Apr 26, 2009

हंगकंगमा टंक सम्बाहाम्फे र उनको "युद्धभित्र उभिएका बुद्धहरु"

अशोक रार्इ
परिचयः
टंक सम्बाहाम्फे हंगकंगमा एक लोकप्रिय तथा कृयाशील साहित्यकर्मी हुन् । उनी कवि मात्र होइनन् राम्रा गितकार पनि हुन् । उनको आफ्ना गीतहरुको दुर्इ वटा गीति संगालो मनोभाव र सार बजारमा आईसकेका छन् । हंगकंगमा सम्बाहाम्फेले गरेका बैचारीक, साँस्कृतिक, राजनैतीक एबं सामाजिक प्रयत्नहरु निकै महत्वपूर्ण छन् । नेपाली साहित्य प्रतिष्ठान हंगकंगका वर्तमान अध्यक्ष तथा अनेसास हंगकंग च्याप्टरका महासचिव सम्बाहाम्फेले प्रतिष्ठानको स्थापनार्थ सुरुदेखि नै अटुट् संङ्गठानीक प्रयासहरु गर्नुका साथै हंगकंगमा नेपाली साहित्यको उत्थानका लागि महत्वपूर्ण योगदान दिदै आएका छन् । बिगतमा प्रतिष्ठानको प्रयासमा बिविध साहित्यिक प्रकाशनका कामहरु हुनुका साथै www.srasta.blogspot.com एबं www.kavitakusum.blogspot.com जस्ता साहित्यिक लिंकहरु सञ्चालन भएकाछन् । त्यसै गरेर सम्बाहाम्फेको निजी प्रयासमा लिम्बूवान श्रष्टाहरुको प्रतिभालाई संगठित र सम्बर्धन गर्ने हेतुले साहित्य, कला र सँस्कृति सम्बन्धी ब्लग www.limbuwan.blogspot.com सञ्चालित छ ।
"युद्धभित्र उभिएका बुद्धहरु"
श्रृजनशील अराजक कवि हांगयुग अज्ञात् भन्नुहुन्छ "युद्ध नै ठीक छैन ।"
हो कबि लेखकहरु कहिले पनि अशान्तिको पक्षमा छैनन् । ध्वंस र बिनासको पक्षमा छैनन् अनि अमानवीयताको पक्षमा छैनन् । उनीहरु जहिले पनि प्रतिपक्षी कित्तामा छन् सत्ताको, शक्तीको, बन्दुकको, बिकृती र बिसंगतिको । युद्धलाई कुनै पनि हिसाबले जायज भन्न सकिन्न । किनकी युद्ध ध्वंस र बिनासको कारक हो र मानवीयताको बर्खिलाप् हो ।
कवि टंक सम्बाहाम्फेको कविता कृति "युद्धभित्र उभिएका बुद्धहरु" लिएर म घोत्लिरहेछु । ४१ थान अमूर्त चित्र सहितका कविताहरुको संग्रह हो यो । जहाँ जीवन र जगतलाई हेर्ने दृष्टिकोण, डायस्पोरीक भावना, नोस्टाल्जीया देखि लिएर देश प्रेमका गाथाहरु पढ्न पाइन्छ । झण्डै दुर्इ दशक परदेशमा जीवन बिताएका कवि सम्बाहाम्फेको मनभरि सधै देशको मायाँ र गाँउ घरको संझना छाउँदो रहेछ । कवि कतै देशको अथाह सौर्न्दर्यको बयान गर्छन् । कतै गुँराससित रमाउँछन र हिमफेदीमा पुग्छन अनि कतै आस्थाको धरातलबाट देशको ब्यथाहरु ओकल्छन् । कतै "एक गाँस"भित्रको यथार्थहरु केलाउँछन भने कतै क्षितिज पारिको कुरुले तेनुपा गाँउलाई सम्बोधन गर्दै बालापनको याद गर्छन । यस कृतिभित्रको बिशेष कविता "युद्धभित्र उभिएका बुद्धहरु"मा कविले युद्धको पीडाहरु पोख्दै बुद्धलाई सम्झेकाछन् । कृतिको नाम पनि यहि कविताको शिर्षकबाट राखिएकोछ । कवि स्वयमलाई पनि यो कविता निकै मन परेको हुनुपर्छ । "बुद्ध" शान्तिको यस्तो बिम्ब हो जसको नेपाली काब्य दुनियाँमा सर्बाधिक प्रयोग भएकोछ । यसबाट कवि तथा लेखकहरुले शान्तिको खातिर कस्तो कामना गरिरहेछन् भन्ने कुरा ज्ञात हुन्छ ।
केही कवितांशहरुलाई हेरौं ।
उठ
जाग
युद्धभित्र उभिएका
ए ! बुद्धहरु हो !
जन्मन सक्छ अबश्य
तिमी उभिएको भूमिमा पनि अर्को बुद्ध
"युद्धभित्र उभिएका बुद्धहरु"
यस कवितामा भातृत्व र शान्तिको आग्रह छ । नेपाल बुद्धको जन्मभूमी हो । तर त्यही देशमा युद्ध र ध्वंशको पराकाष्ट पनि देख्नु पर्यो । के शान्ति हराएकै हो ? बुद्धको भूमिमा संग्राम कहिले सम्म ? जस्ता प्रश्नहरुले कविलाई चिमोटेको हुनुपर्छ । त्यसैले कविले उनैलाई तिमी नै बुद्ध पनि हौ । आफुभित्रको बुद्धलाई जगाऊ भन्ने संकेत गरेका छन् जो युद्धरत छन । यहाँ दङ्गा फसाद र अणु परमाणुहरुको बिरोध गरिएकोछ । सन्त्रासमय समयहरुलाई सम्बोधन गर्दै कवि उदगार गर्छन्
अस्तित्वको देशमा
युद्ध बिभिषिकाको बिज्ञप्ती भएका भएकाछन्
निर्दोष मान्छेहरु ।
"युद्धभित्र उभिएका बुद्धहरु"
दिन उज्यालोको बिम्ब हो । उज्यालो भन्नु सुख र हर्षको प्रतीक हो । तर यो उज्यालोभित्र धेरै भ्रमहरु छन् । तिनै भ्रमहरुभित्र मान्छेहरु बाँचीरहेका छन् आफ्नै तरिकाले । या त भ्रम सत्य हो या सत्य भ्रम हो ।
उभ्याउन खोजेँ दिन
बचाउन खोजेँ दिन
कहिल्यै उभेनन् सामुन्ने
बगीरहे नदी झैं
पग्ली रहे हिँउ झैं
"दिन"
दुनियाँका अनेक आकृतिहरुलाई मुर्त रुप दिन खोज्दै क्यानभासमा उतार्छन् कवि सबैलाई तर अमूर्त बन्न खोज्छ तस्वीरहरु । तस्बीरहरु बोल्दैनन् मुस्कान छर्दैनन् । जगतका बिम्ब र प्रतिबिम्बहरु, बिवशता र आभाषहरु भावनाको क्यानभासमा सधै अमूर्त लाग्छन् । अनि बिचारमात्र जन्माउन खोज्छन् कवि क्यानभाषमा ।
अर्जाप्दै बिचारका धारहरु
पुनः जन्माउन खोज्छु क्यानभासमा
असिमीत प्रतिबिम्बहरु
"भावनाको क्यानभाषमा दुनियाँलाई पोत्दा"
परदेशी कविको देशप्रेम कविताहरुमा शब्द भएर पोखिएकाछन् । जहाँ पुगेपनि आखिर देशप्रेम त मर्दैन । देश मनको अपनत्व हो । आस्थाको धरोहर हो । नेपाली हुनुको गौरवमा, गुँरास र डाँफेको मनमोहकतामा कविको भावना यसरी कुदेकोछ ।
मेरो देश हिम फेदीमा
गुँरास भएर फूल्छ
डाँफे भएर हाँस्छ
असीम आस्थाभरि नेपाली भएर बाँच्छ ।
"मेरो देश"
तर देशको अस्तब्यस्तताले हायलकायल छन् जनहरु । असमानता, घटना र दुर्घटनाहरुको शिकार छ देश । उता देशका नाइकेहरु भने उत्सवमा रमाइरहेकाछन् सधैं । यो असन्तुष्टी कवितामा पोख्छन् कवि,
पोखिएर असमानता छ्यालब्याल्
घाइते भएको देश
चर्मराइरहेछ प्रत्येक दुर्घटनाहरुले
आर्तहरुको घाउ झैं
छट्पटाइ रहेछ बेदनाहरुले
"कुन उत्सवको तयारीमा ?"
जिन्दगीको उतरचढाव प्रति हरेकको आ-आफ्नै बितृष्णा छ । अनेक सपना छन् , आशाहरु छन् र तृष्णाहरु छन् । तर परिस्थितीको चोट्ले मानिस आहत् छन् । जिन्दगी फगत एउटा नशा जस्तो बेमञ्जुर पिउनु पर्ने ।
................
समयको रित्तो प्याला भरी भरी
झुल्दै यथार्थको वरिपरी
बेमञ्जुर पिइरहेछु म
यो जिन्दगीको नशा
"यो जिन्दगीको नशा"
समय एउटा बिम्ब पनि हो । समयको डुंगा शिर्षकमा कविले यथार्थपरक काब्य रचना गरेका छन् । यात्रामा समयको डुंगा खियाउनु ज्वारभाटाको सामना गर्नु, आँधीबेहरीको चपेटा आइलाग्नु, ब्यवधान सहनु सामान्य हो । केवल डुंगा खियाउने माझी कै दशामा बाँच्छौ हामीहरु ।
अठोट् बाँधेर
अभीभारा बोकेका छौं डुंगा चढ्नुको
त्यसैले हामी
माझी मात्र भएका छौं
समय खियाउनुको ।
"समयको डुंगा"
बेस्वादिला बर्तमानहरुमा अतितका पाना पल्टाएर बैंश खोज्छन् कवि । स्वप्नील बैंशहरु समयसँगै बोझिलो भएर बूढो भएकोछ । आफैबाट टाढिएको बैंशलाई खोज्दै भन्छन् ।
फूलेको छ की भनेर........
आफैबाट परदेशीएको बैंश
सोधिरहन्छु मूलबाटोमा हिड्ने
प्रत्येकलाई
देख्यौ की भनेर......
"बैंशको खोजीमा"
यस कृतिमा भएका कविताहरु आकाश मान्छे र ब्याँसाहरु, युद्धभित्र उभिएका बुद्धहरु, कुन उत्सवको तयारीमा ?, अस्मिताको खातिर, कृतिम ब्रम्हाजीहरु, बिपत्तीमा परेकाछन चराहरु, बिभाजित छन् आकाशहरु जस्ता कविताहरुमा यथास्थितीको चिरफार छ । बिसंगति र अराजकताहरुको प्रत्यक्ष अप्रत्यक्ष बिरोध र त्यसप्रति बिद्रोह छ । समय, समयको डुंगा, एक छाक, जिउनुको अनकौं छालहरु, म एउटा यात्री, सपना, बिडम्बना भित्रको म, आत्मा बिश्वासको उज्यालोमा जस्ता थुप्रै कविताहरु जिन्दगीका अनेक पाटाहरुलाई चित्रण गर्ने, अनुभव र अनुभूती ब्यक्त गर्ने र यथार्थको उजागर गर्ने कविताहरु हुन् । त्यसै गरेर इहलीला, दुनियाँभित्रको नाटक, अथाह प्रश्न चिन्हहरु, भावनाको क्यानभासमा दुनियाँलाई पोत्दा जस्ता कविताहरुले जीवन र जगतलाई अर्थ्याएका छन् ।
कविको भावना न हो कहिले कता पुग्छ कहिले कता । भावनाको खेती हो कविता । मनको सुन्दर भाषा नै कविता हो । प्रत्येक कविले आफ्नै भाषामा कविता पोख्छन् । जे होस् समग्रमा सम्बाहाम्फेका सृजनाहरु सुन्दर छन् मौलिक छन् । सबै कविताहरुको चिरफार गर्न पनि सम्भव भएन । उनका कुनै पनि कविताहरु क्लिष्ट छैनन् । चित्र सहितका कविता पढ्दा पाठकको मनमा एक प्रकारको छाप बस्छ । आफ्नै शब्द र बिम्बहरुको संयोजन छ यो कृतिभित्रका सृजनाहरुमा । उनको कविता लेखनको दौरान यस कृति पछि पनि निकै वर आइ सकेको छ । अव त उनीबाट अझ सुन्दर र बैचारीक कविताहरु आइसकेका होलान् । म त सन २००१ अघिका कविताको कुरामात्र गर्दैछु ।
अस्तु

Apr 9, 2009

‘शब्दघोष जिजीविषाको’ भित्र के.सी.का कथाहरु

अशोक राई
"शब्दघोष जिजीविषाको” कथा संग्रह प्रकाश के. सी. र प्रदीप कन्दङ्गवा (’प्र’द्वय)को सयुंक्त कथा संग्रह हो । यसमा जम्मा दुबै कथाकारका आठ-आठवटा गरी जम्मा सोह्रवटा कथाहरु संकलित छन् । कथा संग्रहमा भएका कथाहरुले मूलतः हङकङको परिबेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एबं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट एचके वेब मिडियाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गीतकार साथै कवि प्रदीप कन्दङ्वा भने याक एण्ड यती रेष्टुरेन्टका मालिक बनेका छन् । दुबै कथाकार लामो समयदेखि हङकङमा बस्दै आएका भएर पनि होला, उनीहरुले भोगेको जीवनलाई कथाको बिषय बनाइएको हुन सक्छ । तर यो संग्रहमा केवल हङकङ मात्र छैन । यसमा समाजमा घटित र विद्यमान घटना, परिस्थिति र विसंगति, राज्यका बेथितीले उब्जाएका प्रश्नहरु, प्रेम र यौनिकतालगायत जीवन र जगतका थुप्रै पाटाहरु उजागर गरिएका छन् । आफ्नै शब्द शील्पले सिँगारेकाछन् प्रकाश के. सी. र प्रदीप कन्दङ्वाले आफ्ना कथाहरुलाई । जे होस्, प्रकाश के.सी. र प्रदीप कन्दङ्वा हङकङका प्रतिनिधि कथाकारहरु हुन् ।यहाँ म प्रकाश के.सी.का कथाहरुलाई केलाउने प्रयास गर्दछु ।
१. चोटका लयहरु :- यस कथामा एउटा पुरुष पात्रले आफ्नी अर्धाङ्गिनीको माइतीबाट पिटिइनु परेको दुःखलाई भावुक भाकामा चित्रित गरिएकोछ । पीडित पुरुष पात्र पिटाइ खाएर शारीरिक र मानसिक दुबै हिसाबले घायल भुइँमा लडेकोछ । पिट्नेहरु उसलाई बाटैमा छोडेर गएका छन् । यसबखत पीडित पात्रको मनोसम्वादको शैलीमा कथा शुरु र अन्त भएकोछ । श्रीमान श्रीमतीबीच हुने र भइरहने सामान्य झै-झगडामा पहिले लोग्नेले स्वास्नी पिट्ने, त्यसपछि स्वास्नीले माइती खन्याइदिने घटनाहरु हाम्रो समाजमा देखिँदै आइएकोछ । कथाको पुरुष ‘म’ पात्रले पुरुष प्रधान अहमलाई बोलेकोछ । पुरुषले महिलामाथि आफूले गरेको सबै ठीक, उनीहरुले गरेकोचाँहि बेठीक ठान्ने प्रवृति हाम्रो समाजमा विद्यमान जो छ, त्यसलाई ‘म’ पात्रले बोलेको सम्बादमा पाउन सकिन्छ ।
२. नेपथ्यभित्र र बाहिरको एक दृश्य :- यो कथाले हङ्गकङ्गमा नेपालीले बाँचेको जीवनलाई भिन्न प्रकारले प्रस्तुत गरेकोछ । म पात्र हङकङको ब्यस्तता र जटिलतामा बाँच्ने एउटा नेपाली प्रतिनिधि हो । उसले बाटामा भेटेको इङ्ल्याण्ड नागरिकले ‘हङकङभित्रका नेपाली समुदाय’ नामक पुस्तकका लागि नेपालीहरुको बारेमा खोजी गरिरहेकोछ तर उसले नेपालीलाई बुझ्न सकिरहेको छैन । ऊ नेपालीलाई नङ्ग्याउन चाहन्छ । यता घर पुग्दा श्रीमतीको खटन-आदेश र खजमज्जिएका लुगा अनि अस्त ब्यस्त कोठा हेर्दा उसलाई जीवन वाक्क लाग्छ, छरपस्ट जिन्दगीका सपनाझैं । ब्यस्त सडक र गाडीहरुको कर्कश आवाज, इमर्जेन्सी साइरेन र ट्राफिक क्रसिङका बेसुरे ताँतीहरुमा जीवनको कालो आभास, अध्याँरो आभा, शून्य अनुभूति, ब्यापक कोलाहल र प्रखर हतारोले जिजीविषा निष्पृह छ । हङकङभित्र नेपालीको दिनचर्या, पारिवारिक खण्डिकरण, शहरभित्रका कुरुपता आदि थुप्रै कुराको वर्णन गरिएकोछ यस कथामा ।
३. जीत र जीवनका भोगाइहरु :- यो कथा पनि हङ्गकङ्गकै परिवेशमा लेखिएकोछ । यो कथा पनि मनोसम्वादकै शैलीमा छ । रजनी र प्रकाश एक आपसमा छुट्टिएको चार वर्षपछि आमनेसामने भएकाछन् । तर बोल्न भने सक्दैनन् र मौन मनोसम्बाद गर्छन् । पूर्व कथाअनुसार दुबैले एक अर्कालाई औधी माया गरे पनि प्रकाशको एउटा गल्तीले भएको असमझदारीले रजनी उसलाई छोडेर लण्डन जान्छिन् । तर उसको मनमा प्रकाशप्रति माया मरेको भने हुँदैन । पछि आफ्ना आफ्ना गल्ती महशुस गर्दै सहर्ष उनीहरुको पुनरमिलन हुन्छ । यसरी हङ्गकङ्गको व्यस्त समयले लोग्ने स्वास्नीको सम्बन्धमा कसरी असमझदारी पैदा हुन्छ र सुखी दाम्पत्य जीवनसमेत धरापमा पर्छ अनि आफ्ना गल्तीहरु थाहा भए पछिको पुनरमिलन मीठो हुन्छ भन्ने कुरा यो कथामा चित्रित छ ।
४. त्यसपछिको अर्को कथा :- यस कथामा एउटा अपाहिज दाजु र आफ्नो परिवार बीचको अप्ठ्यारोमा जिइरहेको एक पात्रको जीवन चित्रण गरिएकोछ । मुख्य पात्रलाई “उसको” या “उसलाई” जस्ता सर्वनामी शब्दले मात्र सम्बोधन गरिएकोछ । “उसको” आफ्नो श्रीमती र एक छोरा छ । विपिन “उसको” साख्खे दाइ हो जो दुर्घटनामा परेर अपाहिज र अर्ध विक्षिप्त छ । विपिनको स्वास्थ्य वीमाको पैसाले परिवार धानिएकोछ । तर श्रीमती र छोरामा विपिनप्रति पूर्ण विकर्षण छ । “भोग्नेलाई भन्दा स्याहार्नेलाई पीडा” भनेझैं विपिनलाइ स्याहार्न गाह्रो छ । सँधैको पिरलोले “उसको” जीवन खिन्न छ । एक दिन उसले आन्दोलनकारी र पुलिसहरुको घातक भीडभित्र विपिनलाई एक्लै छोडेर भाग्छ तर वाल्यकालको स्मृतिले पुनः दाइको माया पलाउँछ र ऊ फर्केर दाइलाई खोज्न थाल्छ । विपिनलगायत केही आन्दोलनकारीहरुलाई पुलिसले भ्यानमा कोच्याइरहेको देख्छ । विपिनतिर लम्किन खोजेको “उसलाई” पुलिसले चलाएको तातो गोली लाग्छ र उसको ईहलीला समाप्त हुन्छ ।
५. दुःखै दुःखले झ्याँङ्गिने मनका थाँक्राहरु :- माओवादी द्वन्द्वमा आधारित यो एउटा अर्को सामाजिक कथा हो । पात्रहरु सबै गाउँले परिवेशकै छन् । गाँउको सुख-दुःखको संसार माओवादी द्वन्द्वको कारण त्रासदीय बनेकोछ । युद्ध विराम भए पनि धरपकड र मारामारी निरन्तर छ । कोही विदेश भासिने विचारमा छन्, कोही युद्धमा छन् । नेपालीको लागि विदेश रहर कि वाध्यता ? के मानिसले सहज बाँच्नु पाउनु पर्दैन ? बालबालिकाले पढ्न पाउनु पर्दैन ? जस्ता प्रश्नहरु यावत उठेकोछ । परिवारहरुमा आतंक र बिरक्ती छ । आठ वर्षपछि घर फर्कँदै गरेको रमेशको स्वागतार्थ घरमा एउटा समारोहको आयोजना गरिएकोछ । सबै खुशी छन् । रमेश पूर्व माओवादी कार्यकर्ता हो । गाउँमा उसको बाँच्ने आशा कम हुँदै गएकोले रमेशका बा हरेले उसलाई अरब पठाएको हो । तर आठ वर्षसम्म मरे-बाँचेको खबर नगरी रमेश घर फर्कँदैछ । उसको आगमनलाई शुभ र अर्थपूर्ण बनाउन घरमा सत्यनारायण तथा कूल देवताको पूजा हुँदैछ । तर रमेश भने कसैले चिन्न र आशा गर्न नै नसक्ने हिसाबले एक बटुवाको रुपमा देखा पर्दछ, जसलाई उसको हजुर आमाले माात्र चिन्दछिन् । कथाकारले रमेश साँच्ची नै विदेश गएको थियो या भूमिगत हिसाबले देशभित्रै संघर्ष गर्दै थियो भन्ने कुराको कौतूहलता छाडिदिएर कथा सकेकाछन् । कथा यथार्थवादी सामाजिक धरातलमा लेखिएकोछ । यो कथा पढ्दा गुरु प्रसाद मैनालीका सामाजिक कथा पढेको स्वाद पाउन सकिन्छ ।
६. मृगतृष्णा :- यो एउटा प्रेम कथा हो । हङ्गकङ्गमा बस्दै आएको समीर एउटा बिवाहित लोग्ने मानिस हो । यहाँको ब्यस्तताले श्रीमतीसित उसको निकटता बञ्चित छ । यत्तिकैमा समीर र किट्टीको अनलाइन च्याटको सम्बन्ध अन्ततः प्रेममा परिणत भएकोछ । थाइल्याण्डको आबाक यूनिभर्सीटीमा अध्ययनरत बेइजिङकी किट्टी समीरको मायामा यस्तरी डुबेकी छे कि उसको निम्ति मर्न पनि डराउँदिन । धेरै पटकको भेटघाट र अबउप्रान्त एक अर्कामा टाढा हुने वाचाहरु टोडेर किट्टीले एक हप्ताको लागि समीरलाई थाइल्याण्ड बोलाउँछे, त्यहाँ उनीहरुबीच प्रणयशील क्षणहरु बित्छन् । समीर र किट्टीबीच यति भएर पनि लोग्ने स्वास्नीको सम्बन्ध भने दुरुस्त नै कायम छ । घर नै मायाको भरपर्दो आश्रयस्थल सम्झेर उसले किट्टीसितको प्रेम सम्बन्धलाई त्यागेको छ । साइबर दुनियाँले फरक-फरक सँस्कार र फरक-फरक संसारका मान्छेको सम्बन्ध विकास गराएको छ भन्ने कुरा यस कथामा उल्लेख छ । प्रेम र यौनको मृगतृष्णा उत्कट छ, तथापि लोग्ने स्वास्नी बीचको मौलिक सम्बन्ध महत्वपूर्ण छ भन्ने कुराको संकेत पनि गरेकोछ यस कथाले ।
७. प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु :- प्रयोग र कथा वस्तुको हिसाबले यो कथा कथाकार के.सी.को उत्कृष्ठ कथा हो । हङकङको यान्त्रिक र भावानाशून्य संसारमा बाँचिरहदा कथाकारलाई यस्तो चाखलाग्दो कल्पनाशीलता आएको हुनुपर्छ, जो कथामा प्रयोग गरिएकोछ । स्टारफेरीनजिक पुग्दा ‘म’ पात्रले एकदिन यति ब्यस्त शहरमा मानव रिक्तताको अनुभव गर्छ । परेवालाई चारो दिइरहेकी चिनीँया बूढी पनि अदृश्य भएपछि ऊ आफू पनि बेहोस हुन्छ । आँखा खोल्दा उसले आफूलाई एउटा ठूलो हलमा बसिरहेको पाउँछ । त्यहाँ हङकङका पूर्व चीफ एक्ज्यूकेटिभ तुङ ची हृवालगायत आफ्नै श्रीमती चेरीको मुटु रोबोटले झिकेर प्लेटिनम स्प्रे गरिरहेको देख्छ । अघि आफ्नैसामु अदृश्य भएकी चिनीँया बूढीसमेत लाइनमा हुन्छिन् । उसलाई पनि क्रेनले उचालेर अगाडि लान्छ तर मेशिनको खराबीले प्लेटिनम स्प्रे भने गरिँदैन । फर्केर घर आउँदा उसले आफ्नी श्रीमतीलाई अर्कै रुपमा पाउँछ । कपाल छोटो पारेर काटिएको छ । आफूप्रति उदासीन र कर्कश छ उसको ब्यबहार । सडकका मानिसहरु आफ्नै तालमा हिँडिरहेका छन् । वास्तवमा त्यहाँ विज्ञानको सहाराले हृयुमन अपडेट गरिएको हुन्छ । सारा तथानामका विसंगतिहरुबाट मानवीय सम्भावनाहरुलाई बचाउनको लागि र यसको विकास गर्नको लागि मुटुमा प्लेटिनम स्प्रे गरिएको हुन्छ । समवेदनाहीन प्लेटिनम मुटु लिएर बाँच्ने मान्छेहरुको दुनियाँलाई यो एउटा ब्यंग्यात्मक कथा हो ।
८. माया मिरेज हो माया मिरेज होइन :- हङ्गकङ्गको परिबेश र यथार्थलाई समेटिएको यो अर्को कथा हो । हङ्गकङ्गमा मानिसले भोग्दै आएको भित्री जीवनहरुको यसमा चित्रण छ । क्षणिक माया देखाउने देह व्यवसायी किशोरीहरु र त्यसलाई भोग्ने पुरुषको मनोदशालाई यो कथामा देखाइएकोछ । क्याथी नामको केटीलाई पर्खेर बसेको एक युवकले बजारभरि छरिएका थुप्रै यौनिक पसलहरुको दृश्यपान गर्छ । अर्को एउटा नेपाली युवक राम छ जसलाई आमेई नामकी वेश्याले मन पराएकी छ तर राम भने लज्जालु स्वभाव देखाउँछ र ऊदेखि भाग्छ । पछि त्यही आमेईसित उक्त युवकले रात बिताउनका लागि लाने क्रममा अनेक तर्कनाहरु गर्छ । बाटोमा म पात्रसँगै आमेईले सुतिरहेको रामलाई भेट्छे । रामको गाला छामिरहँदाका भावनात्मक मनोवृतिहरु ऊसित मोलमोलाई गरिरहँदा कता गए होलान् ? एउटा नारीले अर्को अपरिचित लोग्ने मानिससामु कसरी निर्वस्त्र हुन सक्छे ? जस्ता कुराहरु ‘म’ पात्रको मनमा खेलिरहन्छ । आमेई रामसँग नै रहन्छे र यसरी अचानक आउने अचानक जाने प्रेमीकाहरुलाई भर्खरै दर्केको पानीसित दाज्दछ ‘म’ पात्र, ती दुईलाई त्यहीँ छोडेर पानीमा रुझ्दै आफ्ना बाटो लाग्ने क्रममा ।यी यथार्थहरुमा ‘म’ पात्र, कतै मिरेज(भ्रम) देख्छन् कतै देख्दैनन् । कथामा रात्रि बजारका सस्ता सामंग्रीहरुका नेपाली ग्राहक र घोडा रेसका नम्बर दाँजिरहेका मान्छेहरु पनि छन् । ब्रोकन अँग्रेजी, क्यान्टोनिज र म्याम्दोरिनको प्रयोगले कथामा रमाइलोपन थपेका छन् कथाकारले ।
प्रकाश के.सी.का अधिकांश कथाहरु हङकङको परिवेशमा आधारित छन् । जसले हङकङको जीवन शैली र यहाँ बाँचिएको र बाँच्ने तरिकाहरुको अवगत गराउँछ । कन्दङ्वाका जस्तै के. सी.का कथाहरु पनि प्राय आत्मकेन्द्रित शैली (’म’ पात्रको चयन)मा कथाहरु लेखिएका छन् । उनको आफ्नै शैलीमा कथाहरु बगेका छन् । कथाहरुमा अंग्रेजी र क्यान्टोनिज भाषाको मिश्रण के.सी.का कथाहरुमा पनि पाइन्छन् । प्रकाश के.सी.का भाषा शैली मीठो छ तथापि के.सी.का केही कथाहरु क्लीष्ट पनि छन् जसलाई बुझ्न दोहोरो अध्ययन गर्नुपर्छ । उनका कथाभित्र भएका केही शब्दावलीहरु यस्ता छन् ।
पीडाले गलेर निथ्रुक्क भएको मनलाई मान्छेसँगै निचोरेर हृयांङ्गरमा सुकाउन मिल्ने भए, ….
यस्तो लाग्छ, आफूलाई त्यसरी हृयाङ्गरमा झुण्डाए जस्तै ……………..
एउटी बूढी ठेलागाडीभरि कागज, क्यानहरु थुपारेर घस्रिरहन्छे, मर्न नसक्नुको वाध्यता या जीवनको मोह ! क्यान जस्तै कुच्चिएका, कागज जस्तै जताततै कोरिएका उसको मुखाकृति, पानी सुकेका आँखाहरु……………….
आकार बिग्रन थालेको देशलाई इँट्टाले ठोकेर सकार पार्न खोज्ने ठिटाहरु आदर्श हातमा बटारेर दगुर्दै गए भित्रतिर………...