Apr 23, 2008

युवाकवि टंक सम्वाहाम्फे को "युद्ध भित्र उभिएका वुद्धहरु" कविता संग्रह सरसर्ती अध्यायन गर्दा

फणीन्द्र प्रसाद पोख्रेल
एघारौ शताब्दीदेखि प्रारम्भ भएको नेपाली भाषाको इतिहासले विभिन्न युग र समयसंग पौंठेजोरी खेल्दै आजको एक्काइसौ शताब्दीमा पाइला टेक्ने अवसर प्राप्त गरीसकेको छ । विभिन्न शिलालेख,ताम्रपत्र,भोजपत्र हुदै छिमेकी राष्ट्रका भाषाहरु हिन्दी,उर्दू,फारसी,बङ्गाली, आदि र नेपाली भाषाकै जननी भाषा संस्कृतबाट प्रभावित हुदै आफ्नै मौलिक स्वरुप र पहिचानलाई कायम राख्दै अगाडी बढेको नेपाली भाषाको पहिलो लिखित कविता भने वि.सं.१८२६ को सुवानन्द दासको "पृथ्वीनारायण शाह" नै प्रमाणित भएको पाइन्छ ।
भाषाको चौतर्फी विकासका निम्ति पृथ्वीनारायण शाहको राज्य एकीकरण
युद्ध भित्र उभिएका वुद्धहरु कविता संग्रहमा र टंक सम्वाहाम्फे
अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र अझ यसलाई फुलाउने फलाउने कार्यमा आदिकवि भानुभक्त आचार्यको गहन भूमिका रहेको छ । नेपाल राष्ट्रको शान्ति सुरक्षादेखि लिएर राज्य विस्तारमा संलग्न रहेका नेपालीहरुका निम्ति वि.सं.१८७२ को सुगौली सन्धिले ठूलो आघात पुर्याउछ र त्यसपछिका कविहरुमा वीर रसको प्रभाव हट्न गई भक्ति रसतर्फउन्मुख हुन पुग्दछन् । भक्ति रस पनि तीन धारामा विभाजित भएर कृष्ण भक्ति,राम भक्ति र निर्गुण भक्तिधारामा परिणत हुन पुग्दछ । जस्ले हिन्दु धर्म र दर्शनका आधारमा नेपाली कविता विधालाई अगाडि बढाएको हुन्छ । तर वि.सं. १९०३ को कोतपर्व र जंगबहादुरको कुटिल राजनैतिक चालबाजीले गर्दा नेपालको राजनितिमा आमूल परिवर्तन हुन पुग्दछ जसको प्रभावबाट नेपाली साहित्यको क्षेत्र अछुत रहन सक्दैन । सुरा-सुन्दरी,भोग-विलास एवं नारीहरुको नख शिखको वर्णन र विभिन्न किसिमका हिन्दी,उर्दू,फारसी आदि भाषाका भड्किला नाटकहरु राणादरवारमा प्रदर्शित हुन पुग्दछन् र त्यस समयका मोतीराम भट्ट,शम्भूप्रसाद ढुङ्गेल आदि जस्ता कविहरु पनि श्रृङ्गारिक भाव धारालाई नै आधार बनाएर कविता लेख्न थाल्दछन् । यस समयसम्ममा नेपाली कविताले भक्तिधारालाई मूल रुपमा परित्याग गरी श्रृङ्गारिकताको बाटो अपनाईएको हुन्छ र यो समय १९४१ देखि वि.सं.१९७४ सम्म कायम रहन्छ । यसलाई नेपाली कविता विधाको माध्यमिक कालका रुपमा लिइने गरिन्छ । यहि माध्यमिक कालको उत्तर्रार्द्धमा देखा परेका परिष्कारवादी कवि लेखनाथ पौडेलबाट आधुनिक कालको शुभारम्भ गरिन्छ ।
यसपछि विशेष गरेर भारतको बनारस र अन्य क्षेत्रमा छरिएर सहेका नेपाली युवा कविहरुले विभिन्न पत्रपत्रिकाको माध्यमबाट कविताका अतिरिक्त निबन्ध,कथा,नाटक,उपन्यास आदिजस्ता विधाहरुमा पनि कलम चलाउन प्रारम्भ गर्दछन् । यी विधाहरुको प्रचार प्रसारको जिम्मेवारी वि.सं.१९९१ को शारदा पत्रिकाले विशेष रुपमा लिएको पाईन्छ । यहि सालदेखि नेपाली कविता धारामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको उदय हुन्छ र अर्को कविता धाराको शुरुआत गरिन्छ जसलाई हामी स्वच्छन्दतावादी धारका नामले चिन्ने गर्दछौ । वि.सं.२००४ साल सम्म विशुद्ध स्वच्छन्दतावादी-प्रगतिवादी धारामा परिणत हुदै महाकवि देवकोटाको निधन वि.सं.२०१६ सालमा भयो ।
वि.सं.२००७ सालको राजनैतिक परिवर्तनले नेपालको राजनिति र साहित्यका क्षेत्रमा स्वतन्त्रताको लहरसंग-संगै उन्मुक्तताको वातावरण सृजना गरेकाले साहित्यकारहरुको मानसिकतामा स्वच्छन्द विचारका लहरहरुले विचरण गर्ने अवसर प्राप्त गरेको थियो । तर वि.सं.२०१७ को राजा महेन्द्रको शासनमा दलमाथिको प्रतिबन्ध र पञ्चायती व्यवस्थाको सूत्रपातले भने साहित्यकार र प्रजातन्त्रप्रेमी नेपालीहरुको हृदयमा ठूलो चोट पुर्यायो । निर्दलीय शासन पद्धतिले केवल राजनितिमा मात्र प्रभाव पारेन अपितु साहित्य लेखन तर्फपनि त्यत्तिकै वाण प्रहार गर्योर कविहरुले आफ्ना भावनाहरुलाई स्वतःस्फूर्त रुपमा व्यक्त गर्न सकेनन् जसको परिणामस्वरुप प्रयोवादी कविता धाराका कवि मोहन कोइरालाको नेतृत्वमा प्रादुर्भूत हुन पुग्यो । यस पछि क्रमशःआयामेली,राल्फा जमात,अस्वीकृत जमात,तरलवाद आदि जस्ता कविता धाराहरुको उदय हुन पुग्यो । यसै क्रममा वि.सं.२०३० सालदेखि समसामयिक कविता-धाराको थालनी हुन पुग्यो । जुन धारा अद्यावधी विद्यमान रहेको पाइन्छ । यस धारामा पनि वि.सं.२०३६ सालको 'सडक कविता क्रान्ति' एवं वि.सं.२०४६ सालको राजनैतिक परिवर्तनले कविहरुको मानसिक चिन्तनमा धेरै विचलन ल्यायो र कविहरुले पनि जनआन्दोलनका वेला आन्दोलनवादी कविता लेखे । समसामयिक कविता धाराको नेतृत्व कुनै एक व्यक्ति विशेषमा मात्र केन्द्रित भएको पाइदैन । यस धारामा आवद्ध भएर कविता लेख्ने प्रतिभाहरु अत्याधिक संख्यामा रहेकाछन्। प्रमुख कविहरुको नामांकन गर्न पनि यहा कठिनाइ पर्ने स्थिति रहेको छ,तर पनि दुइचार जना कविहरुको नाम निम्नलिखित छन्-
ताया गुरुङ,मीनबहादुर विष्ट,मञ्जु काँचुली,विक्रम सुब्बा,सरुभक्त,वेञ्जु शर्मा,दिनेश अधिकारी,अविनाश श्रेष्ठ आदि रहेकाछन् र यसै समसामयिक कविता धारामा केन्द्रित रहेर गोपालप्रसाद रिमालद्वारा शुरुआत गरिएको गद्य कविता लेखन परम्परालाई सम्वर्द्धन गर्ने युवाकवि टंक सम्वाहाम्फे,जसले आफ्ना कविताका माध्यमबाट विश्वमा भैरहेको राजनैतिक तानातान,वैज्ञानिक युगको आणविक होडबाजी र विश्व-बन्धुत्व र मानव अस्तित्व,विनाशकारी क्रियाकलापले आजको मानव जीवनमा पर्न गएको गहिरो आघातको चर्चा परिचर्चा गर्दै मानव अस्तित्वको खोजिमा जुर्मुराउनुभएको छ ।
यिनै पृष्ठभूमिको आधारमा 'नजिकको तीर्थ हेला' भने झैं चार भञ्ज्याङभित्रको नेपालीहरुका निम्ति लोक सेवा आयोग देखि लिएर नव शिक्षित युवाहरुका लागि तीतो लाग्ने नेपाली र मीठो लाग्ने अंग्रेजीले गर्दा हाम्रो राष्ट्रभाषा दिन प्रतिदिन ह्रासोन्मुख गतिको यात्रा गरिरहेको अवस्थामा कैयौं दिन अनसन बसेर भारतमा बसेका नेपालीहरुले यसलाई आठौं अनुसूचीमा दर्ता गराएर आफ्नो राष्ट्रभाषाको ऋण चुकाएकाछन् र उनीहरु हाम्रा आदिकवि भानुभक्त आचार्य,लेखनाथ पौडेल,बालकृष्ण सम,लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यिक विभूतिहरुलाई हामी नेपालमा बसेका नेपालीहरु भन्दा छुट्टै श्रद्धा एवं सम्मानका दृष्टिले हेर्ने गर्दछन् ।
यस्तै एउटा नेपाली भाषा र साहित्यको शुभेच्छुक प्रवासी साहित्यिक संस्थाको नाम हो - "नेपाली साहित्य प्रतिष्ठान,हङकङ" यही साहित्यिक संस्थाका संस्थापक उपाध्यक्ष तथा हालका अध्यक्ष हुनुहुन्छ युवाकवि टंक सम्वाहाम्फे । वि.सं.२०२४ साल वैसाख ७ गतेका दिन पूर्वी नेपालको कोशी अञ्चल अर्न्तर्गतको धनकुटा जिल्लाको चौविसे कुरुले तेनुपामा जन्म भई महेन्द्र बहुमुखी क्याम्पस,धरानबाट आई.कम्. सम्मको शैक्षिक योग्यता प्राप्त गर्नु भएका सम्वाहाम्फेले जीवन-भोगाईका क्रममा पूर्वेली मुलुक,दक्षिण कोरिया र हङकङ गरी दुइ देशको यात्रा र बसाइका क्रममा लगभग एक दशक भित्रको आफ्नो जीवनगत अनुभूतिबाट प्राप्त आफ्ना कथा ,व्यथा,खुशी,आनन्द,उन्माद,आशा,भरोसा,उतारचढाप,सुख,दुख,मानवतावाद,जातिप्रेम,राष्ट्रप्रेम,एवं भाषाप्रेमको ज्वलन्त एवं जीवन्त अभिव्यक्तिहरुको समष्टि कृतिको नाम हो- "युद्ध भित्र उभिएका वुद्धहरु" ।
आफ्ना पिता र माता नाममा समर्पित यस कविता संग्रहमा जम्मा ४१ वटा फुटकर कविताहरु संग्रहित रहेकाछन् । ६८ पृष्ठमा आवद्ध गरिएको कवितासंग्रहको चौथो कविताको शीर्षकले नै यस कृतिको नामाङ्कन हुने अवसर पाएको छ । यसलाई प्रकाशन गर्ने जिम्मवारी 'नेपाली साहित्य प्रतिष्ठान' हङकङले नै लिएको छ । यी भए कृतिका सम्वन्धमा सामान्य बाहिरी कुराहरु ।
कृतिभित्र प्रवेश गर्ने जमर्को गर्दा यहा एकदुइ कुरा भन्नै पर्ने हुन्छ । मैले यस कृतिको समालोचना प्रभाववादी समालोचना सिद्धान्तका आधारमा विषयवस्तुको गहिराइमा नगई सरसरति गरेको छु । यसका विविध विषयवस्तुका बारेमा विश्लेषण गरिन सकिने प्रशस्त गोरेटाहरु रहेकाछन् । अन्य समालोचकहरुका निमित्त लिन सकिने पर्याप्त विषयवस्तु छन् । यद्यपि यसमा मैले आफ्नो दृष्टिकोण अनुसार टीका-टीप्पणी गर्ने प्रयास गरेको छु । तर अत्यान्त छोटो अवधिमा ४१ वटा कविताका सम्बन्धमा टिप्पणी गर्न निक्कै कठिनाई पर्छ नै,प्रत्येक कविताको विश्लेषणात्मक व्याख्या गर्ने हो भने एउटा स-सानो समालोचकीय कृतिकै रुप धारण गर्दछ । तथापि संक्षिप्ततया कविताको शीर्षक र मूल विषयवस्तुमा मात्र केन्द्रित रहेर यस कृतिको सिंहावलोकन गरेको छु ।

विश्लेषित कविताहरु निम्न छन् -
इहलीला
- तत्सम् शब्द इहलीलाले कतै कतै अध्यात्मर्-दर्शनको आभास दिएको छ । तर कविता पढ्दै जादा कवि अध्यात्मवादको दर्शनसम्म पुग्नु भएको छैन । उहाँले केवल मानव जन्म देखि मृत्युसम्मका यावत् क्रियाकलापलाई मानव जीवनोपयोगी बनाउनुपर्ने आवश्याकतामाथि जोड दिँदै नाशवान शरीरबाट अमर कार्य गर्न उत्प्रेरित गर्नुभएको छ भने कतै कतै अस्तित्वविहीन जीवनको संकेत पनि दिनुभएको छ ।
"आश्वासन मात्र ओढेर के गर्नु -
अर्थविहिन जिन्दगी भएपछि
औचित्य के रह्यो र -
इहलीलाको"
दुनियाँभित्रको नाटक - विद्वान्हरुले यस संसारलाई महानाट्यशालाको संज्ञा दिएका छन् र यहा कवि टंकले पनि यस संसारको सृष्टिक्रमलाई नाटकको रुपमा हेर्नु भएको छ । बौद्ध दर्शनको शून्यवादको कुरा उठाउदै शून्य आकासमा यो सुनौलो ब्रहृमाण्डको सृष्टि कसरी भयो होला भनेर सृष्टिको सौन्दर्यलाई गहिराइमा गएर नियाल्ने काम यसरी गरिएको छ -
"शुन्य शुन्याकासमा.....
जन्म्यो होला कसरी -
गोल गोल ब्रहृमाण्डको सुनौलो मञ्च
उघ्रयो होला कसरी -
फङ्लङ्ग
आग्लो घचेटेर यो सृष्टिको ढोका"
आकास,मान्छे र ब्वाँसाहरु - यो प्रतीकात्मक कविता हो । यसमा कविले धर्तीमा सामान्य मानिसहरुसंग ठूलाबडाहरुले ब्वाँसाको भूमिका खेलेको संकेत दिनुभएको छ आइन्दा यसो नगर्न आग्रह गर्नु भएको छ ।
युद्ध भित्र उभिएका वुद्धहरु - कविता संग्रहको शीर्षकसँग सँम्बन्धित यस कविताले आजको सन्त्रासमय वातावरणमा पनि गौतम वुद्धका शान्तिको सन्देश दिने मान्छेहरुको कमी छैन भन्दै मानिसको आफ्नो हैकमवादको प्रचार प्रसार गरेर विश्वलाई युद्धभूमिमा धकेल्नु भन्दा गौतम वुद्धको शान्तिको सन्देश फैलाउनु मुलुकका लागि धेरै श्रेयस्कर हुने कुरालाई अगाडि सारेको छ ।
दिन - यस कविताले मानव जीवनको वाल्यकालदेखि मृत्युसम्मको संकेत यसमा गरिएको छ र प्रत्येक दिनको सुनौलो विहानीले मानिसलाई उत्साह एवं आनन्दपूर्वक बाँच्न प्रेरण दिएको आभास यसमा रहेको छ ।
कुन उत्सवको तयारीमा - गरिबीको जाँतोमा पिँधिएका नेपालीहरु आफ्नो हैसियतलाई बिर्सिएर हृवीस्की ब्राण्डीको प्यालासँग मदहोस भएको देख्ने कविले त्यस्ता व्यक्तिहरु प्रति तीखो व्यङ्गयवाणको प्रहार यस कविताबाट गर्नुभएको छ ।
अस्मिताको खातिर - आजका मानिसहरुको स्वार्थान्धताको भुमरीभित्र रुमालिएको मानव जीवन र आफ्नो अस्मिता एवं अस्तित्वको खोजी यस कवितामा गरिएको छ ।
भावप्रष्ट बोलीहरु - सबै मानिसको भावना र दिल त स्पष्ट छ तर बाली चाहिँ अस्पष्ट छ । अभिव्यञ्जनात्मक रुपमा सबै कुरा राम्रो छ,तर व्यक्त भएपछि त्यहि कुरा बुझ्न सकिँदैन भनेर यहाँ कविले "क्रोचे"को अभिव्यञ्जनवादको व्याख्या गर्नुभएको छ ।
अथाह प्रश्न चिहृनहरु- सृष्टिको आदिम कालको परिकल्पना गरेर आजको मानव समाज र वातावरणलाई सुनौलो दृष्टिले व्याख्यन गर्दै भौतिकवादको अन्धो होडबाजीले कतै सुन्दर संसारलाई ध्वस्त त गर्ने होइन - भन्ने प्रश्न गर्दै मानव अस्तित्वको संरक्षण र सुरक्षाको लागि सबै एकजुट हुन आग्रह गरिएको छ र आजका वैज्ञानिकहरुले जन्माएका कृतिम सन्ततिहरुमा मानवतावादको फूल फुल्न नसक्ने कविको धारणा रहेको छ ।
कृतिम ब्रहृमाजीहरु - आजका कृतिम ब्रहृमाजीहरुले ब्रहृमाको सृष्टिक्रमलाई उछिनेर आफैलाई सृष्टिकर्ता मान्न थालेकोमा कविले यस्तो क्रियाकलापलाई जंगबहादुरले सत्ताप्राप्तिको निम्ति गरेको कोतपर्वको संज्ञा दिएकाछन् र हिरोशिमा र नागाशाकीको मानव विनाशकारी ध्वंशात्मक घट्ना पनि आजका भौतिकवादी महिषासुरहरुको चरमोत्कर्षो परिणती हो भन्ने आशय यस कविताको छ ।
विपत्तिमा परेकाछन् चराहरु - सृष्टिका सुन्दर जीवजन्तु र मानवजाति माथि कृतिम मानिसहरुको आडम्बरपूर्ण व्यवहारले गर्दा र प्रकृतिका यावत् जीवजन्तुहरु सन्त्रासमय वातावरणमा असुरक्षित जीवनको भारी बोकेर बाँच्न विवश रहेको आजका निरीह मानिस र जीवजन्तुमाथि भइरहेको आक्रमक समस्यालाई यस कविताले राम्ररी विश्लेषण गरेको छ ।
विभाजित छन् आकाशहरु - यस कवितामा मानिसले सार्वभौमसत्ताको रुपमा सम्पूर्ण ब्रहृमाण्डको विना रोकटोक यात्रा गर्न पाउनु पर्ने कुरालाई कवि टंकज्यूले अगाडि सार्नुभएको छ । तर आजका व्यक्तिगत इच्छा,आकांक्षा र स्वार्थले अभिप्रेरित भएका मानिसहरुले विश्ववन्धुत्व र मानवतावादलाई त्यागेर मानचित्रको आधारमा राष्ट्रलाई विभाजित गरेर आफूलाई शक्तिशाली देखाउन चाहेकोमा कवि असन्तुष्ट देखिनु हुन्छ ।
"संसार हो त्यो मानवताको
देश हो त्यो बन्धुत्वको
तर यहाँ विभाजित छन् आकासहरु"
लालीगुराँस - यस कविताले अभिधा अर्थमा नै नेपालको राष्ट्रिय फूल लालीगुराँसको महत्व र विशेषतालाई उजागार गरेको छ । नेपालको शोभा बढाउने र विदेशी पर्यटकलाई लोभ्याउने नेपालका पहाडि क्षेत्रमा फुल्ने लालीगुराँसले नेपालीहरुलाई हाँस्न र खुशी हुन सिकाएको छ । त्यसै गरी लालीगुराँसकै सौन्दर्यले गर्दा सारा सृष्टि नै रमाएको र सबै नेपालीको सपना साकार पार्ने सुन्दर फूल भएर जगमगाएको चर्चा गर्दै नेपाली र लालीगुराँसबीच घनिष्ठ सम्वन्ध रहेको संकेत यस कविताले दिएको छ ।
समयको डुङ्गा - यस कविताभित्र जिन्दगीलाई महासागर र समयलाई त्यस महासागरमा विचरण गर्ने डुङ्गाका रुपमा तुलना गरिएको छ । यसै गरी जीवनरुपी महासागरको यात्रामा निस्किएको प्रत्येक मानवयात्रीले सागरको छाल जस्तै विभिन्न जीवनगत परिस्थितिहरुसँग ठाक्किनुपर्ने र अन्त्यमा उपलब्धिविना नै यात्रा टुङ्ग्याउनु पर्ने जीवनको अन्तिम सत्यतालाई यसले बोध गराएको छ -
"जीवन गतिलाई मात्र अङ्गालिरहेछौं आशाको
समयको डुङ्गा
भोलि कहा पुग्ने हो थाहा छैन
के हुने हो थाहा छैन"
मान्छे आडम्बरी हुनसक्छ - प्रकृतिको सवैभन्दा उत्कृष्ट रचना मानव हो भने सबैभन्दा निकृष्ट रचना पनि मानव नै हो भन्ने आशय यस कवितामा व्यक्त गरिएको छ । आफूले श्रद्धा एवं विश्वास गर्दागर्दै पनि कुटिल एवं आडम्बरी आजका मानिसले आफूसँग विश्वासघात गर्न सक्दछ । प्रत्येक जङ्गलमा चन्दनको रुख नपाइए झैँ सबै मानिसहरु सज्जन र इमानदार नै हुन्छन् भन्न सकिँदैन । मुखका चिल्ला र पेटका चिप्ला आजका मानिसले आफूलाई धोका दिन सक्दछन् । तसर्थ समयमा नै सतर्क भएर अगाडि बढ्न सक्नु विश्वासघातबाट बच्ने उपाय हो भनेर कविले नीतिका कुराहरु अगाडि सार्नु भएको छ -
"सावधान !
अवसरको घुम्टो ओढेर
समाजमा बहुरुपी बन्नेहरुसँग
बाहिर राम राम बगलीमा छुरा लिनेहरुसँग"

भावनाको क्यान्भासमा दुनियालाई पोत्दा - यस कवितामा कविले भावनात्मक रुपमा समग्र मानवजातिको विवशता र व्यथालाई कलात्मक रुपमा आँकलन गर्ने कार्य गर्नु भएको छ । तर आफूले क्यान्भासमा उतार्न लागेको वा चाहेको मानव मुखाकृति उहाँ कतै पनि फेला पार्न सक्नुहुन्न,सबै मान्छेका मुहारहरु त्यसै त्यसै मुर्झाएका र हृदयभरि वेदना बोकेर फोस्रा हाँसो हाँस्न बाध्य भएका मानिसका चित्रहरु मात्र कविका नजरमा देखा पर्दछन् र कवि आफ्नो उदेश्य पूरा गर्न नसकेको गुनासो यसरी गर्नुहुन्छ -
"पुनःजन्माउन खोज्छु क्यान्भासमा
असिमित प्रतिविम्वहरु
तर तस्वीरहरु बोल्दैनन्
खुशीका मुस्कानहरु छर्दैनन्"
प्रेम सागर - यस कविताले प्रेमलाई समुद्रसँग तुलना गरेको छ । प्रेमरुपी सागरमा डुबेको मानिसलाई त्यसबाट टाढिन धेरै गाह्रो पर्दछ भन्ने कवि सम्वाहाम्फेको विचार यसमा छताछुल्ल भएर पोखिएको छ । प्रेमीकाको गजगामिनी हिँडाइ यौवन फक्रिएको अवस्था र उसको वैंशको उन्मादले उससँग समुद्रको अनगिन्ति तरङ्ग जस्तै कहिल्यै नसकिने मायाको जाल बिछ्याउने उत्कट अभिलाषा यहाँ यसरी पोखिएको छ -
"समुद्रको अनगिन्ती तरङ्ग जस्तै
नरित्तिने मायाको भण्डार
फैलिएर हृदयको नजिक आइपुग्छ
अनायस हराउँछु तिम्रो सौन्दर्यमा"
शहरको निद्रामा व्यूँझिएको म - आजको वैज्ञानिक उपकरण र यन्त्रहरुको अत्याधिक उपयोगले गर्दा यान्त्रिक जीवन जीउन बाध्य भएका शहरवासीहरुलाई व्यङ्ग्य गर्दै आफू मात्र मानव जीवनको उपयोगिता बुझेर सचेत भएको,तर शहरवासीहरु जागा हुन नसकेको गुनासो कवि यसरी प्रकट गर्नुहुन्छ -
"सँजीवनी भर्दैछु
बिहानीसँग ताजा भएर उठ्न सकोस् भनेर
तर अझै यो शहर गाढा निद्रामा परेको छ
ठिही परेको रातमा कठाङ्ग्रिएको छ ।"
जस्तैजस्तै - यस कविताले समग्र मानवजातिका अन्तर्हृदयका समान चाहना,भावना र वास्तविकतालाई एउटै संघारमा उभिएर विश्लेषित गर्ने कार्य गरेको छ । प्रकृत्रि्रदत्त यावत पदार्थले सबै मानिसलाई समान रुपले उपभोग गर्ने अवसर प्रदान गरेको छ । उद्यपि जीवन भोगाईका क्रममा कहिले हर्ष ,कहिले विस्माद र आश्चर्यको अनुभूति गर्नु पर्ने विशेष परिस्थितिहरु सिर्जना हुने गर्दछन् । तर पनि जीवन भोगाईका अनुभूतिहरु सबैका उस्तै-उस्तै,जस्तै-जस्तै हुन्छन् भन्ने कविको भनाइ छ ।
यो जिन्दगीको नशा - यसमा विसङ्गतिभित्र अस्तित्वको खोजी गर्दै जीवनलाई बाध्यता र विवशताभित्र टुटेफुटेका आशाहरु सँगालेर बाँच्नु पर्ने नशाका रुपमा कविले जीवनलाई नियाल्ने कार्य गर्नुभएको छ । जसलाई नचाहँदा नचाहँदै पनि पिउनु र जीउनु पर्ने अपरिहार्य वास्तविकताको रुपमा दर्शाइएको छ ।
"थाहा छैन यसरी
पिउनु पर्ने हो कतिञ्जेल -
थाहा छैन यसरी
जिउँनु पर्ने हो कतिञ्जेल -"
छातिमा दौडिएको यो मन - यस कवितामा कविले मानवमनका तीन अवस्थामध्ये चेतन मनका भावावेग र गतिशीलतालाई आफ्नो जीवनगत भोगाई र सोचाइका क्रम प्रस्तुत प्रस्तुत गर्नु भएको छ । तीव्रगतिले चारैतिर बरालिने मनले कहिले अतीतको सङ्केत गर्दछ भने कहिले सुनौलो भविष्यको सुन्दर संसारको सृजना गर्दछ । समयको अनन्त क्षणसँग मनका भावनाहरु छातिमै मडारिने गर्दछन् । त्यतिमात्र होइन शङ्का र उपशङ्काले भरिएको मानव मन कहिले पश्चातापको भुमरीमा लगेर आफूलाई फ्याँकिदिन्छ भने भावशून्य भएर एक क्षण आफ्नो जीवनलाई मूल्याङ्कन गर्न लगाउछ र प्रत्येक विहानीको आगमनसँगसँगै मानव मनले नवीन यात्रा प्रारम्भ गर्दछ । वास्तविकता र यथार्थतालाई नाघेर यो मन चुलबुलाइ रहन्छ र मनलाई नियन्त्रण गर्न अत्यान्त गाह्रो छ -
"असीमित इरादा अँगालेर
हरदम छातीबाट दौडिएर संसार रिङ्छ यो मन
यथास्थितिको परिधि नाघेर चल्बलाइरहन्छ यो मन"
वर्षा - मानवजातिका निम्ति अझ त्यसमा पनि कृषिप्रधान राष्ट्र नेपालमा धान रोप्न अनुकूल समयका रुप वर्षा ऋतुलाई लिइने गरिन्छ । वर्षा ऋतुको प्रतिक्षामा धर्ती बसेको र यसको आगमनले सारा पहाड,पर्वत र सृष्टि नै मुस्कुराउने गरेको कुरालाई यसमा सङ्केत गरिएको छ । ऋतुको सङ्क्रामणका क्रममा वर्षा ऋतुको अत्यधिक महत्व यस कवितामा व्यक्त गरिएको छ ।
मेरो देश - कवि भूपि शेरचनले पनि 'मेरो देश' शीर्षकको कविता लेखेका छन् । तर भूपिको मेरो देश र कवि टंकको मेरो देशमा विषय वस्तुका दृष्टिले केहि भिन्नता रहेको पाइन्छ । यसमा अथाह जलस्रोतको धनी देश नेपालमा जलस्रोतको सदुपयोग हुन नसकेकोमा कवि चिन्तित हुनु भएको छ । त्यसैगरी राष्ट्रिय संस्कृतिको दिन-प्रतिदिन लोप हुन लागेको र विदेशी संस्कृतिको पछाडि नेपालीहरु लागेकोमा कवि दुख प्रकट गर्नुहुन्छ । गौतम वुद्धको देशमा अशान्तिको वास,वीर गार्खालीहरुको जडौरी प्रशंसा सुनेर मख्ख भएका नेपालीहरुले आफ्नो भेषभुषालाई टाइसुटले शोषण गरेकोमा कवि व्यथित र चिन्तित हुदै राष्ट्रवादी विचारलाई अगाडि सार्नुहुन्छ ।
इतिहास - बितेका घट्नाहरुको संस्मरणात्मक अभिव्यक्ति नै इतिहास हो,जस्ले मानिसलाई भविष्यको मार्ग निर्देशन गरेको हुन्छ । यहाँ कविले हामी नेपालीहरुको भौगोलिक इतिहास,राष्ट्रप्रेमको इतिहास,यस्तो पवित्र इतिहासभित्र रहेर देशको भविष्यमाथि खेलवाड गर्ने हिजडाहरुको इतिहासलाई अत्यन्त मार्मिक ढङ्गले वस्तुस्थितिका आधारमा विश्लेषण गरिएको छ ।
एक छाक - मानिसले एक छाकका निम्ति ठूलो संघर्ष गर्नुपर्दछ । यहि एक छाक टार्न नसक्दा कति मानिसहरुको जीवनलीला समाप्त हुन्छ भने अर्काको छाक खोस्ने परिपाटीले गर्दा कतिपय मानिसले लाचार भएर बस्नुपर्छ । तर्सथ प्राणको पर्यायवाचीका रुपमा एक छाकको आवश्यकता पर्दछ भनेर यहाँ आर्थिक समानतालाई विशेष जोड दिएको छ ।
वैंशको खोजीमा - वृद्धावस्थातर्फ लम्किएपछि प्रत्येक मानिसलाई आफ्नो वैंशको सम्झना आउने गर्दछ । विगत जीवनका रमाइला क्षणहरुले आफूलाई लोभ्याइरहने गर्दछ र कवि टंक पनि यस कविताको माध्यमबाट आफ्नो मात्र होइन प्रायः सवै यौवनावस्थाबाट पार भैसकेका मानिसहरुलाई अतीतका दिन सम्झना विवश बनाएर वैंशालु उन्मादका क्षणहरुलाई अत्यन्त सौहार्दका साथ कवि यसरी विश्लेषण गर्नुहुन्छ -
"बैँशालु उन्मादहरु
भरिन थाल्छन् आफैँ स्फूर्ति
खुम्चिएर बास बसेका तनहरु
अनायस पवनको एक झोक्काले"
नयाँ प्रयासहरु - मानिसले आफ्ना जीवनमा केहि गरेर देखाउनु छ भने नयाँ नयाँ प्रयासहरु गर्नुपर्दछ भन्ने कविको चिन्तनलाई यस कवितामा अगाडि सारिएको छ । सुख र दुःखका दुइ बाटाहरु पहिचान गरेर आफ्नो जीवनमा प्रसन्नता ल्याउनु छ भने अनि आफ्नो पहिचान र प्रतिष्ठालाई सगरमाथा झैँ उच्च राख्नु छ भने र आफ्ना भावनालाई सुरक्षित राखेर समाजमा देखा परेका विकृति र विसङ्गतिको अन्त्य गर्नु छ भने मानवहृदयमा नवीन प्रयासहरुको जागृति हुनु नितान्त आवश्यक छ भन्दै समग्र मानव जातिको जागरणले नै सांसारिक सृष्टिलाई सुन्दर बनाउन सक्छ -
"त्याग र तपस्यामा अजेय साहस बटुलेर
नयाँ प्रयासहरु हृदयमा झयाङ्गीनु
नितान्तै आवश्यक हुन्छ ।"
समय - समय बलवान् एवं प्रवाहशील छ । यसलाई राक्न सकिँदैन,नजानिँदा नजानिँदै समयले हामीलाई जीवनको अन्त्यतिर धकेलिरहेको हुन्छ । त्यसैले समयमा नै मानिसले आफ्नो जीवनको लक्ष्य प्राप्त गर्ने प्रयास गर्नुपर्दछ । अन्यथा बितेको समयलाई भेट्ने कोशिस गर्दा पश्चातापका अतिरिक्त केहि पनि हात लाग्न सक्दैन भन्दै कविले सबैलाई समयमा नै सचेत हुन आग्रह गर्नु भएको छ ।
जीउनुका अनेकौँ छालहरु - यस कवितामा जीवनलाई समुद्रको तरङ्गसँग तुलना गरिएको छ । जसरी समुद्रको छाल किनाराका ढुङ्गे भित्तामा आएर प्रताडित हुदै पुनः फर्किन्छन् । त्यसै गरी उत्कर्षमा पुगेको जीवन उत्कर्षमा र कहिले शिखरमा पुगेको जीवन फेदीमा पुग्न विवश हुन्छ भन्दै -
"छचल्किदा रहेछन् त्यहाँ पनि
छाल उपछाल हुँदै
जिउनुका अनेकौं छालहरु
समुद्रको भीषण छालसरी !" भन्नुहुन्छ ।
प्यारो गाउँको सम्झनामा - कविले यस कवितामा आफ्नो जन्मस्थान कुरुले तेनुपाको सम्झना गर्दै जीवन भोगाईको क्रममा विदेशिनु परे पनि आफ्ना बाल्यकालका हँसियाली एवं सुशियाली थाहै नपाई बिताइएको आफ्नो जन्मस्थानले आफूलाई समय-समयमा झक्झकाउने र अतीतका जीवनका क्षणहरुले आफ्नो हृदयमा गहिरो चोट पुर्‍याएको आभास यसमा प्रष्ट गरिएको छ । त्यसैगरी गाउँको उकाली-ओराली,पहाड-पखेरा,नदी-नाला,छाँगा-छहरा अनि लालीगुराँस,सरल ग्राम्य जीवन र साउने झरीले कविलाई सधैँ खोज्ने गरेको तर आफू आउन नसकेको सङ्केत गर्दै जन्मभूमिको गरिमा र महिमालाई यहाँ स्पष्ट पारिएको छ ।
देशको आत्माकथा - नेपाल राष्ट्रले दिन-प्रतिदिन झेल्नुपरेको समस्यालाई यस कविताले अत्यन्त संवेदनशीलताका साथ विश्लेषण गरेको छ । कवि आफू पनि यही देशको नागरिकको हैसियतले देशको पीडालाई केही हदसम्म भए पनि मलमपट्टी लगाउन सक्रिय देखिनु भएको छ । तर निमुखा नेपाली जनताहरुमाथि देशका ठूलाबडा भनाउँदाहरुले गरेको षड्यान्त्र र क्रुरताले गर्दा देशको अवस्था अत्यन्त जर्जर बन्न पुगेको र देशभित्र-भित्रै आफ्नै दुःख र पीडाका घुट्को पिएर बाँच्न विवश रहेको देशको बाध्यता बुझिदिन सबै नेपालीहरुसँग आग्रह समेत गर्नु भएको छ ।
हर्के - नेपाली समाजको निरिह प्राणी हर्केलाई पात्र बनाएर उसका माध्यमबाट स्वदेश एवं विदेशमा बेरोजगारीको समस्याले गर्दा चारैतिर भौँतारिँदै हिँडेका आजका युवा-यवतीहरुको जल्दोबल्दो समस्यालाई यस कविताले स्पष्ट पारेको छ । जीवनमा अनेकौँ योजनाहरु बनाएर जीवन सङ्र्घष्ाको मैदानमा उत्रिएका हर्केजस्ता नेपालीहरुका जीवनमा शून्यता सिवाय केही हात लाग्न सकेन । परिस्थितिको ज्वलनमा जलिरहेको हर्केको आत्माले शीतलताको छहरी प्राप्त गर्न नसके झैँ आजका नेपाली युवा-यवतीहरुलेआफ्नो जीवनमा सुख एवं शान्तिको अनुभूति गर्न सकेका छैनन् र आफ्नो मृत्युको घोषणा आफै गरेर जिउँदो लाश लिएर अनिश्चित दिशाको यात्रा गर्न बाध्यात्मक परिस्थितिलाई विश्लेषण गर्दै गरीबीको ज्वालामा पिल्सिएका नेपालीहरुको चित्रण यसले गरेको छ ।
म एउटा यात्री हुँ- सृष्टिको शृङ्खलामा जन्मिएका सबै मानिसहरु आ-आफ्नो प्रारब्धअनुसारको छोटो-लामो यात्रा गर्न आएका हुन् । यहाँ कवि आफूलाई यस अनन्त यात्राको यात्रीका रुपमा अनेकौँ जटिलता र विवशताभित्र भावना र कल्पनाको सागरमा डुबेर बग्ने हरियाली कतै मरुभूमि,कहिले सहयात्री र कहिले एक्लै कठिन परिस्थितिका बावजुद पनि आस्थाको दीप बालेर अविदितको यात्रा गरिरहनुपर्ने मानव विवशतालाई साधारणीकरण गर्दै आफ्ना जीवनगत अनुभूतिहरुलाई यसमा समेट्नुभएको छ ।
कम्प्यूटर साथी - आजको वैज्ञानिक उन्नति एवं प्रगतिले सूचना एवं प्रविधिका क्षेत्रमा ल्याएको आमूल परिवर्तनले विश्वलाई नै एउटा गाउका रुपमा उपस्थित गर्राई सकेको छ । जसले विश्वमा भएका र घटेका घटनाहरुलाई सहज रुपमा आफ्ना कम्प्यूटर साथीबाट थाहा पाउन सकिन्छ । आजको मानिसलाई विश्व गतिविधिलाई बुझनको लागि कैयौँ दिन लगाएर विश्वको यात्रा गरिरहनु पर्दैन भनेर यस कवितामा कम्प्यूटरको सामर्थ्य,उपलब्धि एवं मानव-मस्तिष्कको चमत्कारिक आविष्कारलाई प्रशंसा गर्दै यसको माध्यमबाट विश्वबन्धुत्व,विश्वशान्ति र मानवतावादी सन्देश प्रचार-प्रसार गर्न कविले विश्वसामू आग्रह गर्नुभएको छ ।
"पठाइरहेछु सन्देश शान्तिको
जहाँ जहाँ अशान्त हुन्छ
त्यहाँ त्यहाँ पुर्‍याई देऊ
हृदयमा प्रेमका गीतहरु गुञ्जाइदेऊ"
सपना - अवास्तविक वस्तुहरुको क्षणिक प्राप्ति र छोटो समयका थोरै सुखानुभूति पाउन सकिने समयलाई हामी सपनाको संज्ञा दिने गर्दछौँ । कतिपय सपनाहरु पूरा हुने गर्दछन् भने कतिपय अधूरा,तर यहाँ कवि टंकज्यूले देख्नु भएको सपनायुगीन परिवेश र परिस्थितिका निम्ति ज्यादै सान्दर्भिक र उपयुक्त रहेको छ । आजको अशान्ति र अराजकताले आक्रान्त भएको युगमा गौतम बुद्ध,महात्मा गान्धी एवं नेपोलियनजस्ता व्यक्तिहरु जन्मनुपर्ने सपना उहाँले देख्नु भएको छ ।
"मेरा सपनाहरु
नेपोलियनको भन्दा कुनै फरक छैन
गौतम बुद्घको भन्दा कुनै अन्तर छैन
महात्मा गान्धीको भन्दा कुनै भिन्न छैन"
विडम्बनाभित्रको म - विडम्बनाको दुःखद परिस्थितिमा प्रायःजसो आजका सबै मानवजातिले आफ्नो जीवनरुपी रथलाई गुडाइरहेकाछन् । यहाँको प्रत्येक मानिसको जीवन सन्त्रास,शङ्का-उपशङ्का,आशा-निराशा,केहि प्राप्ति र विछोड,लुप्त हुँदै गएको भाइचाराको भावना र प्रवेश गर्दै गएको व्यक्तिवादी हाली-मुहालीले कवि टंकज्यूलाई अत्यन्त चिन्तित तुल्याएको छ । कवितामा कवित आफूलाई मानिसहरुको भिडभित्र पनि एक्लो भएको महसुस गर्नुहुन्छ र कतै कतै आफूले आफैलाई नै भुलेको पो हो कि भन्ने भान पनि उहाँमा परिरहेको छ । जसले गर्दा मानिसले मानिसलाई नै विश्वास गर्न नसक्ने विडम्बना आजको युगमा सृजना भएको ठहर उहाले यसरी गर्नुभएको छ -

"निर्मोही बनेका छन् आफन्तहरु
एक्लो बनेका छन् हुलमा रहने प्राणीहरु
उपस्थिति आफैँमा दुष्ट बनेको छ ।"
आत्मविश्वासको उज्यालोमा - प्रत्येक मानिसले आत्मविश्वासको चहकिलो राँको बालेर आफ्नो कर्तव्यलाई पहिचान गरी अगाडि बढ्नुपर्दछ । यसरी अगाडि बढ्दा असफलताभित्र पनि सफलता लुकेको देख्न पाइन्छ । जीवनका अनेकौँ गोरेटाहरु आत्मविश्वासबाट कारिएका हुन्छन् । जीवनरुपी समुद्रमा हामफालेपछि खुट्टा कमाउनु हुँदैन, आफ्ना इच्छा,आकांक्ष र चाहनाहरुलाई कैदी बनाएर हीनतावोध अग्निले ग्रसित हुनुहुँदैन । साहसको दियो बालेर अगाडि बढेको खण्डमा अवश्य पनि सफलताको शिखरमा पाइला टेक्न सकिन्छ भन्दै सबै मानवजातिलाई आत्मविश्वासका साथ अगाडि बढ्ने प्रेरणा यस कविताले दिएको छ ।
मान्छेले मान्छेबाट वञ्चित गर्नुमा - यस कवितामा कविले मानवतावादको गहकिलो तर्क अगाडि सार्दै कुनै पनि मानिस कूल,जात,धर्म,धन-सम्पतिको आधारमा ठूलो हुदैन । यदि यिनै कुराहरुका आधारमा मानिसलाई भेदभाव गरिन्छ भने त्यो दैव,भाग्य,भावी आदि कसैको पनि दोष नभएर केवल एउटा मानिसले आफ्नो स्वार्थ पूरा गर्न र ठूलो हुनको लागि गरेको जाल र षड्यान्त्र मात्र हो भन्दै मानिसका नैर्सर्गिक अधिकारमाथि प्रतिबन्ध लगाउनु मानिसले मानिसकै शोषण गर्नु मात्र हो र यसो गर्नु ठीक छैन भन्ने कविको मनसाय रहेको छ ।
विदेशी प्रेमिकाप्रति - यो प्रतिकात्मक कविता हो । यसमा कविले अन्नपूर्ण सगरमाथा आदि हिमालहरुको महत्व विदेशीहरुले मात्र बुझन सके । तर यसै देशका नेपालीहरुले भने बुझन सकेका छैनन भन्ने विचार प्रस्तुत गरिएको छ । नेपालका हिमशृङ्खला र हिमाली सौर्न्दर्यताले आफ्ना विदेशी प्रेमीकासँग आफ्नो र यस नेपाल देशको गौरवगाथा गाइदिन,त्यसैगरि लोप हुन लागेको नेपालीहरुको रीतिस्थिति र गौरवमय परम्परालाई जोगाईराख्न नेपालप्रेमी विदेशी प्रेमिकासँग गरेको अनुनय विनय यसमा प्रकट गरिएको छ जसले नेपालीहरु आफ्नो देशको संरक्षण गर्न चाहँदैन भन्ने वास्तविकतालाई समेत उजागार गरेको छ ।
हामी - सर्वनामका रुपमा प्रयोग गरिएको हामी शीर्षात्मक कविता कवि भूपि शेरचनले पनि लेखिसकेका छन् । तर समयको बदलिँदो परिस्थितिले गर्दा कवि भूपिको हामी र कवि टंकको हामीको विषयवस्तुमा धेरै परिवर्तन भएको पाइन्छ । विश्वका सबै मानव एउटै ब्रहृमाण्ड र आकाशको छहारी ओढेर हुर्कने गर्दछौँ । प्रकृतिका सुन्दर उपज हामी मानव आफ्नो प्राण र अस्तित्वको सुरक्षाका निम्ति सुख र दुःखसँगै आफ्नो जीवनलाई साट्दै जीवनरुपी मैदानमा यात्रा गरिरहेका हुन्छौँ । यहाँ सबैको बस्ने र बाँच्ने अधिकार छ,कसैले कसैको जीवनलाई अपहरण गरिदिनु हुँदैन । यो ब्रहृमाण्ड समग्र मानवजातिकै साझा फूलवारी हो । यहाँ हामीले एक आपसमा भातृत्व र विश्वबन्धुत्वको भावनालाई साटासाट गरेर बस्नुपर्दछ । आ-आफ्नो जीवन भोगाइको व्यस्ततामा हराए पनि हामी सबै एउटै सृष्टिका उपज मानव एक हौँ भन्ने एकत्व बोधको भावनालाई यसमा विश्लेषण गरिएको छ ।
एउटा युग - कवितासंग्रहको अन्तिम शीर्षकका रुपमा रहेको 'एउटा युग' कविताले सृष्टिक्रम भनेको युगौँ-युगको बदलिँदो परिस्थिति हो । प्रत्येक युगको आफ्नै इतिहास रहेको हुन्छ,यसमा हरियाली हुन्छ,फूलबारी हुन्छ,यसै गरी खेतबारी,बालीनालीसँग युग बाँचेको हुन्छ । युग र मान्छे भिन्न हुन सक्दैन । युगकै परिस्थिति एवं परिपाटीसँग घुलमेल भएर मानिसले बाँच्नु पर्दछ । कवि,साहित्यकार लेखकहरु पनि युगकै उपज हुन् र उनीहरुका कलमले युगकै व्याख्या एवं विश्लेषण गर्नुपर्दछ । युगका समस्या,विवशता एवं खुशीयाली लेख्न कविले जोसिलो कदम एवं कलम चलाउन उत्प्रेरित हुन सक्नुपर्दछ । आफ्नो श्रमको अवमूल्यन नै किन नहोस् भनेर सबै कवि-कलाकारहरुलाई यसरी उत्प्रेरित गर्नुहुन्छ -
"एउटा युग लेख्नलाई
चाले हुन्छ जोसिलो कदमहरु
बोके हुन्छ भरिला उद्देश्यहरु
जहाँ रङ्गीएर आफ्नै श्रममा
मान्छे
एउटा युग बनेको हुन्छ ।"
यसरी समसामयिक कविताधाराका युगाकवि टंक सम्वाहाम्फेको "युद्ध भित्र उभिएका वुद्धहरु" शीर्षकको ४१ वटा फुटकर कविताहरुको सँगालोको रुपमा रहेको कवितासँग्रहभित्रका कविताहरुको छाटो अवधिममा शीर्षक र त्यससँग सम्बन्धित विषयवस्तुका आधारमा प्रभाववादी समालोचकीय सिद्धान्तमा आधारित भएर सरर्सर्ती नियाल्ने कार्य गरेको छु ।
कथा,मुक्तक आदि विधाहरुमा पनि कलम चलाइसक्नुभएका सम्वाहाम्फेज्यूको कृतिको रुप धारण गर्ने अवसर प्राप्त गरेको यस कवितासंग्रहका कविताहरु प्रारम्भिक चरणका भन्दा उत्तरोत्तर चरणमा परिष्कृत एवं परिमार्जित हुदै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयवस्तुलाई आत्मसात् गर्न सफल रहेका छन् । वाणिज्यशास्त्रका विद्यार्थी भएर पनि साहित्यतर्फअभिरुचि राखी नेपाली भाषा र साहित्यप्रति अनुराग राखेर उहाँले साहित्य-सिर्जनाका निम्ति नेपाली नै अध्यायन गरिरहनु पर्दैन,योग्य प्रतिभाबाट जुनसुकै समय र जस्तोसुकै परिस्थिति र परिवेशमा पनि आफ्नो राष्ट्रभाषामा कविता लेख्न सकिन्छ भन्ने उदाहरणसमेत उहाँले आफ्ना कविताको माध्यमबाट दिइसक्नुभएको छ । कविता पढेको सुन्दा नाक खुम्च्याउने आजका युवापिढीलाई समेत टंकज्यूले आफ्ना साहित्यानुराग र उत्कृष्ट कविताहरुको प्रस्तुतिबाट सचेत गराउनुभएको छ ।
हरेक क्रियाकलापलाई आर्थिक दृष्टिकोणले मात्र विश्लेषण गरिने आजको युगमा कवि एवं साहित्यकारहरुको परिश्रम र पीडालाई बुझिदिएर कृति प्रकाशन गरिदिने र साहित्यिक विधाहरुको मर्म बुझेर पढि दिने संस्था एवं व्यक्ति प्राप्त गर्न निक्कै प्रतिक्षा गर्नुपर्ने र सरकारले पनि त्यति वास्ता नगरेको यस परिप्रेक्षमा व्यक्तिगत प्रयास र नेपाली साहित्य प्रतिष्ठान हङकङबाट प्रकाशित गरिएको यो कृति आजका समसामयिक धाराका युवाकविहरुका कविता कृतिभन्दा कम महत्वको छैन भन्ने मेरो मूल्याङ्कन रहेको छ । तर देशका प्राज्ञिक संघ-संस्थादेखि लिएर हरेक क्षेत्रमा आक्रान्त भैसकेको राजनीति र नातावाद -कृपावाद प्रवृतिले यसको कतिको मूल्याङ्कन गर्ने हो त्यो म भन्न सक्दिन । तर प्रथम पटकको प्रयासमा नै प्रकाशनयोग्य कविता लेख्न सक्षम हुनुभएका कवि टंक सम्वाहाम्फेले आगामी दिनमा यीभन्दा उच्चस्तरिय कविताकृति र अन्य विधाहरुको प्रकाशन गरेर प्रवास मै रहेर भए पनि नेपाली भाषा र साहित्यको विकास र समृद्धिका निम्ति कलम चलाउनु नै हुनेछ भन्ने कुरामा विश्वस्त हुँदै आगामी दिनमा उहाँका अझ राम्रा कविता पढ्न पाइयोस् । यो लाभ नेपाली साहित्य प्रतिष्ठान हङकङले मात्र उपभोग नगरोस् नेपालका नेपालीहरुलाई पनि यसमा सहभागी गराइयोस् भन्दै बौद्धिक पलायनको रुपमा विभिन्न विदेशी भूभागमा छरिएर रहनुभएका बौद्धिक नेपाली जमातलाई कवि टंकज्यूबाट आफ्नो देश,भाषा,संस्कृति,परम्परा र रीतिरिवाजको आफू जुनसुकै ठाउँमा बसेर पनि सेवा एवं संरक्षण गर्न सकिँदो रहेछ भन्ने प्रेरणा मिल्न सकोस् भन्ने कामना गर्दछु ।
अन्त्यमा लाभ-हानी,मान-सम्मान,उपाधि-पुरस्कार आदिको परिधिभन्दा माथि उठेर नेपाल राष्ट्र एवं नेपाली भाषा र साहित्यको प्रचार प्रसार एवं विकासका निम्ति उहाँको कलम नराकियोस् निरन्तररुपमा साहित्य साधनातर्फअभिरुचि बढ्दै जाओस् यो त प्रथम प्रयास मात्र हो , उहाँ जस्ता युवा प्रतिभाबाट नेपाली साहित्यले गरेको आशा भरोसा पूरा हुन सकून्,अहिलेलाई यति नै ।
समीक्षक - श्री मैवाखोला उच्च माध्यमिक विद्यालय ढुङ्गेसाँघु ताप्लेजुङका शिक्षक हुनुहुन्छ ।र नेपाली साहित्यबाट एम.ए.गर्नु भएको हो ।

Apr 22, 2008

पल्टने कविहरुको कविता सँग्रह सीमाहीन विम्बहरु छाम्दा

टँक सम्वाहाम्फे

नियति नै बनेको छ परदेशिनु सदियौँदेखि नेपालीहरुको लागि । रोजीरोटीको सिलसिलामा र्सवसाधारण मात्र नभएर कैयौँ र्सजकहरु पनि हान्निएका छन् विदेशतिर । तर उनीहरुबाट हुनुपर्ने सिर्जना भने कहिल्यै परदशिएको छैन । नेपाल र नेपालीकै लागि साहित्य निर्माण गरेर लाउनसम्म गुण लगाएका छन् । त्यो हाम्रोलागि अत्यन्तै सह्रानीय कुरा हो । यसलाई मध्य नजर गर्ने हो भने, साहित्यिक र्सजकहरुलाई कुनै पनि वाधा अवरोधले सिर्जनामा असर नगर्दौ रहेछ भन्ने कुरा उहाँहरुको रचनाले प्रमाणित गर्दछ । यस्तै सिर्जनकर्मी १७जना कविहरुको ५१थान कविता रहेको कृति सीमाहीन विम्बहरु हालसालै मेरो हात परेको छ । अनेकौँ तवरले त्यसलाई ओल्र्टाई-पल्र्टाई हेरेँ, अनि मलाई के लाग्या भने, बन्दुक समात्ने हातहरुले बन्दुकको गोलि मात्र हान्ने काम गर्दो रहेनछ, ती हातहरुले त मानवीय सम्वेदना छुने राम्रा-राम्रा कविताका थुँगाहरु पो टिप्दो रहेछ - सीमाहीन विम्बहरुभित्र मैले यही कुरा पाएँ । हङकङ आजभोलि नेपालसँगको दुरी छोटिएझैँ लाग्न थालेको छ, किनकि विहान छापिएको पत्रिका साँझ आफ्नै हातमा पल्टाएर हेर्न पाइन्छ । यस्तो सौभाग्य त नेपालकै रोल्पा, डोल्पालीहरुले पनि पाउँदैनन् होला । अझ, साँझ विहानको हुलाकी भएका छन् काठमाण्डौँ अध्ययन गर्दै बस्नुभएका भान्जा लोक सिँगक । लाहुरे, कवि, गीत र गजलकार ‘मिजास तेम्वे’ले उपहार स्वरुप सहि गरेर पठाएको मसी नसुक्दै मेरो हात पर्‍यो । कृतिकारहरुले आफ्नो छापिएको कृति हेर्न नपाउँदै मैले हर्न पाउनु कम्ती खुशीको कुरो होइन । आफै पनि कविता कहिलेकाहिँ लेखिटोपल्ने भएकोले कविता सँग्रह पाउँदा नहेर्ने कुरै भएन । जे होस्, लाहुरे कविहरुको कविताले सत्रुहरुलाई पो निशानी गरेर गोलि हानेका होलान् भनेको त उहाँहरुले नेपालकै छाती, गाउँ-ठाउँ र मानवीय सम्वेदना पो सुम्सुम्याउनु भएको रहेछ । त्यसैले कविताहरु पढ्दै जाँदा झन् पढूँ-पढूँ लाग्छ । किन होला भनेर एकछिन अन्दाज गर्दा थाहा पाएँ कि त्यहाँ त मै जस्तो परदेशिनेको कथा-व्यथा पो रहेछ । कता हो कता, कविताले दुखेको छातीमा मलम लगाउँदा यो सँग्रहमा रहनु हुने समू्पर्ण कविहरुलाई धन्यवाद नदिई रहन सकिन । भन्ने गर्थे मान्छेहरु, लाहुरेले आफ्नो पसिना बेचेर अलिकति सामल किनेर ‘रिटायर्ड’ हुन्छ । अब मलाई के भन्न मन लाग्यो भने लाहुरेले परिश्रम बेचेर साहित्य बुन्छ । उदाहरणको लागि सीमाहीन विम्बहरु कविता सँग्रह काफी छ । यहाँ सँग्रहित कविताहरु सँपूर्ण लाहुरेहरुकै हातबाट लेखिएको हुनाले पल्टने कविता भनेर सँज्ञा दिन म लाग्यो । यो कविता सँगालोका कविहरु एक-दुईबाहेक समू्पर्णलाई सशरीर भेट्न नपाए पनि कुनै न कुनै मिडियामार्फ देखिसकेको हुनुपर्छ । तर्सथ उहाँहरुको लेखनबाट नेपाली साहित्यको भण्डारमा अझ धेरै कृतिहरुको आशा गर्न सकिन्छ । किनभने कर्मठ र जागरुक हातहरु सँधै नदीझैँ बगिरहन्छन् । लेखन भनेको अध्ययन र साधनामा निर्भर रहने भएकोले सक्रियरुपले अगाडि बढे किर्तिमान नै राख्न पनि बेर लाग्दैन । यसरी पल्टनेहरुद्वारा पहिले अन्य पत्र-पत्रिकाहरु पस्कँदै आए पनि सँयुक्त कृति भने देखिएको थिएन, तर पहिलो सँग्रहको रुपमा सीमाहीन विम्बहरु आज हामीले देख्न, पढ्न पाएका छौँ, यो एउटा नयाँ इतिहासको सुरुवात हो । यसले नेपाली साहित्यको क्षेत्रमा बेग्लै स्थान लिने नै छ र महत्व पनि त्यत्तिकै हुनेछ, किनकि, हामीले लेखनको पाटोलाई भन्दा पनि इतिहासको पाटो बढी कन्द्रित भएर हेर्नु पर्ने देख्छु । प्रवासी नेपाली साहित्य समाजद्वारा प्रकाशित तथा ‘मिजास तेम्वे’ र नरेश काङमाङबाट सम्पादित सीमाहीन विम्बहरुमा क्रमशः रक्ष राई, नवराज राई, कुमार इस्वो, जगत नवोदित, दयाकृष्ण राई, भरतमणी चोङवाङ, टँक वनेम, आनन्द ‘रानोहोछा’ राई, प्रेम ‘रिबुसाल’ राई, केदार सुनुवार, विश्वास दीप तिगेला, डुगेन्द्र तामाङ, नरेश काङमाङ, यादव वान्तवा ‘याद’, ईश्वर चाम्लिङ, टँक बहादुर ‘तेम्वे मिजास’ आदि कविका तीन-तीन कविताहरु रहेका छन् । आवरण कला र भित्री कला रमेश पौडेलको रहेको छ भने, मुख्य भूमिका डा. गोविन्द भट्टराईको रहेको छ । आवरणको पछिल्लो पृष्ठमा विक्रम सुब्बा, मञ्जुल र श्रवण मुकारुङको दृष्टिकोण रहेको छ । समग्रमा हेर्ने हो भने, यो कविता सँग्रह अत्यन्तै पठनीय र सँग्रहनीय छ ।

सीमाहीन विम्बहरू( कविता सँग्रह )
मूल्य : रु १००
युके पाउण्ड : १०
सिङ्गापुर, ब्रुनाइ डलर : २०
युयस डलर : १५
हङकङ डलर : २५

Apr 19, 2008

भयवाद र आदिवासी उपन्यास—एक समिक्षा

अशोक राई

भयवाद:
भय मानिसको जीवनमा सबैभन्दा ठूलो समस्या हो । हाम्रा सबै गतिविधिहरू भयबाट नै संचालित हुन्छन् । मानिस भय निरपेक्ष बाँच्न सक्दैन । आय आर्जन गर्नु, सन्तान उत्पादन गर्नु, प्रतिष्ठा जोड्नु, धार्मिक बन्नु, जातीयताको कुरा गर्नु, राजनैतिक अस्तित्वको कुरा गर्नु जस्ता सबै क्रियाकलापहरूको केन्द्र भय हो । भयवादको कुरा खासै जटिल छैन । मानिसका हरेक क्रियाकलापहरू एक प्रकारले भन्ने हो भने भयबाट नै संचालन भएको पाइन्छ । भोलिको दिनको असुरक्षाको भयबाट मानिस आय आर्जनमा प्रेरित हुन्छ, निसन्तान भइन्छकी भन्ने भयले या आफ्नो सन्तानको आवश्यकताले-भय)सन्तान उत्पादनमा प्रेरित हुन्छ, समाजमा उच्च स्थानका-भय) खातिर मानिस प्रतिष्ठाप्रति सजग रहन्छ, आफ्नो मृत्युपछि र्स्वर्गको -भय) लालसाले धार्मिक हुन्छ, आफ्नो जाति र समुदायको भलाइको -भय) खातिर नश्लीय कुरा गर्छ र राज्यमा आफ्नो समावेशीता र सम्मानजनक उपस्थितिका लागि-भय) राजनीति गर्छ । यसरी हाम्रा हरेक क्रियाकलापहरू भयबाट प्रेरित भएको हामी पाउँछौं । मानिस भय कै कारण सामाजिक भयो, भयकै कारण सभ्यतातिर लम्कियो र यो आजको दुनियाँ सम्म आइपुग्यो । भय नहुँदो हो त मानिस पंक्षी झैं आकासमा कावा मात्र खाइरहेको हुने थियो होला । यसरी मानिसको जीवनका हरेक क्रियकलापलाई कुनै न कुनै भयले प्रभाव पारिरहेको हुन्छ । भय एक प्रकारको चेतना हो जसको निर्देशनमा मानिस निर्देशित छ भन्ने दृष्टिकोण नै भयवाद हो भन्ने मैले बुझेको छु ।

उपन्यासको कथानक पक्षः
नायक निसाम् निकै जिज्ञासु, बौद्धिक र तीक्ष्ण बुद्धिको मानिस हुन्छ । हरेक विषयलाई गहन रूपमा बुझ्ने र केलाउने उसको बानी हुन्छ । आफ्नो बुबा लगायतका मानिसहरूले चलाएको जातीय आन्दोलनलाई हर्ने फरक दृष्टिकोणले गर्दा उसले हप्कि खानुपरेको छ । आदिवासी र जनजातिहरूको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास र पुरातात्विक महत्वलाई नबुझी राजनैतिक नारा लाउनुमात्र
आदिवासी उपन्यास र उपन्यासकार देश सुब्बा
बुद्धिमानी हैन भन्ने उसको तर्क छ । निसाम्लाई एकदिन अनौठो लक्षणसहितको बिराम शुरू हुन्छ जसले गर्दा रुने कराउने हुन्छ । उसले शरीरबाट एउटा अनौठो छायाँ निस्केर गएको देख्छ । त्यस पछि ऊ विक्षिप्त बन्दै जान्छ । यो अनौठो कुराले खैलाबैला मच्चाए पछि त्यसको निदान खोज्न र ऊभित्र उब्जिएको भय निवारण गर्न एक दिन सिर्द्धार्थ गौतम जस्तै घरबाट ऊ बाहिर निस्किन्छ । मनमा छायाँले पारेको गहिरो प्रभाव र भयको कारण ऊ भौतारिदै जाँदा यस्तो ठाउँमा पुग्छ जुन ठाउँ आदिवासी गाउँ हुन्छ । त्यहाँ आदिवासीहरूको आस्थाको केन्द्र आदिम रूख र सावाला खोला पनि फेला पर्छन् । त्यो ठाउँको नाम सुम्दो गाउँ हुन्छ जहाँ आदिवासीहरू वर्षोनी आदिम रूखको पूजा गर्छन र सावाला खोलामा नुहाइधुवाइ गर्ने गर्छन् । धेरै वर्षअघि त्यो आदिम रूख भएको स्थानमा आदिवासी दरबार थियो भन्ने विश्वास गरिन्छ । निसाम् ती आदिवासी समाजमा पुग्दा आफूलाई केही हल्का महसुस गर्छ । उसले त्यहाँ आदिवासी सम्बन्धी प्रशस्त प्राचीन सभ्यता र संस्कारहरू, पूजाआजा गर्ने तरिका र प्रकृतिका सम्बन्धमा धेरै कुराहरू जान्ने मौका पनि पाउँछ । आदिवासीहरूका तुत्तु र आदिवासी बालासित निकै कुरा बुझ्न पाउँछ र ऊ प्रकृतिप्रेमी बन्दै जान्छ । आदिवासीहरू सभ्य, शालीन र भद्र हुन्छन् । निसाम्ले छायाँको बारेमा जिज्ञासा राख्दा आदिवासी बालाले "आदिम रूखलाई हर्नु त्यसबाट तिम्रो जिज्ञासा पूरा हुन्छ" भनेकीले उसको मनोबल बढ्छ । एकदिन उसले त्यो ठाउँ छोड्छ । अघि बढ्दै जाँदा जङ्खलको बीचमा ऊँ उच्चारण गर्दै होम गरिरहेको मान्छेहरू भएको ठाउँमा पुग्छ । त्यहाँ उसले सिद्ध पुरूषहरूलाई भेट्छ र छायाँको बारेमा जिज्ञासा राख्छ । उनीहरूले "त्यो आध्यात्मिक आत्माको खेल हो" भन्छन् । त्यो जवाफले चित्त नबुझे पछि ऊ फेरि घुम्दैघुम्दै सुम्दो गाउँ नै आइपुग्छ । अनि ऊ त्यहीँ रमाउँछ । नयाँ वर्षो अघिल्लो दिन आदिवासीहरू त्यहाँ जाग्रम बस्छन् । नाच्ने नाच्छन्, कुरा गर्ने गर्छन्, सुत्ने सुत्छन् । निसाम् भने जुनेली रातमा आदिम रूखलाई हर्न थाल्छ । त्यहाँ उसले तिलस्मिक कुराहरू देख्न थाल्छ । आदिम रूखका पातहरू ठूला ठूला हुन थाल्छ । त्यहाँ "ङ" मन्त्र लेखिएको हुन्छ । चाख लिएर हेर्दै जाँदा त्यहाँ त उसले कला, दर्शन, साहित्य सबै देख्न थाल्छ । उसको छायाँको पनि विभिन्न रूप देख्न थाल्छ । विभिन्न दिशामा फर्केको रूखको हाँगाले पानीजस्तै, बादलजस्तै, मान्छेजस्तै, अर्ध दृश्य मान्छेजस्तै आकार बनाउँदैबिगार्दै गरेको देख्छ । र त्यो किरिङ्गमिरिङ्ग मान्छेले बोल्न थालेको भान हुन्छ । ऊ अचेत भएपनि त्यो किरिङ्गमिरिङ्ग मान्छेले बोलेको कुरा सुनिरहेको हुन्छ । त्यो भन्दै जान्छ "तिमीमा मात्र हैन हरेक मानिसमा भयको बास हुन्छ यो कताबाट आउँछ र कता जान्छ थाहा हुँदैन । जब यो सक्रिय हुन्छ चेतनशील मान्छेहरू डराउने र काम्ने गर्दछन् । तर यसबाट भागेर कहिले भाग्न सकिदैन । यसको रूप पनि छिनछिनमा बदलिरहन्छ । समस्या, चिन्ता, अहम्ताजस्ता कुराहरू मिलेर यो ठूलो हुन्छ । शरीर यसको अधिनमा हुन्छ र शरीर भएर यो ब्रम्हाण्डमा घुम्छ । चेतनाको आधारबाट जीवन चल्छ र जीवनको आधारबाट संसार । जीवन र जगत "प्रकट"को नटुङ्गिने श्रृंखला हो । यो अविरल हुन्छ । तिमीले देखिरहेको छायाँ छायाँमात्र नभएर भय संग्रहित एउटा ग्रह हो जंगलजंगल भौतारिएर यो सानो हुँदैन यसलाई सानो बनाउन यसको रूप चिन्नु पर्छ र नयाँ प्रकटमा लैजानु पर्छ । भयजति कम हुन्छ उति जीवन सहज हुन्छ ।" अर्ध बेहोसीमै पनि निसाम्ले उक्त अर्ध दृश्य मान्छेको कुराहरू सुन्छ । उसमा एक्कासी ताजगी देखा पर्छ र उ भित्रका सबै भ्रमहरू सकिन्छन् । यसरी उसले खोजी गरेको छायाँको रहस्य भय नै रहेछ भन्ने उसलाई चेतना-प्रकट) हुन्छ । त्यो ज्ञानको प्राप्ति पछि निसाम् घर फर्किन्छ ।
उपन्यासमा प्रयुक्त भाव:
उपन्यासकारले बडो कलात्मक तरिकाले उपन्यासको कथावस्तु तयार गरेका छन् । यसको प्रमुख उद्देश्य भन्नु भयवादकै व्याख्या हो तथापी उपन्यासको पृष्ठभूमिमा खासगरिकन लिम्बू किराँती आदिवासीहरूको ऐतिहासिक पक्ष, सभ्यता र विविध साँकृतिक पक्षहरू, भाषा, लिपि र धर्मप्रतिको महत्व दर्शिएकोछ । मलाई लाग्छ यो लेखकको विचार र आस्था दुवैको मेल हो र नस्लीय चेतनाबोध हो । उपन्यास भित्र किराँती आदिवासी सम्बन्धी धेरै पुराना सभ्यता, रीतिरिवाजहरू, प्रकृति र उनीहरूका रहनसहन बीचको वास्तविकताहरू उल्लेख गरिएका छन् । लेखकले सोझा आदिवासी जनजातिहरूको आदिम सभ्यतालाई इतिहासको कुनै काल खण्डमा हतियारधारी कुनै समूहले धोका दिएको कुरा उल्लेख गरेका छन् । यो धेरै हदसम्म सत्य हो । किराँती आदिवासीहरू प्रकृति पूजक हुन उनीहरू प्रकृतिसँगै रमाउँछन् । उनीहरू रूख, ढुंगा, माटो र हावापानीको पूजा गर्दछन् । आदिवासी भनेको रूख, बिरूवा, हिमाल, फूल, आकाश जस्तै धर्तीका सौर्न्दर्य हुन् । फूल नहुँदा धर्ती सुन्दर देखिदैन भन्ने सन्देश दिइएको छ । उपन्यासले एउटा महत्वपूर्ण कुरा जातीय मुद्दाहरूको कुरा गर्दा उक्त जातिका भाषा, लिपि, धर्म र संस्कृतिलाई कहिले बिर्सनु हुन्न भन्ने सन्देश दिएको छ भने आदिवासी जनजातिहरूले जाँड रक्सी जस्ता मादक चीजहरू त्याग गर्दै जानु पर्ने अर्को सन्देश पनि छ ।
आदिवासी शब्दावलीहरूः
आदिम रूख त उपन्यासमा एउटा केन्द्रीय पक्ष भएरै आएको छ । यसको खास ऐतिहासिक र प्राचीन महत्व पनि छ । नायकले भयत्व पनि यही आदिम रूखबाट पाएको छ । सावाला खोला, सुम्दो गाँउ, तुङ्वादेन गाउँहरूपनि आदिवासीहरूको आस्थाका स्थलहरू हुन् । तरूल, साप्सिङ्ख, चिराइतो, ओखर, कटुस, रूद्राक्ष, अदुवा, जाँडरक्सी, अछेता पाती, अम्लिसो, घुङ्गरिङ्ग, तीतेपाती, जडिबुटी, पत्थर, कालो ढुंगा, शिलालेख, किनिमा, सारग्याम्मा, याङ्खवेन, फादोको अचार, फिलिङ्खेको अचारजस्ता थुप्रै शब्दहरूले आदिवासी उपन्यासको शोभा बढाएको छ । जो आदिवासीहरूको दैनिक जीवनमा अभिन्न अंशहरू भएर रहेका छन् । त्यसै गरेर बनदेउता, जलदेउता, अग्निदेउता, रूखदेउता, बाँदरदेउता, र्सपदेउता र सिकारीदेउताहरूले उपन्यासलाई आदिवासीमय बनाएका छन् ।
छायाँ:
वास्तवमा उपन्यासकारले बुझाउन खोजेको मुख्य कुरा भयवाद हो । यो कुरालाई उपन्यासमा छायाँको माध्यमले बुझाउन खोजिएको छ । नायकलाई आफ्नो शरीरबाट निस्केर गएको जस्तो लाग्ने, दुःखपिडा दिने वस्तु अन्ततः छायाँरूपी भय नै रहेछ भन्ने चेतना भएको छ जसलाई उपन्यासकारले "प्रकट" भनेका छन् । यसरी उपन्यासमा छायाँ एउटा बिम्ब नै बनेर आएको छ । अथवा छायाँलाई दार्शनिक हिसाबले मानिसको जीवनमा व्याप्त भइरहने भयको प्रतिनिधि बनाइएको छ ।
देश सुब्बाले व्याख्या गरेको भयवादलाई मैले कति बुझेँ कसरी बुझेँ अनि अरूले कसरी बुझ्छन त्यो मलाई थाहा छैन । आखिर सिद्धान्त र विचार एउटा मानक पनि हो । मानिदिए मान्यता पाउँछ नमान्नेहरूले अर्को तर्क राखिदिन्छन् । भयवादलाई आत्मासात गर्ने हो भने यो ब्यवहारिक छ । साँच्चै नै मानिसहरू एउटा न एउटा डर र भयले प्रेरित भएकै छ । तर भय आफैमा एउटा नकारात्मक वस्तु भएकोले विचारको तर्कलाई यसले केही हानी पु-याउँदो रहेछ । जस्तो मानिसका सबै क्रियाकलापहरू भयले मात्र प्रेरित हुन्छ भन्नु नकारात्मक विचारको उपज हो भन्ने तर्क पनि आउन सक्छ । किनकी मानिसले हर्ष र खुशी अनि आनन्दका साथ पनि धेरै कामहरू गरिरहेका हुन्छन् । जीवनमा भयमात्र व्याप्त छ भन्नु सतप्रतिशत सही त नहोला । जे होस भयलाई अर्को शब्दमा मानिसलाई निर्देशित गर्ने एउटा अपरिहार्य चेतनाको रूपमा बुझ्ने हो भने राम्रै होला ।
मलाई लागेका अन्य केही कुराहरू पनि उल्लेख गर्नै पर्छ । "मान्छेका शरीरमा भएका लवणहरू, आवाजहरू उसको मृत्युपछि यसै पृथ्वीको वरिपरि छरिएर बसेको हुन्छ जो अन्य लवणहरूसित मिसिएर नयाँ वस्तुहरू बन्दछ । मान्छेको सोचाइहरू मान्छे मरेपछि कतै छरिएर बसेको हुन्छ ।"
"संसार युद्धमय छ ।"
"आत्मालाई शास्त्रीय भाषामा सत्य भन्छौं ।" जस्ता केही कुराहरू मेरा लागि केही अमुर्त लागे।
"ङ" मन्त्रको तथ्य सप्रमाण प्रष्ट भइदिएन ।
नायकलाई छायाँको पछि लगाइदिएर भयको अवधारणा प्रष्टयाउन खोजेको भान हुन्छ । भयवादले जीवनलाई हेर्ने खास दृष्टिकोण प्रष्ट भएन भयको पछि हिँडिरहनु मात्र मानिसको काम हो की जस्तो लाग्ने हुन्छ ।
उपन्यासको नाम "आदिवासी" राखिनुमा कति नस्लीय सौर्न्दर्यबोधमा आधारित छ भन्ने कुराले प्रेरित गरेको देखिन्छ ।
अन्तमा, उपन्यासको भाषाशैली खारिएको र मीठो छ । प्रशस्त आदिवासी किराँती मिथकहरू छन् । एक प्रकारले यो एउटा आदिवासी प्राचीनताको उत्खनन् पनि हो । जहाँ पुराना किवदन्तीहरू, संस्कारहरू अनि ऐतिहासिक पक्षहरूको ज्ञान पनि पाइन्छ । त्यसै गरेर पुस्तक आकर्ष छ । आवरणको तस्बीरले उपन्यासकै गरिमा बोकेकोछ । भूमिका नेपाली साहित्यका लोकप्रिय साहित्यकारहरूले लेखिदिएका छन् । कागजको स्तरियता राम्रो छ तैपनि मूल्य-हङ्खकङ्ख डलर तीस र ने.रू. एक सय पचास मात्र) सस्तो राखिएको छ । यति राम्रो कति प्रकाशन गर्ने सृजनशील साहित्य समाज धन्यवादको पात्र छ । लेखकको उचाइलाई "अपमान" उपन्यास पछि "आदिवासी" उपन्यासले अझ माथि लाने कुरामा कुनै शंकै छैन । मेरो उत्तोरोत्तर प्रगतिको कामना लेखकलाई ।

Apr 11, 2008

युद्ध भित्र उभिएका वुद्धहरुमा कवि टंक सम्वाहाम्फे

गोविन्द विकल
समयका नकरात्मकहरुसंगको युद्ध नै अहिलेको कविताको मूल स्वर भएको छ । कृष्ण सेन इच्छुक ,आहुति,इश्वरचन्द्र ज्ञावाली,गंगा श्रेष्ठहरुले लडाकू यथार्थवादी कविताहरु लेखेर साहित्यमा नया धारको शुरुआत गरेकाछन् । समाजवादी यथार्थवाद कै धरातलममा उभिएको लडाकू यथार्थवाद र जादुइ यथार्थवाद साहित्य कलामा आजको प्रगतिवाद हो । प्रगतिवाद र प्रगतिशील तथा जनवादी र देशभक्तहरुको साहित्य कलामा पनि लडाकू यथार्थ प्रतिविम्बित भएको हुन्छ । यसै अनुरुप युद्ध भित्र उभिएका वुद्धहरु कविता संग्रहमा कवि टंक सम्वाहाम्फे पनि देशभक्त र जनवादी तथा प्रगतिशील र मानवतावादी देखिएकाछन् ।
२०२४ साल वैशाख ७ गते कुरुले तेनुपा गा.वि.स.धनकुटा जिल्ला कोशी अञ्चलमा जन्मनु र महेन्द्र बहुमुखी क्याम्पस धरानमा पढ्नु सम्वाहाम्फेको जीवनमा ठूलो अहोभाग्य हो । सुन्दर प्राकृतिक वातावरणमा मान्छे स्वत कवि वन्न पुग्छ । कसैले लेख्छन् । कसैले लेख्तैनन् । लोकगीत,लोककविता,जुवारी,श्लोक,मेलापात,चार्डपर्व,घास दाउरा जादा गाइने गीत जम्मै लेखिएका हुदैनन् । तुरुन्ता तुरुन्तै कथिएका हुन्छन् । तर यहा लेख्ने र छपाउनेकोमात्र नाम प्रचलित हुन्छ । यो पनि एउटा विडम्बना नै हो । वितम्बना जे होस् चलेको चलनलाई मान्नै पर्ने हुदो रहेछ । ब्यास,कालिदास,भारबी,इलियट,वाइरन र गिन्र्सवर्गजस्ता कविहरु लोकमा छापिएका कृतिबाटै स्थापित भएकाछन् । र उनीहरुले लोकसाहित्यलाई भने आफ्नो कृतिको मूल आधार बनाएका छन् ।
कवि टंक सम्वाहाम्फेले आफ्ना कवितामा लोक विधिलाईगहिरोगरी ध्यान दिएको पाईदैन । योउनको मूल कमजोरी हो । ४१ वटा गद्य कवितामा लोक शैलीको उपयोग भएको कतै पाईदैन । हङकङ र कोरिया बसेका कवि को आधुनिकताको मोहलाई त्यति अस्वभाविक भन्न मिल्दैन ।आजको प्रविधिले उन्नति गरेर कम्प्यूटर युगमा आइपुगेको छ । यस बेला मान्छे ज्यादै सुविधाभोगी भएकाछन् । प्राकृतिक सुविधा भन्दा अप्राकृतिक "रेडिमेड"मेसिनीकृत सुविधाले मान्छेको जीवन नै यान्त्रिक हुन गएको छ । जब कि प्रकृति र प्रकृतिको यन्त्रवत्नक्कलमा धेरै फरक छ । जस्तै प्रकृतिमा स्वभावगत फुल्ने प्राकृतिक फूल र प्लाष्टिकको यान्त्रिक फूलमा जति भिन्नता छ । त्यति नै भिन्नता छ पानी र पानी चित्रकलामा । आजको कविता,गीतले स्वभाविक सम्वेदना,अनुभूति र विवेकलाई नै त्याग्न थालेकाछन् । कम्प्युटर संम्भोगमा आत्मरति गर्ने केटी र केटाहरुमा असहज,अप्राकृतिक आत्मरति गर्ने र त्यसलाई महान् प्रेम ठान्ने पागल पागल्नीहरु " कम्प्युटर साथी "मा गेम खेल्न ब्यस्त छन् । कवि टंक सम्वाहाम्फेको कविताले चोखो प्रेम चाहेको छ । विदेशी प्रेमीकासंग अंगालो मारेर चुम्बन गर्दाको आत्मिय सुख र विछोड हुदाको दुखको अनुभूति प्रेम कवितामा ब्यक्त भएको छ ।
कवि टंक सम्वाहाम्फे,श्रमजीवीको प्रशंसामा कविता लेख्छन् । लालीगुरासको राष्ट्रिय महिमाको गीत गाउछन् । कवितामा कला भर्छन् । जीवनको तीतो यथार्थलाई मिठो सपनाले भर्छन् र त्यो सपना साकार गर्ने कडा संघर्ष गर्दछन् । धनकुटा,दक्षिण कोरिया,हङकङ र धरानको सेरोफेरोमा कविको जीवन वर्तमान समयमा उर्ली उर्ली बगिरहेकोछ । कविता संग्रहभित्र उनको यहि सत्य तथ्य एउटा लयमा,गद्य लयमा उनेकाछन् । वाल्ट हिटमेनद्वारा शुरु गरिएकोआधुनिक गद्य कविता नेपालमा गोपाल प्रसाद रिमाल,भूपि शेरचन,वैरागी काइला,बाशु शशी,काल्रि्रसाद रिजाल,क्षेत्रप्रताप अधिकारी,हरिभक्त कटुवाल हुदै हिरा आकास,पूर्णविराम,कुन्ता शर्मा,बम देवान,वेणु आचार्य,नरेश शाक्य,कृष्ण पाख्रिन हुदै रक्षा र्राई र श्रवण मुकारुङ्ग,विप्लव ढकाल,तथा शशी ललुम्बुसम्म आइपुगेको छ । यसै क्रममा यसै पंक्तिमा अब टंक सम्वाहाम्फे पनि ४१वटा कविताको संग्रह लिएर पूर्वी आकासमा उदाएकाछन् । यहा कृति समीक्षाको नाममा मैले कविताको केस्रा केस्रा केलाउने कर्मकाण्ड गरेको छैन । पाठकहरुले पठनपाठनमा आफै यी कविताहरुले आफ्नो स्थान र पहिचान बनाउने नै छन् ।

स्वर्गीय गोविन्द विकल प्रति यो वहाको समीक्षा समर्पण गर्न चाहान्छु - टंक सम्वाहाम्फे