Feb 22, 2009

“आलाप”को आलाप

अशोक राई
अजम्बरी को छ र ! मान्छे सबै दुई दिनको पाहुना
अमर भइ बाँचिरहने मेरो गीतको सपना
डी बी पालुङ्गाको आधुनीक गीतहरुको सङ्गालो “आलाप” गीति एलबम बजारमा आएको करीब एक वर्ष पुग्न लाग्यो । यस कृतिको बारेमा केही अबश्य लेखौंला भन्दा-भन्दै यत्रो समय गएछ । यस्तै त हो मान्छेलाई परिस्थितिले वाध्य बनाएर हिडाउँछ तर पनि मानिस यो गर्छु, त्यो गर्छु भन्न छाड्दैन । अनेक दुःखहरुमा पनि जीवन त बाँचेकै हुन्छ । दुःख र सुखको बीचमा जीवनको लय मिलाउनु र आत्मा सन्तुष्टी लिएर जिउनु नै जीवनको सौन्दर्य हो । जिन्दगीका यिनै सौन्दर्यलाई शब्दमा उनेर “आलाप” मार्फत सजाएकाछन् कवि तथा गीतकार पालुङ्गाले । सुमधुर तथा कर्णप्रिय गीतहरुको एउटा मीठो संगम हो यो “आलाप” एलबम ।डी.बी. पालुङ्गा हङकङका एक राम्रा कवि पनि हुनु हुन्छ । कुनै दिन संगीतकार नागेन्द्र श्रेष्ठले मलाई एउटा राम्रो कवि, एउटा राम्रो गीतकार पनि हुन्छ भन्नु भएको थियो । साँच्ची नै हो रहेछ डि.बी. पालुङ्गाका गीतहरु हेर्दा र सुन्दा मलाई यो कुरा सत्य लाग्यो । खासगरी आफू हङकङमा लामो समयदेखि रहेर भोगेका डायस्पोरिक भोगाइ, जीवनका अनेक अनुभूति र कोमल प्रेमका भावहरुलाई उनेका शब्दहरु छन् यस एलबममा । संगीतको मीठो कलाले सजाइएका यी सुमधुर गीतहरुलाई सुन्दा जुनसुकै श्रोताको मन मदमस्त हुन्छ र एउटा सुखद आनन्द प्राप्त हुन्छ ।भनिन्छ, बिछोडको बेलामा मात्र हामी प्रेमको गहिराइ महशुस गर्न सक्छौं । एउटा नारीले आफ्नो प्रियतमको अभावमा भोग्ने प्रणय समवेदनालाई गीतकारले भावपूर्ण शब्दमा केलाएका छन् । परदेशमा भएको प्रेमीको यादमा दिन गन्ने एउटा मायालु प्रेमीकाको मनोदशालाई मीठो भावमा पोखेका छन् गीतकारले । जो हामीबीचकै कथाहरु पनि हुन सक्छ । यसरी भोगाइवरपरकै कथाहरुलाई कविले गीतमा पोख्न सकेका छन् यस एलबममा । एउटा विवश र मायालु प्रेमीकाको आलापलाई यी शब्दहरुमा पाउन सकिन्छ ।
बगेर जाने खोलाको के भर कतै निहाल्यौ भने
क्षितिजमा उदाउँला घाम बनेर गोधूलिमा रोयौ भने
मनमा आई कसैले बास मागे तर्काउनु त्यो मन
बाँच्ने मेरो आधार तिमी मेरो धड्कन
मान्छेले न सोचे जस्तो भोग्न सक्छ न भोगे जस्तो सोचेको हुन्छ । जीवनलाई कहिले नसोच्नु वेश, किनकि यो यथार्थमा अर्कै हुन्छ । एउटा इतर भूगोल र सानो स्पेसमा बाँचेका तीतो भोगाइहरु पालुङ्गाका गीतमा भेटिन्छन् । यी आलापहरु औसतमा सबैको हो ।
म त कुनै बस्तु भएछु ज्यूँदो औजार भएछु
चलाऊ मलाई जसरी यहाँ त्यसरी नै म चलिदिन्छु
राजेश पायल राई, दीपक लिम्बू, सुनिता सुब्बा, जगदिश समाल, लासमीत राई, अन्जना गुरुङ, रुपक डोटेल र दिनेश सुब्बा जस्ता स्थापित गायक गायिकाहरुको सुमधुर स्वर रहेको यो एलबममा महेश खड्का, राजेश पायल राई, दिनेश सुब्बा, शीला बहादुर मोक्तान र तारा प्रकाश लिम्बूको संगीत रहेकोछ ।आठ वटा गीतहरु संगालिएको यस एलबममा स्वर संगीत दुबै दिने गायकहरुमा राजेस पायल राई र दिनेश सुब्बा
छन् भने एउटा गीत युगल गायनमा छ । दिपक लिम्बूको स्वरमा रहेको शुरुको गीत अजम्बरी को छ र ? ले श्रोतालाई अत्याधिक आनन्द दिन्छ । त्यसै गरेर जगदिश समालको स्वरमा रहेको तिमीलाई सम्झदा यो तन र मनले भावुक बनाइ दिन्छ भने सुनिता सुब्बाको स्वरमा रहेको सुवास छरी ऋतुहरुमा र लासमीत राईको स्वरमा रहेको म त कुनै बस्तु भएछु गीत बढी कर्णप्रिय छन् । बाँकी गीतहरु पनि कम भने छैनन् तर भन्नै पर्दा सर्वाधिक चर्चित र स्थापित गायक तथा संगीतकार राजेश पायल राईबाट सोचे जति आशा पूरा भएको छैन । ब्यबसायिक तथा स्थापित भइसकेका गायक/संगीतकारहरुबाट नव प्रतिभाहरुले केही राम्रा आशाहरु राख्ने गर्छन् । गीतकारहरुले गरेको दुःख र सोचेको लक्ष्यलाई बुझिदिएर झारो टार्ने हिसाबले मात्र काम नगरी दिए उहाँहरुको लोकप्रियता पनि अझ बढ्दै जाने थियो ।अन्तमा गीतकार पालुङ्गालाई बधाइ दिँदै उनको अमर भई बाँचिरहने आफ्नो गीतहरुको चाहना पूरा होस् र यस्तै राम्रा कृतिहरु भविष्यमा फेरि आइरहोस् भन्ने शुभकामना दिन चाहन्छु
मेरो गीत कुनै उपहार होइन
मेरो गीत कुनै श्रृंगार पनि होइन
प्रीतिको वहार हो मायाको संसार हो