जीवन र जगतसंग सम्बन्धित कुनै परिघटना हाँसो रोदनको जन्म हुनुपर्यो मस्तिष्कको केन्द्रबिन्दूमा । अर्को कुरा जुन भावनामा डुवेर गीत लेखीसकेपछि थोरै सेन्सरसिप अथवा परिस्कृत हुनपनि जरुरी हुन्छ, पछि गरौँ यो कुरा । भोजपुर छिनामखुको साहित्यानुरागी भाई मन बहादुर गुरुङले पनि टंकजीको "सार,, अलवम सुन्नुभएछ, भन्दै हुनुहुन्थ्यो बान्तवा दाई ! टंकजीको गीतहरु नयाँ आएछ नयाँनै रुप लिएर, मलाईपनि गाईड गर्नुपर्यो गीत लेख्ने रहर लागेको धेरै भईसक्यो गीत कसरी लेखिन्छ - मैले भनें मन जी, गीत लेख्न सजिलो अवश्य छैन जस्लाई गीत सम्बन्धि चेतना चाहिन्छ अलिकती सिम्वोलिकतालाई लिएर रचना गर्नको लागी यस्को प्राविधिक पक्ष जान्नु जरुरी हुन्छ र गड गिफ्टपनि थोरै चाहिन्छ । गड गिफ्ट मैले किन भनेको हो भने सवैकुरालाई छाडेर सवैभन्दा पहिलो कुरा,त गीत लेख्नको लागि फुर्नु पर्यो, भावनामा कुनै यौटा बिम्ब अंकुराउँनुपर्यो । त्यसपछि त्यो लयात्मक रुपमा अभिब्यक्त हुनुपर्यो । त्यसपछिमात्र गीतको कलापक्ष बनाउँनुपर्यो । टंक जी को गीतमा त्यहि भएरनै तपाईलाई वहाँको गीत स्तरिय लागेको हो, अर्को कुरा गीतमा शब्द कठिन राख्नुहुँदैन । यस्तो कसरत गर्नथाल्यो भने यता भावको मृत्यु हुनजान्छ, एकदमै सरल हुनुपर्छ जस्तै सुकाउँने जस्तो स्वाट्ट तान्ने बित्तिकै सरक्क खुल्ने हुनुपर्यो र म भन्छु गीत लयबद्धतापनि होस त्यत्तिकै भाव र अलंकार प्रतिकात्मकता भयोभने बल्ल गीत राम्रो हुने हो । टंकजीको गीतहरुमा यिनै कुराहरु छन भनौँ न सरल, सुन्दर, सुकोमल र कोमल तथा कलात्मकता शैलीमा वहाँले "सार,, को सार खिचेर अलवमको गीतहरु रचना गर्नुभएको छ र यो पूर्ण हुन पुगेको छ, छुटेको छ त नगन्य कुराहरुमात्र जस्लाई राम्रो पक्षले जितेर गणनामा आउँदैन । उनका गीतको शब्दहरुमा युवा सुलभ प्रणय, स्वच्छन्दता, समाजवोध, प्रकृतिमोह, भावुकता, मानवता, लोकलय तथा लयात्मकता, कारुणिकता, भाषिक कोमलता आदी बिशेषताहरु उहाँको गीतहरुको प्रबृत्ति भन्न सकिन्छ । म भन्छु मानिसको बिशिष्टतामा उद्घाटित यो मनुस्य जीवन सुमधुर धुन भरिएको गीत हो , सृष्टिको सुन्दरतम भाव सहितको मिठो कविता हो ।
मैले भन्नैपर्दा टंक जी को गीतहरु धेरै गहिर्राईमा डुबेर सुन्दा समुन्द्रभित्र मोति खोजे जस्तै लाग्छ । यौटा कुरा हामीले के बुझ्नुपर्छ भने साधरण आँखाले नदेखेको र चेतनाले भेउ नपाएको धेरै गहन कुराहरु कलाकार, साहित्यकार , संगीतकारहरुले देखेका ठम्याएका अनि नजिकबाट सुम्सुम्याएका हुन्छन । जुनकुरा बाहिर प्रकासमा आए तिनैले समाजको गतिबिधि र धारणालाई बदलिदिन सक्छ । त्यसैलेत भनिन्छ साहित्यकार समाजको ऐना हुन, जस्लाई पढ्दा समाजको हुवहु रुप देखिन्छ । यि कुराहरुलाई केलाएर हेर्दापनि गीतकार टंक सम्वाहाम्फे र गायक कृष्णभक्त र्राईको यस अलवम यौटा बहुमुल्य योगदान नेपाली समाजलाई भएको छ । तथापि आफ्ना घाउको पींडाहरु अरुलाई पोख्दा जति शान्त्वना र आनन्दानुभूति,त सायद त्यो घाउनै निको भईसक्दापनि नहोला । अर्को कुरा जुन पींडाहरु सुनिदिने बुझिदिने समाजमा कति छन त्यो नै मुख्य कुरा हुन्छ । गीतकार टंक सम्वाहाम्फे र गायक कृष्णभक्त र्राईका गीतहरु सुन्दा लाग्छ मानिसको कारुणिक जीवन र वेदनालाई भावुक अभिब्यक्ति दिईएको यस "सार,, अलवमको गीतहरुमा भाव मार्मिक लाग्छ । हुनत गीतको पहिलो प्रायोजन आनन्द हो तर हामीले के भुल्न भएनभने गीतले आनन्दको अलावा रुवाउँने र हँसाउनेपनि गर्छ । हिजोआज गीत सुन्नेमात्र नभएर हेर्ने चलनपनि आएको छ । रेडियोमा सुन्दा ठिकठिकै लागेको गीत टेलीभिजनमा हेर्दा धेरै राम्रो लाग्नसक्छ । अर्को कुरा के भुल्नु हुँदैन भने हामीले गाएको गीतलाई संगीतबाट छुटाएर कापिमा उतारेको शब्द पढदा साहित्यिक मुल्य कम भएका गीतहरु क्षणिकमात्र हुन्छन भनेर बुझ्नु पर्यो । मलाई लाग्छ जहाँ जुन गीतमा कविताले छोईदिएको छ त्यो गीतनै जीवन्तता हुन्छ, टंक जी स्वयं कवि भएकै कारणलेपनि यो कुरा वहाँको अलवममा राम्ररी समेटनु सक्नु उहाँको लागि बायाँ हातको खेल भएको जस्तो मलाई लाग्छ । वहाँका गीतका शब्दहरु हेर्दा मलाई राम्रो अर्थ आईरहेको छ ।
मैले बुझेअनुसार हाम्रो मुलुकमा मात्र नभएर बिस्वमै गीतकारको शक्ति संगीतकार, गायक गायिकाको भन्दापनि माथि देखिएको छ, सुनिरहेकोपनि छु कतिपय स्तरमा जस्तै भनौँ हाम्रै मुलुकका मोतिराम भट्टका गजलहरु अहिलेपनि गाईन्छन । त्यो बेलाको गायक, गायिकाहरु गीत गाउँने अवश्थामा,त छैनन, संगीतकारहरु पनि छैनन भने गीतकारहरुको आयु कति लामो हुँदोरहेछ, आफै बुझ्ने कुरा हो यो । प्रायः नेपालीमामात्र गीतकार र साहित्यकारहरुलाई नगनिएको अवश्था छ तर पश्चिमी मुलुकहरुमा गीतकार र साहित्यकारहरु धेरै माथि छन । एउटा के भईदियो भने गीतको सर्न्दर्भमा चाहिं गायक गायिकाहरु अगाडि प्रिजेन्ट हुन्छन र नै उनिहरु गायन क्षेत्रको लागि नायक नायिका होईहाल्छन । प्रत्यक्ष रुपमा गायक गायिकाहरुको स्वर आउँछ तर संगीत र शब्द कस्को हो भनेर बुझ्ने हाम्रो मुलुकमा यो स्थितिको चेतना भने आईसकेको छैन । साँच्चिनै भन्ने हो भने हाम्रो मिडियाहरुलेनै साहित्यकार, गीतकार र संगीतकारहरुलाई ब्याक गरेर सम्पे्रशन गर्छन । मिडियानै भावनात्मक हुन सकेको छैन जड कुरा कुन हो थाहा छैन अगाडी आएको कुरामात्र देख्ने हामी मिडियाहरु सभ्य हुन सकेकको छैनौँ कि कुनै कुरा हुनलाई त्यस्को आधारहरु त्यस्को पछाडी के के छ त चियो गर्न सकेको छैनौँ । जहासम्म कपी राईटको कुरा गर्र्छौँ, कपी राईटमापनि साहित्यकार गीतकारहरुनै बलिया हुन्छन ।
जे होस यो चाहीं हामीले बुझ्नुपर्छ गीतकारको चर्चा हामीलाई कम भएजस्तो लागेको मात्र हो, तर खासमा गीतकारहरु साहित्यकारहरु अमर अजर रहन्छन, तत्कालको लागि त्यस्तो महसुस भएको मात्र हो, यो कुरा ध्रुवसत्य छ । जिवितमा सारंगीको तार मुखिया, म त लाली गुरास भएछु क्षेत्र प्रताप अधिकारीहरु जस्ता अरु धेरै छन र स्वर्गीयमा म.बि.बि. शाह, अल्झेछ क्यारे पछ्यौरी भूपि सेरचनहरु गीत सुनिसकेपछि खोजिने नामहरु हुन र कस्को हो भनेर प्रश्न उठाउँदा नारायण गोपालको भनिदैन भूपि सेरचनको क्षेत्र प्रतापको नै भनिन्छ । अझ भन्नैपर्दा गीतकार साहित्यकार भन्ने कुरा,तर इतिहाँसमा आफ्नै कृतिमा बाँचिरहने अजिवको अमर ब्यक्तित्वहरु हुन । गीतकार सुभ मुकारुङ र गायक महेश सिल्पकारले भनेजस्तै (सारमा दुवैजनाको यौटै अभिब्यक्ति) साँच्चिनै नेपाली गिती फाँटमा सुकसुकाउँदो कलात्मक र सुनिरहुँ जस्तो लाग्ने दिर्घजिवी गीतहरु एकदमै कम आईरहेको यस घडिमा गीतकार टंक सम्वाहाम्फे र गायक कृष्णभक्त राईको सार आधुनिक गीती अलवम एउटा नमुना संगालो भएर आएको छ । यता गायक अन्तिम राई र मैले निकनेम दिएको हंगकंगका शम्भु राई गायक कमल राई ज्युहरुले पनि यस पटक भने टंक सम्वाहाम्फे र संगीतकार गायक कृष्णभक्त राईको "सार,, अलवम निकै राम्रो निकालेको छन भनेर वहाहरु व्दयको चर्चा परिचर्चा गर्नु हुँदै थियो भर्खरै । हो टंक जी र कृष्णभक्त जीको "सार,, अलवम अवश्य राम्रो छ, तर सफल हुनु नहुनुमा एउटा कुरा के छ भने रेडियो एफ. एम. र टेलीभिजनहरुले कसरी हेर्छ त्यो कुरामा पनि निर्भर हुन आउँछ । किनभने मुख्य कुरा एफ. एम. हरुले टेलीभिजनहरुले सरकारी रेडियोको अनुकरण गर्नुपर्नेमा एफ. एम. र टेलीभिजनहरुको अनुकरण सरकारी रेडियोले गरिरहेको अहिलेको अवश्था छ हाम्रो मुलुकको ।
अर्को यौटा कुरा संगीतकार तथा गायक नागेन्द्र श्रेष्ठ, कथाकार तथा गीतकार प्रदिप कन्दङवा, साहित्यकार किन्दर राई, कवि हायुग अज्ञात, लेखक मोति चाम्लिङ, फोटो पत्रकार अधिराज राई, कवि भोगेन एक्ले, कथाकार प्रकास केशी, उदघोषिका तथा कवियत्री लक्ष्मि राई (लारा), कवि नरेश सुनुवार, कवि कमल पौड्याल, गजलकार तथा कवि अशोक राई, साहित्यकार देश सुब्बा ज्युहरु गायिका रोशा लिम्वुहरु समेतले छुट्टा छुट्टै स्थान र मञ्चमा भएपनि आ-आफ्नै ढंगले त्यस्तै परिस्थितिमा ब्यक्ताउनु भएको समग्रमा आसय यौटा जस्तै गीत संगीत र साहित्यहरुमा थोरै भएपनि सेन्सरसिप चाहिन्छ,नै । हुनत देशमा गणतन्त्र आएको छ तर तन्त्रहरु प्रवर्तन भयो भन्दैमा जस्तोपायो त्यस्तै साहित्य, गीत, संगीत निकालिनुपर्छ, गाईनुपर्छ भन्ने कुरा आउँदैन यस्को स्वनिर्मित सिमारेखाहरु छन एकदमै प्राकृतिक र थोरै त्यस्मा क्षेत्रगत तथा सम्बन्धित बिषयगत बिव्दतहरुले सुन्दरताको सौख गरेर केही थैथप गरेका हुनन । बजारमा आएका सवै एल्वमहरु, क्यासेटहरु मिडियाले प्रशारण गर्नुपर्छ भन्ने छैन । मिडियाहरुले लेखकीय धर्म चाही गीत प्रसारणको क्रममा पालना गर्नुपर्छ । थोरै भएपनि सेन्सरसीप अरु देशकै जस्तो लगाउँनुपर्छ । त्यो रोक्नको लागि होईन, राम्रोको लागि गुणस्तरकोलागि हुनुपर्छ र रेडियो नेपाल र नेपाल टेलिभिजनलेत अझ स्तरिय गीतहरु मात्र भिजुअल गर्ने प्रसारण गर्ने गर्नुपर्छ । यसरी गरेमा गितकार टंक सम्वाहाम्फे र गायक कृष्णभक्त राईको "सार,, अलवमको गीतहरु सफल नहोला त ?
हुनत वहाँहरुको गीतहरुमा कमि कम्जोडी हुँदै नभएको भन्न मिल्दैन, माथि भनियो धेरै राम्रा कुराहरुको बिच अथवा राम्रा पक्षहरुको बीच नगन्य नराम्रा पक्षहरु स्वःस्फूर्त गौण भएर रहन्छन । भनिन्छनी भगवानलेनै पनि सवैकुरा राम्रैमात्र गर्न सक्दैनन भनेर । तर समग्रमा हेर्दा यतिको गीतहरुलाई दोष लगाउँनुपनि आफैलाई दोषि ठहराउनु हो भन्छु म । दुमी दाईले यसअघि समिक्षा गर्नुभएको छ सार अलवमको, कसैको मुख नताकी कलम चलाउँने उनि मलाई हंगकंगको आधिकारिक समिक्षक हुन जस्तो लाग्छ यो मेरो ब्यक्तिगत बिचार हो । गायक महेसले भनेजस्तै कलिला प्रतिभाहरुलाई माया गर्ने दुमीले दिनु भएको सुझावमा सहमत छु, सहमत यस किसिमलेकी त्यो सुझाव मलाइपनि हो भन्ने अर्थमा हो हामी राष्ट्रियता लेखौँ, पिडित आफ्नो सँस्कार संस्कृतिलाई राष्ट्रियताको त्यो मुलधारमा हिडाउँनेपनि प्रयत्न गरौँ, हामी गीतकारहरुको भाषामा राष्ट्रिय गीत, उहाँको भाषामा बिद्रोह पनि बोलौँ हामी, लेखौँ हामी । बरु अहिलेलाई यहा अलिकति टंक सम्वाहाम्फेजीको "सार,, अलवमको एक गीतमा डुबौँ ...........
ढल्यो त्यसै दिन मेरो साँझ संगै डुब्न
रहृयो त्यसै चाह मेरो तिमीसम्म पुग्न
यो गीत उहाँको दोश्रो अलवमको पहिलो नम्बरमा भएको गीत हो । गीत भावुक र मानवतावादले ओतप्रोत छ । यस गीतमा साँच्चिनै कारुणिक कथाको भावपूर्ण अभिब्यञ्जनापनि रहेको छ । साहाराविहिन अवश्थामा छटपटाईरहेको दुखीको करुणा पुकारलाई अनुमोदन गरेर दया, करुणा, मानव प्रेम-भावको सम्प्रेषण गर्नु यस गीतको साथै "सार,, अलवमकै उदेश्य देखिन्छ । आफ्नो मुलभाव वा बिचारलाई शसक्त ढंगले प्रश्तुत गर्नको लागि मार्मिक तरिकाले "सार,, अलवमको गीतहरुलाई त्यसैगरी संगीत दिईएको बुझ्न सकिन्छ । जस्ले गर्दा गायक कृष्णभक्त राई अव गायकमात्र नभएर एउटा सफल संगितकारपनि वहाँ बन्नु भएको छ यस "सार,, एलवमबाट । म किन यसो भनिरहेको छु भने धेरै पछिबाट छिटपुट संगीतमा उदाउँनु भएको उहाँको पहिलो परिचय गायन हो अथवा गायक प्रधान उहाँको साधना, जिवन, पेशा के भन्ने ? यी सवै । तर शब्द अनुसारको संगीत दिन सक्षम परिचय दिएर संगीतमापनि उहाँ सफल देखिनु भयो "सार,, अलवमबाट, मेरो तात्पर्य यो हो ।
जस्को संगीतबाट दया, करुणा र मानवताका लागि मार्मिक संगीतहरु गुञ्जिरहेको सुन्न सकिन्छ । समग्रमा करुण गीत र संगीतको माध्यमबाट मानवताको पुकार देखाउन यो अलवमका गीतहरु सक्षम भएकोले यस गिती अलवमको नाम "सार,, दिनुपनि सार्थक लाग्दछ ।
धन्यवाद

बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले.....

पूर्ण इन्फादा
समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसँगै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका स्रष्टाहरूले आत्मसात् गरेका छन् । हङकङेली नेपाली कविताका स्रष्टाहरूले विशेषतः उत्तरआधुनिक चिन्तनसँगै सैद्धान्तिक रूपमा आफूलाई एकाकार बनाउने जमर्को पनि गरिरहेका छन् । प्रवासमा बसेर उनीहरूले नेपाली रीतिरिवाज, नेपाली भूगोल र नेपाली भाषा-साहित्यलाई औधि माया गरिरहेका छन् । हङकङमा बस्ने यी स्रष्टाहरूको स्मृतिमा जतिखेर नेपाली भूगोलको चित्रले विद्युतीय झड्का दिइरहेको हुन्छ । आफ्नो भूगोलबाट जतिसुकै टाढा भए पनि र प्रवासमा यान्त्रिक जीवनले बिर्सन नसक्ने प्रमाणको नमुना हो यो ।
समकालीन नेपाली कविता लेखन परम्परामा भिन्नै नवीन प्रयोग, शैली शिल्प र विचारका साथ कवि नरेश सुनवार जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले ...(कवितासङ्ग्रह-२०६४) लिएर देखा परेका कवि हुन् । भावसघनता र बौद्धिक सघनतालाई रूचाउने कवि नरेश सुनुवारको यस कविताकृतिभित्र बाह्रवटा कविता सङ्ग्रहीत छन् । सबै कवितामा वैचारिक सशक्तता उम्लिएको छ । अस्तित्ववादी चेतना मडारिएको छ । जातीय मुक्ति र अस्तित्व पहिचान खोजिएको छ । चित्रात्मक र अमूर्त कलाको संयोजन गरेर लेखिएका यी कविताहरूले बौद्धिक पाठकको पहुँच मात्रै खोज्छन् । इतिहासमा आफू हेपिनु परेको, ठगिनु परेको र विभेदकारी राज्यको नीति विरूद्ध सबै कविता पहाड जसरी ठिङ्ग उभिएका छन् । आक्रोश, क्रन्दन, चीत्कार र पीडाहरू कविताभरि उकुसमुकुस भएर छरपस्ट छन् । गयास्पोरिक पीडा र नोस्टाल्जिक मोह जताततै रूमल्लिएको भेटिन्छ । पुरातनपन्थीहरूको क्रमको अन्त्य र नवीनताको प्रारम्भ हुनुपर्ने कुरालाई आगोको लप्काजस्तै उकेलिएको भेटिन्छ । अर्को उद्घोष घाम पड्किनु पर्छ, राँकुदेलेको अनुष्ठान र जिन्दगी लिखुजस्तो र सेक्सेलेले...तीन कवितामा अत्याधिक मात्रामा जातीय साँस्कृतिक बिम्व, प्रतीक र मिथकको प्रयोग गरेका छन् । यिनै बिम्व, प्रतीक र मिथकका माध्यमबाट जातीय साँस्कृतिक अधिकारको पक्षमा आवाज मुखरित भएको छ । नयाँ चेतनाको खोजी भएको छ । नयाँ विचार र नश्लीय बोधको हुँकारलाई अक्षरमा सुन्दर ढङ्गले कोर्ने काम गरेका छन् कविले यहाँ ।
कवि नरेश सुनवार विगतको इतिहाससँग असहमत छन् । यो इतिहासमा खिया लागेको छ र बाङ्गीएको छ । यो बाङ्गीएको इतिहासका क्रम भङ्ग गरेर अर्को सम्पूर्णतासहितको सोझो र सरल इतिहास लेखिनुपर्छ भन्ने उदघोष यसरी गरेका छन् ।
सिधा उभिएको सोझो मान्छे
च्याप्टिएको माटो टेकेर
किचिएको आकाश हेरेर
कति घोक्नु बाङ्गो इतिहास
र, त्यसैको समर्थनमा
कति पड्काउनु ताली ?
सेसेन सोर्इसेन ए वार्चैपुकी (अर्को उद्घोष घाम पड्किनु पर्छ, जिन्दगीको पहाड र अस्तित्वको राकुदेले, पृ.२८)
यहाँनेर कवि नेरश सुनुवारले नेपाली समाजका सोझा मान्छेहरूलाई अहिलेसम्म इतिहासकारले टेडोमेडो इतिहास लेखेर ठगेको र यही घोक्नलाई अभ्यस्त बनाएको तथ्यलाई अघि सारेका छन् । जातीय मिथकका माध्यमबाट यसको तेजोबध गर्नुपर्ने र यो च्याप्टिन लागेको राष्ट्रियतालाई सोझो र समतल बनाउनुपर्ने अवस्थाको नग्न चित्रण गरेका छन् ।
कवि नरेश सुनवार यथास्थितिलाई कायापलट गर्न हरेक मान्छेले चेतनाको भ्रुण मस्तिष्कमा बोक्नु पर्छ भन्ने आग्रह गर्दछन् । विचारसहितको सङ्गठनमा सङ्गठित भएर मात्र हरेक किसिमका उत्पीडनबाट मुक्ति मिल्छ भन्ने कुरालाई उनले सारेका छन् ।
अब सधैँसधैँ
निलेर होसको मदिरा
दिमागजस्तो धारिलो हतियार
चम्काएर साँद लगाइराख्नुपर्छ
टल्काइराख्नुपर्छ चेतना
जो होमिनुका निम्ति तम्तयार
विचारको युद्ध मैदानमा
(राँकुदेलेको अनुष्ठान र जिन्दगी लेखुजस्तो, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.३५)
कविले यहाँ अभिव्यक्त गरेको वा इङ्गित गरेको कुरा मनमस्तिष्कलाई चेतनाको धारले उद्याउनुपर्छ भन्ने नै हो । होस पुर्‍याएर यसो गरेका खण्डमा मात्रै वैचारिक युद्ध होस वा बख्तरबन्द युद्ध दुवै सजिलैसँग जित्न सकिन्छ । जोसँग वैचारिक चेतनाको भ्रुण बोक्न सक्ने क्षमता छैन त्यसले कुनै किसिमको पनि बिजयको छेक्खुए गर्न सक्तैन ।
कवि नरेश सुनुवारमा तीब्र रूपमा नश्लीय बोधको चेतना मडारिएको छ । उनले नश्लीय विम्व, प्रतीक र मिथकको पनि बोधगम्यताका साथ अधिक प्रयोग गरेका छन् । यति मात्र होइन उनका सेक्सेलेलेले ...जस्ता कतिपय कविता पढ्दा त अमूर्त चित्र पढेको अनुभूति हुन्छ । यही अमूर्तताभित्र गम्भीर किसिमको आक्रोश, पीडा र व्यङ्ग्यको अनुभूति पाठकले गर्दछ र हजार भोल्टको विद्युतीय झड्काको अनुभूति पनि ।
याब्रेगुब्रे पुकारेर
ष्यारा उठाउनु पर्छ
अब हरेक साँझ
बजाएर ज्ञानका झ्याम्टा
निलेर आगोका नाचहरू
अचेतलाई ढ्याङ्ग्रो ठोकेर सीमा कटाउनू
छर्केर निक्अ्वाकु प्रतेकको चेतमा
सेक् सेलेले ... ...
(सेक्सेले ले ले..., जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले ...पृ.४०)
यस कवितांशमा कवि नरेश सुनुवारले जातीय उत्पीडनका विरूद्धमा वि द्रोहको शङ्खघोष गर्नुपर्ने वैचारिक आगो उकेलेका छन् । परम्परागत विसङ्गति र रूढिलाई वा अचेतनलाई निक्अवाकुको चेतना ब्यूझाउनुपर्ने बोध गरेका छन् । यहाँ कविको यति मात्रै आग्रह नभई नश्लीय स्वत्वको पनि गम्भीर खोजी हो भन्ने बुझ्नुपर्छ पाठकले । ष्यारा, ढ्याङ्ग्रो र याब्रेगुब्रेजस्ता नश्लीय र ग्रामीण बिम्बका माध्यमबाट कविले अधिकारविहीन मान्छेको स्वरलाई उरालेका छन् ।
नेपालीहरूको उर्बर बैँस शक्ति राष्ट्र र शक्ति केन्द्रको अस्तित्व रक्षाका लागि अहिलेसम्म निरन्तर बगिरहेकोमा एकदमै चिन्तित् र आक्रोशित देखिन्छन् । अर्काको भूगोलको निम्ति अनाहकमा ज्यान गुमाउनुपर्ने जुन किसिमको विवशताको पराकाष्ठा नेपालीहरूले भोग्नु परिरहेको छ, यो अवश्य नै सुखद् कुरा होइन ।
पड्केँ म पहिलो युद्धमा
पड्केँ म दोस्रो युद्धमा
पड्केँ म कार्गिल र कोसोभोमा
पड्के म इराक अनि अफगानिस्तानमा
र अझै पनि तैनाथ छु
पड्किनुको निम्ति
विष्फोट हुनुको निम्ति
तेश्रो युद्धमा
चौथोँ.. पाँचौ.. छैठौँ..र्इत्यादि /हरूमा
(दोकानमा झुण्डिएको अस्तित्वको तक्मा र मेरो नामको आतङ्क, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले ..., पृ. ५५)
आफ्नो अकबरी सुनजस्तो यौवनलाई पित्तलको भाउमा बेचिनुपर्ने र पित्तलका नक्कली तक्माहरू जो दोकानमा बेच्नका लागि सजाएर झुण्डाइएका छन् तिनैमा र्‍याल चुहाउनुपर्ने नेपालीहरूको निर्मम विवशताप्रति इङ्गित गरिएको छ यहाँ । अहिलेसम्म विश्वमा जुन प्रकारका युद्धहरू भए ती सबैमा नेपालीहरूले सहभागिता त जनाए तर ती सबै आफ्नो जाति र देशको लागि नभई अरूकै स्वार्थका लागि । पहिलो र दोस्रो विश्वयुद्धमा मात्र होइन
कार्गिल, कोसोभो, इराक र अफगानिस्तानसम्म युद्धमा नेपाली रगत बग्यो तर उनीहरूले के पाए ? नेपालले के पायो ? नेपालले शून्यताबाहेक केही पाएन र आफ्नो देशजस्तै गरिब जनताको छातिमा बुर्कुसी मार्नुबाहेक । अब यस्तो कार्यको अन्त्य यथाशीध्र हुनुपर्ने हुँकार अभिव्यक्त गर्दछन् कवि नरेश सुनवार ।
उनको कविताले डायास्पोरामा नेपाली जीवनले भोग्नु परेका पीडाहरू प्रशस्तै पोखिएका छन् । यन्त्रवत् जीवन भोगाइका छटपटीहरू मडारिएका छन् । दोस्रो दर्जाको नागरिक हुनुपर्ने पीडाहरू लहलहाएका छन् ।
महलका नेपथ्यहरूमा
टेकिने सङ्गमरमरका भर्‍याङहरूमा
जीवनका खुड्किलाहरू
उक्लनु छ
ओर्लनु छ
ठोक्किनु छ
चिप्लिनु छ
(महल बाहिर म, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ. ५७)
जीवनको उर्वर बैँस खन्याएर भीमकाय महलहरू बनाउँछन् । अर्काकै देशको उद्योग व्यवसाय फस्टाउने काम गर्छन् । महत्वपूर्ण उपलब्धी कहिल्यै हात पार्दैनन् । तिनै अभागी नेपालीहरूको डायास्पोरिक पीडा कविले आफ्ना कवितामा मुखरित गरेका छन् ।
म त्यो महलको फेदमा उभिएको छु
मेट्रो सिटीको बीचमा उभिएको छु
टाइम स्क्वायरको आँगनमा उभिएको छु
कजवे बेमा उभिएको छु
हङकङमा उभिएको छु
एसियामा उभिएको छु
र, भूगोल टेकेर
म सिङ्गो नेपाल उभिएको छु
(समयले घिसारेर जिन्दगी झुत्रो छ -तर छ, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.६३)
विकसित मुलुकको सुविधा सम्पन्न स्थानमा पुगेर पनि कविलाई नोस्टाल्जिक प्रेमले सताउन छोडेको छैन । उनले सिङ्गो नेपाल भूगोलले त्यसलाई किचेको अनुभुति गरेका छन् र आफू नेपाली भएर बाँचेको गर्व गरेका छन् । ती कुनै पनि वैभवले नेपाली हुनबाट बञ्चित गर्न सकेको छैन कविलाई । जस्तोसुकै झुत्रो र कमजोर भए पनि आफ्नो राष्ट्रको स्वत्वलाई बिर्सन नसक्ने अभिव्यक्ति दिएका छन् कविले ।
डायास्पोरामा नेपाली अस्तित्वलाई कतिसम्म खिसि गरिन्छ भन्ने कुरा उनले आफ्ना कवितामा सटिक ढङ्गले प्रस्तुत गरेका छन् ।
आफ्नोपन भुलेर लघुमान्छे
लघुचिता वरिपरि
जो डङ्का पिट्दछ
जङ्की विचार
नक्कली स्वरहरूले
हाँस्छन् गगनचुम्बी महलहरू
(हङकङमा मौसम, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.६८)
विदेशीका अगाडि नेपालीहरूको मस्तिष्कको कदर नहुने, ऊसँग जतिसुकै बुद्धि, विवेक र सीप भए पनि त्यसको कदर नहुने र सधै लघुमानवजस्तो भएर आत्मग्लानि बोकेर बस्नुपर्ने क्रूर विवशतालाई कविले यस कवितांशमा प्रस्तुत गरेका छन् । नेपालीहरू विदेशीको उपहासको पात्र बन्नु परेको नग्न यथार्थलाई देखाएका छन् ।
.....र ढल्छन् भोका मान्छेहरू
आतङ्कको नाममा
फेरि ढल्छन् मान्छेहरू
शान्तिको नाममा
र ढल्छन् प्रजातन्त्रको नाममा
(यौटा मान्छेको स्वरूपभित्र ड्राकुलाको विचार, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.७१)
यहाँ कविले एउटाएउटा बहानामा मानवीय अस्तित्वमाथि हिंस्रक र रक्तपिपासु साम्राज्यवादीले धावा बोलेको कुरालाई नग्न सत्यका रूपमा अघि सारेका छन् । भोकाहरूको रक्षक भएको भन्दै भोकाहरूलाई नै, आतङ्क नियन्त्रणका नाममा निर्दोषहरूलाई शान्तिको नाममा शान्तिप्रेमीलाई र प्रजातन्त्रका नाममा स्वतन्त्रताप्रेमीलाई नै चिहान बनाएर आफ्नो शक्तिको दम्भ देखाउँनेहरूप्रतिको कटु व्यङ्ग्य प्रहार गरेका छन् कविले । विभिन्न बहानामा जनतामाथि दमन गरेर आफू शक्तिशाली बन्ने र अस्तित्व र अधिकार खोस्ने परम्पराको अन्त्यको लागि आवाज उठाइएको छ यहाँ ।
कवि नरेश सुनुवार नेपाली कविता साहित्यमा बौद्धिक र प्रयोगवादी कविका रूपमा आएका सशक्त हस्ताक्षर हुन् । उनका कवितामा नवीन विचार, शब्दशिल्प र बिम्ब, प्रतीक र मिथकको प्रयोग पाइन्छ । उनका कविताले मान्छेलाई वैचारिक रूपमा मजबुत हुन हार्दिक आग्रह गरेको भेटिन्छ । नश्लीय बोधबाट ओतप्रोत कवि नरेश सुनवार विनिर्माणवादी उत्तरआधुनिक चिन्तनतिर ढल्किएका हुन् कि भन्ने शङ्का गर्न सकिन्छ । उनका कविताले सामान्यभन्दा बौद्धिक पाठकहरूलाई बढी खोज्छन् । मानवीय संवेदना मन पराउने, डायास्पोराको पीडालाई बुझ्न खोज्ने पाठक र समालोचकको खोजी गरेका हुन्छन् उनका कविताले । यति मात्र होइन, नेपाली भूगोल, नश्लीय साँस्कृतिक रूचाउने र दमित आदिवासी चेतनाको पक्षमा बोल्न सक्नेहरूको खोजी गरेका छन् कवि नरेश सुनुवारका कविताले । मै हुँ भनेर नेपाली कविता साहित्यमा दादागिरी गर्नेहरूको मुन्टो झुकाइदिएका छन् कवि नरेश सुनुवारका कविताले ।

जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले पढेपछि

रामकृष्ण बान्तवा
यो समिक्षा होईन । म संग यो कविता कृतिको समिक्षा गर्ने बौद्धिक तागत पनि छैन, यौटा साधरण साहित्यकर्मि साहित्य र्सजक भएको नाताले कविताले भन्न खोजेको सम्म अडकल भने गर्नसक्छु । यसकै साधरण यो छोटो टिप्पणी लेख्न गईरहेको छु । मानिस सामाजिक प्राणी हुनाले आफ्नो पहिचान बोक्ने संस्कार र संस्कृतिहरुसंगै यस धरतीमा बाँचि रहेको हुन्छौँ । संस्कार रहे संस्कृति रहन्छ संस्कृति रहे जाति रहन्छ । प्रत्येक जातजातिको आ आफ्नै अस्तित्व हुन्छ । आफ्नो अस्तित्व गुमाएर बाँच्ने मानिस के मानिस - त्यसैले अवका आउने दिनहरुमा हामीले आफ्नो अस्तित्व खोजौँ , हामी तमाम आदिवासी जनजाति दलित ,महिला र मधिसेहरुलाई कस्ले र कसरी पछाडी पारे, जस्लाई बुझेर त्यसको निकास के हो वा के हुनसक्छ खोज्दै अगाडि बढौँ र आफैलाई पनि बुझ्न खोजौँ किनकी आज मुलुक २१ सौँ शताब्दिमा आईपुगेको छ । हामी आदिवासी जनजाति हिजो रक्सी पिएर मातेको थियौँ तर आज रक्सी नपिईपनि मातिरहेको छौँ , हामीले खोज्नुपर्ने र बुझ्नुपर्ने हाम्रो हक र अधिकार अनि हाम्रो पहिचान कस्ले र कसरी संकटमा पारेक छन ? जस्को खोजी गरौँ । यि र यस्तै कुराहरु कवि नरेश सुनुवारको संग्रहमा ,,जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले,, कविता संग्रहमा समेटिएका छन । अर्को कुरा वहाँको कविता संग्रहमा नयाँ प्रश्तुतिनै भनौँ चित्रात्मक कविता हुनत यस किसिमको केही आंशिक रुपका कविता आईसकेको छन ।
भयवाद प्रतिपादक तथा चर्चित जनजाति उपन्यासकार तथा देश सुब्बाज्युले यो भन्दा अगाडिनै यस किसिमको कविता लेखिसक्नु भएको छ । साँच्चिनै भन्ने हो भने हंगकंगमा साहित्य वौद्धिक र प्रयोगवादी कविताहरुको यसबेला ठुलो लहरनै चलेको छ । यसरी पारस्पारिक काब्य रचना प्रकृया भन्दा पृथक ढंगबाट आफ्नो रचना शिल्पलाई अगाडि बढाउँने श्रस्टाहरुमा चर्चित कवि हाङयुग अज्ञात कवि तथा चर्चित गीतकार टंक सम्वाहाम्फे, कवि तथा प्रदिप कन्दङवा, कवि प्रकास केशी, कवि भोगेन एक्ले, कवि लेखक भुपेन्द्र चेम्जोङ, लेखक मोति चाम्लिङ, फोटो पत्रकार अधिराज र्राई , कवि कमल पौड्याल, कवि तथा गजलकार अशोक र्राई कवि खेरेस देवेन्द्र आदि छन ।
म हंगकंगको लागि दाजु र्राई चन्द्र दुमीलाई बरिष्ट पत्रकार भनेर सम्वोधन गर्छु अहिलेत गीतकारपनि भईसक्नु भएको छ । पत्रकारिताको साथै उहाँ हंगकंगको एकमात्र ब्यंगकार पनि हुनुहुन्छ, यतिसम्मकी अशल कम्सल जे जस्तो होस सवै बिधा लेख्नुहुन्छ भन्दा फरक पर्दैन । उहाँको २ गीतमा चर्चित गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठले संगीत दिनु भएको छ । मैले यो प्रसंग किन उठाएको हो भने दाजु र्राई चन्द्र दुमी र नेपालको चर्चित गीतकार सुभ मुकारुङ हंगकंग आउनु भएकोवेला वहाँहरुले भन्नुभएको थियो ,,हैन बान्तवाले पनि अवत चित्रात्मक गीत लेख्नु पर्यो त्यसपछि दिनेस सुब्बा र नागेन्द्र श्रेष्ठले संगीत गर्नु पर्यो, याहा सवैले यसै गर्दारहेछन,, ।
यो कुरा खास जव नेपालबाट हाम्रो कविताको राजा उहि सृजनशील अराजक कवि हायुग अज्ञात आउनुभयो तव यस प्रकारका कविता लेख्ने हंगकंगमा होडै चल्यो । वहाँहरुले यसैगरी भन्नुभएको थियो । यसो सम्झन्छु दाजु र्राई चन्द्र दुमी र शुभ मुकारुङको कुरा सत्यपनि हो, अझ मन खोलेरै भन्ने हो भने कवि हाङयुग अज्ञात ज्युले हंगकंगमा आउँनुभएपछि धेरैनै हंगकंगगेली नेपाली समाजलाई योगदान दिईसक्नु भएको छ साहित्य क्षेत्रमा ।
सृजनशील साहित्य समाज हंगकंगका अध्यक्ष कवि हाङयुग अज्ञात ज्यु आईकन यस समाजबाट थुप्रै साहित्यिक कृतिहरु प्रकासन भईरहेको छन । म भन्छु मानिसको जीवनमा गरिएको सम्पुर्ण योगदानहरुलाई स्वयंको मृत्युपछि मात्र मुल्यांकन गरेर भाव विभोर हुने चलन राम्रो होईन । यसो गर्न भन्दा स्वयं ब्यक्तित्व जिवित भएकै बखत योगदानलाई मुल्यांकन गरेर जसदिनु तथा उनिहरुको अनुभव र अनुभूतिहरु लिईराख्नु उत्तम हुन्छ, यो दायरामा कवि हायुग अज्ञात संगै अरु थुप्रै ब्यक्तित्वहरु मैले देखिरहेको छु जस्तै र्राई चन्द्र दुमी, किन्दर र्राई भुपेन्द्र चेम्जोङ, आदि छन ।
फेरी कवि नरेश सुनुवारकै कृतिको कुरा गर्छु म, मैले भन्नुपर्दा यस कृतिले कविता लेखनलाई एउटा नयाँ दिशा दिएको छ , यस अर्थमा नेपाली समाजमा काब्य जगतको विर्सनै नसकिने श्रष्टाको रुपमा जन्मिसकेको छन नरेश सुनुवार । यस कृतिले नेपालको बरिष्ट तथा स्थापित मैं हुँ भन्ने समालोचक र अध्येताहरुलाई घाँटीमा पासो लागेभन्दा कम अवश्य नहोला ।
यो कृतिमा चित्रात्मक संयोजन मात्र नभएर आदिवासी मिथक, बिम्वहरुलाई साह्रै राम्रो खेलाईएका छन । काब्यमा मानिसको जीवन दर्शन र सौर्न्दर्यको कलामात्र झल्काईएको छैनन, कतै हृदयको सुक्ष्म र
कोमल भावको मुर्तरुप छ भने कतै क्रान्तिकारी प्रत्युत्पादक शक्ति, कतै फेरी सौन्दर्य, आनन्दात्मक गुणको समष्टी, कतै प्राकृतिक रमणीय तथा मनोरञ्जनात्मक कुराहरु समेटिएका छन, यस्को अर्थ मैले भन्नुपर्दा सौन्दर्यसंगै चमत्कार भन्छु म ।
मुख्य कुरा भावना अनुरुप गुण नभएमा काब्य वा कुनैपनि सिर्जना सुन्दर हुन सक्दैन । अर्को कुरा कविता गीत सिकिनुभन्दापनि भावनात्मक कुरा हो । र यो थोरै गड गिफ्टपनि हो, यो प्राकृतिक पाउन्दारलाई सर्जकहरुले साधना गरेर तिखार्नुपर्छ चाहे त्यो गीत संगीत होस चाहे लेखन क्षेत्रका सवै किसिमको बिद्याहरु । कविता, जहाँ सुत्रको कुरा आउँछ, जस्तै बिना भावनाका संगीत के को संगीत - म भन्छु बिना भावना संगीत बन्नै सक्दैन । जस्मा अलंकार , गुण, जीवन र जगतनै सम्पुर्ण कलाकारिताको मनोरम इन्द्रेणी हो । यी सम्पुर्ण कुराहरु कवि नरेश ज्युको काब्यले आदिवासी जनजातिका गहन भाव तथा सम्पन्न बिचारको कलात्मक प्रश्तुति आफ्नो कृतिमा समेटेका छन ।
प्रत्येक ब्यक्तिले आफ्नो हक र अधिकार आफैले खोज्नुपर्छ, आफ्नो हक र अधिकार अरु कसैले खोजि दिदैन । आफ्नो अस्तित्वको र देशको बारेमा सोच्नुपर्छ र ति कुराहरुको निम्ती सकृय हुनुपर्छ भन्ने सन्देश यस कृतिले दिएको छ । तथापि आदीबासी जनजातिको हक र अधिकार संस्कार, संस्कृतिका प्रमुख रुप देखिएपनि यस्को भित्री भाव भने देश भक्तिनै रहेको छ । अर्कोतिर प्रकृतिका बिम्व र प्रतिकहरुको यति सुन्दर समायोजन , सुमधुर लयात्मक कमै कविताहरुमा पाईन्छन । मैले भन्नुपर्दा यो काब्य साँच्चिनै सुन्दर मात्र नभएर प्रभावकारीपनि त्यतिनै छ ।
जहाँ प्रकृति सुन्दर हुन्छ त्यहि जीवपनपनि सुन्दर हुन्छ त्यसैलेपनि नरेश सुनुवार ज्युको काब्य प्रगतीवादी विचारले यो कृति साँच्चिनै जीवन्त बनेको छ । आदिवासी जनजाति भाषा शैलीमा यो कृति यति सुन्दर लाग्छ कि जहाँ कोमल लालित्य, सरल, सरस र आलंकारिक मनोरम मनमोहक यस कृतिमा नेपाली माटो, नेपाली मन चसक्क हृदयमानै छोईदिन्छ । अन्त्यमा मैले भन्नुपर्दा कवि नरेश सुनुवारको कृति जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले राष्ट्रियता, प्रकृतिप्रेम, आफ्नोपन र कला सौर्न्दर्यले ओतप्रोत उत्कृष्ट कृति हो ।
तथापि झट्ट हेर्दा कृतिको शिर्षक भने लामो र भद्दा झर्को लाग्ने झैं लाग्छ तरैपनि कृतिले आदिवासी जनजातिले बोल्ने भाषा बोलेको हुनाले यस कृतिको शिर्षक जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक सेलेले राख्नु उचित लाग्छ । समग्रमा भन्नुपर्दा झट्ट सुन्न हेर्न पढनलाई जे जस्तो अनुभुत भएपनि भित्री गुदीहरु रस्वास्वादन गरिसकेपछिमात्र कृतिको नाम सार्थक लाग्छन । भने शिर्षकमात्र हेरेर नयाँ पाठकहरुलाई कूतुहलता जाग्छ त्यहि सेकसेलेलेको बारेमा हो नाम उचित छ पढिसकेपछि ।

Jun 13, 2008

वैरागी काइँला , खगेन्द्र संग्रौलाको वैचारिक गणित र सामान्य रङ्गवाद

धर्मेन्द्रविक्रमनेम्बाङ्
तेस्रो आयामेलिक वैराँगी काँइला भन्नु र माक्सवादिक खगेन्द्र संग्रौला भन्नुले आदिवासी खेलक देश सुब्बा हङकङको अशोका होटल वागवजारको विमोचनमा कुरा आफ्आफ्नूले पालैपालो म असहजमा परे । काँल्दाईले पुरानू आयमेलीय फायलको शब्द उचालेर हामी लेख विचारको 'करिया' नहोस भनेर भन्थ्यौ भन्दा आयामिक लेखनको सैद्धान्तिक पक्ष नै अलिकति विचारविहिन हो कि भन्नुलाई साथ दियो । आयामेलीय महत्वको व्यक्तित्व काँल्दाइको यो अभिव्यक्तिले, विचार माथिको यो आक्रमणले साहित्य, समय, समाज, जिवनको पुल भाँचिएको अनुगमन छ । तेस्रो आयाम विचारविहिन साहित्य निर्माण गर्नु थिएन जस्तो लाग्छ । अविचार थियो जस्तो मुल्याङ्कन छैन । यो अभिव्यक्ति त्यसकारण मेल खाँदैन हामी उहाँहरूको जिवनमा, कवितामा, विचार नै खोजिरहेको छौ । यो अभिव्यक्ति नै तर सहि हो भने भावना पक्षको मापदण्डबाट अब आयामलाई हेर्नुपर्छ । घट्ना प्रतिको संवेदना र भावुकताबाट उहाँको साहित्यलाई हेर्नुपर्ने हुन्छ ।
समाज, साहित्य, जिवन, समय गतिशील छ , गतिशीलतामा क्रियाकलाप छ, क्रियाकलापसँग विचार पक्ष पनि छ । यसरी तालमेल चलिराखेको छ । विचार मान्छेले, व्यक्तिले, जिवनले निर्माण गर्ने चिज, समाजमा क्रियान्वयन गर्ने चिज, साहित्मा पुग्ने चिज, समयले जाँच पास गर्ने चिज हो जसले पुलको काम गरेको हुन्छ विभिन्नभागमा, विभागमा, अंशमा, खण्डमा । सानु यो ठूलो यो यसमा भन्ने छैन । सप्पैको सहभागिता, सपअस्तित्वले शक्ति उत्पन्न गर्ने हो । गुण, दोषमा यसको त्यसकारण जुधिरहनु, बाझिरहनु, अल्झीरहनु जरुरी छैन ।
हाम्रो देश २०६२, ०६३ वि.सं.सालको ठूलो जनसहभागिताको ..साहित्यिक पाराको आन्दोलन भन्छु म जसलाई.. आन्दोलनले पुरानुबाट नयाँ बन्दैछ अहिले । नयाँ भन्नु फरक, भिन्न, अरु । एकात्मक श्रृङ्खला आजसम्मको भत्काएर संघात्मक राज्य निर्माण गर्दैछ । राजतन्त्रात्मक श्रृङ्खलालाई भत्काएर राष्ट्रपतीय निर्माण गर्दैछ । प्रत्यक्ष निर्वाचन प्रणालीको सट्टामा मिश्रति अपनाएको छ । बहुमतको नाउँमा एकमना सरकार बनाउनुको श्रृङ्खलामा सहमतीय सहभागी सरकार चल्दै छ । श्री ५ को सरकारको ठाउँमा नेपाल सरकार, शाही सेनाको ठाउँमा नेपाली सेना, एक धर्मको नाममा बहुधर्म, पुरानू भजनको राष्ट्रिय गानको ठाउँमा नयाँ राष्ट्रिय गान, यस्तो नयाँ ठाउँ । देश नयाँ बन्नु, आन्दोलनको चरित्र नयाँ बन्नु, कार्यन्वयनको सवाल, विधि नयाँ हुनु यो अवस्थामा आइपुग्नु 'विचार'को क्रियाकारण नै मान्नु पर्छ । पुरानू विचारलाई पनि उखेल्दै फ्याक्दै नयाँ विचारतिरको यात्रा पनि भन्नु पर्छ । बरु विचारको आवधिकताको पुष्टि । रेखाचित्र अबको पनि विचार संगत कुरो हो । नयाँ ठाउँ, नयाँ राज्य, नयाँ भूगोल, नयाँ प्रान्त अगाडि वढाउनु विचार प्रधान हुनु नै पर्छ । फरक यति हो अबको दुनियाँमा विचार एक, दुइ हुन्दैन सप्पैलाई लिएर जानु पर्छ । सांस्कृतिक विचार, धार्मिक विचार, जातिय विचार, भाषिक विचार, स्थानिक विचार यहिँ भित्रको पनि छिन्नभिन्न विचारहरू । विज्ञान, इतिहास, समाजशास्त्र, मनोविज्ञान, गणितका विचारहरू यसभित्रको अनेकन पक्ष र क्षेत्रहरू । घट्ना, घट्नाक्रम र यसका क्रियाकारणहरू, दृष्टिकोणहरू ।
साहित्यमा यि नै कुरोहरू पुगाउनु हो । जसले समाज, साहित्य, जिवन, समय, गतिशीलतालाई समन्वय गर्छ । विचार यसरी पुगाउनु माध्यम चाहिँ हो कला । कलाको माध्यमबाट अरु, अन्य विचार, पक्ष, क्षेत्रलाई आघात नपर्नु गरिकिन नहोच्याइकिन साथीत्वको भानले, भावले राख्नु पर्छ होला हामी भन्छौ । बहुलवादीय गतिशील तापक्रममा । शब्दले, व्याख्याले, आलोचनाले खोजिनु घडेरी पनि हो उहीं । गतिशीलताले भने नछोडिइकिन चेक गरीराखेको छ । परिवर्तनशीलता यसमा आइकिन जान्छ । महलमा यो, माहोलमा यो रङ्गको गुणहरू...मिश्रतिता, बहुलता, असमानता, विपरीतता...ले जगत र जिवनको आयोजना छ । व्याख्या, परिभाषा, दृष्टिकोणलाई फराकिलो पारेर व्यवस्था छ ।
खगेन्द्र संग्रौलाजी कमरेडले वचन छोडेको मध्ये एक, दुइवटा टिप्नु पर्छ होला । जुरुक्क उठेर शालिन भावमा कराउनु भयो 'म भयवादको कुरो गर्दिन, तेस्रो आयामको पनि कुरो गरिन तर वैरागीको कविता हेर्छु , त्यसरी यो उपन्यास आदिवासीको कुरो गर्छु भन्नु उत्थानको किसिम थियो । कमरेडले भयवाद या अरुको कुरो गर्दिन, कृति हेर्छु आयामको हेरिन भन्नु वलजफती प्रायोजना मात्तै हो । आफ्नु मनोविज्ञान बिर्सिनु या आफुलाई ठूलो घोषणा गर्नु खोज्नु अचेतनाले । बोलिन्छ चेतना अचेतनाले धकेल्छ । स्वभाविक वहाँले आफु माक्सवादिक हुनुको मनोविज्ञान विर्साउनु भयो या कोचार्नु भयो । मार्क्सवादिक भइकिन उहाँ यो वोल्नु र उप्रिmनु समेत सक्नुभयो । उहाँको कृतिमाथि यसरी वातावरण, आवरण, तापक्रम, पर्यावरण उही, लगानीले मार्क्सवाद, संस्कृतिले उच्च व्राम्हणवाद, स्थानिकताले पूर्वी पहाडे छ त्यो नलुकाइकिन हेर्नुपर्ने हुन्छ । वहाँको कृतिलाई यसरी फिट्टो हेर्नु सकिन्दैन, मिल्दैन ।
व्यक्ति एउटाको विकासक्रमको विज्ञानको अघिल्तिर-पछिल्तिर वातावरण, तापक्रम, प्रतिरङ्ग हुन्छ, भित्री या बीचमा जीन, मन, अन्तरङ्ग हुन्छ । दुवै यो को सहअस्तित्वले, दोहोरो अस्तित्वले व्यक्ति या जीवको विकासक्रम चल्दैछ । वातावरण, तापक्रम, प्रतिरङ्गले उसलाई निरन्तर आफुतिर तानिराख्नु बल लगाएको छ । गतिशीलताको, परिवर्तनको अवसरहरूको उपलव्ध गरिराखेको छ । यसको असर र प्रभावले खेल्छ । अनेकन रुप चालमा यसको पाइदैछ । जीन, मन, अन्तरङ्गको बाटो यात्रा पनि उहीं, उहीं तानातान । आआफैको दाउपेचले यसको वनावटी चलेको छ । जोडाले नै आफ्नु अस्तित्व धानेर थेगेर बसेको छ । जोडाले नै समन्वय गरेको छ । डाइनोसर त्यसैर लोप हून्दै गयो । त्यसैर अन्य प्राणीले मान्छे जन्माउदैन, मान्छेले अन्य प्राणी जन्माउदैन । वातावरण, तापक्रम, प्रतिरङ्ग, पर्यावरण, आवरण, पहिरण, प्रकृति यो मौलिकता मान्छेको पहुँचमा केही टाढाको या बाहिरको कुरो हो । तर कुनै दैविय, अलौकिक, चमत्कारिक सत्य भने होइन । यसलाई डार्विनको विकासवादसँग हिसाव मिलाउनु सकिन्छ । जीन, मन, अन्तरङ्ग निजित्व व्यक्तिको कुरो हो, जोडघटाउ, भागागुना, प्रतिशत हो । यसमा मेन्डलको सिद्धान्तले मिलाउदा पाइन्छ । जोडाले नै आफ्नुपना, मौलिकता, निजित्व यो तानातान, लछारपछारमा कायम राख्तै लगातार गतिशीलतामा परिवर्र्तित छ यो ओहारदोहोर मापदण्डका कारण । सामान्य रङ्गवादको आयतन एक प्रतिबद्धतापत्रमा प्रतिरङ्ग र अन्तरङ्ग यसैलाई पुष्टि दिनुको लागि पूर्वी नेपालतिर प्रचलित दन्तेकथा छोरालाई कुकुरसँग वाँदेर राख्ताको परिस्थितिको विश्लेषण गरेको छु । तापक्रम, प्रतिरङ्ग, वातावणले कस्तो असर प्रभाव पार्छ व्यक्तिमा देखाउनु खोजेको छु । जीनको, मनको , अन्तरङ्गको असर प्रभावलाई हेर्नु तिगेन्जङ्ना किरात मीथ उठाएको छु ।
राजनीतिशास्त्रले यस्तै सिद्धान्त र व्यवहार दुइ कुरो गर्छ अथवा व्यवहारवादको कुरो पनि उठाउदैछ । शिद्धान्तले व्यवहारको रचना गर्छ । व्यवहारले सिद्धान्तको पुष्टि । मानव अचेतनासँगसँगै यस्तो यो विकसित भइछोडेकोछ । व्यवहारको मात्रा भनेको जीन-आनुवंशिकता)को मात्रा या सिद्धान्तको मात्रा भनेको पर्यावरणको मात्रा गफगाफ यस्तोमा अपुरो हुन्छ । साहित्य सिद्धान्तले नै अभ्यासलाई आकर्षा गर्नु हो । यस्तोमा जड विषयहरू कतापय परिवर्तन हुन्छ उख्लिन्छ । अभ्यास, प्रयोग, खेल, अनुभवसँग सिद्धान्तको माताहतले तालमेल स्वभाविक बढाउँछ यो हो । कविता जसलाई हामीले एकचोटी दीर्घ पनि चलायौ, अभ्यास गर्यौ । कथा, उपन्यास, निवन्ध आदिको स्वरुप, विषय आफ्नोमा नबस्न पनि सक्छ, अरु बन्नु पनि पाउँछ । अपरिवर्तनिय भनेर पक्रिरहन यसैलाई कसैको कार्यक्रममाथि आघात, हृदयघात पर्नुसक्छ पनि । घट्ना त्यसैर यो भएन भन्नुले पनि भएको ठहर्छ । यो भयो भन्नुले पनि नभएको ठहर्छ । ठहरकर्ताको पृष्ठभूमि र योग्यता उत्तिवबेला जाँचपास गर्नु पर्छ, उसको आफ्नु मनखुसी तर्क हुनु जान्छ त्यो किनभने । मिश्रतिता र बहुलतामा यस्तो पर्छ ।
दुवैजना काँल्दाइ र संग्रौलाजीको मिल्दोजुल्दो कुरो पनि छ । एकले आयामलाई विचारहिन...उहाँहरू वाद, आन्दोलन भन्नु अति काम्नु हुन्छले....लेखन हो-को घोषण गर्नु, कमरेडले अरुको विचार विचारै होइनको वचन छोड्नु, खेल यस्तोको दादागिरी यो वेलासम्म चलेको पाईन्छ, शासितहरू, सवार्ल्र्टनहरूमाथि थुपारेर बोकाउनु, जतैबाट ठीक नठहरछ । खुल्लापन, विकल्प, आत्मस्वायत्तता, गतिशीलता, व्यक्तिवाद, जिवन, जगत कतै निवासी छैन । उहाँहरूको योग्यताले यसो बोल्नु फाइदाजनक छैन । नयाँ नेपालको निर्माणमा लगानी गर्नु, नयाँ राज्य सन्चालनमा सहभागी हुनु चाहाने कला साहित्यको माध्यमबाट नयाँ पुस्ता बहुविचार सहितको लेखन अगाडि वढाउनु चाहान्छ । पुर्याउनु जसलाई कलाले हो । विचार त बहुलवादमा आधारित छ । ठूलो सानो, राम्रो नराम्रो, असल खराब, सत्य असत्यको तुलोमा सिङ् जुधाइरहनु ठीक भने छैन । सापेक्षिकता यसको हुन्छ । कुनै ज्यादा महत्वको नभइ 'स्पेस' आआफ्नु छन्दैछ, पुग्नु यो मा पर्दैछ । नेपाली साहित्य यो तापक्रममा पुगेर कुदिरहेको बताउँछु ।
एतिबेला,
पौवासारताप, पान्थर
लगायत,
nembang_colourist@yahoo.com

टंक सम्बाहाम्फेको गीति एलबम "सार"

नरेश सुनुवार
कवि टंक सम्बाहाम्फेले फोन वार्ताकै क्रममा- एउटा गीती एल्वम निकाल्ने तरखरमा छु नाम जुराउन बाँकी छ, सोंचेर खबर गरौ है नरेश जी भनेका थिए । मैले पनि हुन्छ भनि हाले । तर, सृजनशील साहित्य पत्रिकाको चटारोले उनको आग्रहलाई समयमै पूरा गर्न सकिन । पछि एउटा नाम जुर्याएर हत्त न पत्त फोन गरेर प्रसंग उठाउदै नाम सुनाउन के लागेको थिए उनले ढिला भैसक्यो भने । किनभने उनले नाम जुराएर कभर समेत छापाई सकेका रहेछन् । एलबमको नाम जुरेछ "सार", साह्रै सुन्दर लाग्यो । कहिले सम्ममा गितहरू सुन्न पाइएला भन्ने प्रश्नमा उनले एक दुइ महिना भित्र सुन्न पाईन्छ होला भने । मैले अग्रीम बधाई र शुभ कामना दिए.., त्यत्तिकैमा त्यो दिनको हाम्रो फोनवार्ता टुङ्गीयो ।
व्यस्तताकै कारणले लामो समयसम्म हाम्रो सर्म्पर्क हुन सकेन । पछि उनले नै फोन गरेका रहेछन् म जागिरमा नै थिए र अलि व्यस्त पनि । व्यस्त भएको संकेत मात्र के दिएथे उनले कुरा बुझिहाले र अरु गनथन नगरिकन निमन्त्रणाको कुरा निकाल्दै भने- नरेश जी एलबम तयारी भएर आईपुग्यो पर्सि बिमोचन छ आउनुपर्‍यो है निमन्त्रणा गरे । निमन्त्रणा स्वीकार्दै- तत्काल विदा मिलाउन नसकिने अवस्था छ, मिल्यो भने आईहाल्छु मिलेन भने माफ गर्नुहोला । यस पछि उनले सकेसम्म विदा मिलाउने कोशिस गर्न आग्रह गरे । विदाको लागि निक्कै कोशिस गरे तर मिलाउनु सकिन । यस्तो अवस्था भोग्नुपर्दा जागिर देखि पनि दिक्क लागेर आउँछ । विदा निमिलेकै कारणले यस्ता कयौं अवसर गुमाएको छु, धेरै साथीभाई र इष्टमित्र देखि टाढा हुन बाद्य भएको छु । लाग्दछ, हङकङमा यो चुनौतिको सामना सम्भवत प्रायः सवैले गरेको हुनपर्दछ, यही सम्झेर चित्त बुझाउँछु ।
टंक सम्बाहाम्फेको "सार" विमोचन कार्यक्रममा उपस्थिति जनाउन नपाए पनि केही दिन भित्रै सिडी हात लाग्यो र त्यस भित्र रहेका गीतहरू सुन्ने अवसर पाए । गीतहरू सुनेर अति आनन्द लिए । गीत यसरी सुरु हुन्छ-
ढल्यो त्यसै दिन मेरो साझ सँगै डुब्न
रह्यो त्यसै चाह मेरो तिमी सम्म पुग्न,
पुग्नु थियो धेरै टाढा फूल चर्ढाई देउरालीमा
नाघ्नु थियो डाँडाकाँडा दुख बिर्साई उकालीमा
भोग्नु मात्र रहेछ ब्याथा छाती पोली पोली
कति सुनाउ मनको वह दिल खोली खोली
ढल्यो .........................................................
गीतहरू अति मिठा, सुमधुर र कर्णप्रिय छन् । जसमा मिलन विछोड, आशा निराशा, पिडा, उमङ्ग, दुःख, पश्चताप जस्ता जीवनमा घट्ने कथाका विविध रसहरूले भरिएका गीतहरू प्रेममय, भावमय र जीवन्त छन्, सुन्न र गुन्गुनाउन योग्य छन् ।
टंक सम्बाहाम्फेलाई सबभन्दा पहिले त कवि भनेर चिन्थे । कारण मैले उनका धेरै राम्रा कविताहरू पढि सकेको छु र उनको कविता कृति "युद्घभित्र उभिएको बुद्घ" पनि हात लागि सकेको छ । उनको गीति एलबम "मनोभाव" सुनेपछि थाहा भयो उनि गीत पनि उत्तिकै राम्रा लेख्दा रहेछन् । र पनि मैले उनलाई कवि कै रुपमा हेरिरहे, चिनिरहे । तर, हालसालै निकालिएको पछिल्लो एलबम "सार" सुनेपछि प्रष्ट भयो उनले आफूलाई कवि मात्र नभएर हङकङका एक शसक्त र स्थापित गीतकारको रुपमा प्रस्तुत गरेका छन् ।
गीत सुन्नु र गुन्गुनाउनु एउटा कुरा जो सबैले सजिलै गर्न सकिन्छ । तर, गीतको बारेमा समिक्षा गर्नु विश्लेषण गर्नु र यसको बारेमा लेख्नु, भन्नु निक्कै कठिन कार्य हो । एउटा गीत तयारी हुनको लागि शब्द, संगित र स्वर तीन विधाको यथोचित सममिश्रण हुन आवश्यक छ । अथवा गीतलाई शब्द, संगित र स्वरको त्रिकोणात्मक संगम हो भन्न सकिन्छ । त्यसैले गीतको बारेमा लेख्न, भन्न र समग्र समिक्षा गर्नको लागि शब्दरचना, संगित र स्वरगायन तिनवटै विधामा राम्रो ज्ञान र पारङ्गत हुन नितान्त आवश्यक छ, अनि मात्र गीतमा भएको गुण अवगुण, सबलपक्ष दुर्बलपक्ष तथा गीतको स्तर र वजन कति छ भन्ने कुरा खुट्याउन सक्ने हैसियत रहन्छ ।
आज म एउटा साधारण श्रोताको हैसियतले टंक सम्बाहाम्फेको गीति एलबम "सार"को बारेमा आफुलाई लागेका केही शब्दहरू लेख्न गईरहेको छु । गीत तथा संगित भनेको जीवनको एउटा अङ्ग हो जसले प्रत्येक मान्छेलाई सुख र दुःखमा साथ दिएको हुन्छ । त्यसैले गीत जीवनको लागि हुनु पर्दछ र जीवन गीतको लागि हुनुपर्दछ, लाग्छ । जसले हरेक प्राणी जगतलाई मनोरन्जन र आनन्द मात्र नभएर शान्ति समेत प्रदान गरोस् । यसै अनुभुतिमा उभिएर कुनै न कुनै तवरले जीवनसँग गाँसिएका छन् "सार" मा समेटिएका प्रत्येक गीतहरू ।
"सार" को आवरण पक्ष पनि हेर्न योग्य छ । कभरको अघिल्लो भागमा स्वभाविक मिल्दो रंगको पर्दामा गीतकार र गायक तथा दोश्रो भागमा संगितकाहरूको गम्भिर तथा आकर्ष तस्विरले गर्दा सिडीमा जुन गम्भियर्ता झल्केको छ, त्यसमा राखिएको मिल्दो कलर कम्भिनेसन र आकर्ष साजसज्जाले झनै लोभलाग्दो सुन्दर देखिएको छ । चलन चल्तिमा देखा परेका सिडीहरूको लहरमा यो एलबम निक्कै आकर्ष देखिएको छ ।
यस एलबमा टंक सम्बाहाम्फेद्वारा रचित १० वटा आधुनिक गीतहरू समेटिएका छन् र सबै गीतमा कर्णप्रिय र कोमल स्वरका धनि गायक तथा संगितकार कृष्णभक्त र्राईले स्वर दिएका छन् । बरिष्ठ संगितकार दिनेश सुब्बा र अर्का नेपालको चर्चित संगितकार हेमन्त शिसिरले एक-एक गीतमा संगित भरेका छन् र बाँकि ८ वटा गीतहरूमा गायक स्वयंले संगित भरेका छन् । शब्दरचनाको हिसाबले संगित पक्ष अति प्रवल छन् । संगितकारले शब्दका भावहरूलाई यथोचित संगित दिएर कुशलता पूर्वक आफ्नो क्षमताको प्र दर्शन गरेका छन् । यी सबै गुणहरूले गर्दा सारले आफ्नो उचाईलाई राम्ररी चुमेको छ ।
हङकङका धेरै नेपाली गीतकारहरूको लहरमा स्थापित गीतकारको रुपमा रामकृष्ण वान्तावा एक्लो ताराको रुपमा छन् अब उनको पंक्तिमा अर्का गीतकार टंक सम्बाहाम्फे पनि स्थापित हुन पुगेका छन् । यो हङकङेली नेपालीको लागि खुशी र गौरवको कुरा हो । आशा एबं विश्वास गरौं र आगामी दिनहरूमा उनीहरूको राम्रा गीतहरू निरन्तर सुन्ने अवसर मिलिरहने छ ।
अन्तमा कवि तथा गीतकार टंक सम्बाहाम्फेको लेखन शक्ति अझ सशक्त भएर जावोस् । हालै बिमोचित गीतिएलबम "सार" सबै नेपाली श्रोताहरूमाझ लोकप्रिय बनोस् र नयाँ गीतकहरू चाँडै सुन्न पाइयोस् यही शुभ कामना प्रकट गर्दछु ।
पूणिर्माको जून हौ कि मेरो मनको धुन
दिन रात आईपुग्छौ हृदयलाई छुन

May 28, 2008

टंक सम्वाहाम्फेको अर्को गीती अल्वम

राई चन्द्र दुमी

" सार,,को सारपक्ष
यौटा सुन्दर संसार थियो मनको वस्तिभित्र
उजाड भयो जीन्दगानी दुख्दा छाती भित्र
-प्रणय प्रिती

बिती रहेछ यसरीनै जीवन यो सारा
दुखियालाई बनाईदिन्छन दोषको तारा
ताप हो की राप हो त्यसै सहनु पर्यो
-बिद्रोह

हंगकंगको नेपाली सांगितिक माहौलमा घरिन,घरि गीत र्सजकहरुले तहल्का मच्चाई रहन्छन । यस्मा लागि परेर गीतकारमा आफुलाई दर्ज गर्ने २ नामहरु हुन राम कृष्ण बान्तवा र टंक सम्बाहाम्फे । भनौँ उनिहरुको एकलराज्य भन्दा फरक नपर्ने अवश्था आईसकेको छ यस क्षेत्रमा । किनभने गीत सिर्जना गर्दा डुबेर सिर्जना गर्नेहरु मध्यमा मलाई लागेको यस क्षेत्रको हंगकंगका हस्ती श्रष्टाहरु यी दुइ हुन । यसपटक कवि टंक सम्वाहाम्फेलाई मैले यसरी यहा किन ल्याईरहेछु भने उनि कममा गीतकार बढीमा कवि लाग्थे मलाई । तर उनि गीत लेखनमापनि अरु मजबुत भईसकेछन, यस्तोकि उनि धेरैबर्षपहिले गीतमा स्थापित भएको हुन जस्तो । पहिलो गीती अल्वम मनोभाव पछि यसै थन्किएलान भन्ठानेको त्यसो भएन अरु उर्जाशिल भएर झुल्केछन उनि "सार,, दोश्रो अल्वममा । उन्को यो सस्तो रहर थिएन रहेछ । आजको अल्पकालिन रहरेहरुले चर्चामा आउनलाई हृवात्त देखा परेर स्वाट्ट हराउने सस्तो लोकप्रियताको नायक होईनन रहेछन धनकुटे श्रष्टा सम्वाहाम्फे । आधुनिक गीतको खास रस भनेकै शब्दमा हुने भएकोले पप, रक जस्तो झ्वाट्ट उत्तेजनामा आएर ढाङ ढुङ हल्ला गरिराखेर स्वाट्ट हराउने कुरा आउँदैन तरैपनि हंगकंगमा गीत विधामा धेरै कलमहरु देखा परेर हराएका छन, विहान उदाएको सूर्य बेलुकी अस्ताएजस्तै । यस्तोकी उस्ले भावनामा रोपेन गीतलाई रहरमा फुलायो र यसै ओइलायो । कसैलेत संगीतरुपी प्राण लगाउने काम समेत गर्न सकेको होईनन, यो यौटा समस्यापनि हो आफ्नो ठाउँमा छ । तर आधुनिक गीत भावपरक हुने भएको कारण कविताकै रुपमा सुन्दामात्रपनि एक किसिम रसमय भने अवश्य हुन्छ ।
पहिलो मनोभाव को सफलतालेपनि उन्लाई गीती लेखन क्षेत्रमा पाईला चाल्न उत्साहित गर्छ,नै र नै यस क्षेत्रलाई दिर्घकालिन रुप दिन्छन भनेर बिगतमा जो कोहीले अनुमान गर्थे जस्ले मनोभाव अलवमलाई सुनेको थिए । कवितामा यथेष्ट नाम कमाएका सम्वाहाम्फेलाई मैले भने मनोभाव थपिथपि सुनेको भएपनि सारै पत्याएको थिईन । त्यतिको उज्वल गीतकारलाई नपत्याउँनुमा के कारण थियो भने त्यो मनोभाव निस्के लगत्तै उनि राजनैतिक कुराहरुमा, हक अधिकारका लेखहरुमा (समग्रमा वैचारिक लेखहरुमा) निकै देखा पर्न थालेका थिए, इभन अहिलेपनि छन । मैले मै संग तुलना गरेर उन्को हक्मा यस्तो निर्णय गर्नुत नहुने हो तर यस्तै सोचेछु । म हिजोआज विचारमा बढी दौडने गरेको छु, यतिसम्मकी पारिजात दिदीले मार्क्सवादी दर्शनको गुदी भेटाउनुभएपछि सिरिशको फूलहरु जो सुन्यवादी धारका उपन्यास थिए लाई बहिस्कार गर्नुभएको थियो । मलाईपनि कहिलेकाँही त्यस्तो फिल हुन्छ मेरो प्रणय प्रितिको कविता गीत र कथाहरु सवै आगो लगाईदिउँ जस्ले निरासावादलाई हुर्काउने काममात्र गरेको छन । तर दुनियाँले देख्दा पारिजात दिदीसंग तुलना गरेको देख्छनकी जस्तो लागेर एक किसिम आफ्नै शंकाको घेराभित्र कैदी भएर लघुतावोध पाल्दै त्यो हिम्मत गर्दिन र एक किसिम प्रणयप्रेम सामाजिक आवश्यक्ता हो मेरो ठम्याईं । जे होस दिदी मेरो लागि आकासको तारा भएपनि म भित्रपनि क्रान्तिकारीपन भने छिप्पिईंदोनै छ ।
फेरी म अलि अनौठो क्रान्तिकारी छु, कि यौटा युवक र युवतीको प्रेमलाईपनि संसारकै प्रेमको दाँजोमा गणना हुनुपर्छ भन्ने मान्यता राख्दछु । वास्तवमा भन्ने हो भने कुनै समयकाल परिस्थितिमा म मेरो यहि धारणाको कारण पछिपनि परेको छु । यहि सिद्धान्तको शिकार भएको छु भन्दा फरक नपर्ला । तर युवा युवतीबीचबाट शंस्लेषित प्रेम मानव आगमनको पहिलो बिन्दू मान्दछु म । जतिसुकै क्रान्तिकारी हौँ हामी प्रणय प्रिती र ब्यवहारलाई फ्युजन गरेर बिचको धारमा हिडाउँन सक्नुपर्छ, मेरो धारणा । कतिभने बि. पि. को कथाको ध्यानाशन्न ऋषि जत्तिनै कर्तब्यलाई भुलिहाल्न भएन । यौटा आवश्यक सिमा रेखा र सभ्यतालाई भुलेर कुण्ठाको रुपमा पेश गर्नु र हुनु भएन भन्नेसम्म हो । टंक सम्वाहाम्फेका गीतहरु मेरो चाहनाको सिमारेखा जत्तिनै छरितो लोभलाग्दो प्रणयप्रेम बोकेर झुल्केको छन, तिनीहरुलाई दिनेश सुब्बाजीबाट आफुजस्तै आफु सुहाउँदो संगित जुरेको छ ।
अँ, टंक सम्वाहाम्फे हंगकंगबाट दोश्रो पटक "सार,, लिएर उदाएको छन । १० गीतको संगालो सार अलवम पहिलेको तुलनामा छरितो छ । पहिलेको कुनै गीतहरु राम्रा भएरपनि लामा लाग्थे । अहिले गीतहरुमा गीतकार वान्तवाले भनेजस्तै मिटर मिलाउँने कोशिष गरिएको छ, गीतकार केशव भट्टर्राईजी (महावाणिज्यदूत)ले भन्नुभएजस्तै थोरै शब्दमा धेरै कुराहरु अटाउँन सकिएको छ । संगीत सम्बन्धि यथेष्ट ज्ञान राख्नुहुने औपचारिक शिक्षानै संगीत अध्ययन गर्नुभएको हंगकंगका चर्चित संगीतकार दिनेश सुब्बाले मेहनत गरेर दिनुभएको संगीत दोश्रो अन्तरा सुन्नेसाथ थाहा हुन्छ शब्दलाई ख्याल गरेर कल्पना गरिएको संगीत । कतिपय संगीतकारहरुले लौत भनुँभने त्यो सम्भुजित वास्कोटाले नै पहिले संगीत कल्पना गरेर अनि त्यसपछि गीत बनाउँछन । भनाईको अर्थ "यस्तो शब्द बोकेको गीतलाई कस्तो संगीत फिट हुन्छ, होईनकी यस्तो संगीतलाई कस्तो शब्द फिट हुन्छ भनेर गीतको रुप दिन्छन । त्यसैले आई लभ यु मोर देन आई क्यान से जस्ता भावनात्मक गीतहरु उछृङखल जस्तो लाग्ने "लाई दिउँ माया लाई दिउँ माया लाईदिउँ,, हुन आईपुग्छन । दिनेश सुब्बाजी पनि हंगकंगमा हुनु यहाको गीतकारहरुसंगको भाग्यको संयोग भन्नमा कुनै अत्युक्ति हुनेछैन । यो निश्चित कुरा हो की गीतकारहरु र संगीतकारहरुको नेपालको भेट यस्तो बराबरी हाराहारीमा कहिल्यै हुन सक्दैन । साँच्चै भनौँ भने दिनेश संगीतकारहरु धेरै ब्यस्त हुनुको कारण मन्त्री भेटनु जस्तै चर्को हुन्छ त्यहा ।
टंक सम्वाहाम्फेको पहिलो अलवम मनोभाव मा दिनेशजीले चाईनीज बाजाको प्रयोग गर्नु भएको छ । मलाई लाग्छ त्यो सेक्सोफोन स्टायलले बजाईन्छ अति सुन्दर लागेको छ मलाई त्यो । सम्भवतः त्यो नै पहिलो पटक हो नेपाली गीतमा चाईनिज बाजाको प्रयोग , यस्पालीपनि त्यस्तै आशा गरेर अन्तिम गीतसम्मै चियो गरें कान ठाडो - चनाखो पारें, पाईएन त्यस्तो । उहाँको पनि मन नभएकोत होईनहोला तर त्यो सव जोडन अर्थ लगायतका हरेक कुराले सम्भवपनित हुनुपर्यो । जे होस टंक सम्बाहाम्फेको नयाँ अल्वम सार मा गायक कृष्णभक्त र दिनेश सुब्बाले भरमग्दुर प्रयत्न गरेको छन त्यसै हुनाले यो दोश्रो अल्वमपनि उच्च छ, कर्णप्रिय लाग्छन गीतहरु । तिनै पक्ष सफल छन । आजको कम्प्युटर युगमा रुप पक्षत यसैपनि सुन्दर भईहाल्छ तर सार पक्षभित्रको सारपक्षपनि मलाई उत्कृष्ट लागेको छ । आगे बिचार गर्नोस तपाईहरुलाई पनि यो उत्कृष्ट लाग्नेछ ।
गीतकारका गीतका शब्दहरुको समिक्षा गर्न मेरो आँट त छैन तरपनि मलाई
नं २ को गीतमा भएको यो लहरः याद छ रुख खोपि हाम्रो नाम लेखेको
नं. १ मा ढल्यो त्यसै दिन मेरो साँझ संगै डुब्न
नं. ५ गीतकोः उजाड भयो जिन्दगानी दुख्दा छातीभित्र
नं. ७ को गीतमाः जुनेलीमा भेटौँ भन्थ्यौ जुन झरिगयो
नं.१० पूणिर्माको जुन हौ की मेरो मनको धुन ।
मन परेको शब्द लहरहरु हुन ।
बाठे पल्टेर बढी बोल्नुपर्दा प्राय गीतहरु कसैलाई समर्पित छ । नम्बर १ देखी लगातार नम्बर ४ सम्मका गीतहरु तिमी भनेर उन्लाई समर्पण गरिएको छ । प्रणय प्रितीको गीतमा प्रायः उनैलाई समर्पण गरिने यो गीतको नियमनै जस्तो हो । नम्बर ५ मा आएर यौटा सुन्दर संसार भन्ने गीतमा गीतकार एक्लो उभिएको छन मानौँकी आफ्नो कहानी सुनाउँन । फेरी नम्बर ६ मा आएर तिमी भनेर कसैलाई सम्वोधन गरिएको छ भने नम्बर ७ र ८ को गीत मा गीतकार फेरी एक्लै प्रश्तुत भएको छन र अन्तिमको दुइ गीतहरुमा उहि रित दोहोरिएको छ तिमी । तर गीत, कथा, कविता, कहानी जो कल्पना कल्पिईन्छ त्यो कसैन कसैको जीवन संग मिल्दो हुन्छ या मिल्न जाने हुनुपर्छ । नत्र त्यो फेन्टासी स्वैर कल्पना हुनजान्छ त्यो वास्तविकताको अंश भरपुर छ सम्वाहाम्फेको रचनाहरुमा । कसैले आफ्नो जीवनमा टंक सम्वाहाम्फेको गीतलाई गाएको छन, त्यो पिंडालाई बोकेको छन, त्यो खुशीलाई अंगालेको छन, त्यो अतितलाई भोगेको छन , बेचैनीलाई खेपेको छन, वास्तविकतालाई बिद्रोहलाई बुझेको छन आत्मसात गरेको छन यो पक्का कुरा हो । यसैलाई अर्को भाषामा भन्नुपर्दा जिवन्तता भनिदो हो । र गीतहरु जिवन्त छन सम्वाहाम्फेको ।
अन्तिममा जेष्ठ (बौद्धिकता होईन उमेर) को हैंसीयतले अरु बाठे पल्टनुपर्दा अव गीतमा ब्रि्रोहपनि बोल्नु पर्यो । सम्वाहाम्फेले सालाखाला आउनु जरुरी देखिन्छ । यहाभन्दा अरु अघि बढेमा त्यो स्वतः निरासावादमै मात्र रुमल्लिईरहने टडकारो सम्भावना देखिन्छ, छनक छ त्यस्तो । लेख्दै नलेख्ने होईन सालाखाल आउनु राम्रो हो की भन्छु । मैले टंक जसरीपनि हिडन, उडन र बढन सक्छन भनेर किन यो माग गरिरहेको छु भने, बीर काङसोरेको सन्तान भूमिपुत्र खाँटी लिम्वु कसैको बपौति किपट होईन खुद आफ्नो भूमि चोख्याउँने संघर्षमा होमिनुपर्ने आहृवान गर्दै कलमी युद्ध छेडिरहेकोपनि भेटेको छु उन्लाई । युद्धभित्र बुद्धलाई उभ्याएर कलमी रणकौशलता देखाउँदै, निर्देशन गर्दै क्रान्ति समयको माग नारावाजी गरेको पनि मेरै आँखाअघि भेटेको हो, यसैले अव सम्वाहाम्फे गीतमापनि स्वाभिमान बोल्नेछन कुरुले तेनुप्पालाई बिरह बिरक्तिमा मात्रै होईन बीरंगनाहरुमा रुपान्तरण गर्दै बीरतामा उतार्नेछन । चारैतिर आदीवासी जनजाति गीतको थाल्नी भएकोछ आशा गरौँ त्यता अवश्य झुल्कनेछन टंक सम्वाहाम्फे गौरवकोसाथ तेश्रो अलवम भनेर ।

May 17, 2008

गीतकार टंक सम्बाहाम्फे र कर्णप्रिय गीतहरूको सार

हाङयुग अज्ञात

कहाँ पुग्यौ छिरिङ तिमी ढुङ्गामाथि नाउँ खोपी
बाटो हेरूँ कुहिरो आउँछ गुम्बा, पाटी, गाउँ छोपी
- टिका चाम्लिङ, सपनाको रङ्ग (नेपाल)

गीतको विषयमा लेख्नुपर्दा मलाई अत्यन्तै गारो पर्छ । तेसमाथि पनि मायापिरतीका गीतहरूमा समिक्षा या भूमिका लेख्नुपर्‍यो भने मेरो मस्तिष्क शून्य हुन्छ । तर, भर्खरै हङकङका गीतकार टंक सम्बाहाम्फेको गीतिएल्बम् सारमा संकलित गीतहरू सुनिसकेपछि मलाई के लागेको छ भने गीतका विषयमा लेख्नुका लागि मस्तिष्क होइन, हृदय चाहिने रहेछ । हङकङेली नेपाली साहित्य (हनेसा)को जग हाल्नेमा पहिलो कविगोष्ठी गर्ने किरात याक्थुङ चुम्लुङका भूपेन्द्र चेम्जोङ र चन्द्र मादेन, नेपाली साहित्य प्रतिष्ठानका पहिलो अध्यक्ष र्राई चन्द्र दुमी, प्रतिष्ठानकै क्रान्ति सुब्बा, देश सुब्बा, शरण सुब्बा, शिव प्रधान, प्रकाशकृष्ण बाक्सिला र नेपाल कुश्शाहरूकै लहरमा प्रतिष्ठानका वर्तमान अध्यक्ष टंक सम्बाहाम्फे उभिएका छन् । अविराम र पूर्वक्षितिजले हालेको जग आज सृजनशील साहित्यसम्म आइपुगेको छ भने विभिन्न ब्लग र बेवपत्रिकाहरूमा हनेसा फैलिरहेको छ । प्रिन्ट मिडिया छोडेर यतिबेला टंकजी पनि ब्लग र वेबपत्रिकाको सञ्चालनतिर छन् । हिजो हनेसाको जग हाल्नेहरू कोही युके पुगे, कोही नेपाल फर्के, कोही मकाउतिर छन् भने केही थोरै मात्र हङकङमा छन् र ती थोरैहरूमा गीतकार टंक सम्बाहाम्फेको नाम बिर्सिनु हुँदैन । टंक सम्बाहाम्फे कविता पनि लेख्छन् र उनका कविताहरूका बारेमा अन्यत्रै विमर्श गरेको छु । यहाँ उनको सार एल्बमका शब्दहरूमाथि मात्रै केन्द्रित हुन चाहन्छु । यथार्थमा म समिक्षात्मक टिप्पणीभन्दा पनि गीतकार टंक सम्बाहाम्फे र उनका प्रकाशित दशवटा गीतहरू बारे भूमिका लेख्न गइरहेको छु । किनभने गीतको सन्दर्भमा समिक्षा र समालोचना गर्ने सामर्थ्य ममा छैन । भूमिका भनेपछि छुट पाउँछु होला, झिनो आस छ ।
गीतकार टंक सम्बाहाम्फेलाई मैले हङकङमै चिनेको हूँ जसरी उनले पनि मलाई यहीँ आएर चिने । यता आउने बेला उता नेपालमा टंकजीको नाम इश्वरवल्लभ, कृष्ण धराबासी र गोविन्दराज भट्टर्राईले सोधिपठाए । यसबीचमा नेपालका शिखर गीतकार

गीतकार टंक सम्बाहाम्फे
इश्वरवल्लभको पार्थिव शरीरले चराचर जगत छोडिसकेको छ । कृष्ण धराबासी पनि झापा छोडी काठमान्डौ भित्रिएका छन् भने गोविन्दराज भट्र्राई त्रिविविमै खुट्टा हल्लाइरहेका छन् । नेपाली साहित्यका यी ठूला स्रष्टाहरूले सोधिपठाएका टंक सम्बाहाम्फेसित हङकङ आएको केही समयपछि नै भेट भइहाल्यो । उनले फोन गरे, भेटौं भने, स्टारफेरीको म्याकडोनाल्डमा भेटेर गफ भयो । नेपालबाट उनका लागि मैल इश्वरवल्लभ, धराबासी र भट्टराईले सोधिपठाएको पार्सल दिएँ । उनी खुशी भए, म पनि रमाएँ । पछि दोश्रो भेटमा उनले आफ्नो कोठामा लगे र एच्के नेपाल डट्कम् आफूहरूले सुरू गर्दै गरेको जानकारी गराए । तेतिबेलै कवि तथा पत्रकार पशन तमुसित पनि भेट गराइदिए । तेश्रो भेट उनको गीतिएल्बम् मनोभावको विमोचन कार्यक्रममा भयो । जहाँ उनले मलाई दुइ शब्द राख्ने मौका दिए । पशन तमु र अन्तराष्ट्रिय साहित्य समाज हङकङलाई धन्यवाद । त्यसपछि निरन्तरनिरन्तर हामी सँगै हिँडिरहेका छौं, एच्केनेपाल डट्कम्ले धेरै प्रगति गरिसकेको छ र टंकजीले धेरै राम्रा राम्रा गीतहरू लेखिभ्याएका छन् ।
आधुनिक गीतिसंग्रह सार
यौटा ग्रीकेली मिथक छ गीतसङ्गीतको विषयमा । सङ्गीतदेव अपोलो र आख्यानात्मक कविताकी देवी कल्लियपका छोरा अर्फेस महान् सङ्गीतकार र गायक हुन्छन् । जब उनले गीत गाउन र ल्युट् (विणाजस्तो बाजा) बजाउन सुरू गर्थे तब मानिसहरूले मात्रै होइन, जनावर र रूखहरू, खोला र ढुङ्गाहरूले पनि उनको गीत सुन्थे अरे । पछि उनले आफ्नी प्रेमिका युरेडाइस (जसलाई बिहेकै दिन सर्पले ठुँगेर मार्छ) लाई गीतै गाएर मर्त्यलोकबाट फर्काई ल्याउँछन् । हिन्दू मिथकमा पनि कृष्णजीले सोर हजार गोपिनी र गाइवस्तुलाई बाँसुरी बजाएर आफ्नो बसमा राखेका थिए अरे । यता हामी लिम्बूहरूको जीवनमा पनि पालाम र हाक्पारेको खुबै सुन्दर संसार छ । सात दिन सात रातसम्म धान नाच्दै पालाम गाउने तरूनीतन्नेरीहरू यहीँकतै छौं । तर, गीतसङ्गीतको विषयमा लिम्बू मिथकहरू हराएका छन्, कवि टंक वनेमले भेटेका छन् भने सप्पैलाई थाहा दिनु होला । तेसोरी, गीतसङ्गीतका विषयमा उहिलेउहिलेबाट नै कथाहरू बुनिएका छन् । र, ती कथाहरूको सार के हो भन्दाखेरि पे्रम नै गीतसङ्गीतको स्रोत हो अनि गीतकार टंक सम्बाहाम्फेको सार एल्बम्को सार पनि प्रेमबिना गीतसङ्गीत हुँदैन भन्ने नै हो । यसरी सार एल्बम्मा समेटिएका गीतहरूले प्रेमकै पूजा गर्छ, अर्चना गर्छ । प्रेमले उत्पन्न गर्ने आशा र निराशा, हाँसो र रोदन, सुख र दुःख, मिलन र विछोड, प्रशंसा र जलन आदिइत्यादि रसहरूलाई नै गीतका शब्दमा टंकजीले सजाएका छन् । जस्तो यी तलका गीतका अंशहरू हेरौं,

ढल्यो त्यसै दिन मेरो साँझ सँगै डुब्न
रह्यो त्यसै चाह मेरो तिमीसम्म पुग्न । १

गुराँस टिपी लाएका थियौं हामी सानो छँदा
लुकामारी खेलेकाथ्यौं रानी वन घुम्दा । २

सँगै हाँस्ने मन थियो विवशताले टाढी गयौ
हात मेरो समाएर फेरि किन छाडी गयौ । ३

माया थियो कति चोखो समुद्रको गहिराइजस्तो
कसम थियो दुइ मुटुको चम्किरहने जूनजस्तो । ४

एउटा सुन्दर संसार थियो मनको बस्तीभित्र
हुरी आई उर्डाई लग्यो मेरो भाग्यसित । ५

डाँडामाथि बादलुले घामै छेक्यो कि ?
सताइरहन्छ सम्झनाले माया बस्यो कि ? ६

वर्षाको मौसम रिमझिम पानी परिरह्यो
जुनेलीमा भेटौं भन्थ्यौ जून झरिगयो । ७

भाग्य सबको चम्किदिन्छ आफू कर्महारा
रम्न खोज्दा यो आँखामा बग्छ आँसु धारा । ८

तिमी थियौ आफ्नो भन्ने एक्लै पारी छोडी गयौ
साँचो माया दिन्छु भनी सारा नाता तोडी गयौ । ९

जहाँ जाउँ पछ्याउँछ तिम्रै छायाँले
जति सम्झूँ लठ्याउँछ तिम्रै मायाले । १०

यसरी सङ्कलित दस गीतहरूको सार प्रेम हो । कृष्णभक्त र्राईको स्वर तथा सङ्गीत कर्णप्रिय छ । दिनेश सुब्बा र हेमन्त शिशिरको सङ्गीत पनि सुन्दर सुनिन्छ । विषेशगरिकन दिनेश सुब्बाले आफ्नो मौलिक पहिचान यसपटक पनि कायम राखेका छन् ।
हङकङेली नेपाली गीतसङ्गीतमा छ्याप्छ्याप्ती भइरहेका गीतिएल्बम्हरूको फेहरिस्तमा मनोभावपछिको उनको यो दोश्रो एल्बम पनि स्तरीय छ । प्रेमबिम्बहरूको घना जङ्गलभित्र उनले गीतहरूलाई घुमाएका छन् । गीतका मिटरहरू ठ्याक्कठ्याक्क मिलाएका छन् । कोमल शब्दहरूको माला पहिर्‍याएर गीतलाई उनले हृदयस्पर्शी बनाएका छन् र पीडाहरूको मह घोलेर शब्दहरूलाई मर्मस्पर्शी बनाएका छन् । तर, कतिपय ठाउँमा मिटर मिलाउनकै लागि मिटर मिलाएको पाइन्छ जसले गर्दा शब्द र भावको सम्बन्ध टुक्रिएर गीतकारले केमा जोड दिन खोजेका हुन् पत्ता लगाउन गारो भइदिन्छ । गायक र सङ्गीतकारलाई सुनेपछि त्यो गारोपन फेरि फुस्किन्छ र गीतको आनन्द लिन सकिन्छ । माथि टिपिएका गीतका अंशहरूले पनि पाठक तथा श्रोताहरूलाई सार गीतिएल्बम्मा समेटिएका गीतहरूको विषयमा थोरै उज्यालो देला । गीत सुन्दा जुन आनन्द आउँछ त्यसलाई शब्दमा उतार्न सकिदैन । मलाई यही अनुभव भइरहेको छ । नेपालका समकालीन गीतकारहरूकै लहरमा उभिएका गीतकार टंक सम्बाहाम्फेबाट नेपाली गीतसङ्गीतले अझै धेरै अपेक्षा गर्दा फरक पर्दैन ।
हङकङेली गीतकारहरूमा रामकृष्ण वान्तवाको नाम उल्लेखनीय छ । सारको प्रकाशनपछि टंक सम्बाहाम्फेलाई उनकै समकक्षमा राख्दा हुन्छ । अन्य गीतकारहरूमा तिलक थापा र डि.बि पालुङ्वा संघर्ष गरिरहेका छन् । गीता पालुङ्वा पनि राम्रै गीत लेख्छिन् । प्रदीप कन्दङ्वा, प्रकाश के.सी., राई चन्द्र दुमीका थोरै गीतहरूमा सङ्गीत भरिएका भए पनि यी स्तरीय गीतकारहरूमा गनिन्छन् । गणेश इजम पुराना गीतकार हुन्, गीतकार टंक सम्बाहाम्फेकै समकालीन पनि । हङकङमा अन्य धेरै गीतकारहरू छन् जसका गीतहरू सङ्गीतबद्घ भएका छैनन् । भोगेन एक्लेको गीतमा पनि सङ्गीत भरिदै छ । मैले सम्झेको गीतकारहरू अहिले यिनै हुन् । देश सुब्बाले पनि दुइचारवटा गीत लेखेका छन् । देवेन्द्र खेरेसको कवितालाई सङ्गीत भर्न भनेर सङ्गीतकार शिव सुब्बाले मेरै आँखा अगाडिबाट लगेका छन् । दिनेश सुब्बा, नागेन्द्र श्रेष्ठ, गणेश पराजुली, विक्रम गुरूङलगायत अरू धेरै सङ्गीतकर्मीहरू हङकङमा क्रियाशील छन् । तेही भएर पनि हङकङमा गीतकारहरूको ठूलो माहौल निर्माण भइसकेको छ । यसैलाई संस्थागत गर्न प्रदीप कन्दङ्वाको अध्यक्षतामा आदिबासी गीतकार समाज हङकङको स्थापना भएको छ र आदिबासी नामको एल्बम निकाल्ने तयारीमा यो संस्था क्रियाशील भइरहेको छ । गीतकार टंक सम्बाहाम्फे आदिबासी गीतकार समाज हङकङका वरिष्ठ सल्लाहकार सदस्यमा छन् । दुइजना हङकङेली गीतकारहरूको नाम लिनुपर्‍यो भने म रामकृष्ण वान्तवा र टंक सम्बाहाम्फेको नाम लिन्छु । अरू गीतकारहरूले चित्त नदुखाउनु होला, सार सुन्नु होला । अन्तमा कवि टंक सम्बाहाम्फेकै कविता अंशबाट यो छोटो भूमिका सकाउन चाहन्छु ।

सधैँसधैँका लागि हातहरू
उठ्नुपर्छ/जुट्नुपर्छ
गाउँबस्ती र सहरबाट
हरेक तह र तप्काबाट
देशका हरेक अङ्गअङ्गबाट
बहुल विचार उठ्नुपर्छ
बहुल जाति, धर्म, सँस्कृति र भाषा उठ्नुपर्छ
समावेशी र संघीयताको पक्षमा जुट्नुपर्छ
किनकी तिनै बहुल हातहरूको संरचनाले
बनेको छ हाम्रो देश ।

May 8, 2008

सारको मन छुने गीतहरू

देश सुब्बा

ढल्यो त्यसै दिन मेरो साँझ सँगै डुब्न
रहृयो त्यसै चाह मेरो तिमी सम्म पुग्न
राख्नु थियो यतैकतै सपना सजाइ विपनीमा
हाँस्नु थियो भित्री कतै तिम्लाई हँसाइ जिन्दगीमा
रुनु मात्र रहेछ आँसु चोट बोकी बोकी
कति सम्झाउ मनको बह भूल देखी देखी

सामवेद, साम् मुन्धुमदेखि वर्तमान हाम्रो समय समयसम्म आइपुग्दा गीत, संगीत चेतना, आवाज, श्रवण हाम्रो कालको ढाँचामा आइपुग्यो । समय केही अगाडि बढ्ने बित्तिकै मीठा गीतहरू रंग उडेको घरजस्तो हुन थाल्दोरहेछ । केही समय अगाडि मात्र उत्तम ठानेको कतिपय गीत केही समयपछि फिक्का लाग्न थालेको हुँदोरहेछ । त्यसमा पनि आफ्नो भावना, अनुभूति, प्रेम नबोकेको गीत कृत्रिम लाग्दोरहेछ ।
अबको साहित्य, गीत, राजनीति पृथक हिँड्न छाडेको आभाष हुँदैछ । त्यस्तै गीत, साहित्यले अहिले पृथक समूह खोजिरहेको छ । पृथक समूह मिलेर सुन्दर पुञ्ज बन्दैछ । ती समूहमा टंक सम्बाहाम्फेका गीत आइपुगेका छन् - छोड्दै काँचुली, छोड्दै पत्रहरू । उनका शब्दहरू यसरी पृथक बनेका छन्

ताप हो कि राप हो त्यसै सहनु पर्‍यो
वाध्यताको ढुङ्गा यहाँ आफैमाथि झर्‍यो

बब मार्लीका कुरा हुन्छन्, मित्रसेनका कुरा हुन्छन्, रवि शंकरका कुरा हुन्छन्, लाजेशा याक्थुङबाका कुरा हुन्छन् । यी सबै समयका उत्पादन लाग्छन् । सम्बाहाम्फेका गीतहरू उत्पादन बन्दैछन् समयका । समयका उत्पादन आफ्नो समयका हिरो/हिरोइन हुन्छन् र आफ्नो समयभन्दा पछाडिसम्म फैलिएर बसिरहन्छन् - हरिभक्तका गीतहरू भएर ।
कतिपय गीतहरू पहिलो पटकमै सुनुँसुनुँ लाग्ने हुन्छ । कतिपय गीतहरू जति सुन्यो उति सुनुँसुनुँ लाग्ने हुन्छ । सम्बाहाम्फेको "सार"का गीतहरू दोस्रो कोटीका गीतहरू लाग्छन् । दोस्रो कोटीका गीतहरू कालजयी हुन्छन् श्रवणहरूमा । मैले पहिलो पटक सुन्दा त्यति सुन्दर ठानेको थिइनँ, उनका गीतहरू । तर जति सुनेँ उति मीठो लाग्दै गयो । अनि पटकपटक सुनिरहेँ ।
दशवटा गीतमा गीतकार टंक सम्बाहाम्फेको सबै गीत र आठ वटा गीतमा कृष्ण भक्त र्राईको संगीत छ । दुइटा गीतमा दिनेश सुब्बा र हेमन्त शिशिरले संगीत गरेका छन् ।

एउटा सुन्दर संसार थियो मनको वस्ती भित्र
हुरी आइ उडाइ लग्यो मेरो भाग्य सित

सामान्यतया श्रोताले रचना, संगीत र स्वरलाई एकै शब्दमा गीत भन्ने गरेको पाउँछौ । गायकले भन्दा पनि "मेरो गीत कस्तो लाग्यो" नै भन्छन् । संग्रहहरूलाई पनि गीति संग्रह नै भन्ने गरिन्छ । टंक सम्बाहाम्फेको गीतमा सबै गीत कृष्ण भक्तले गाएकोले पनि शब्दहरू जीवन्त बनेको पाएँ । उनका गीतहरू व्यवशायिक बन्न खोजिरहेका छन् । त्यसो त सम्बाहाम्फले गीति संग्रह मनोभावबाट गीतकारहरूको समाजमा हस्तक्षेप गरिसकेका छन् र आफूलाई स्थापित गीतकार भन्नेहरूलाई चुनौति दिइसकेका छन् । सारमा आएर झन् सशक्त भएका छन् उनका शब्दहरू

"सार" आधुनिक गीतिसंग्रह र गीतकार टंक सम्बाहाम्फे

पुग्नु थियो धेरै टाढा फूल चढाइ देउरालीमा
नाघ्नु थियो डाँडाकाँडा दुःख बिसाएर उकालीमा

यी शब्दहरू सुन्दर बनेका छन्, गीतहरूको देउरालीमा । कृष्ण भक्तको संगीतको माझ दिनेश सुब्बा र हेमन्त शिशिरको संगीतले सारमा नुन थपिदिएका छन् । कवितामा साहित्य गरिरहेका सम्बाहाम्फेलाई गीतमा यति छिटै जम्नु होला लागेको थिएन, तर मनोभाव र सारले मेरो संदेह भत्काइदिएको छ यसरी

जिन्दगीमा चोट लाग्यो जिउँदा आफैसित
हार्नै थियो सारा दिन काहाँ भयो जित
बुनिरहे सपनाहरू चाहाना भत्काएर
सहिरहे दुःखहरू आत्मा थमाएर
कृष्ण भक्तका प्रिय गीतहरू भएर पनि होला, यी गीतहरूले एउटा तस्बीर बनाएका छन् । त्यसो त कृष्ण भक्तका स्वर र संगीत मार्मिक, भावुक त छनै, त्यसमा सम्बाहाम्फेको प्रणयभिक्षा शब्दहरूले प्रेम नगरीमा प्रसिद्ध अर्थ बोकेको ठानिरहेको छु ।
प्रणयी गीतहरूले प्रेमपात्रहरूलाई नयाँ संसार उभ्याइदिएको छ । सम्बाहाम्फेको गीतहरूमा विशेष गरी प्रेमरसको डाँडापाखा र उकालीओराली छन् । मिलन र बिछोडको जीवन छ । मैले नै पनि प्रेम(कल्पना गर्न पाएँ गीत सुनेर । यसलाई मैले गीतको शक्ति मानेको छु । सम्बाहाम्फेको गीतमा शक्ति छ श्रोतालाई तानिरहने । जति सुन्यो उति तानिरहन्छ । त्यस्ता गीतहरू विरलै आउँछन् । मैले धेरै कम मात्र यस्ता गीतहरूसित अनुभूति साट्न पाएको छु ।
समग्रमा "सार" का गीतहरू सुन्नै पर्ने र मन छुने खालको पाएको छु । गीतकार सम्बाहाम्फेले यस्तै सुन्दर गीतहरू अझै लेख्न सकुन् र फेरि फेरि पनि सुन्न पाऊँ भन्ने कामना गर्दछु ।
अन्त्यमा,

पूणिर्माको जून हौ कि मेरो मनको धुन
दिन रात आइपुग्छौ हृदय छन
जहाँ गए पछ्याउँछ तिम्रै मायाले
जति सम्झे लठ्याउँछ तिम्रै मायाले

May 7, 2008

".........गीत भयो गजल मेरो" एक समीक्षा

अशोक राई
गजलकार वुद्धि तेम्वे 'माइला' जीको गजल संग्रह "गीत भयो गजल मेरो" वारे २,४ कुरा लेख्ने विचार गरे । साहित्यमा गजल विधा खासगरि नयाँ पिडीमा निक्कै लोकप्रिय छ । करीव एकदशक यता गजलको यो लोकप्रियता संगीतमा दोहोरी गीत झैँ वाक्लो देखिएको छ । मेरो जानकारीमा आए सम्म २०५५- ५६ सालतिर फाट्टफुट्ट मात्र प्रकाशित गजलका पुस्तक अहिले आएर साहित्यको र्सार्वधिक प्रकाशित विधा भइसकेको छ । यसरी हेर्दा नेपाली साहित्य दिनदिनै धनी भएर गएको छ । र गजल विधाले नयाँ पिडीलाई साहित्यको विकासमा अग्रसर गराएको छ ।
उमेर २४ वर्षपुगेका 'माइला' भारतीय सेनामा कार्यरत रहेको जानकारी उनको चिनारीवाट थाहा हुन्छ । संग्रहको नाम "गीत भयो गजल मेरो"वाट नै उनको गजलमोह प्रष्टिएकोछ र उनी गजलका पारखी लेखक हुन् भन्ने पुष्टि हुन्छ । प्रकाशोन्मुख कृतिमा अर्को एउटा गजल र कविता कृतीको तयारीले'माइला' कवि पनि हुन् भन्ने जानकारी दिएको छ । जूनकुरा उनी गजल विधामा मात्र होइन अन्य विधामा पनि कलम चलाउँछन् भन्ने कुराको पुष्टि हो। 'माइला' का गजल संग्रह भित्र कतै प्रेमको आग्रह कतै धोका,कतै स्वतन्त्रताको चाहना कतै सैनिक हुनुको दुखद पीडा,कतै राजनैतिक वेथिती कतै मानवताको वकालत र कतै मानवीय स्वार्थ र कतै इश्वरसीतको गुनासा जस्ता विषयहरु समावेश गरिएका छन् । केही सेरहरु हेरौँ

गाउँघरमा अचेल एक्लै रुन्छन् सुसाउदैनन् खोलाहरु
घर घरमा ताला देखि डुलेन मन अझैपनि

यो सेरमा द्वन्दको वेला नेपालमा व्याप्त भएको आतंक र मनको विरक्ती मार्मीक रुपले पस्किएको छ ।

म होइन हामी हाम्रो मानवतालाई साचौँ अव
हातेमालो गर्दै हामी एकअर्कामा वाचौँ अव

प्रस्तुत सेरमा मान्छे मान्छेका वीच देखीने वैयक्तीकता त्यागेर मानवताको नाताले संगै -हामी) वाचौँ भन्ने मानवीय आग्रह छ ।

आयातीत यो कूरितीमा यति चाडै पस्नु हुन्न
आफ्नोमौलीक सँस्कृतिलाई वित्ते छुरी धस्नु हुन्न

यो सेरमा विदेशी सँस्कृती प्रति नतमस्तक नयाँ पिडीलाई उपदेश दिदै हामीले हाम्रो पहिचान हाम्रो सँस्कृतिलाई माया नमारौँ है भनीएको छ ।

औँसीको अधेरी झैँ राती भयो जीवन
चढाएर उभ्रिएको पाती भयो जीवन

यो सेरमा प्रेमीकाले आफ्नो माया लत्याएको विरक्ती भाव पोखीएको छ ।

देशको रक्षा गर्छु भनी हातमा बन्दूक वोकी हिँडे
मेरै जस्तो रगत वग्ने मान्छेलाई ठोकी हिँडे

सैनिक हुनु हाम्रो नियति हो के हातमुख जोर्ने हाम्रा लागि अन्य आधार छैन - आफू जस्तै मानिसहरु मारेर भोग्नु पर्ने सेनाको दुःख र पीडा यो सेरमा पाइएको छ ।
संग्रहभित्रका सवै गजलहरु यहाँ उल्लेख गर्न सकिन्न । यसभित्र 'माइला'का यस्ता धेरै अन्य गजल छन् जहाँ एउटा औसत मान्छेले जीवनमा भोग्ने अनिवार्य एवं आकस्मीक दुख सुखहरु त्यसवाट उब्जिएका थुप्रै भावनाहरु,द्वन्दहरु,विवशताहरु,पोख्न नसकिने कुण्ठाहरु,प्रेमका याचना र धोका पछिको हिनतावोध,खीन्नता जस्ता अनेक कुराहरु अटाएकाछन् । प्रकारान्तरलेमानिसका जीवनमा आइपर्ने आरोह अवरोहहरु उस्तै उस्तै हुन् सवैले जीवनका तीता मीठा कुराहरु भोग्छन् । जीवनका तिनै कुरा हुन् उनका सृजनाहरु । देउरालीको एक विसौनीमा माइलाका गजल लिएर वसौँ झैँ लाग्छ र त्यहीको सीतल हावासीत सुसाउँ जस्तो लाग्छ ।
अव गजलका शास्त्रिय पक्षहरुको उल्लेख नगरी यस्का अन्य पक्ष सीत मात्र भलाकूसारी गरौँ । नेपाली साहित्यमा गजल एउटा विवादित विधा पनि हो । केहि स्थापित कवि एवं आख्यानका लेखकहरु गजललाई वहिस्कार नै गरौँ भन्ने तर्क राख्छन् । यसको पक्षमा गजल आयातीत विधा हो संरचनागत नियममा वाँधिनु पर्ने भएकोले विचार संकुचन हुन्छ स्वतन्त्र भएर लेख्न सकिन्न भन्ने तर्कहरु अगाडी आएका हुन् । त्यसै गरेर गजल राजा महाराजा जस्ता सामन्ती शासकको खोपीमा गाइने,सुसाइने विधा हो जहाँ प्रेमरसले भरिएका विषयहरु मात्र समावेश हुन्छ भन्ने जस्ता तर्कहरु सुन्न पाइन्छ । गजललाई फारसी र उर्दू समाज हुदै नेपालमा प्रवेश गरेको र विश्व साहित्यमा यस्को स्थान नभएकोले यो साहित्यिक विधा मानिनु हुन्न भन्ने तर्कहरु सुन्न पाइन्छ । यी थप्रै तर्कहरुका वावजूद नेपालका नयाँ पुराना पिडीका अत्याधिक श्रष्टाहरु गजल विधा प्रति आकर्षीत भएकाछन् । देश विदेश गजल समूहहरु,गजल मञ्चहरु र मण्डलीहरुको गठन भएको छ । एकाएक नयाँ पिडीहरु गजल लिएर उदाएको उदाएकै छन् । त्यसै गरेर गजलको संरचनागत नियम र प्रयुक्त भाव सर्न्दर्भमा पनि विवाद देखिएको छ । गजलकारहरुमा कोही शास्त्रिय नियम कै पछि लागेर गजल लेख्छन् जहाँ सृंगाररस प्रधान रहन्छ,काफीयार रदिफको परम्परागत नियमलाई आत्मासाथ गरिरहेको हुन्छ । अन्य केहि गजलकारहरु भाव जे रहे पनि गजलमा गेयात्मकता (लय) घात नहोस भनेर वहर (छन्द नियम)मा गजल लेखौँ भ न्ने अभियान नै चलाउँदैछन् । अर्काथरी गजलकारहरु छन् जस्ले गजलको संरचनागत पक्ष मौलीक नियम मानेर नयाँ नयाँ विचार र दर्शन प्रधान गजल लेख्ने काम गरिरहेकाछन् यस्मा काफीयाको परम्परागत नियम केही तोडीएको पाइन्छ । जस्तो स्वरघात र लयघात भए पनि विचार प्रधान गजल लेख्नु आजको आवश्यकता हो भन्ने तर्क हावी छ । यस लहरलाई गजल सम्राट श्री ज्ञानुवाकर पौडेल देखीनु भएको छ भने शास्त्रिय नियम र वहरका प्रवक्ता डा.घनेश्याम परीश्रमी मानिन्छन् । नेपालका गजलकारहरुको नाम लिएर त साध्य नहोला तर पनि अगुवा गजलकारहरुमा ज्ञानुवाकर र परीश्रमी पछि मनु व्राजाकी,वुँद राना,ललीजन रावल र विजय सुब्बाहरुको नाम अग्रपंत्तिमा आउँछ ।
गजल विधालाई साहित्यिक विधा नै नमान्नु एउटा पूर्वाग्रही तर्क हुन सक्छ । लेख्नु नलेख्नु व्यक्तिको विचार हो । तर गजलकारहरुले परम्परागत नियममा रहेर गजल लेख्नुको भने तुक छैन र गजल विधामा मात्रै संकुचित हुनु एउटा र्सजकको काम होइन । गजलकारले गजलमा प्रेमरसले भरिएका सस्ता प्रसंग होइन दर्शन र विचार पोख्ने जमर्को गरेमा गजलको महत्व वढ्नेछ र संख्यात्मक भन्दा गुणात्मक गजलको विकास हुनेछ । र अर्को कुरा गजलमा अव जातिय आन्दोलनका विषय र युक्तिका भावनाहरुको प्रयोग गर्नु पर्ने भएको छ किनकी साहित्यको अपविधालाई उत्तरआधुनिक धारले छोइसकेको छ राज्यको पुनःसंरचनासीतै साहित्य,गीत,संगीत र विचारमा पुनःसंरचनाको कुरा उठेकोछ ।
र अन्तमा माइलालाई मेरा केही सुझावहरु दिन चाहन्छु ।
१.सामान्य काफीया विचलनलाई नियाल्ने चलन हराउँदै गएपनि त्यस्मा वेवस्ता गर्नु हुदैन साथै काफीयाको पुनरुक्ति (दोहारीनु) राम्रो मानिन्न । संग्रहभित्र काफीया दोहोरीएका मात्र हैन तेहरीएका उदाहरण पाईयो । अवको कृतिमा यसवारे ध्यान पुगे राम्रो होला ।
२.गजल गाउने विधा भएपनि साहित्यमा पढीने विधा भएर स्थापीत भएको छ । पढीदा समेत गजलमा सहजलयको आवश्यकता पर्छ नै । संग्रहभित्रको केही गजलमा लय असहजता पाइन्छ । लयघात भएको गजलमा मीठास हराउने भएकोले यो पक्ष सोचनिय छ ।
३.माइलाका करिव १५ देखि १८ वटा गजल प्रेम र धोकासंग सम्वन्धित छन् जहाँ आशा भन्दा नीरासा,कूण्ठा छ र साहसको कमी छ । म माइलालाई सहनुभूति राख्दै एउटा वलीयो प्रेमीको उदाहरण आवोस भन्ने सुझाव दिन्छु ।
४. गजलमा नयाँपन दिनु,प्रयोग गर्नु कलात्मक विम्वको प्रयोग गर्नसक्नु महत्वपूर्ण हो । उर्दू गजलमा एउटै सेरले संसार वोल्छ प्रेम दर्शन दिन्छ । हामी गजलकारले गुणात्मक गजलमा ध्यान दिऔँ । विचार प्रधान गजलको लेखनमा अग्रसर होऔँ ।

May 4, 2008

गीति संग्रह "सार" भित्र टंक सम्बाहाम्फे

टंक वनेम

पुग्नु थियो धेरै टाढा फूल चढाई देउरालीमा
नाँघ्नु थियो डाँडाकाँडा दुःख बिसाई उकालीमा
भोग्नु मात्र रहेछ ब्याथा छाँती पोली पोली
कति सुनाउँ मनको बह दिल खोली खोली ।

उक्त माथिका हृदय स्पर्शी अभिब्यक्तिहरु गीतकार टंक सम्बाहाम्फे द्वारा "सार" नामक आधुनिक गीति संग्रहमा अभिब्यक्त भएको हो । संगीत विश्वको भाषा हो । संगीतका पारखीहरुले रेटेर वा सिर्जना गरेर मात्र संगीत बज्दैन । चराचर जगतका सम्पूर्ण बस्तुहरुमा संगीतको सिर्जना भई रहेको हुन्छ । बलेंसीमा तप्केको तप... तप... तप... तप...पानीको थोपाले निकालेको स्वर संगीत हो । चराहरुको चिर्रबिर्र,हुरी बतासले हल्लाएका सालघारीको सुसाई र नागबेली खोलामा बग्दै गएको साङ्लो पानीको मूर्च्छनायुक्त स्वर पनि संगीत नै हो । मानव मनले गरेका र प्रकृतिबाट सिर्जित संगीत भित्र डुबेर त्यो संगीतहरुलाई सुहाउँदा शब्दहरु कुद्नु कला र परिश्रमको रङ्गनि चित्र हो । गीतको सिर्जना गर्न तिनै प्राकृतिक र सांसारिक संगीतमा डुबेर मात्र गीतको सुमधुर लय साथै शब्द चयन गर्न सकिन्छ । यस्तै कठिन कामको परिश्रमी कलम मध्ये युवा कवि तथा गीतकार श्री टंक सम्बाहाम्फे द्वारा दोश्रो एल्बमको रुपमा "सार" नामक आधुनिक गीति संग्रह प्रस्तुत भएको छ । दुइ गीतमा क्रमश बरिष्ठ संगीतकार दिनेश सुब्बा र हेमन्त शिसिर द्वारा संगीत बद्ध गरेकाछन् भने बाँकी आठ गीतमा गायक स्वयमले संगीत दिएकाछन् । एल्बममा जम्मा दश वटा आधुनिक गीतहरु संगालिएका छन् ।
नेपाली बजारमा गीत सिर्जना गरेर एल्बमकै रुप दिनु भनेको एक प्रकारले ढुङ्गामाथि खेति गर्नु हो । तर गीतकारको आँट र परिश्रमले त्यो उक्तिलाई चुनौति दिँदै दोश्रो आधुनिक गीति संग्रह "सार" प्रस्तुत गरेर उक्त भनाइलाई झुट्टा साबित गरि दिएका छन् । प्रदेशको आकासमुनि बसेर नेपाली सांगीतिक धरातलमा यति सून्दर गीतहरुको फूल रोप्ने हिम्मतलाई सलाम टक्रर्‍याउँनै पर्छ । सुमधुर स्वरका धनी गायक कृष्ण भक्त राईले स्वर दिएको उक्त गीतहरुले श्रोताहरुको मन छुन
संगीतकार टंक सम्बाहाम्फे र उनको आधुनिक दोश्रो गीति संग्रह "सार"
सकेको छ । गीतकारको शब्दहरुमा जीवनकै उतारचढाव र जीवन भोगाईकै आरोह आवरोहहरु प्रतिबिम्बित भएको छन् । हुन पनि एउटा कर्ण प्रिय गीत सिर्जनाको धर्म जीवनको अनुभूति प्रकट गर्नु हो । मान्छेको जन्म र मृत्युको दुरी बीच तानीन्दै गई रहेको जीवनको तार जहाँबाट पनि बाँचे सम्म विभिन्न संगीतका स्वरहरु सिर्जना भई रहेका हुन्छन् । तर कमैले मात्र ति संगीतकार स्वरहरुलाई शब्दमा परिणत गर्ने क्षमता र इच्छा राख्छन् । टंक सम्बाहाम्फे यस्ता कवि तथा गीतकार हुन उनले जीवनको संगीत तानेर नेपालबाट कोरिया,हङ्कङ् हुँदै रेडियो तरङ्गबाट शब्द अभिब्यक्ति विश्वमा पुर्‍याई दिएका छन् । चिनियाँ आकासमुन्तिर बसेर गीतका मधुर शब्दहरुमा लेकाली गुराँस टिप्छन् । लेंक बेंसी,मेलापात र प्रेम विरहले नेपाली जीवन शैलीको नुतन चित्र उतार्छन् । उहाँको लगनशिलताले गीतका मालाहरु उनिन्दै जान्छ र दोश्रो मालाको रुपमा "सार" श्रोताहरुको गलामा माला पहिरिन आइ पुग्छ । यति सून्दर गीतका माला भित्र हजारौं मनका भावनाहरु थोरै शब्दमा अभिब्यक्त भएका छन् ।
भनिन्छ जीवन नैं संगीतको तवला हो जीवन भोगाइकै दौडानमा तवला झैं विभिन्न तालमा बजी रहेका हुन्छौं । शायद त्यही भोगाईबाट मथेर निस्केका शब्दहरु सम्बाहाम्फेका गीतहरु हुन । कुनै समय अतितको गर्भमा गीत गाउँदै रुने गोठाले दाईको स्मृतिले पनि गीत रचनाको बाटोतिर अग्रसर गर्राई रहन्छ । भनौं वाल्यकालमा संगीतको विजारोपण भएको घटना उनको पानसपटलमा बल्झी रहन्छ । शायद त्यही बल्झाई "सार" एल्बम भएर दोश्रो जन्मको रुपमा प्रकट भएको छ । शब्द,भाव, र मन छुने मेलाडीहरुले सजिएको "सार"गीति संग्रह प्रदेशको भिरमा फूलेको नेपाली ढुङ्गे सुनखरी फूल हो भन्दा फरक पर्दैन ।

गीतकार टंक सम्बाहाम्फेकै शब्दमा -

गुराँस टिपी लाएका थियौं हामी सानो छँदा
लुकामारी खेलेका थियौं रानीबन घुम्दा ।

हो हामी यसरी नैं जीवन भोगाइमा अल्झी रहेका छौं बल्झी रहेका छौं । यिनै अल्झाइ र बल्झाइहरु नैं हाम्रो जीवनको साँचो गीतहरु हुन । गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा यस्तै गीतहरुको जन्म भई रहोस भविश्यसम्म निरन्तर शुभकामना ।

वेष्ट मिड्ल्याण्ड - वेलायत

Apr 23, 2008

युवाकवि टंक सम्वाहाम्फे को "युद्ध भित्र उभिएका वुद्धहरु" कविता संग्रह सरसर्ती अध्यायन गर्दा

फणीन्द्र प्रसाद पोख्रेल
एघारौ शताब्दीदेखि प्रारम्भ भएको नेपाली भाषाको इतिहासले विभिन्न युग र समयसंग पौंठेजोरी खेल्दै आजको एक्काइसौ शताब्दीमा पाइला टेक्ने अवसर प्राप्त गरीसकेको छ । विभिन्न शिलालेख,ताम्रपत्र,भोजपत्र हुदै छिमेकी राष्ट्रका भाषाहरु हिन्दी,उर्दू,फारसी,बङ्गाली, आदि र नेपाली भाषाकै जननी भाषा संस्कृतबाट प्रभावित हुदै आफ्नै मौलिक स्वरुप र पहिचानलाई कायम राख्दै अगाडी बढेको नेपाली भाषाको पहिलो लिखित कविता भने वि.सं.१८२६ को सुवानन्द दासको "पृथ्वीनारायण शाह" नै प्रमाणित भएको पाइन्छ ।
भाषाको चौतर्फी विकासका निम्ति पृथ्वीनारायण शाहको राज्य एकीकरण
युद्ध भित्र उभिएका वुद्धहरु कविता संग्रहमा र टंक सम्वाहाम्फे
अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र अझ यसलाई फुलाउने फलाउने कार्यमा आदिकवि भानुभक्त आचार्यको गहन भूमिका रहेको छ । नेपाल राष्ट्रको शान्ति सुरक्षादेखि लिएर राज्य विस्तारमा संलग्न रहेका नेपालीहरुका निम्ति वि.सं.१८७२ को सुगौली सन्धिले ठूलो आघात पुर्याउछ र त्यसपछिका कविहरुमा वीर रसको प्रभाव हट्न गई भक्ति रसतर्फउन्मुख हुन पुग्दछन् । भक्ति रस पनि तीन धारामा विभाजित भएर कृष्ण भक्ति,राम भक्ति र निर्गुण भक्तिधारामा परिणत हुन पुग्दछ । जस्ले हिन्दु धर्म र दर्शनका आधारमा नेपाली कविता विधालाई अगाडि बढाएको हुन्छ । तर वि.सं. १९०३ को कोतपर्व र जंगबहादुरको कुटिल राजनैतिक चालबाजीले गर्दा नेपालको राजनितिमा आमूल परिवर्तन हुन पुग्दछ जसको प्रभावबाट नेपाली साहित्यको क्षेत्र अछुत रहन सक्दैन । सुरा-सुन्दरी,भोग-विलास एवं नारीहरुको नख शिखको वर्णन र विभिन्न किसिमका हिन्दी,उर्दू,फारसी आदि भाषाका भड्किला नाटकहरु राणादरवारमा प्रदर्शित हुन पुग्दछन् र त्यस समयका मोतीराम भट्ट,शम्भूप्रसाद ढुङ्गेल आदि जस्ता कविहरु पनि श्रृङ्गारिक भाव धारालाई नै आधार बनाएर कविता लेख्न थाल्दछन् । यस समयसम्ममा नेपाली कविताले भक्तिधारालाई मूल रुपमा परित्याग गरी श्रृङ्गारिकताको बाटो अपनाईएको हुन्छ र यो समय १९४१ देखि वि.सं.१९७४ सम्म कायम रहन्छ । यसलाई नेपाली कविता विधाको माध्यमिक कालका रुपमा लिइने गरिन्छ । यहि माध्यमिक कालको उत्तर्रार्द्धमा देखा परेका परिष्कारवादी कवि लेखनाथ पौडेलबाट आधुनिक कालको शुभारम्भ गरिन्छ ।
यसपछि विशेष गरेर भारतको बनारस र अन्य क्षेत्रमा छरिएर सहेका नेपाली युवा कविहरुले विभिन्न पत्रपत्रिकाको माध्यमबाट कविताका अतिरिक्त निबन्ध,कथा,नाटक,उपन्यास आदिजस्ता विधाहरुमा पनि कलम चलाउन प्रारम्भ गर्दछन् । यी विधाहरुको प्रचार प्रसारको जिम्मेवारी वि.सं.१९९१ को शारदा पत्रिकाले विशेष रुपमा लिएको पाईन्छ । यहि सालदेखि नेपाली कविता धारामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको उदय हुन्छ र अर्को कविता धाराको शुरुआत गरिन्छ जसलाई हामी स्वच्छन्दतावादी धारका नामले चिन्ने गर्दछौ । वि.सं.२००४ साल सम्म विशुद्ध स्वच्छन्दतावादी-प्रगतिवादी धारामा परिणत हुदै महाकवि देवकोटाको निधन वि.सं.२०१६ सालमा भयो ।
वि.सं.२००७ सालको राजनैतिक परिवर्तनले नेपालको राजनिति र साहित्यका क्षेत्रमा स्वतन्त्रताको लहरसंग-संगै उन्मुक्तताको वातावरण सृजना गरेकाले साहित्यकारहरुको मानसिकतामा स्वच्छन्द विचारका लहरहरुले विचरण गर्ने अवसर प्राप्त गरेको थियो । तर वि.सं.२०१७ को राजा महेन्द्रको शासनमा दलमाथिको प्रतिबन्ध र पञ्चायती व्यवस्थाको सूत्रपातले भने साहित्यकार र प्रजातन्त्रप्रेमी नेपालीहरुको हृदयमा ठूलो चोट पुर्यायो । निर्दलीय शासन पद्धतिले केवल राजनितिमा मात्र प्रभाव पारेन अपितु साहित्य लेखन तर्फपनि त्यत्तिकै वाण प्रहार गर्योर कविहरुले आफ्ना भावनाहरुलाई स्वतःस्फूर्त रुपमा व्यक्त गर्न सकेनन् जसको परिणामस्वरुप प्रयोवादी कविता धाराका कवि मोहन कोइरालाको नेतृत्वमा प्रादुर्भूत हुन पुग्यो । यस पछि क्रमशःआयामेली,राल्फा जमात,अस्वीकृत जमात,तरलवाद आदि जस्ता कविता धाराहरुको उदय हुन पुग्यो । यसै क्रममा वि.सं.२०३० सालदेखि समसामयिक कविता-धाराको थालनी हुन पुग्यो । जुन धारा अद्यावधी विद्यमान रहेको पाइन्छ । यस धारामा पनि वि.सं.२०३६ सालको 'सडक कविता क्रान्ति' एवं वि.सं.२०४६ सालको राजनैतिक परिवर्तनले कविहरुको मानसिक चिन्तनमा धेरै विचलन ल्यायो र कविहरुले पनि जनआन्दोलनका वेला आन्दोलनवादी कविता लेखे । समसामयिक कविता धाराको नेतृत्व कुनै एक व्यक्ति विशेषमा मात्र केन्द्रित भएको पाइदैन । यस धारामा आवद्ध भएर कविता लेख्ने प्रतिभाहरु अत्याधिक संख्यामा रहेकाछन्। प्रमुख कविहरुको नामांकन गर्न पनि यहा कठिनाइ पर्ने स्थिति रहेको छ,तर पनि दुइचार जना कविहरुको नाम निम्नलिखित छन्-
ताया गुरुङ,मीनबहादुर विष्ट,मञ्जु काँचुली,विक्रम सुब्बा,सरुभक्त,वेञ्जु शर्मा,दिनेश अधिकारी,अविनाश श्रेष्ठ आदि रहेकाछन् र यसै समसामयिक कविता धारामा केन्द्रित रहेर गोपालप्रसाद रिमालद्वारा शुरुआत गरिएको गद्य कविता लेखन परम्परालाई सम्वर्द्धन गर्ने युवाकवि टंक सम्वाहाम्फे,जसले आफ्ना कविताका माध्यमबाट विश्वमा भैरहेको राजनैतिक तानातान,वैज्ञानिक युगको आणविक होडबाजी र विश्व-बन्धुत्व र मानव अस्तित्व,विनाशकारी क्रियाकलापले आजको मानव जीवनमा पर्न गएको गहिरो आघातको चर्चा परिचर्चा गर्दै मानव अस्तित्वको खोजिमा जुर्मुराउनुभएको छ ।
यिनै पृष्ठभूमिको आधारमा 'नजिकको तीर्थ हेला' भने झैं चार भञ्ज्याङभित्रको नेपालीहरुका निम्ति लोक सेवा आयोग देखि लिएर नव शिक्षित युवाहरुका लागि तीतो लाग्ने नेपाली र मीठो लाग्ने अंग्रेजीले गर्दा हाम्रो राष्ट्रभाषा दिन प्रतिदिन ह्रासोन्मुख गतिको यात्रा गरिरहेको अवस्थामा कैयौं दिन अनसन बसेर भारतमा बसेका नेपालीहरुले यसलाई आठौं अनुसूचीमा दर्ता गराएर आफ्नो राष्ट्रभाषाको ऋण चुकाएकाछन् र उनीहरु हाम्रा आदिकवि भानुभक्त आचार्य,लेखनाथ पौडेल,बालकृष्ण सम,लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यिक विभूतिहरुलाई हामी नेपालमा बसेका नेपालीहरु भन्दा छुट्टै श्रद्धा एवं सम्मानका दृष्टिले हेर्ने गर्दछन् ।
यस्तै एउटा नेपाली भाषा र साहित्यको शुभेच्छुक प्रवासी साहित्यिक संस्थाको नाम हो - "नेपाली साहित्य प्रतिष्ठान,हङकङ" यही साहित्यिक संस्थाका संस्थापक उपाध्यक्ष तथा हालका अध्यक्ष हुनुहुन्छ युवाकवि टंक सम्वाहाम्फे । वि.सं.२०२४ साल वैसाख ७ गतेका दिन पूर्वी नेपालको कोशी अञ्चल अर्न्तर्गतको धनकुटा जिल्लाको चौविसे कुरुले तेनुपामा जन्म भई महेन्द्र बहुमुखी क्याम्पस,धरानबाट आई.कम्. सम्मको शैक्षिक योग्यता प्राप्त गर्नु भएका सम्वाहाम्फेले जीवन-भोगाईका क्रममा पूर्वेली मुलुक,दक्षिण कोरिया र हङकङ गरी दुइ देशको यात्रा र बसाइका क्रममा लगभग एक दशक भित्रको आफ्नो जीवनगत अनुभूतिबाट प्राप्त आफ्ना कथा ,व्यथा,खुशी,आनन्द,उन्माद,आशा,भरोसा,उतारचढाप,सुख,दुख,मानवतावाद,जातिप्रेम,राष्ट्रप्रेम,एवं भाषाप्रेमको ज्वलन्त एवं जीवन्त अभिव्यक्तिहरुको समष्टि कृतिको नाम हो- "युद्ध भित्र उभिएका वुद्धहरु" ।
आफ्ना पिता र माता नाममा समर्पित यस कविता संग्रहमा जम्मा ४१ वटा फुटकर कविताहरु संग्रहित रहेकाछन् । ६८ पृष्ठमा आवद्ध गरिएको कवितासंग्रहको चौथो कविताको शीर्षकले नै यस कृतिको नामाङ्कन हुने अवसर पाएको छ । यसलाई प्रकाशन गर्ने जिम्मवारी 'नेपाली साहित्य प्रतिष्ठान' हङकङले नै लिएको छ । यी भए कृतिका सम्वन्धमा सामान्य बाहिरी कुराहरु ।
कृतिभित्र प्रवेश गर्ने जमर्को गर्दा यहा एकदुइ कुरा भन्नै पर्ने हुन्छ । मैले यस कृतिको समालोचना प्रभाववादी समालोचना सिद्धान्तका आधारमा विषयवस्तुको गहिराइमा नगई सरसरति गरेको छु । यसका विविध विषयवस्तुका बारेमा विश्लेषण गरिन सकिने प्रशस्त गोरेटाहरु रहेकाछन् । अन्य समालोचकहरुका निमित्त लिन सकिने पर्याप्त विषयवस्तु छन् । यद्यपि यसमा मैले आफ्नो दृष्टिकोण अनुसार टीका-टीप्पणी गर्ने प्रयास गरेको छु । तर अत्यान्त छोटो अवधिमा ४१ वटा कविताका सम्बन्धमा टिप्पणी गर्न निक्कै कठिनाई पर्छ नै,प्रत्येक कविताको विश्लेषणात्मक व्याख्या गर्ने हो भने एउटा स-सानो समालोचकीय कृतिकै रुप धारण गर्दछ । तथापि संक्षिप्ततया कविताको शीर्षक र मूल विषयवस्तुमा मात्र केन्द्रित रहेर यस कृतिको सिंहावलोकन गरेको छु ।

विश्लेषित कविताहरु निम्न छन् -
इहलीला
- तत्सम् शब्द इहलीलाले कतै कतै अध्यात्मर्-दर्शनको आभास दिएको छ । तर कविता पढ्दै जादा कवि अध्यात्मवादको दर्शनसम्म पुग्नु भएको छैन । उहाँले केवल मानव जन्म देखि मृत्युसम्मका यावत् क्रियाकलापलाई मानव जीवनोपयोगी बनाउनुपर्ने आवश्याकतामाथि जोड दिँदै नाशवान शरीरबाट अमर कार्य गर्न उत्प्रेरित गर्नुभएको छ भने कतै कतै अस्तित्वविहीन जीवनको संकेत पनि दिनुभएको छ ।
"आश्वासन मात्र ओढेर के गर्नु -
अर्थविहिन जिन्दगी भएपछि
औचित्य के रह्यो र -
इहलीलाको"
दुनियाँभित्रको नाटक - विद्वान्हरुले यस संसारलाई महानाट्यशालाको संज्ञा दिएका छन् र यहा कवि टंकले पनि यस संसारको सृष्टिक्रमलाई नाटकको रुपमा हेर्नु भएको छ । बौद्ध दर्शनको शून्यवादको कुरा उठाउदै शून्य आकासमा यो सुनौलो ब्रहृमाण्डको सृष्टि कसरी भयो होला भनेर सृष्टिको सौन्दर्यलाई गहिराइमा गएर नियाल्ने काम यसरी गरिएको छ -
"शुन्य शुन्याकासमा.....
जन्म्यो होला कसरी -
गोल गोल ब्रहृमाण्डको सुनौलो मञ्च
उघ्रयो होला कसरी -
फङ्लङ्ग
आग्लो घचेटेर यो सृष्टिको ढोका"
आकास,मान्छे र ब्वाँसाहरु - यो प्रतीकात्मक कविता हो । यसमा कविले धर्तीमा सामान्य मानिसहरुसंग ठूलाबडाहरुले ब्वाँसाको भूमिका खेलेको संकेत दिनुभएको छ आइन्दा यसो नगर्न आग्रह गर्नु भएको छ ।
युद्ध भित्र उभिएका वुद्धहरु - कविता संग्रहको शीर्षकसँग सँम्बन्धित यस कविताले आजको सन्त्रासमय वातावरणमा पनि गौतम वुद्धका शान्तिको सन्देश दिने मान्छेहरुको कमी छैन भन्दै मानिसको आफ्नो हैकमवादको प्रचार प्रसार गरेर विश्वलाई युद्धभूमिमा धकेल्नु भन्दा गौतम वुद्धको शान्तिको सन्देश फैलाउनु मुलुकका लागि धेरै श्रेयस्कर हुने कुरालाई अगाडि सारेको छ ।
दिन - यस कविताले मानव जीवनको वाल्यकालदेखि मृत्युसम्मको संकेत यसमा गरिएको छ र प्रत्येक दिनको सुनौलो विहानीले मानिसलाई उत्साह एवं आनन्दपूर्वक बाँच्न प्रेरण दिएको आभास यसमा रहेको छ ।
कुन उत्सवको तयारीमा - गरिबीको जाँतोमा पिँधिएका नेपालीहरु आफ्नो हैसियतलाई बिर्सिएर हृवीस्की ब्राण्डीको प्यालासँग मदहोस भएको देख्ने कविले त्यस्ता व्यक्तिहरु प्रति तीखो व्यङ्गयवाणको प्रहार यस कविताबाट गर्नुभएको छ ।
अस्मिताको खातिर - आजका मानिसहरुको स्वार्थान्धताको भुमरीभित्र रुमालिएको मानव जीवन र आफ्नो अस्मिता एवं अस्तित्वको खोजी यस कवितामा गरिएको छ ।
भावप्रष्ट बोलीहरु - सबै मानिसको भावना र दिल त स्पष्ट छ तर बाली चाहिँ अस्पष्ट छ । अभिव्यञ्जनात्मक रुपमा सबै कुरा राम्रो छ,तर व्यक्त भएपछि त्यहि कुरा बुझ्न सकिँदैन भनेर यहाँ कविले "क्रोचे"को अभिव्यञ्जनवादको व्याख्या गर्नुभएको छ ।
अथाह प्रश्न चिहृनहरु- सृष्टिको आदिम कालको परिकल्पना गरेर आजको मानव समाज र वातावरणलाई सुनौलो दृष्टिले व्याख्यन गर्दै भौतिकवादको अन्धो होडबाजीले कतै सुन्दर संसारलाई ध्वस्त त गर्ने होइन - भन्ने प्रश्न गर्दै मानव अस्तित्वको संरक्षण र सुरक्षाको लागि सबै एकजुट हुन आग्रह गरिएको छ र आजका वैज्ञानिकहरुले जन्माएका कृतिम सन्ततिहरुमा मानवतावादको फूल फुल्न नसक्ने कविको धारणा रहेको छ ।
कृतिम ब्रहृमाजीहरु - आजका कृतिम ब्रहृमाजीहरुले ब्रहृमाको सृष्टिक्रमलाई उछिनेर आफैलाई सृष्टिकर्ता मान्न थालेकोमा कविले यस्तो क्रियाकलापलाई जंगबहादुरले सत्ताप्राप्तिको निम्ति गरेको कोतपर्वको संज्ञा दिएकाछन् र हिरोशिमा र नागाशाकीको मानव विनाशकारी ध्वंशात्मक घट्ना पनि आजका भौतिकवादी महिषासुरहरुको चरमोत्कर्षो परिणती हो भन्ने आशय यस कविताको छ ।
विपत्तिमा परेकाछन् चराहरु - सृष्टिका सुन्दर जीवजन्तु र मानवजाति माथि कृतिम मानिसहरुको आडम्बरपूर्ण व्यवहारले गर्दा र प्रकृतिका यावत् जीवजन्तुहरु सन्त्रासमय वातावरणमा असुरक्षित जीवनको भारी बोकेर बाँच्न विवश रहेको आजका निरीह मानिस र जीवजन्तुमाथि भइरहेको आक्रमक समस्यालाई यस कविताले राम्ररी विश्लेषण गरेको छ ।
विभाजित छन् आकाशहरु - यस कवितामा मानिसले सार्वभौमसत्ताको रुपमा सम्पूर्ण ब्रहृमाण्डको विना रोकटोक यात्रा गर्न पाउनु पर्ने कुरालाई कवि टंकज्यूले अगाडि सार्नुभएको छ । तर आजका व्यक्तिगत इच्छा,आकांक्षा र स्वार्थले अभिप्रेरित भएका मानिसहरुले विश्ववन्धुत्व र मानवतावादलाई त्यागेर मानचित्रको आधारमा राष्ट्रलाई विभाजित गरेर आफूलाई शक्तिशाली देखाउन चाहेकोमा कवि असन्तुष्ट देखिनु हुन्छ ।
"संसार हो त्यो मानवताको
देश हो त्यो बन्धुत्वको
तर यहाँ विभाजित छन् आकासहरु"
लालीगुराँस - यस कविताले अभिधा अर्थमा नै नेपालको राष्ट्रिय फूल लालीगुराँसको महत्व र विशेषतालाई उजागार गरेको छ । नेपालको शोभा बढाउने र विदेशी पर्यटकलाई लोभ्याउने नेपालका पहाडि क्षेत्रमा फुल्ने लालीगुराँसले नेपालीहरुलाई हाँस्न र खुशी हुन सिकाएको छ । त्यसै गरी लालीगुराँसकै सौन्दर्यले गर्दा सारा सृष्टि नै रमाएको र सबै नेपालीको सपना साकार पार्ने सुन्दर फूल भएर जगमगाएको चर्चा गर्दै नेपाली र लालीगुराँसबीच घनिष्ठ सम्वन्ध रहेको संकेत यस कविताले दिएको छ ।
समयको डुङ्गा - यस कविताभित्र जिन्दगीलाई महासागर र समयलाई त्यस महासागरमा विचरण गर्ने डुङ्गाका रुपमा तुलना गरिएको छ । यसै गरी जीवनरुपी महासागरको यात्रामा निस्किएको प्रत्येक मानवयात्रीले सागरको छाल जस्तै विभिन्न जीवनगत परिस्थितिहरुसँग ठाक्किनुपर्ने र अन्त्यमा उपलब्धिविना नै यात्रा टुङ्ग्याउनु पर्ने जीवनको अन्तिम सत्यतालाई यसले बोध गराएको छ -
"जीवन गतिलाई मात्र अङ्गालिरहेछौं आशाको
समयको डुङ्गा
भोलि कहा पुग्ने हो थाहा छैन
के हुने हो थाहा छैन"
मान्छे आडम्बरी हुनसक्छ - प्रकृतिको सवैभन्दा उत्कृष्ट रचना मानव हो भने सबैभन्दा निकृष्ट रचना पनि मानव नै हो भन्ने आशय यस कवितामा व्यक्त गरिएको छ । आफूले श्रद्धा एवं विश्वास गर्दागर्दै पनि कुटिल एवं आडम्बरी आजका मानिसले आफूसँग विश्वासघात गर्न सक्दछ । प्रत्येक जङ्गलमा चन्दनको रुख नपाइए झैँ सबै मानिसहरु सज्जन र इमानदार नै हुन्छन् भन्न सकिँदैन । मुखका चिल्ला र पेटका चिप्ला आजका मानिसले आफूलाई धोका दिन सक्दछन् । तसर्थ समयमा नै सतर्क भएर अगाडि बढ्न सक्नु विश्वासघातबाट बच्ने उपाय हो भनेर कविले नीतिका कुराहरु अगाडि सार्नु भएको छ -
"सावधान !
अवसरको घुम्टो ओढेर
समाजमा बहुरुपी बन्नेहरुसँग
बाहिर राम राम बगलीमा छुरा लिनेहरुसँग"

भावनाको क्यान्भासमा दुनियालाई पोत्दा - यस कवितामा कविले भावनात्मक रुपमा समग्र मानवजातिको विवशता र व्यथालाई कलात्मक रुपमा आँकलन गर्ने कार्य गर्नु भएको छ । तर आफूले क्यान्भासमा उतार्न लागेको वा चाहेको मानव मुखाकृति उहाँ कतै पनि फेला पार्न सक्नुहुन्न,सबै मान्छेका मुहारहरु त्यसै त्यसै मुर्झाएका र हृदयभरि वेदना बोकेर फोस्रा हाँसो हाँस्न बाध्य भएका मानिसका चित्रहरु मात्र कविका नजरमा देखा पर्दछन् र कवि आफ्नो उदेश्य पूरा गर्न नसकेको गुनासो यसरी गर्नुहुन्छ -
"पुनःजन्माउन खोज्छु क्यान्भासमा
असिमित प्रतिविम्वहरु
तर तस्वीरहरु बोल्दैनन्
खुशीका मुस्कानहरु छर्दैनन्"
प्रेम सागर - यस कविताले प्रेमलाई समुद्रसँग तुलना गरेको छ । प्रेमरुपी सागरमा डुबेको मानिसलाई त्यसबाट टाढिन धेरै गाह्रो पर्दछ भन्ने कवि सम्वाहाम्फेको विचार यसमा छताछुल्ल भएर पोखिएको छ । प्रेमीकाको गजगामिनी हिँडाइ यौवन फक्रिएको अवस्था र उसको वैंशको उन्मादले उससँग समुद्रको अनगिन्ति तरङ्ग जस्तै कहिल्यै नसकिने मायाको जाल बिछ्याउने उत्कट अभिलाषा यहाँ यसरी पोखिएको छ -
"समुद्रको अनगिन्ती तरङ्ग जस्तै
नरित्तिने मायाको भण्डार
फैलिएर हृदयको नजिक आइपुग्छ
अनायस हराउँछु तिम्रो सौन्दर्यमा"
शहरको निद्रामा व्यूँझिएको म - आजको वैज्ञानिक उपकरण र यन्त्रहरुको अत्याधिक उपयोगले गर्दा यान्त्रिक जीवन जीउन बाध्य भएका शहरवासीहरुलाई व्यङ्ग्य गर्दै आफू मात्र मानव जीवनको उपयोगिता बुझेर सचेत भएको,तर शहरवासीहरु जागा हुन नसकेको गुनासो कवि यसरी प्रकट गर्नुहुन्छ -
"सँजीवनी भर्दैछु
बिहानीसँग ताजा भएर उठ्न सकोस् भनेर
तर अझै यो शहर गाढा निद्रामा परेको छ
ठिही परेको रातमा कठाङ्ग्रिएको छ ।"
जस्तैजस्तै - यस कविताले समग्र मानवजातिका अन्तर्हृदयका समान चाहना,भावना र वास्तविकतालाई एउटै संघारमा उभिएर विश्लेषित गर्ने कार्य गरेको छ । प्रकृत्रि्रदत्त यावत पदार्थले सबै मानिसलाई समान रुपले उपभोग गर्ने अवसर प्रदान गरेको छ । उद्यपि जीवन भोगाईका क्रममा कहिले हर्ष ,कहिले विस्माद र आश्चर्यको अनुभूति गर्नु पर्ने विशेष परिस्थितिहरु सिर्जना हुने गर्दछन् । तर पनि जीवन भोगाईका अनुभूतिहरु सबैका उस्तै-उस्तै,जस्तै-जस्तै हुन्छन् भन्ने कविको भनाइ छ ।
यो जिन्दगीको नशा - यसमा विसङ्गतिभित्र अस्तित्वको खोजी गर्दै जीवनलाई बाध्यता र विवशताभित्र टुटेफुटेका आशाहरु सँगालेर बाँच्नु पर्ने नशाका रुपमा कविले जीवनलाई नियाल्ने कार्य गर्नुभएको छ । जसलाई नचाहँदा नचाहँदै पनि पिउनु र जीउनु पर्ने अपरिहार्य वास्तविकताको रुपमा दर्शाइएको छ ।
"थाहा छैन यसरी
पिउनु पर्ने हो कतिञ्जेल -
थाहा छैन यसरी
जिउँनु पर्ने हो कतिञ्जेल -"
छातिमा दौडिएको यो मन - यस कवितामा कविले मानवमनका तीन अवस्थामध्ये चेतन मनका भावावेग र गतिशीलतालाई आफ्नो जीवनगत भोगाई र सोचाइका क्रम प्रस्तुत प्रस्तुत गर्नु भएको छ । तीव्रगतिले चारैतिर बरालिने मनले कहिले अतीतको सङ्केत गर्दछ भने कहिले सुनौलो भविष्यको सुन्दर संसारको सृजना गर्दछ । समयको अनन्त क्षणसँग मनका भावनाहरु छातिमै मडारिने गर्दछन् । त्यतिमात्र होइन शङ्का र उपशङ्काले भरिएको मानव मन कहिले पश्चातापको भुमरीमा लगेर आफूलाई फ्याँकिदिन्छ भने भावशून्य भएर एक क्षण आफ्नो जीवनलाई मूल्याङ्कन गर्न लगाउछ र प्रत्येक विहानीको आगमनसँगसँगै मानव मनले नवीन यात्रा प्रारम्भ गर्दछ । वास्तविकता र यथार्थतालाई नाघेर यो मन चुलबुलाइ रहन्छ र मनलाई नियन्त्रण गर्न अत्यान्त गाह्रो छ -
"असीमित इरादा अँगालेर
हरदम छातीबाट दौडिएर संसार रिङ्छ यो मन
यथास्थितिको परिधि नाघेर चल्बलाइरहन्छ यो मन"
वर्षा - मानवजातिका निम्ति अझ त्यसमा पनि कृषिप्रधान राष्ट्र नेपालमा धान रोप्न अनुकूल समयका रुप वर्षा ऋतुलाई लिइने गरिन्छ । वर्षा ऋतुको प्रतिक्षामा धर्ती बसेको र यसको आगमनले सारा पहाड,पर्वत र सृष्टि नै मुस्कुराउने गरेको कुरालाई यसमा सङ्केत गरिएको छ । ऋतुको सङ्क्रामणका क्रममा वर्षा ऋतुको अत्यधिक महत्व यस कवितामा व्यक्त गरिएको छ ।
मेरो देश - कवि भूपि शेरचनले पनि 'मेरो देश' शीर्षकको कविता लेखेका छन् । तर भूपिको मेरो देश र कवि टंकको मेरो देशमा विषय वस्तुका दृष्टिले केहि भिन्नता रहेको पाइन्छ । यसमा अथाह जलस्रोतको धनी देश नेपालमा जलस्रोतको सदुपयोग हुन नसकेकोमा कवि चिन्तित हुनु भएको छ । त्यसैगरी राष्ट्रिय संस्कृतिको दिन-प्रतिदिन लोप हुन लागेको र विदेशी संस्कृतिको पछाडि नेपालीहरु लागेकोमा कवि दुख प्रकट गर्नुहुन्छ । गौतम वुद्धको देशमा अशान्तिको वास,वीर गार्खालीहरुको जडौरी प्रशंसा सुनेर मख्ख भएका नेपालीहरुले आफ्नो भेषभुषालाई टाइसुटले शोषण गरेकोमा कवि व्यथित र चिन्तित हुदै राष्ट्रवादी विचारलाई अगाडि सार्नुहुन्छ ।
इतिहास - बितेका घट्नाहरुको संस्मरणात्मक अभिव्यक्ति नै इतिहास हो,जस्ले मानिसलाई भविष्यको मार्ग निर्देशन गरेको हुन्छ । यहाँ कविले हामी नेपालीहरुको भौगोलिक इतिहास,राष्ट्रप्रेमको इतिहास,यस्तो पवित्र इतिहासभित्र रहेर देशको भविष्यमाथि खेलवाड गर्ने हिजडाहरुको इतिहासलाई अत्यन्त मार्मिक ढङ्गले वस्तुस्थितिका आधारमा विश्लेषण गरिएको छ ।
एक छाक - मानिसले एक छाकका निम्ति ठूलो संघर्ष गर्नुपर्दछ । यहि एक छाक टार्न नसक्दा कति मानिसहरुको जीवनलीला समाप्त हुन्छ भने अर्काको छाक खोस्ने परिपाटीले गर्दा कतिपय मानिसले लाचार भएर बस्नुपर्छ । तर्सथ प्राणको पर्यायवाचीका रुपमा एक छाकको आवश्यकता पर्दछ भनेर यहाँ आर्थिक समानतालाई विशेष जोड दिएको छ ।
वैंशको खोजीमा - वृद्धावस्थातर्फ लम्किएपछि प्रत्येक मानिसलाई आफ्नो वैंशको सम्झना आउने गर्दछ । विगत जीवनका रमाइला क्षणहरुले आफूलाई लोभ्याइरहने गर्दछ र कवि टंक पनि यस कविताको माध्यमबाट आफ्नो मात्र होइन प्रायः सवै यौवनावस्थाबाट पार भैसकेका मानिसहरुलाई अतीतका दिन सम्झना विवश बनाएर वैंशालु उन्मादका क्षणहरुलाई अत्यन्त सौहार्दका साथ कवि यसरी विश्लेषण गर्नुहुन्छ -
"बैँशालु उन्मादहरु
भरिन थाल्छन् आफैँ स्फूर्ति
खुम्चिएर बास बसेका तनहरु
अनायस पवनको एक झोक्काले"
नयाँ प्रयासहरु - मानिसले आफ्ना जीवनमा केहि गरेर देखाउनु छ भने नयाँ नयाँ प्रयासहरु गर्नुपर्दछ भन्ने कविको चिन्तनलाई यस कवितामा अगाडि सारिएको छ । सुख र दुःखका दुइ बाटाहरु पहिचान गरेर आफ्नो जीवनमा प्रसन्नता ल्याउनु छ भने अनि आफ्नो पहिचान र प्रतिष्ठालाई सगरमाथा झैँ उच्च राख्नु छ भने र आफ्ना भावनालाई सुरक्षित राखेर समाजमा देखा परेका विकृति र विसङ्गतिको अन्त्य गर्नु छ भने मानवहृदयमा नवीन प्रयासहरुको जागृति हुनु नितान्त आवश्यक छ भन्दै समग्र मानव जातिको जागरणले नै सांसारिक सृष्टिलाई सुन्दर बनाउन सक्छ -
"त्याग र तपस्यामा अजेय साहस बटुलेर
नयाँ प्रयासहरु हृदयमा झयाङ्गीनु
नितान्तै आवश्यक हुन्छ ।"
समय - समय बलवान् एवं प्रवाहशील छ । यसलाई राक्न सकिँदैन,नजानिँदा नजानिँदै समयले हामीलाई जीवनको अन्त्यतिर धकेलिरहेको हुन्छ । त्यसैले समयमा नै मानिसले आफ्नो जीवनको लक्ष्य प्राप्त गर्ने प्रयास गर्नुपर्दछ । अन्यथा बितेको समयलाई भेट्ने कोशिस गर्दा पश्चातापका अतिरिक्त केहि पनि हात लाग्न सक्दैन भन्दै कविले सबैलाई समयमा नै सचेत हुन आग्रह गर्नु भएको छ ।
जीउनुका अनेकौँ छालहरु - यस कवितामा जीवनलाई समुद्रको तरङ्गसँग तुलना गरिएको छ । जसरी समुद्रको छाल किनाराका ढुङ्गे भित्तामा आएर प्रताडित हुदै पुनः फर्किन्छन् । त्यसै गरी उत्कर्षमा पुगेको जीवन उत्कर्षमा र कहिले शिखरमा पुगेको जीवन फेदीमा पुग्न विवश हुन्छ भन्दै -
"छचल्किदा रहेछन् त्यहाँ पनि
छाल उपछाल हुँदै
जिउनुका अनेकौं छालहरु
समुद्रको भीषण छालसरी !" भन्नुहुन्छ ।
प्यारो गाउँको सम्झनामा - कविले यस कवितामा आफ्नो जन्मस्थान कुरुले तेनुपाको सम्झना गर्दै जीवन भोगाईको क्रममा विदेशिनु परे पनि आफ्ना बाल्यकालका हँसियाली एवं सुशियाली थाहै नपाई बिताइएको आफ्नो जन्मस्थानले आफूलाई समय-समयमा झक्झकाउने र अतीतका जीवनका क्षणहरुले आफ्नो हृदयमा गहिरो चोट पुर्‍याएको आभास यसमा प्रष्ट गरिएको छ । त्यसैगरी गाउँको उकाली-ओराली,पहाड-पखेरा,नदी-नाला,छाँगा-छहरा अनि लालीगुराँस,सरल ग्राम्य जीवन र साउने झरीले कविलाई सधैँ खोज्ने गरेको तर आफू आउन नसकेको सङ्केत गर्दै जन्मभूमिको गरिमा र महिमालाई यहाँ स्पष्ट पारिएको छ ।
देशको आत्माकथा - नेपाल राष्ट्रले दिन-प्रतिदिन झेल्नुपरेको समस्यालाई यस कविताले अत्यन्त संवेदनशीलताका साथ विश्लेषण गरेको छ । कवि आफू पनि यही देशको नागरिकको हैसियतले देशको पीडालाई केही हदसम्म भए पनि मलमपट्टी लगाउन सक्रिय देखिनु भएको छ । तर निमुखा नेपाली जनताहरुमाथि देशका ठूलाबडा भनाउँदाहरुले गरेको षड्यान्त्र र क्रुरताले गर्दा देशको अवस्था अत्यन्त जर्जर बन्न पुगेको र देशभित्र-भित्रै आफ्नै दुःख र पीडाका घुट्को पिएर बाँच्न विवश रहेको देशको बाध्यता बुझिदिन सबै नेपालीहरुसँग आग्रह समेत गर्नु भएको छ ।
हर्के - नेपाली समाजको निरिह प्राणी हर्केलाई पात्र बनाएर उसका माध्यमबाट स्वदेश एवं विदेशमा बेरोजगारीको समस्याले गर्दा चारैतिर भौँतारिँदै हिँडेका आजका युवा-यवतीहरुको जल्दोबल्दो समस्यालाई यस कविताले स्पष्ट पारेको छ । जीवनमा अनेकौँ योजनाहरु बनाएर जीवन सङ्र्घष्ाको मैदानमा उत्रिएका हर्केजस्ता नेपालीहरुका जीवनमा शून्यता सिवाय केही हात लाग्न सकेन । परिस्थितिको ज्वलनमा जलिरहेको हर्केको आत्माले शीतलताको छहरी प्राप्त गर्न नसके झैँ आजका नेपाली युवा-यवतीहरुलेआफ्नो जीवनमा सुख एवं शान्तिको अनुभूति गर्न सकेका छैनन् र आफ्नो मृत्युको घोषणा आफै गरेर जिउँदो लाश लिएर अनिश्चित दिशाको यात्रा गर्न बाध्यात्मक परिस्थितिलाई विश्लेषण गर्दै गरीबीको ज्वालामा पिल्सिएका नेपालीहरुको चित्रण यसले गरेको छ ।
म एउटा यात्री हुँ- सृष्टिको शृङ्खलामा जन्मिएका सबै मानिसहरु आ-आफ्नो प्रारब्धअनुसारको छोटो-लामो यात्रा गर्न आएका हुन् । यहाँ कवि आफूलाई यस अनन्त यात्राको यात्रीका रुपमा अनेकौँ जटिलता र विवशताभित्र भावना र कल्पनाको सागरमा डुबेर बग्ने हरियाली कतै मरुभूमि,कहिले सहयात्री र कहिले एक्लै कठिन परिस्थितिका बावजुद पनि आस्थाको दीप बालेर अविदितको यात्रा गरिरहनुपर्ने मानव विवशतालाई साधारणीकरण गर्दै आफ्ना जीवनगत अनुभूतिहरुलाई यसमा समेट्नुभएको छ ।
कम्प्यूटर साथी - आजको वैज्ञानिक उन्नति एवं प्रगतिले सूचना एवं प्रविधिका क्षेत्रमा ल्याएको आमूल परिवर्तनले विश्वलाई नै एउटा गाउका रुपमा उपस्थित गर्राई सकेको छ । जसले विश्वमा भएका र घटेका घटनाहरुलाई सहज रुपमा आफ्ना कम्प्यूटर साथीबाट थाहा पाउन सकिन्छ । आजको मानिसलाई विश्व गतिविधिलाई बुझनको लागि कैयौँ दिन लगाएर विश्वको यात्रा गरिरहनु पर्दैन भनेर यस कवितामा कम्प्यूटरको सामर्थ्य,उपलब्धि एवं मानव-मस्तिष्कको चमत्कारिक आविष्कारलाई प्रशंसा गर्दै यसको माध्यमबाट विश्वबन्धुत्व,विश्वशान्ति र मानवतावादी सन्देश प्रचार-प्रसार गर्न कविले विश्वसामू आग्रह गर्नुभएको छ ।
"पठाइरहेछु सन्देश शान्तिको
जहाँ जहाँ अशान्त हुन्छ
त्यहाँ त्यहाँ पुर्‍याई देऊ
हृदयमा प्रेमका गीतहरु गुञ्जाइदेऊ"
सपना - अवास्तविक वस्तुहरुको क्षणिक प्राप्ति र छोटो समयका थोरै सुखानुभूति पाउन सकिने समयलाई हामी सपनाको संज्ञा दिने गर्दछौँ । कतिपय सपनाहरु पूरा हुने गर्दछन् भने कतिपय अधूरा,तर यहाँ कवि टंकज्यूले देख्नु भएको सपनायुगीन परिवेश र परिस्थितिका निम्ति ज्यादै सान्दर्भिक र उपयुक्त रहेको छ । आजको अशान्ति र अराजकताले आक्रान्त भएको युगमा गौतम बुद्ध,महात्मा गान्धी एवं नेपोलियनजस्ता व्यक्तिहरु जन्मनुपर्ने सपना उहाँले देख्नु भएको छ ।
"मेरा सपनाहरु
नेपोलियनको भन्दा कुनै फरक छैन
गौतम बुद्घको भन्दा कुनै अन्तर छैन
महात्मा गान्धीको भन्दा कुनै भिन्न छैन"
विडम्बनाभित्रको म - विडम्बनाको दुःखद परिस्थितिमा प्रायःजसो आजका सबै मानवजातिले आफ्नो जीवनरुपी रथलाई गुडाइरहेकाछन् । यहाँको प्रत्येक मानिसको जीवन सन्त्रास,शङ्का-उपशङ्का,आशा-निराशा,केहि प्राप्ति र विछोड,लुप्त हुँदै गएको भाइचाराको भावना र प्रवेश गर्दै गएको व्यक्तिवादी हाली-मुहालीले कवि टंकज्यूलाई अत्यन्त चिन्तित तुल्याएको छ । कवितामा कवित आफूलाई मानिसहरुको भिडभित्र पनि एक्लो भएको महसुस गर्नुहुन्छ र कतै कतै आफूले आफैलाई नै भुलेको पो हो कि भन्ने भान पनि उहाँमा परिरहेको छ । जसले गर्दा मानिसले मानिसलाई नै विश्वास गर्न नसक्ने विडम्बना आजको युगमा सृजना भएको ठहर उहाले यसरी गर्नुभएको छ -

"निर्मोही बनेका छन् आफन्तहरु
एक्लो बनेका छन् हुलमा रहने प्राणीहरु
उपस्थिति आफैँमा दुष्ट बनेको छ ।"
आत्मविश्वासको उज्यालोमा - प्रत्येक मानिसले आत्मविश्वासको चहकिलो राँको बालेर आफ्नो कर्तव्यलाई पहिचान गरी अगाडि बढ्नुपर्दछ । यसरी अगाडि बढ्दा असफलताभित्र पनि सफलता लुकेको देख्न पाइन्छ । जीवनका अनेकौँ गोरेटाहरु आत्मविश्वासबाट कारिएका हुन्छन् । जीवनरुपी समुद्रमा हामफालेपछि खुट्टा कमाउनु हुँदैन, आफ्ना इच्छा,आकांक्ष र चाहनाहरुलाई कैदी बनाएर हीनतावोध अग्निले ग्रसित हुनुहुँदैन । साहसको दियो बालेर अगाडि बढेको खण्डमा अवश्य पनि सफलताको शिखरमा पाइला टेक्न सकिन्छ भन्दै सबै मानवजातिलाई आत्मविश्वासका साथ अगाडि बढ्ने प्रेरणा यस कविताले दिएको छ ।
मान्छेले मान्छेबाट वञ्चित गर्नुमा - यस कवितामा कविले मानवतावादको गहकिलो तर्क अगाडि सार्दै कुनै पनि मानिस कूल,जात,धर्म,धन-सम्पतिको आधारमा ठूलो हुदैन । यदि यिनै कुराहरुका आधारमा मानिसलाई भेदभाव गरिन्छ भने त्यो दैव,भाग्य,भावी आदि कसैको पनि दोष नभएर केवल एउटा मानिसले आफ्नो स्वार्थ पूरा गर्न र ठूलो हुनको लागि गरेको जाल र षड्यान्त्र मात्र हो भन्दै मानिसका नैर्सर्गिक अधिकारमाथि प्रतिबन्ध लगाउनु मानिसले मानिसकै शोषण गर्नु मात्र हो र यसो गर्नु ठीक छैन भन्ने कविको मनसाय रहेको छ ।
विदेशी प्रेमिकाप्रति - यो प्रतिकात्मक कविता हो । यसमा कविले अन्नपूर्ण सगरमाथा आदि हिमालहरुको महत्व विदेशीहरुले मात्र बुझन सके । तर यसै देशका नेपालीहरुले भने बुझन सकेका छैनन भन्ने विचार प्रस्तुत गरिएको छ । नेपालका हिमशृङ्खला र हिमाली सौर्न्दर्यताले आफ्ना विदेशी प्रेमीकासँग आफ्नो र यस नेपाल देशको गौरवगाथा गाइदिन,त्यसैगरि लोप हुन लागेको नेपालीहरुको रीतिस्थिति र गौरवमय परम्परालाई जोगाईराख्न नेपालप्रेमी विदेशी प्रेमिकासँग गरेको अनुनय विनय यसमा प्रकट गरिएको छ जसले नेपालीहरु आफ्नो देशको संरक्षण गर्न चाहँदैन भन्ने वास्तविकतालाई समेत उजागार गरेको छ ।
हामी - सर्वनामका रुपमा प्रयोग गरिएको हामी शीर्षात्मक कविता कवि भूपि शेरचनले पनि लेखिसकेका छन् । तर समयको बदलिँदो परिस्थितिले गर्दा कवि भूपिको हामी र कवि टंकको हामीको विषयवस्तुमा धेरै परिवर्तन भएको पाइन्छ । विश्वका सबै मानव एउटै ब्रहृमाण्ड र आकाशको छहारी ओढेर हुर्कने गर्दछौँ । प्रकृतिका सुन्दर उपज हामी मानव आफ्नो प्राण र अस्तित्वको सुरक्षाका निम्ति सुख र दुःखसँगै आफ्नो जीवनलाई साट्दै जीवनरुपी मैदानमा यात्रा गरिरहेका हुन्छौँ । यहाँ सबैको बस्ने र बाँच्ने अधिकार छ,कसैले कसैको जीवनलाई अपहरण गरिदिनु हुँदैन । यो ब्रहृमाण्ड समग्र मानवजातिकै साझा फूलवारी हो । यहाँ हामीले एक आपसमा भातृत्व र विश्वबन्धुत्वको भावनालाई साटासाट गरेर बस्नुपर्दछ । आ-आफ्नो जीवन भोगाइको व्यस्ततामा हराए पनि हामी सबै एउटै सृष्टिका उपज मानव एक हौँ भन्ने एकत्व बोधको भावनालाई यसमा विश्लेषण गरिएको छ ।
एउटा युग - कवितासंग्रहको अन्तिम शीर्षकका रुपमा रहेको 'एउटा युग' कविताले सृष्टिक्रम भनेको युगौँ-युगको बदलिँदो परिस्थिति हो । प्रत्येक युगको आफ्नै इतिहास रहेको हुन्छ,यसमा हरियाली हुन्छ,फूलबारी हुन्छ,यसै गरी खेतबारी,बालीनालीसँग युग बाँचेको हुन्छ । युग र मान्छे भिन्न हुन सक्दैन । युगकै परिस्थिति एवं परिपाटीसँग घुलमेल भएर मानिसले बाँच्नु पर्दछ । कवि,साहित्यकार लेखकहरु पनि युगकै उपज हुन् र उनीहरुका कलमले युगकै व्याख्या एवं विश्लेषण गर्नुपर्दछ । युगका समस्या,विवशता एवं खुशीयाली लेख्न कविले जोसिलो कदम एवं कलम चलाउन उत्प्रेरित हुन सक्नुपर्दछ । आफ्नो श्रमको अवमूल्यन नै किन नहोस् भनेर सबै कवि-कलाकारहरुलाई यसरी उत्प्रेरित गर्नुहुन्छ -
"एउटा युग लेख्नलाई
चाले हुन्छ जोसिलो कदमहरु
बोके हुन्छ भरिला उद्देश्यहरु
जहाँ रङ्गीएर आफ्नै श्रममा
मान्छे
एउटा युग बनेको हुन्छ ।"
यसरी समसामयिक कविताधाराका युगाकवि टंक सम्वाहाम्फेको "युद्ध भित्र उभिएका वुद्धहरु" शीर्षकको ४१ वटा फुटकर कविताहरुको सँगालोको रुपमा रहेको कवितासँग्रहभित्रका कविताहरुको छाटो अवधिममा शीर्षक र त्यससँग सम्बन्धित विषयवस्तुका आधारमा प्रभाववादी समालोचकीय सिद्धान्तमा आधारित भएर सरर्सर्ती नियाल्ने कार्य गरेको छु ।
कथा,मुक्तक आदि विधाहरुमा पनि कलम चलाइसक्नुभएका सम्वाहाम्फेज्यूको कृतिको रुप धारण गर्ने अवसर प्राप्त गरेको यस कवितासंग्रहका कविताहरु प्रारम्भिक चरणका भन्दा उत्तरोत्तर चरणमा परिष्कृत एवं परिमार्जित हुदै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयवस्तुलाई आत्मसात् गर्न सफल रहेका छन् । वाणिज्यशास्त्रका विद्यार्थी भएर पनि साहित्यतर्फअभिरुचि राखी नेपाली भाषा र साहित्यप्रति अनुराग राखेर उहाँले साहित्य-सिर्जनाका निम्ति नेपाली नै अध्यायन गरिरहनु पर्दैन,योग्य प्रतिभाबाट जुनसुकै समय र जस्तोसुकै परिस्थिति र परिवेशमा पनि आफ्नो राष्ट्रभाषामा कविता लेख्न सकिन्छ भन्ने उदाहरणसमेत उहाँले आफ्ना कविताको माध्यमबाट दिइसक्नुभएको छ । कविता पढेको सुन्दा नाक खुम्च्याउने आजका युवापिढीलाई समेत टंकज्यूले आफ्ना साहित्यानुराग र उत्कृष्ट कविताहरुको प्रस्तुतिबाट सचेत गराउनुभएको छ ।
हरेक क्रियाकलापलाई आर्थिक दृष्टिकोणले मात्र विश्लेषण गरिने आजको युगमा कवि एवं साहित्यकारहरुको परिश्रम र पीडालाई बुझिदिएर कृति प्रकाशन गरिदिने र साहित्यिक विधाहरुको मर्म बुझेर पढि दिने संस्था एवं व्यक्ति प्राप्त गर्न निक्कै प्रतिक्षा गर्नुपर्ने र सरकारले पनि त्यति वास्ता नगरेको यस परिप्रेक्षमा व्यक्तिगत प्रयास र नेपाली साहित्य प्रतिष्ठान हङकङबाट प्रकाशित गरिएको यो कृति आजका समसामयिक धाराका युवाकविहरुका कविता कृतिभन्दा कम महत्वको छैन भन्ने मेरो मूल्याङ्कन रहेको छ । तर देशका प्राज्ञिक संघ-संस्थादेखि लिएर हरेक क्षेत्रमा आक्रान्त भैसकेको राजनीति र नातावाद -कृपावाद प्रवृतिले यसको कतिको मूल्याङ्कन गर्ने हो त्यो म भन्न सक्दिन । तर प्रथम पटकको प्रयासमा नै प्रकाशनयोग्य कविता लेख्न सक्षम हुनुभएका कवि टंक सम्वाहाम्फेले आगामी दिनमा यीभन्दा उच्चस्तरिय कविताकृति र अन्य विधाहरुको प्रकाशन गरेर प्रवास मै रहेर भए पनि नेपाली भाषा र साहित्यको विकास र समृद्धिका निम्ति कलम चलाउनु नै हुनेछ भन्ने कुरामा विश्वस्त हुँदै आगामी दिनमा उहाँका अझ राम्रा कविता पढ्न पाइयोस् । यो लाभ नेपाली साहित्य प्रतिष्ठान हङकङले मात्र उपभोग नगरोस् नेपालका नेपालीहरुलाई पनि यसमा सहभागी गराइयोस् भन्दै बौद्धिक पलायनको रुपमा विभिन्न विदेशी भूभागमा छरिएर रहनुभएका बौद्धिक नेपाली जमातलाई कवि टंकज्यूबाट आफ्नो देश,भाषा,संस्कृति,परम्परा र रीतिरिवाजको आफू जुनसुकै ठाउँमा बसेर पनि सेवा एवं संरक्षण गर्न सकिँदो रहेछ भन्ने प्रेरणा मिल्न सकोस् भन्ने कामना गर्दछु ।
अन्त्यमा लाभ-हानी,मान-सम्मान,उपाधि-पुरस्कार आदिको परिधिभन्दा माथि उठेर नेपाल राष्ट्र एवं नेपाली भाषा र साहित्यको प्रचार प्रसार एवं विकासका निम्ति उहाँको कलम नराकियोस् निरन्तररुपमा साहित्य साधनातर्फअभिरुचि बढ्दै जाओस् यो त प्रथम प्रयास मात्र हो , उहाँ जस्ता युवा प्रतिभाबाट नेपाली साहित्यले गरेको आशा भरोसा पूरा हुन सकून्,अहिलेलाई यति नै ।
समीक्षक - श्री मैवाखोला उच्च माध्यमिक विद्यालय ढुङ्गेसाँघु ताप्लेजुङका शिक्षक हुनुहुन्छ ।र नेपाली साहित्यबाट एम.ए.गर्नु भएको हो ।