May 24, 2010

परिहासका गजलहरु

बद्री पालिखे
पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन कलिला ठिटोको पाको गजल संग्रह हो । यस संग्रहमा परिहासका ६५ वटा गजलहरु छन् ।
संग्रहमा परेका गजलहरुमा सामयिक चिन्तन छ । जीवनको भोगाई छ । सामाजिकता छ । बर्तमान समयको प्रतिबिम्ब छ । माया छ । आग्रह छ । अपेक्षा छ । देश दुख्छ । समय पीडा छ । जीवन दृष्टि छ । मुलुकमा घट्दो साम्प्रदायिकता , भाषा, धर्म, जाति र भूगोलका लागी द्घन्द र आहत छ ।
मैले परिहासका गजलहरु पढें । सुन्दर भावनाहरु तुलनात्मक र लयात्मक प्रस्तुति स्वतस्फुर्त मनको लहर बाट कोका खोलो झै लाग्छ । म आफू परिहासको गजलगङ्गामा डुबुल्की मार्दै सूर्यस्नान गर्दा आनन्दानुभूति भएको अनुभव भयो । परिहासको गजलमा स्नान गर्दा भावनाको सरोवरमा राजहंशको जोडी तैरिरहेको पाएँ । कमलको फूलको परागमा भँमराको भुँ भूँ सुनें ।
परिहासका गजलहरुमा जीवनको लय छ । संगीत सरगम छ । त्यसैले पढ्दा आनन्द लाग्छ । संक्षेपमा परिहासका गजलहरुमा जीवनको गीत छ । संगीत छ । लय, अनुप्रास, शब्द, वाक्य,भाषामा सौर्न्दर्यबोध छ । कहिंकतै पनि गाँठो छैन । सजिलै पढ्न सकिन्छ । सहजै बुझ्न सकिन्छ ।
उनका गजलहरुमा माटोको सुबास छ । समाजको अभिब्यक्ति भनौं मनोभाव देखिन्छ । एैनाको अगाडी उभिदा आफ्नो अनुहार देखिए भैं जीवनको प्रतिबिम्ब देखिन्छ ।
पहाड सबै तराई बनोस् आलापालो सबैलाई
तराईको सम्म मैदान पहाडमा झैं डिल बनोस्
पृष्ठ- २
परिहासका गजलहरु सुन्तला छोडाएर खाए झैं रसिलो लाग्यो । मह झै मीठो, गनिलो लाग्यो । जति पढ्यो त्यति पढ्न मन लाग्ने । जति गायो उति मार्मिक लाग्ने छ ।
परिहासका गजल मा यहाँनिर पहाड र तराइ जोडिन्छ । राष्ट्रियता बोल्छ । म प्रस्तुत गजलहरुमा बिधि र बिधान खोज्दिनँ । गजलमा चाहिने नालीबेली हेर्दिन । गजलमा भेटिनु पर्ने रङ्गरोगन हेर्दिन । म गजल मा भावको सुन्दरता, मधुरता, माधुर्यता र अर्थहरु खोज्छु । गजल जीवनको लय हो । परिहासका गजलहरुमा नेपाली मन छ ।
उकालीमा थाक्छु होला ओह्रालोमा गल्छु होला
ढाकर संगै सयौं जंघार मेचीकाली तर्छु म त
पृष्ठ -४
परिहासको अर्थ हास्यबिनोद हो तर परिहासका गजल मा हास्यबिनोद छैन । भाव गम्भिरता छ । सूत्र-मंगल-धुन संग्रहको बिषेश छनौट मिलेको जस्तो लागेन । रातको प्रतिक कालो पृष्ठभुमिमा सुर्योदयको आशा भएको आएन लोभलाग्दो छ । दुर्गाप्रसाद लाओतीको साहित्यिक नाम परिहास राखिएको छ । नेपाली साहित्यमा यस्ता उपनामबाट परिचित थुप्रै स्रष्टाहरु छन् । गोबर्द्धन पूजा, हरिमञ्जुश्री, श्यामल, राजब आदि इत्यादी छन् ।
परिहासको मन र तनको मिलनबाट उत्पन्न प्रयोब्यक्ति मलाइ मिठो लाग्यो ।
छाँया खस्ने आँगनमा, माँया छरे कसो होला
मन मिले आधा रातमै मोदी तरे कसो होला
पृष्ठ- ५
परिहासका गजलहरु पढ्दा उनको हृदयको उर्वर माटोमा लहलह बाली सुसेली खेले झैं लाग्यो । उनका गजलहरुमा डुबुल्की मार्दा उनका प्रतिभा मिर्मिरे उज्यालो झैं लाग्यो । यस संग्रहको प्रकाशकियमा गजल संग्रहको सटिक मुल्याङ्कन भएको छ । धिरज गिरी कल्पित को भूमिका मनजयोग्य छ यसमा थप्नु पर्ने देख्दिनँ । स्व. स्वप्नील स्मृतिले नेपाली साहित्यमा गजलको बाढी उर्लिएको बेला परिहास एक भङ्गालो हुन् भनी टिप्पणी गरेका छन् । त्यस टिप्पणीमा मेरो पनि र्समर्थन छ । जीवन मोहमा परिहासको मिठो प्रतिक्रिया छ, एउटा टुक्रा प्रस्तुत छः
तिम्ले दे को बास भित्र एउटा आश देखें
त्यस्मा स्वप्नील जिन्दगीको मधुमाश देखें
पृष्ठ -१५
परिहासका गजलहरुमा प्रयोग भएका भाषाहरु बोलीने खालका छन् । लेखिने खालका छैनन् । मलाई यस्तै भाषा मन पर्छ । यहाँ गजल बाईस को अन्तिम हरफ बिसंगत लाग्यो । मलाई मन परेन । यसले राम्रो सन्देश दिंदैन ।
खोई कस्तो मोहनी हो,हरेक दृष्टि लट्ठै पार्ने
घरमा भा को स्वास्नी समेत छोडुँ छोडुँ लाग्छ
परिहासका कतिपय गजलहरुलाई संगीतमा ढालेर गाउन सकिने खालका छन् भने कतिपय वाचन मात्र गरिने छन् । सबै गजलहरु पढुँ पढुँ लाग्छ । पढ्दै गयो झन् झन् नशाले छोए झैं लाग्छ । तर गजल पैतिस् र छत्तिस् के हो ? गजलको नाममा गजल हो की फजुल हो छुट्योनै सकिन ।
यत्ता ले
छिटो दे
गजल-पैतिस
ए त्यो त
त्यसो पो ?
गजल-छत्तिस्
गीतमा ढालेर गाउन सकिने गजल अड्तिसका उनका यी गजलहरफले जिन्दगीलाई भरोसा दिने खालका छन् ।
संघर्ष मा कहिल्यै पनि नझूकोस साहसहरुर्
गर्जन सुन्दा झयास्झूस्मा नलुकोस साहसहरु
परिहासले नेपाली समाजमा खासगरी गाउँघर, रुदोबुदो घरमा घटित जाग्दो घटनालाई छुवाई यसरी चिन्तन गरेका छन् । जसले उत्पिडनको तस्विर देखाउँछ ।
उनको जीउमा डामै डाम देखी सोध्दा थाहा पाएँ
सासु, नन्द, पति बाट गोरु चुर्टाई खा की रै छिन्
गजल सत्र
परिहासको गजलहरुमा जीवन छ । जीवनको धुन छ । गजलको लामो यात्रामा परिहास एउटा यात्री हो । चौतारीमा आईपुगेको छ । गन्तब्यमा पुग्न सफल होस यहि कामना छ ।
अन्त्यमा, समाजमा ब्याप्त उनकै गजलहरुमा कटु तितो सत्य पनि छ, परिहास आफैंमा परिपक्व छन्, आफैं भूक्तभोगी लाग्छन् ।
हिजो आज मान्छे सबै आफ्नै मात्र जीत खोज्छन्
अच्चम्म छ जो कोहि पनि आफ्नै मात्र हित खोज्छन्
कृतिः सूत्र-मंगल-धुन
बिधाः गजल संग्रह
प्रकाशकः कुम्मायक कुस्सायक क्लब, यासोक - ४ सुब्जनी , पान्थर
प्रथम संस्करणः २०६४
पृष्ठः ६±६५
मुल्य रुः ७५