Mar 6, 2012

सरल गीतहरु बिर्सिएका गीतहरु

स्वप्नील स्मृति
कृष्णकला वनेम जीवनको अठ्तीस हिउँदमा 'बिर्सिएका गीतहरु' कृति लिएर नेपाली साहित्यमा उदाएकी छिन् । सामाजिक सञ्जाल 'फेसबुक'ले आफूलाई गीतकार बनाएको उनले पुस्तकको 'मेरो भन्नु' महलमा उजागर गरेकी छिन् । उनी लेख्छिन्, 'आजको साइबर युगमा विभिन्न नेटवर्क मनोरञ्जन र आनन्दको माध्यम भएको छ । म पनि २००९ बाट फेसबुकमार्फत धेरै साथीहरुसँग रम्ने गर्दथेँ । मन भुलाउने गर्दथेँ । आफ्ना भावना र लेख रचनाहरु साथीहरुसँग आदानप्रदान गर्दथेँ । यस्तै क्रममा २०१० अक्टुबरमा फेसबुकमार्फत कवि तथा गीतकार टङ्क सम्बाहाम्फेज्यूसँग मेरो भेट हुन पुग्यो । त्यसपछि उहाँले मेरा गीतहरु हेर्न थाल्नुभयो ।' भनाइबाट प्रष्ट हुन्छ, कृष्णकलाभित्रको 'गीतकार कृष्णकला' लगभग चार वर्षीय हुन् । त्यसैले पनि होला उनले गीतमा अझै निखारपन ल्याउनुपर्ने देखिन्छ ।
टङ्क सम्बाहाम्फेको गीती साधना निक्कै लामो छ । नेपाली गीत लेखनमा सम्बाहाम्फे एक स्थापित गीतकार र कवि दुवै हुन् । बिर्सिएको गीतहरुमाथि टङ्क सम्बाहाम्फे लेख्छन्, 'गीतको सम्पादनदेखि लिएर प्रकाशनसम्म मैले सहयोग गर्ने बाचा गरेको थिएँ...' गीतकार सम्बाहाम्फेले यति भन्दाभन्दै पनि वनेमका गीतमा सख्त सम्पादन नपुगेकै देखिन्छ । वनेमका गीतहरु पढिसकेपछि एउटा आंशिक पाठकलाई अवश्य आँट आउनेछ, गीत यस्तै हुन्छ भने त जसले पनि किन लेखिदिन्छ तर एक सचेत पाठकलाई भने गीतकार वनेमले अझै यी गीतलाई काँटछाँट गरेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नै लाग्छ ।
फेसबुक नेपाली साहित्यका पाठक र लेखकबीचको भरपर्दो साँघु बनेको छ । लेखकले 'हातहाती' प्रतिक्रिया अथवा फेसबुककै भाषामा 'कमेन्ट' र 'लाइक' पाठकबाट तुरुन्तै पाउनु यसको फाइदा छ । त्यो सेकेण्डको भरमा गरिने 'लाइक' र मिनेटको भरमा लेखिने 'कमेन्ट'ले गम्भीर पठन र जिम्मेवारपूर्वक प्रतिक्रिया जनाउने प्रक्रियालाई 'रिमुभ' गरिरहेको छ । गीतहरु पढिसकेपछि वनेमभित्रको एक गम्भीर र शक्तिशाली लेखक कतै त्यसैको शिकार भएको त होइन शंका उब्जिए पनि नेपाली गीतिसाहित्यले एउटा आशालाग्दो कृति भने प्राप्त गरेको छ ।
निराशाको बादल लाग्यो साथ छुटेपछि
कसलाई खुशी साचूँ मैले माया टुटेपछि
अक्सर उनका गीत यस्तै अन्त्यानुप्रास मिलाएर लेखिएका छन् । गीतमा भावना पक्षकै प्रधान हुन्छ संगै विचार पनि अन्तर्घुलित भएर आउनुपर्छ । उनका गीतहरु पढिसकेपछि उनको विचारभन्दा उनको भावनात्मक पक्ष छताछुल्ल देखिन्छ । र केही गीतले उनीभित्रको प्रतिभाशाली गीतकारितालाई पनि उद्घाटन गरेको छ ।
पहरामा फुले पनि मन पर्ने सुनाखरी
टिपेर लाउँ भने आकाशको जूनसरी
जम्मा एक सय बीस वटा गीत समाविष्ट 'बिर्सिएका गीतहरु'भित्र सम्झन लायक केही गीतहरु अवश्य छन् । समग्र गीतहरु पढिसकेपछि कृष्णकला वनेम संवेदनाकी प्रचुर खानी व्यक्तित्व पाइए पनि संवेदनालाई गीतिकलामा ढाल्न सक्ने शिल्पी कृष्णकला भने हुर्कदो अवस्थामा देखिन्छ । जरुर गीतमा संवेदना पक्षको उपल्लो महत्व हुन्छ तर त्यसलाई कलात्मक, लयात्मक र सताङ्गो ढर्रामा प्रस्तुत गर्न सक्नु गीतकारकै क्षमताको प्रश्न हो ।
गीतकार कृष्णकलाले आफ्ना गीतहरु कुनै न कुनै लयमा, प्यारोडीमा गाउँदै रचे कि ! गीतलाई भाकामा गुन्गुनाउँदै लेख्नु र पाठकले एक्कासी पुस्तकमा पढ्नुमा धेरै फरक हुन्छ । फेरि त्यसलाई संगीतमा ढालिएपछि भने गीतको मर्म गीतभित्रबाट बाहिर आउँछ । भाकामा गाउँदै रचिएको गीतले गीतकार स्वयंलाई त 'राम्रो'को प्रशस्त भ्रम दिन्छ तर श्रोता र पाठकमा पुग्दा त्यो राम्रो साँच्चिकै भ्रममा मात्र रुपान्तरण हुन्छ ।
आफ्नो गीति लेखनमा लिम्बु संस्कृति र संवेदनालाई प्रवेश गराउनु गीतकार कृष्णकला वनेमका सकारात्मक पक्षहरु हुन् । आफ्नो स्थानीयता र आञ्चलिकतालाई गीतमा नउनी नसक्नु एक भावुक गीतकारको नियती र कर्तव्य दुवै हो । उनका केही देशभक्तिपूर्ण गीत पनि संग्रहमा समाविष्ट छन् तर उनले गीतमा प्रयुक्त गरेको भाषा, विम्ब र प्रतीकमा नवीनता छ्रैन । त्यसैले उनका गीत पहिले नै पढि/सुनिसकिएका गीत जस्ता छन् जो अहिलेको नेपाली गीतसंगीतको बजारमा बारबार दोहोरिइरहेका सस्ता गीतहरु नै किन नहुन् । तर सँगै उनको औँलामा गन्न सकिने यस्ता गीत पनि छन् जसले उनलाई अलगधारको गीतकारको पहिचानतिर उन्मुख गराएको छ ।
दीपावली मेला जाँदा भयो चिनाजानी
धानै नाचौँ भन्यौ कान्छी मेरो हात तानी
सायद गीतकार कृष्णकला रोजगारीका रुपमा इजरायलमा बसेर पनि होला, उनले आफ्ना गीतमा स्वदेश, गाउँ फर्किआउने वाचाहरु गर्छिन् । गाउँमा धान नाचेको मेलाहाट, भीरपाखा, भञ्ज्याङलाई सम्झीन्छिन् । तमोर, शिवा, फुङ्नाम गाउँ, दोभान, मंशीरे पूर्णे, फोलेलुङ डाँडा, छातेढुङ्गा, अमरपुर, हेँवा दोभान, सङ्क्रान्तिबजार, चुवानडाँडा, इवा गाउँ, सल्लेरी पाखाका भाकाहरु उधिनेकी छिन् । यसले सम्बन्धित गीतहरुलाई जीवन्तता दिएको पाइन्छ ।
नेपाल विविधतायुक्त संस्कृतिले सजिएको मुलुक हो । वनेम लिम्बु जातिबाट नेपाली गीतसंगीतमा प्रवेश गरेकी प्रतिभा हुन् । अहिले आफ्नो स्वत्वको मुद्दा साहित्य, संगीत, राजनीति सबै क्षेत्रमा व्याप्त छ । तर वनेमले कतिपय गीतमा हिन्दू संस्कृतिका मूल्य मान्यतालाई दोहोर्याएकी छिन् । ती मूल्य मान्यता कृष्णकला वनेमका लागि धेरै 'भारी' छन् किभने आदिकवि भानुभक्त, राष्ट्रकवि माधव घिमिरेहरुले बोकाएको उक्त भारीलाई कृष्णकला वनेम लिम्बुहरुले बोकिरहनु आवश्यक छैन ।
संसारमा मायाका धेरै 'लाख' गीतहरु लेखिए होलान् कृष्णकलाकै सङ्ग्रहमा गन्ने हो भने दुइ तिहाइ गीत त मायाकै छन् । भनिन्छ, संसारमा माया छ र लेखिन्छ गीत । प्रेमका, विछोडका, मिलनका अनेक गीतहरु । तर साँचोमा त माया-प्रेमले पीडित र मायाप्रेममा अनुबन्धित मनुवाहरुले गाउने, सम्झीने गीत उतार्न सक्नु चाहिँ गीतकारको असली सामार्थ्य हो कि, खै र जेहोस् आफूलाई लागेको जानेको लेख्ने छुट सबैलाई छ ।
अन्तमा, नेपाली साहित्य प्रतिष्ठान हङकङले प्रकाशन गरेको बिर्सिएका गीत कृतिले जे भए पनि कृष्णकला वनेमलाई नेपाली साहित्यमा एउटा जिम्मेवारी थपिदिएको छ, त्यो हो, आइन्दा कृष्णकला वनेमलाई गीतिलेखनबाट भाग्ने छुट छैन । सरल र मध्यम खालका गीत सिर्जना गरेर पाठकमाझ उपस्थित कृष्णकलालाई आफ्नो कृष्णकला नामको 'कला'लाई गीत पक्षमा खरो रुपले प्रयोग गरेर अर्को सुन्दर कृतिका साथ आउनेमा पाठकहरु आशावादी छन् । यही आशा जगाउनु नै 'बिर्सिएका गीतहरु'को सफलता हो ।

Jul 2, 2011

कवि खेमनाथ दाहाल द्वारा लिखित "श्वेतपत्र" मा एक दृष्टिकोण

अर्जुन प्रधान
कवि खेमनाथ दाहाल द्वारा लिखित,उषा दाहाल द्वारा प्रकाशित "श्वेतपत्र" महाकाव्य हालसालै राष्ट्र कवि माधव घिमिरेद्वारा काठमाण्डौमा विमोचित भएको छ । वास्तवमा साधारण अर्थमा भन्ने हो भने एक सेतो कागतमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्तिलाई श्वेतपत्र भन्ने गरिन्छ तर कवि खेमनाथ दाहालले श्वेतपत्रलाई ऐतिहासिक र वर्तमान यथार्थताका तानाबानाले सजाएर देशको सिमाना, राष्ट्रको अस्मिता ,छिमेकीको सम्बन्धको स्थिति,अझ प्रष्ट शब्दमा भन्ने हो भने नेपालको अग्रगमन, सिक्किम स्वतन्त्रताको लागी पथप्रदर्शन र भुटानमा गणतन्त्र स्थापनाको प्रस्थान विन्दु र छिमेकी ठूला मुलुकले साना मुलुकप्रति गरेको हैकमवादको उजागर गर्दै दक्षिण एशियाको सामुहिक उत्पिडन प्रति सचेत गराउने उद्देश्यले रचना गरिएको आभास पाइने कृति हो श्वेतपत्र महाकाव्य भन्नमा अत्युक्ति होला ।
श्रद्धाञ्जलि(कविता सग्रह)रश्मि (खण्डकाव्य )योद्धा(काव्य)र हावर्डको चौतारीमा (कविता सग्रह)कृतिहरु रचना गरिसकेका कवि दाहालको लेखाइमा आफ्नै वैशिष्टता छ । उनका हरेक कृतिमा अन्य,अत्याचार,शोषण,उत्पीडन सितको भीडन्त छ । श्रद्धाञ्जलीमा गोर्खाल्याण्डको अस्तित्वको लर्डाई लड्नेहरुप्रति श्रद्धा सुमन र नेपाल भित्रका विकृति विसंगति माथि तिखो प्रहार,रश्मिमा सामन्तवाद विरुद्धको आवाज ,योद्धामा ब्रिटिश साम्राज्यले नेपाली गोर्खाली माथि गरेको अत्याचार विरुद्धको शंखनाद छ भने हावर्डको चौतारीमा अमेरिकाले तेश्रो मुलुक प्रति गर्ने व्यबहारको यथार्थता छ ।
पन्घ्र सर्गमा विस्तारित श्वेतपत्र महाकाव्य पूरै अनुष्टुप् छन्दमा रचना गरिएको छ । नाटकीय शैलीमा हिमालपुत्रीहरु नेपाल,सिक्किम र भुटानलाई तीन दिदी बहिनीको रुपमा चित्रण गरी तीन मध्ये माइली सिक्किमलाई कसरी नव साम्राज्यवादीले हडप गर्यो । अरु बांकी दुर्इलाई कसरी अस्तित्वहीन बनाउन प्रयत्न गरिदैछ भन्ने मार्मिक यथार्थताको एकपक्षबाट यस कृतिमा बर्णन गरिएको छ भने अर्को तरवबाट सशक्त रुपमा प्रतिकार गर्दै चेतावनी दिइएको छ ।
मशाल जब सल्कन्छ झण्डा बोकेर स्वत्वको
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको
जनता शक्ति हो मान प्रलय छालको सरि
जस्तै शक्तिहरु ढल्छन् वशमा त्यसको परी ।।
पृष्ठ ८
आफ्नो लेखनीलाई राष्टबादको ढलानमा ढालेर कुदेको श्वेतपत्रमा कवि दाहाल प्रगाढ राष्ट्रवादको पृष्ठ पोषण गर्दै राष्ट्र रक्षाका लागि सबैलाई एक हुनु पर्छ भन्ने सन्देश सम्प्रेषण गर्न किञ्चित पछि पर्दैनन् र आफ्नु स्वाधिनता बाँधिएको नेललाई खोल्न सडघर्ष गर्न आग्रह गर्दै भन्छन्
नखाऔं अब भिक्षाका द्रब्य अन्नहरु पनि
नलाऔं दानका वस्त्र जस्तै नांगै भए पनि
भोकभोकै बरु बाँच गरी संघर्ष स्वत्वको
फुकाल नेल यो मेरो अर्काका परतन्त्रको ।।
पृष्ठ १००
भुटानमा विभिन्न समयमा उठेका प्रजातान्त्रिक आन्दोलनहरुका वारेमा व्यापक चर्चा गरिएको श्वेतपत्र महाकाव्यमा महाकवि आफू नै संलग्न भएको आभाष हुने गरी सत्य तथ्य घटनाका स-साना बिवरणलाई पस्कन सफल छन् । महासुर क्षेत्रीलाई काँचो छालाकोधोक्रामा बाँधेर सुनकोश नदीमा फालेको जघन्य अपराधको घटनालाई यसरी गरेको वर्णनले कसको हृदय पग्लन्न ।
काढेर वृषको चर्म जननायकले भरी
सियोले चर्म धोक्राको मुख सिएर बेस्सरी
सुनकोश नदीभित्र डुबाएको कुकृत्यता
सम्झँदा अहिलेसम्म ज्वाला बल्छ कता कता पृष्ठ १३४
भुटानी राजतन्त्रले गरेको कठोर दमन ,जनतालाई मातृभूमि छाड्न पारिएको बिवशता माथि प्रहार गर्दै कवि नेपाल र विश्वका कुना कुना सम्म पुर्याइएका शरणार्थीलाई आफ्नो अधिकार शान्ति अथवा क्रान्तिको जुन सुकै मार्गबाट भए पनि पुन प्राप्त गरी निर्वाध रुपले स्वदेश प्रवेशका लागी भुटान आमाबाट गरिएको आहृवानलाई यसरी व्यक्त गछन् ।
कदा नबिर्स हे मेरा कर्णधार तिमीहरु
भत्केका घर तिम्रा र निमुखा स्वजनैहरु
हेर्दै छन् पथ तिम्रै त्यो फर्कनेछौ भनीकन
क्रान्तिको पुञ्ज बोकेर आउँदै छौ भनीकन ।।
पृष्ठ १६७
आज दक्षिण एशियाका साना राष्ट्रका निम्ति भारतको भूमिका सन्तोष जनक नरहेको कुरा जग जाहेर छ ।पाकिस्तान विभाजन देखि लिएर श्रीलंका को गृहयुद्ध होस् अथवा भुटानमा जातीय सफाया अभियान ,नेपाल का आन्तरीक मामलामा अनावश्यक हस्तक्षेप ,सिक्किमको अन्याय पूर्ण विलय सबैमा भारतको तानाशाही प्रवृत्तिको नांगो नाचप्रति लक्षित गर्दै कवि लेख्छन्
लियो दक्षिणले आमा नीति दुष्ट प्रवृत्तिको
बाली छिमेकमा आगो ताप्छ ज्वाला अशान्तिको
तर्सथ कहिल्यै आमा शान्ति छैन छिमेकमा
बड्गलादेश,बर्मा र पाकिस्तान सिलोनमा ।।
पृष्ठ १४१
सिक्किमलाई भारतमा गाभिएको कुरालाई कतिपय भारतीय विव्दानहरुलेनै निन्दनीय कर्म भनेका छन् । सुनन्दादत्त रायले स्म्यास् एण्ड ग्रैव जस्तो कृति जसमा सिक्किमकेा भारतमा विलयनको वस्तुनिष्ठ तथा सन्तुलित अन्तरकथा लेखेर विश्व समक्ष राखी सकेका छन् भने श्वेतपत्र महाकाव्य मार्फत कवि खेमनाथ दाहाल गाभ्न के देश अर्काको सक्छ अर्कै विदेशले ,विधेयकहरु ल्याई गाभ्न मिल्छ विधानले,त्यसै हो, हुन्छ यो मान्य भने के अन्य देशले, गाभ्यौ भारत भन्दैमा मान्छ भारतवर्षे भन्दै विश्व सामु यस्तो यक्ष प्रश्न राख्दछन् ।त्यतिमात्र होइन सिक्किम आमाका सन्ततिलाई आफ्नो गुमेको अस्मिता फर्काउन उठ जाग भन्दै भन्दछन् ।
झुप्पा सुनाखरीका र हिमाली टाकुराहरु
भगवान् बुद्धका आँखा घण्ट मन्दिरकाहरु
तिमीलाई सधै भन्छन् जाग रे अब सिक्किमे
नहोऊ अब मुर्दाझैँ आफ्नो अस्तित्व बिर्सने ।।
पृष्ठ १०४
सुगौली सन्धि वास्तबमा बलका भरमा लादिएको सन्धि हो । यसको नेपालको तर्फबाट अनुमोदन भएकै छैन भन्दै कवि दाहालले यस असमान सन्धिलाई चाडो भन्दा चाडो खारेज गर्नु पर्ने कुरामा जोड दिदै सन्धिको दुर्गन्ध नामक शीर्षकमा यावत् वृत्तान्तको अति मार्मिक तरवबाट उत्खनन गरेका छन् । साथै नेपाली मूल भूमिबाट छुट्याइएका भू भाग र सन्ततिलाई नेपाल आमा र उनका सन्ततिले कदापि भुल्न,त्याग्न सक्तैनन् भन्ने कुरालाई यसरी नेपाल आमाको कथनबाट प्रष्ट पारेकाछन् ।
सिरमौर म सम्झन्छु गोर्खाल्याण्ड झनै अझ
मबाट दूर पार्नाले टुहुराझैँ भए सब
हरिव्दार र अल्मोडा,कुमाउ,देहरादुन
गड्गा र जमुना सम्झी काट्तै छु तड्पँदै दिन ।।
पृष्ट १११
राष्ट्रिय स्वाभिमानको कुरा,राष्ट्रको अखण्डता ,देशप्रेम तथा राष्ट्रवादकै सेरोफेरोबाट ओतप्रोत भई लेखिएका यस कृतिका हरेक श्लोकहरु आफैमा ओजपूर्ण र उपमेय छन्,। सायद यिनै कुरालाई दृष्टिगत गरी श्वेतपत्रको भूमिकामा प्रा. गोपिकृष्ण शर्मा लेख्नुहुन्छ समाजबाट बिषय लिएर कलात्मक ढंगले काव्यिक रुप दिइएको श्वेतपत्र महाकाव्यमा युगबोधका साथै प्रगति र रुपान्तरणका सन्देशहरु पाइन्छन् ।श्वेतपत्रको घोषणाले अब हिँड्ने यात्रा पथको निर्देश गरेको छ । इतिहास र वर्तमानमा वर्णनप्रधान विषय यहाँ आएर काव्यिक बनेका छन् र साहित्यिक मूल्यवत्ता कायम गरेका छन् । र्इर्ष्यालाग्दो कृति श्वेतपत्र भन्दै भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल यस कृतिको भूमिकामा लेख्नुहुन्छ नेपाली मूलको भएर हामीले संसारका जुनसुकै कुनामा रहे पनि आफ्नो जात,धर्म र संस्कृतिको बचावटका लागि गरेका संघर्षको कथा हो यो महाकाव्य । कवि दाहालबाट अझ महत्वपूर्ण कृतिहरुको अपेक्षा गर्दै शुभकामना
अन्त्यमा
नेपालको सबै भुमि सुगौली सन्धि पूर्वको
भुटानको सबै भाग कुचविहारसम्मको
मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमे प्रति
बनौं उत्तरदायी र लियौं यौटा नयाँ गति ।।
पृष्ट २३०

Dec 10, 2010

मोडल तथा गीतकार गीता पालुङवाको हाङनेर्इल्ले

दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"
हङकङमा गीता पालुङवा "ईक्शा"लाई परिचय गरार्इहाल्नुपर्ने आवश्यकता छैन । नेपाल लिम्वुवानमा पनि गीता पालुङवाको चर्चा उतिकैछ । यद्धपी गीताको छोटो परिचय प्रस्तुत गर्न चाहान्छु । ताप्लेजुङ वजारसंगै जोडिएको दोखु गाउकी गीता प्राविको शिक्षक चर्चित स्व. तुलसी पालुङवाकि एक्ली छोरी हुन् । उनी पनि स्थानीय स्तरका कलाकार थिए । गीताको एकजना भाई छन् । गीता ताप्लेजुङ वजारको भानु स्कुलवाट एसएलसी दिएर १६ वर्षो कलिलै उमेरमा हङकङ प्रवेश गरेकि थिईन । उनलाई हङकङ आएतापनि यहाको आधुनिकताले छोएन । छोटो फ्रक तथा छोटो हापेनले लोभ्याएन । डिस्कोले मन तानेन । वरु आफ्नै जातिय भाषा, पहिरन प्यारो लाग्यो । संस्कार संस्कृतिको मोह रहयो । त्यसैले उनले गुन्यू चोली सारी लगाईन । गहनामा सिरवन्दी, कण्ठ, सुनको फूल लगाईन । उनले गीत कवितावाट जनजातिय आवाजहरु उठार्इन । उनी जनजातिय संगठनहरुमा रहेर जानजातिय कुराहरुलाई उजागर गर्ने व्यक्तित्व पनि हुन् । उनी सम्पादक तथा पत्रकार पनि हुन् । गीता पहिले कवयत्रि हुन । त्यसपछि गीतकार । उनी उद्घोषिका पनि हुन् । उनले अन्य २ वटा नेपाली गीती भिसिडिहरु पनि यस अगाडिनै निकालीसकेकी थिईन् । हङकङमा यीनै विषयहरुमा स्थापित गीता अहिले आएर मोडल पनि भएकि छिन् । उनी राम्रो डान्सर पनि हुन् । त्यस्तै गीत प्रस्तुत कर्ता भएकिछिन् । यसरी गीत संगीतमा रमाउने गीता पालुङवाले भर्खरै लिम्वु भिसिडी तथा त्यसको म्यूजिक भिडियो "हाङनेर्इल्ले" वजारमा ल्यएकी छिन् । जुन हेरेर लिम्वु म्यूजिक भिडियो, कलाकारहरुको स्तर पनि गहकिलो भएको महसुस भएको छ । कलाकारहरुको अभिनय खारिएको छ । विशेष गरेर गीता पालुङवा मोडल र हेमराज अङछङवो मोडल को भूमिका प्रसंसनीय छ । हङकङका याक्थुङ सामाजिक कार्यकर्ताहरु यी दुवैले लिम्वुहरुको वारेमा गरेको कार्य सह्रानीय मान्नुपर्दछ । यसमा अभिनित अन्य कलाकारहरुको अभिनयमा पनि शंका गर्ने ठाउ छैन । लिम्वुवानको पवित्र तथा रमणीयस्थल मेन्छ्यायेम गुफा पोखरी क्षेत्र -तेरथुम संखुवासभा), ताप्लेजुङ चांगेको गोर्जा तथा चागे गाउ तथा फक्ताङलुङ-कुम्भकर्ण) क्षेत्रको सम्पूर्ण दृश्यहरु समेटेर खिचिएको छ । ताप्लेजुङको रमणीय स्थल सुकेटार र त्यहांवाट समेटिएर खिचिएका पाथीभरा, फकताङलुङ तथा वरिपरिको हिमाली पहाडि दृश्ष्य लगायत ताप्लेजुङ वजार, भानु स्कूल, दोखु गाउ लगायत ताप्लेजुङको अन्य क्षेत्रहरु तमर र अन्य नदीहरुको कलकल वगाईहरु तथा पाचथर क्षेत्रका विविध स्थानहरु समेटिएको उक्त म्यूजिक भिडियोले लिम्वु र लिम्वुवानको सुवास भरमन्दुर वोकेको पाईन्छ । यी रमणीय दृश्यहरुको रसास्वादन गर्न पाउने जो कोही पनि मन्त्रमुग्ध नभईरहन सक्दैनन । फिल्मी निर्माण क्षेत्रमा लाग्नेहरुले अवश्य आगामी दिनहरुमा यी क्षेत्रहरुलाई समेट्ने देखिन्छ । यासेली योङयाङको हाक्पारे ख्याली तथा खारिएको अभिनय, हेमराज लिम्वु र सावित्रा र्इङनामको धान नचाईले साच्चै याक्थुङ समाजको जीवन्त अनुभूति गराउदछ । गीता पालुङवाको पढार्इ, शिक्षिका र स्वास्थ्य कर्मीले पेशागत कुराहरुलाई उजागर गरेको पाईन्छ । यसले लिम्वु सांगितिक विकासलाई आधुनिकतातिर मोडेको पाईन्छ । यो एल्वमको अभिनय हेरेर गीता पालुङवाको मोडलिङ क्षेत्र तथा अभिनय क्षमता स्थापित भएको छ । उनी लिम्वु भिडियो म्यूजिक क्षेत्रको अभिनय क्षेत्रकि चर्चित मोडल भएकी छिन । यसमा समेटिएका अन्य गीतहरुले पनि माया पिरती तथा रोमाञ्चकतालाई उजागर गरेको पाईन्छ । गीतकार, मोडल तथा एल्वम प्रस्तुतकर्ता गीता पालुङवाको आंटिलो प्रयासलाई प्रसंशा गर्नैपर्दछ । उनी लिम्वु महिलाहरुमा पहिलो भिडियो निर्माण गर्ने हुन । उनी जुझारु युवती हुन् । उनको यस्तै कार्यक्षमता देखेर पहिलेनै किरात याक्थङ चुम्लुङ हङकङले प्रसंशा पत्र प्रदान गरेको थियो । उनवाट लिम्वु समाजले धेरै आश गर्ने ठाउहरु छन् भने उनको कार्यहरुलाई पछ्याउनुपर्ने पनि हुन्छ । आगामी दिनहरुमा पनि उनवाट यस्तै अति राम्रा गीतहरु तथा भिडियो म्युजिकहरु आउन सकुन् । यस हाङनेर्इल्लेमा अभिनय गर्ने अन्य कलाकारहरुमा सिर्जना पन्धाक, उपासना नेम्वाङ, साहारा सेर्मा, अर्जुन मादेन, सविन तुम्वाहाम्फे, सुरेश नेयोङ छन् भने गायक गायिकामा मनु नेम्वाङ, विष्णु चेम्जोङ, सीता सिंगक, सरिता अङछङवो, दिपक लिम्वु, यासेली योङयाङ, सुसन साम्सोहाङ रहेका छने । निर्देशक रवि सेर्मा, सागर सुव्वा, छायाङकन वावु श्रेष्ठ, उत्पादक तथा वितरक र्इना क्यासेट सेन्टर रहेको यो सातवटा गीत समेटिएको भिडियो म्यूजिकको निर्मात्री आलमाया आङवुहाङ(पालुङवा)को रहेको छ । सेवारो ।

Oct 16, 2010

लिम्बुवान राज्यको सँक्षिप्त र्इतिहास र पुनः स्थापना पुस्तकभित्र

सुरेश सुव्वा
भनिन्छ फलाम तातिएको बेला त्यसलाई ठिक आकार दिन ठिक समयमा घन चलाउनु पर्दछ । हो त्यस्तै दिल बहादुर पालुङवा नेपाल कुश्शाद्धारा लिखित "लिम्बुवान राज्यको सँक्षिप्त इतिहास र पुनः स्थापना" पुस्तक सही समयमा लेखिएको एउटा दस्तावेज हो । लिम्बुवान पुनः स्थापनाका लागी भनौ वा लिम्बुवान राजनीतीमा होमीएका राजनितीकर्मी (राजनितीशास्त्रमा स्नातकोत्तर, अर्थशास्त्र र अंग्रेजी साहित्यमा स्नातक गरेका) साहित्यकार, इतिहासकार तथा लेखक दिल बहादुर पालुङवाले उपन्यासहरु त्यान्द्रो, छोटो पmक र किरात लाजे लिम्बुवान सामान्य ज्ञान लगायतका कृतिहरु प्रकाशीत गरी सक्नु भएको छ । ति अघिल्ला पुस्तकहरुमा भन्दा यसमा उहाले धेरै खोज सोध तथा अनुसन्धान र मेहेनत गर्नु भएको छ । यस पुस्तकलाई लेखकले तिन खण्डमा बिभाजन गर्नुभएको छ । खण्ड क मा- लिम्बुवानको इतिहास, सिमाक्षेत्र, लिम्बुवानका राजाहरु, व्यक्ती वयक्तीत्वहरु, र ऐतिहासीक स्थलहरु समाबेस गरीएको छ । खण्ड ख मा- लिम्बुवान राज्यको पुनः स्थापना सम्बन्धी आफ्नो अमुल्य बिचारहरु, लिम्बुवान स्वायत्त अधिकार पुनः स्थापित हुनु पर्छ भन्ने तर्कहरु र लिम्बुवानमा स्थापित गर्न सकिने पक्षहरु अघि सारिएको छ । त्यस्तै खण्ड ग मा- लिम्बु जातीहरुको आकृति, स्वभाव र बिशेषताहरु, भेषभुषाहरु, चार्डपर्वहरु र लालमोहरहरु लगायत बिभिन्न सामाग्रीहरु राखीएको छ । समग्रमा उहाँले छैटौ शताब्दी देखि एक्काईशौ शताब्दी सम्मको लिम्बुवानको अवस्थिती समेट्नु भएको छ । पुस्तकमा यिनै लिम्बुवानको ऐतिहासीक बिशेषताहरु, ऐतिहासीक स्थलहरु, धर्म सँस्कार र सँस्कृतीहरु, ऐतिहासीक अन्दोलन र घटनाहरु, लिम्बुवानको राजाहरु, योद्धाहरु सहिदहरु र बिर पूर्खाहरुलाई प्रमाणको रुपमा पेस गर्दै लिम्बुवानको औचित्य अनि महत्वमाथि प्रकाश पार्नुभएको छ । जसले लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाको कुरा उठाउदा लिम्बुवानमा लिम्बुजातीहरुको जनसँख्या खोज्नेहरुलाई जवाफ दिएको छ । जसले कथित नेपाल एकिकरणको समय देखि दशबर्षो जनआन्दोलन सम्म आईपुग्दा लिम्बुवानका लागी लिम्बुवानी जनताहरुले बिभिन्न समयहरुमा गरेको आन्दोलनहरु, सघर्षहरु, उनिहरुले निभाएका भुमिकाहरु र आवाजहरु नसुन्ने, नबुझ्ने वा सुनेर, बुझेर पनि बुझ पचाउनेहरुलाई जवाफ दिएको छ । अनि हाल लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाका लागी सघर्षरत सम्पुर्ण लिम्बुवानबादी नेता, कार्यकर्ता र लिम्बुवानबासी जनताहरुका लागी यो पुस्तक एउटा दरिलो प्रमाण बनेको छ । लिम्बु र लिम्बुवानको बारेमा पुस्तक भन्छ, लिम्बु पूर्खाहरुले प्राचीनकाल छैटौ शताब्दीदेखि र्इसापूर्व पाँचहजार बर्षम्म बिभिन्न काल खण्डमा किरात राज्यको रुपमा बिशाल क्षेत्रमा राज्य गरेका थिए । यहि जातीको एक शाखा कालान्तरमा लिम्बु भएर निस्कियो । उनिहरुले राज्य गरेको तथा बसोबास कायम गरेको भुःभाग लिम्बुवान भयो । त्यस्तै-छैटौ शताब्दीतीर लिम्बुवान क्षेत्रमा आठ राजाहरुले राज्य गर्दथे । तर उनिहरुले जनताहरुलाई बढी अन्याय गर्न थाले । जनताले अन्याय महसुस गरी क्रान्ती छेड्ने भए । धनुकाण द्धारा युद्धको आहृवान गरी आठ राजाहरु बिरुद्ध लड्दा लड्दै जनताको बिजय भयो । त्यसपछि उनिहरुको चुम्लुङ्ग बसी धनुकाणले जितेको त्यो भुमिलाई लिम्बुवान नामाकरण गरे । र धनुधारी उनिहरुलाई लिम्बु घोषित गरे । उनिहरुले जितेको भुःभागलाई दश थुम -संघ) मा बिभाजीत गरी सँघीय अवधारणामा राज्य सँचालन गरे । पछि सात उपथुमहरु छुट्याईयो भनि उल्लेख गरीएको छ । यसलाई लिम्बुवानमा हालसम्म जुनसुकै ठाँउहरुमा प्रयोग हुदै आएको सत्र थुम दश लिम्बुवान भन्ने वाक्याँसले समेत पुष्टी गर्दछ । यसैगरी गोर्खाका राजा पृथ्बी नारायण शाहाले लिम्बुवानसँगको लर्डाईमा सत्र पटक भन्दा बढी हारखानु परेपछि लिम्बुवानको केन्द्रिय राजधानी बिजयपुरमा १८३१ साउन २२ गते गरीएको द्धिपक्षीय सम्झौता पत्र -तसल्ली लालमोहर) लगायतका कागजी प्रमाणहरुले यस पुस्तकलाई अझ गहकिलो बनाएको छ । पुस्तकमा भनिएको छ । यसरी १८३१ भन्दा अघि स्वतन्त्र तथा १८३१ पछि स्वायत्त राज्यको रुपमा रहेको लिम्बुवान राज्यलाई केन्द्रीय सरकारले गिद्धे नजर लगाउन छाडेन । अनेकौँ बाहानामा एकपछि अर्को गर्दै लिम्बुवानको अधिकारहरु खोसिदै लगीयो । र्सबप्रथम त लिम्बुवानमा लिम्बुहरुलाई भुमीको अधिकारबाट अलग गराउन १९६३ तिर लिम्बुवानमा नापी गर्ने कार्य भयो । त्यस्तै लिम्बुवानलाई दबाउन लिम्बुवानको धनकुटा, र्इलाम, ताप्लेजुङ्ग, तेह्रथुम लगायतका ठाँउहरुमा केन्द्र सरकारले अड्डा अदालतहरु राख्न तयारी सुरु गर्यो । यसै शिलशिलामा १९५२ मा ताप्लेजुङ्गमा अमिनी अड्डा राख्ने सवालमा लिम्बुवानी जनताहरुबाट ब्यापक बिरोध गरीएको थियो । यही बिरोध कार्यमा सहभागी आठर्राई हाङ्गपाङ्गका लिम्बुवानबादी होनहार ब्याक्ती बाजहाङ्ग आङ्गबुहाङ्ग लिम्बुको हत्या गरीएको थियो । यसरी लिम्बुवानमा केन्द्रीय सरकारले हत्याहिँसा सँगसँगै आफ्नो र गैर लिम्बुहरुको बाक्लो उपस्थिती सहीत बस्ती बसाल्न थालियो । सरकारको यस्तो कार्यप्रति लिम्बुवानी जनताहरुले १८३१ को सम्झौता उलङ्गघन नगरीयोस भनी बिभिन्न समयहरुमा बिभिन्न खालको बिरोध पत्रहरु, मागपत्रहरु र आन्दोलनहरु गरीएको थियो । समयको गतीसगै केन्द्र सरकार र लिम्बुवान बिच यो क्रम जारी रहदा २००७ सालमा काङ्गग्रेसले राणा शासन बिरुद्ध शसत्र क्रान्ती सुरु गर्यो । सरकारसँग रुष्ट लिम्बुवानका लिम्बुहरुले तत्कालीन काङ्गग्रेस पार्टीमा आबद्ध भई क्रान्तीबाट नै १८३१ को सम्झौता अनुसार लिम्बुवान पुन स्थापना कठोर निर्णय गर्दै, जी बी याक्थुङ्गबा बी बी चेम्जोङ्ग लगायतको अगुवाईमा लिम्बुवान सशत्र आन्दोलनमा होमीयो फलस्वरुप क्रान्ती सफलताकै क्रममा लिम्बुवान क्षेत्रका जनमुक्ति सेनाका कमाण्डर जी बी याक्थुङ्गबाको नेत्तृत्वमा राणाहरुलाई खेदाई, धनकुटामा ललीत बाहादुर तुम्बाहाङ्गफे प्रमुख रहेको लिम्बुवान प्रान्तीय सरकार गठन गरीएको थियो । उक्त सरकारमा - प्रेम बाहादुर माबोहाङ्ग- गृहमन्त्री, कप्तान कमान सिँ लिम्बु- रक्षामन्त्री, चन्द्रमान कन्दङ्गवा- वन मन्त्री, सेर बाहादुर लिम्बु- स्थानीय बिकाश मन्त्री, स्व काजीमान कन्दङ्गवा- शिक्षा मन्त्री, र स्व गुञ्जमान आङ्गबुहाङ्ग- स्वास्थ्य मन्त्री रहेका थिए । तर क्रान्ती सफलता सँगै काङ्गग्रेसले उक्त प्रान्तीय सरकार बिगठन गरी लिम्बुवान र लिम्बुवानी जनताहरुलाई धोका दिएका थिए । लेखकले यसरी २००७ सालमा लिम्बुवान र लिम्बुहरुमाथी गरेको षडयन्त्र अर्थात आफ्नो स्वार्थको लागी लिम्बुहरुलाई प्रयोग गरेको कुराहरुलाई स्मरण गर्दै गराउर्दै, आज देश सँघिय लोकतान्त्रीक गणतन्त्रको सस्थागत बिकासका लागी अघि बढीसकेको अवस्थामा समेत सँघियतामा जादा देश टुक्रीन्छ भन्ने काङ्गग्रेस पार्टीको बिगत र वर्तमानको उसको राजनीतीक पृष्ठभुमीलाई केलाउदै काङ्गग्रेस लिम्बुवानका लागी मात्र नभई सम्पूर्ण सँघियबादी पार्टी र जनताहरुका लागी धोकेबाज भनिएको छ । त्यस्तै १० बर्ष लामो जनयुद्ध लडेको माओबादीले जनयुद्धको बेला सँघात्मक शासन ब्यावस्थाको वकालत गर्दै, आत्मानिर्णयको अधिकार सहीत जातीय राज्यहरु, क्षेत्रिय राज्यहरु, अनि जातीय मुक्तीका कुराहरु, लिङ्गीय मुक्तीका कुराहरु, बर्गीय मुक्तीका कुराहरु लगायत सबैखाले मुक्तीका कुराहरुलाई महत्वका साथ अघि सार्यो । त्यसर्थ सम्पूर्ण मुक्ती चाहाने नेपालीहरुले माओबादीलाई साथ दिएको जीउदो र्इतिहास छँदाछदै, आज ऐतिहासीक पृष्ठभुमीको आधारमा लिम्बुवान स्वायत्त राज्यको पुन स्थापना हुनुपर्छ भन्दा भन्दै लिम्बुवानी जनताको चाहाना बिपरीत झापा मोरङ्ग र सुनसरीलाई टुक्राएर कुनै र्इतिहासमा नभएको कोचिला राज्यको अवधारणा ल्याउनु र लिम्बुवानलाई ५ जील्लामा खुम्चाउनु खोज्नु लिम्बुवानी जनताका लागी अन्याय र सरासर गलत भएको कुरा यो पुस्तकमा स्पस्ट लेखिएको छ । पुस्तकमा धेरै ठाँउहरुमा सत्यको नजीक रहेर लिम्बुवानको सिमानाको कुरा उर्ठाईएको छ । जहाँ अलग अलग समयमा अलग अलग सिमाहरुको चर्चा गरीएपनि हालको सिमाना- पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/सँखुवा खोला, अरुण हुदै सप्तकोशी, उत्तरमा हिमालय तिब्बत चीन, दक्षिणमा भारत पर्दछ भनिएको छ । त्यस्तै जनसँख्याको सवालमा पनि बिभिन्न काल खण्डको इतिहासहरु, रितिथितिहरु, धर्म सँस्कार र सँस्कृतीहरु अनि बिभिन्न थरीका लिम्बुहरुको वँशावली लगायत धेरै धेरै प्रमाणहरु पेस गर्दै ऐतिहासीक पुष्ठभुमीको आधारमा लिम्बुवान राज्यको पुन स्थापना हुनु पर्छ भनिएको छ । यसैगरी चाहे त्यो उनिहरुको (लिम्बुहरुको) मुलुकमा एक जना मात्र लिम्बु हुन् या नहुन् इतिहास इतिहास हो यसलाई कसैले मोड्ने चेष्टा गर्नुहुदैन र मोडीदैन पनि । त्यसर्थ यही र्इतिहासको खुड्किलो टेक्दै ऐतिहासीक पृष्ठभुमीको आधारमा लिम्बुवान पुन स्थापना हुनुपर्छ भन्ने जस्ता तर्कसँगत बिचारहरु अघि सारीएको छ । अन्त्यमा, पुस्तक सानो भएपनि यसमा समेटीएका लिम्बुवान सम्बन्धी अनेकौ सामाग्रीहरुले यसलाई निकै महत्वपूर्ण बनाएको छ । पुस्तकले लिम्बुवान पुन स्थापनाको कुरा लिम्बुहरुमा अञ्जान जन्मिएको भावना या रहर होईन भनि प्रमाणीत गर्दछ । अनि लिम्बुवान स्वायत्त राज्य पुन स्थापनाका लागी सँघर्षरत लिम्बुवानबादी पार्टी र सँगठनहरुलाई महत्वपूर्ण सहयोग पुर्याउने कुरामा दुइमत छैन् ।

Aug 5, 2010

अविचन्द्र र्इङनामको स्मृति

दिल पालुङवा लिम्वु "नेपाल कुशशा"
भर्खरै नेपाली सांगितिक आकाशमा एउटा र्इट्टा थपिने काम भएकोछ स्मृति एल्वमवाट । यो अविचन्द्र र्इङनाम लिम्वुको रचनामा नेपालका चर्चित तथा नवोदित गायक गायिकाहरुले स्वर दिएका छन् । गीतहरु सवै कर्णप्रीय छन् । यी गीतहरुमा जानु अघि अविचन्द्र र्इङनामको व्यक्तित्ववारे जाऔं । वास्तवमा उनी सामाजिक कार्यकर्ता वा नेता हुन् । नेपालमा पनि सामाजिक काम गर्दै आएका आठरार्इ र्इवाका प्रतिष्ठित र्इङनाम परिवारका हुन् । हङकङमा सन् २००० देखि चुम्लुङ हङकङका अध्यक्ष भएर चुम्लुङलाई एक उचाईमा पुर्याउन सफल उहा त्यही समयमा हङकङ नेपाली महासंघको उपाध्यक्ष पनि भएर हङकङेली नेपालीहरुमा सामाजिक कार्यकर्ताको वा नेताको रुपमा स्थापित भए । वर्तमान अवस्थामा लिम्वुवान राष्ट्रिय मोर्चाको गरिमामय महासचिव पदमा रही लिम्वुवान स्वायत्त आन्दोलनमा सरिक उनी लिम्वुवानको अग्रणी नेता तथा भविष्यमा नेपालको शासकीय उच्च तहमा पुग्ने व्यक्तित्व हुन ।
यसको साथै तत्कालै गिती सिडी निकालेर सांगितिक क्षेत्रमा पनि उतिकै सशक्त भएर आउनुभएको छ । उहाको पहिलो एल्वम, दिन महिना वर्षपनि केही वर्षपहिल्यै निस्केको थियो । तर अहिलेको अवस्थामा आईपुगेर धेरै खारिएको पाईन्छ । उहा खेलकुद र लेखनमा पनि उतिकै सक्रीय हुनुहुन्छ । त्यसैले वहुमुखी प्रतिभाका धनी भनेर उहालाई सम्वोधन गर्न नसकिने ठाउ छैन ।
अव उहाको गीतपट्टी जाऔं ।
सलल वगेको कावेली
झर्यो खोला त्यो तम्वर दोभान
हृदयमा सांचेको पिरती
अधुरोभो कलिलो जोवानमा
आफ्नै गाउवेसी आठरार्इवाट तल निगुरादेन र आङवुङको जोड्तीमा देखिने तम्वर र कावेली खोलाको दोभानलाई हेर्दै आफ्नो अर्धाङगीनीलाई सम्झीदै प्रस्फुटन भएको गीतको आभाष पाईन्छ यसमा । अर्थात स्वर्गीय जेठी श्रीमतीलाई सम्झना गरेको आभाष मिल्दछ । लामो समयसम्म हांसी र खुसी गर्दै वांच्ने प्रण गर्दागर्दै नियतीले उहालाई उहावाट चुडेर लगेकोले कलिलै उमेरमा केही पनि दिन नसकोको पिरतीहरु अधुरै भएर वेलावेला तड्पाउदै रहेको पाईनछ ।
तर....
उडाइलाने त्यो वायु विमान
गुर्डाई लाने छकछके रेलैले
लेखिदिने त्यो भावि कलम
मेटि दिने कर्मै को खेलैले
कर्मको खेल र भावीनै यस्तो भएपछि मुटुमाथि ढुंगा राखेर वांच्नु सिवाय के हुदोरहेछर । उहाको दोस्रो गीत स्वर्गीय श्रीमति कृष्णमाया र्इङनामकाको रचना तथा संकलन रहेको छ भने स्वर मनु नेम्वाङले दिएकी छिन् ।
ति फूलहरु तिमीले, समालेर राख्नु ।
मत माली हुन सकिन, सृजना नै मात्र ।
चाहेर मात्र नहुने रहेछ, बाध्यता नै यस्तो ।
भाविले यो के लेखि नै दियो ।
मलाइ माफ, गरि देउ....।
यसमा आफ्ना सन्तानहरुलाई समालेर राख्ने वाचा गराएकी छिन् । फकताङलुङ उल्लेखित गीतले लिम्वुवानको शिरको प्रतिनिधीत्व गरेको छ ।
भाले मयुर गीतले खुव नचाउनेछ । यो जोडी जोडी नचाउने गीत हो । कुशल थलङ र जसोदा सुव्वाले स्वर दिएका छन् । केही गीतमा आफ्नै छोरी निर्मलाको गीत र कविता र्इङनामको स्वर रहेको छ । उनले पनि निरन्तरता दिएमा स्वरले आफ्नै स्थान सुरक्षित गर्ने देखिन्छ । यस स्मृतिको निर्मात्री सोम कुमारी र्इङनाम रहेकी छिन् ।
समग्रमा भन्नुपर्दा गीतकार अविचन्द्र र्इङनामको गीत राम्रै छन् भने गायक गायिकाले पनि राम्रै स्वर दिएका छन् । यस एल्वममा संग्रहित ६ वटै सवै गीतहरु कर्णप्रीय छन् । उहाले समाज र देशलाई अझै थुप्रै यस्ता गीतहरु दिदै गरुन कामना गरौं । साथै लिम्वुवानको प्रतिनिधी उहावाट लिम्वु र लिम्वुवानको गीतहरु पनि आउन । सेवारो ।

May 24, 2010

परिहासका गजलहरु

बद्री पालिखे
पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन कलिला ठिटोको पाको गजल संग्रह हो । यस संग्रहमा परिहासका ६५ वटा गजलहरु छन् ।
संग्रहमा परेका गजलहरुमा सामयिक चिन्तन छ । जीवनको भोगाई छ । सामाजिकता छ । बर्तमान समयको प्रतिबिम्ब छ । माया छ । आग्रह छ । अपेक्षा छ । देश दुख्छ । समय पीडा छ । जीवन दृष्टि छ । मुलुकमा घट्दो साम्प्रदायिकता , भाषा, धर्म, जाति र भूगोलका लागी द्घन्द र आहत छ ।
मैले परिहासका गजलहरु पढें । सुन्दर भावनाहरु तुलनात्मक र लयात्मक प्रस्तुति स्वतस्फुर्त मनको लहर बाट कोका खोलो झै लाग्छ । म आफू परिहासको गजलगङ्गामा डुबुल्की मार्दै सूर्यस्नान गर्दा आनन्दानुभूति भएको अनुभव भयो । परिहासको गजलमा स्नान गर्दा भावनाको सरोवरमा राजहंशको जोडी तैरिरहेको पाएँ । कमलको फूलको परागमा भँमराको भुँ भूँ सुनें ।
परिहासका गजलहरुमा जीवनको लय छ । संगीत सरगम छ । त्यसैले पढ्दा आनन्द लाग्छ । संक्षेपमा परिहासका गजलहरुमा जीवनको गीत छ । संगीत छ । लय, अनुप्रास, शब्द, वाक्य,भाषामा सौर्न्दर्यबोध छ । कहिंकतै पनि गाँठो छैन । सजिलै पढ्न सकिन्छ । सहजै बुझ्न सकिन्छ ।
उनका गजलहरुमा माटोको सुबास छ । समाजको अभिब्यक्ति भनौं मनोभाव देखिन्छ । एैनाको अगाडी उभिदा आफ्नो अनुहार देखिए भैं जीवनको प्रतिबिम्ब देखिन्छ ।
पहाड सबै तराई बनोस् आलापालो सबैलाई
तराईको सम्म मैदान पहाडमा झैं डिल बनोस्
पृष्ठ- २
परिहासका गजलहरु सुन्तला छोडाएर खाए झैं रसिलो लाग्यो । मह झै मीठो, गनिलो लाग्यो । जति पढ्यो त्यति पढ्न मन लाग्ने । जति गायो उति मार्मिक लाग्ने छ ।
परिहासका गजल मा यहाँनिर पहाड र तराइ जोडिन्छ । राष्ट्रियता बोल्छ । म प्रस्तुत गजलहरुमा बिधि र बिधान खोज्दिनँ । गजलमा चाहिने नालीबेली हेर्दिन । गजलमा भेटिनु पर्ने रङ्गरोगन हेर्दिन । म गजल मा भावको सुन्दरता, मधुरता, माधुर्यता र अर्थहरु खोज्छु । गजल जीवनको लय हो । परिहासका गजलहरुमा नेपाली मन छ ।
उकालीमा थाक्छु होला ओह्रालोमा गल्छु होला
ढाकर संगै सयौं जंघार मेचीकाली तर्छु म त
पृष्ठ -४
परिहासको अर्थ हास्यबिनोद हो तर परिहासका गजल मा हास्यबिनोद छैन । भाव गम्भिरता छ । सूत्र-मंगल-धुन संग्रहको बिषेश छनौट मिलेको जस्तो लागेन । रातको प्रतिक कालो पृष्ठभुमिमा सुर्योदयको आशा भएको आएन लोभलाग्दो छ । दुर्गाप्रसाद लाओतीको साहित्यिक नाम परिहास राखिएको छ । नेपाली साहित्यमा यस्ता उपनामबाट परिचित थुप्रै स्रष्टाहरु छन् । गोबर्द्धन पूजा, हरिमञ्जुश्री, श्यामल, राजब आदि इत्यादी छन् ।
परिहासको मन र तनको मिलनबाट उत्पन्न प्रयोब्यक्ति मलाइ मिठो लाग्यो ।
छाँया खस्ने आँगनमा, माँया छरे कसो होला
मन मिले आधा रातमै मोदी तरे कसो होला
पृष्ठ- ५
परिहासका गजलहरु पढ्दा उनको हृदयको उर्वर माटोमा लहलह बाली सुसेली खेले झैं लाग्यो । उनका गजलहरुमा डुबुल्की मार्दा उनका प्रतिभा मिर्मिरे उज्यालो झैं लाग्यो । यस संग्रहको प्रकाशकियमा गजल संग्रहको सटिक मुल्याङ्कन भएको छ । धिरज गिरी कल्पित को भूमिका मनजयोग्य छ यसमा थप्नु पर्ने देख्दिनँ । स्व. स्वप्नील स्मृतिले नेपाली साहित्यमा गजलको बाढी उर्लिएको बेला परिहास एक भङ्गालो हुन् भनी टिप्पणी गरेका छन् । त्यस टिप्पणीमा मेरो पनि र्समर्थन छ । जीवन मोहमा परिहासको मिठो प्रतिक्रिया छ, एउटा टुक्रा प्रस्तुत छः
तिम्ले दे को बास भित्र एउटा आश देखें
त्यस्मा स्वप्नील जिन्दगीको मधुमाश देखें
पृष्ठ -१५
परिहासका गजलहरुमा प्रयोग भएका भाषाहरु बोलीने खालका छन् । लेखिने खालका छैनन् । मलाई यस्तै भाषा मन पर्छ । यहाँ गजल बाईस को अन्तिम हरफ बिसंगत लाग्यो । मलाई मन परेन । यसले राम्रो सन्देश दिंदैन ।
खोई कस्तो मोहनी हो,हरेक दृष्टि लट्ठै पार्ने
घरमा भा को स्वास्नी समेत छोडुँ छोडुँ लाग्छ
परिहासका कतिपय गजलहरुलाई संगीतमा ढालेर गाउन सकिने खालका छन् भने कतिपय वाचन मात्र गरिने छन् । सबै गजलहरु पढुँ पढुँ लाग्छ । पढ्दै गयो झन् झन् नशाले छोए झैं लाग्छ । तर गजल पैतिस् र छत्तिस् के हो ? गजलको नाममा गजल हो की फजुल हो छुट्योनै सकिन ।
यत्ता ले
छिटो दे
गजल-पैतिस
ए त्यो त
त्यसो पो ?
गजल-छत्तिस्
गीतमा ढालेर गाउन सकिने गजल अड्तिसका उनका यी गजलहरफले जिन्दगीलाई भरोसा दिने खालका छन् ।
संघर्ष मा कहिल्यै पनि नझूकोस साहसहरुर्
गर्जन सुन्दा झयास्झूस्मा नलुकोस साहसहरु
परिहासले नेपाली समाजमा खासगरी गाउँघर, रुदोबुदो घरमा घटित जाग्दो घटनालाई छुवाई यसरी चिन्तन गरेका छन् । जसले उत्पिडनको तस्विर देखाउँछ ।
उनको जीउमा डामै डाम देखी सोध्दा थाहा पाएँ
सासु, नन्द, पति बाट गोरु चुर्टाई खा की रै छिन्
गजल सत्र
परिहासको गजलहरुमा जीवन छ । जीवनको धुन छ । गजलको लामो यात्रामा परिहास एउटा यात्री हो । चौतारीमा आईपुगेको छ । गन्तब्यमा पुग्न सफल होस यहि कामना छ ।
अन्त्यमा, समाजमा ब्याप्त उनकै गजलहरुमा कटु तितो सत्य पनि छ, परिहास आफैंमा परिपक्व छन्, आफैं भूक्तभोगी लाग्छन् ।
हिजो आज मान्छे सबै आफ्नै मात्र जीत खोज्छन्
अच्चम्म छ जो कोहि पनि आफ्नै मात्र हित खोज्छन्
कृतिः सूत्र-मंगल-धुन
बिधाः गजल संग्रह
प्रकाशकः कुम्मायक कुस्सायक क्लब, यासोक - ४ सुब्जनी , पान्थर
प्रथम संस्करणः २०६४
पृष्ठः ६±६५
मुल्य रुः ७५

Feb 24, 2010

शासकीय मारमाथि भयवादी मुङ्ग्री

रमेश नामहाङ
भर्खरै मात्र एकसाथ दुर्इ पुस्तक पढ्ने मौका मिल्यो । एकजना भलाद्मी विद्वानले दुवै पुस्तक उपलब्ध गराइदिनुभएपछि यस्तो अनुपम अवसर प्राप्त भएको हो । प्रकाशन मितिका हिसाबले दुवै पुस्तक केही बर्ष पूरानै हुन् । त्यसबेला यी पुस्तकहरू बजारमा आउँदा थाहा नपाएको होइन तर पनि कसो-कसो पढ्ने अवसरचाहिँ मिलेको थिएन । तर, आज ढीलै भए पनि दुवै पुस्तक पढ्ने अवसर मिलेको छ, त्यसका लागि पुस्तक उपलब्ध गराईदिनुहुने ती भलाद्मीलाई धन्यवाद दिन चाहन्छु । पुस्तकहरू हुन् – पहिलो, क्रान्तिकारी पत्रकार राजु क्षेत्रीद्वारा लिखित् गजुरी ब्यारेक ब्रेक सम्बन्धी संस्मरणात्मक अभिलेख र दोस्रो, हङकङमा बसोबास गर्दै आएका साहित्यकार देश सुब्बाको उपन्यास ‘आदिवासी ।’
वस्तुतः पहिलो कृति जनयुद्धको क्रममा एकजना आस्थाका बन्दीले राज्य-संयन्त्रबाट कतिसम्म दहन सहन बाध्य हुनु परेको थियो भन्ने यथार्थलाई सजीव चित्रण गर्ने ‘खजाना’ बनेको छ । यस कृतिले तत्कालिन् शाही सेनाद्वारा बन्दीमाथि हुने गरेका बर्बर यातनाको भण्डाफोर गरेको छ । साथै, बर्बरताको अनन्त श्रृंखलाले समेत मुक्तिका लागि आयोजित संघर्षको महा-यात्रालाई रोक्न नसक्ने सार सन्देश यस पुस्तकले प्रसार गरेको छ ।
यता देश सुब्बाद्वारा सिर्जित् उपन्यास ‘आदिवासी’ भने पहिलो पुस्तक भन्दा विल्कूलै फरक आधारभूमीमा जग हालेर आएको छ । नेपाली साहित्यमा पछिल्लो समय भयवादबारे वकालत गर्दै आएका सुब्बाले यसैको औचित्य पुष्टि गर्ने प्रयत्न स्वरुपः यो उपन्यास पेश गरेका छन् । तर्सथ, यसलाई नेपाली साहित्यमा नवीन प्रयोगको रूपमा समेत लिने गरिएको छ । यिनै कारणले गर्दा यसपटक गजुरी ब्यारेक ब्रेक सम्बन्धी राजु क्षेत्रीद्वारा लिखित् पुस्तक छाडी आदिवासी उपन्यासमा चर्चा केन्द्रीत् गरिएको छ । अझ भनौं, आदिवासी जनजातीय आँखाबाट देश सुब्बाको ‘आदिवासी’ उपन्यासलाई हेर्ने प्रयत्न गरौं ।
उपन्यासको कथा/सार
आदिवासीय आन्दोलनकर्मीका शहरीया छोरो हुन्, निसाम । उनी विश्वविद्यालयमा अध्यानरत एक मेधावी छात्र हुन् । अचानक उनी अनौठो विरामीले समातिन थाल्छन् । व्याथाले च्यापिँदा यौटा डरलाग्दो छायाँ आफ्नो वरिपरि देख्छन् । त्यसपछि उनी छट्पटाउने, बर्बराउने, फटयाक-फटयाक पर्ने र वेहोश हुने हुन्छन् । पटक-पटक यस्तो घट्ना दोहोरिई रहेपछि उनी त्यो छायाँ के हो ? भनी पत्ता लगाउने अभिप्रायले मध्यरात घरबाट निक्ली यायावर अर्थात् घुमन्ते जीवनतिर लाग्छन् । घुम्दै जाँदा उनी एक प्राचीन आदिवासीय गाउँमा पुग्छन् । अन्ततः उनले त्यही स्थानमा यौटा प्राचीन रुखको सहाराबाट त्यो छायाँ ‘भय’ हो भन्ने पत्ता लगाउँछन् । साथै, मानवीय जीवन-चक्र सबै भयकै कारण चलिरहेको समेत उनी थाहा पाउँछन् र घर फर्किन्छन् ।
विषयवस्तुका हिसाबले ‘आदिवासी’ उपन्यासको मोटामोटी विवरण यही हो । यसबाट उपन्यासमा रहेका कथानकता, पात्र, चरित्रचित्रण, परिवेश र शैलीबारे सामान्य थाहा पाउन सकिन्छ ।
यथार्थताको कसीमा उपन्यास
यो उपन्यास स्वैरकल्पनामा आधारित भएको हुनाले यसको यथार्थतासँग कुनै साइनो छैन । उपन्यासको शिर्षक र विषयवस्तु यौटा सजीव चिजलाई छनौट गरेपनि यसको कथानकताचाहिँ सत्यभन्दा सयौं कोस टाढाबाट हूइँकिएको छ । त्यसो त उपन्यासकार आफैं सत्य के हो ? र झूठ के हो ? भन्ने कुरा खुट्याउन समेत असमर्थ रहेको भान उपन्यासभित्र लाग्छ । यसका लागि मात्र यौटा उदाहरण हेरे मात्र पनि काफी हुन्छ । जस्तो, उपन्यासको एक अंश लिऔं- “…….आदिवासी हुनलाई बलियो आधार चाहिन्छ । बलियो आधार भनेको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, चार्डपर्व नै हो । आफू बलियो भएपछि कसैले राजनीति गरेर दमन गर्न सक्दैन ।”
उपन्यासकारले उपन्यासका नायक निसामलाई आदिवासी आन्दोलनकर्मी बाबुप्रति लक्ष्यित् गर्दै यी वाक्य बोल्न लगाएका छन् । जसमा पहिलो र दोस्रो वाक्य भावनात्मक रूपमा ठीकै हुन् । जसले, अहिले नेपालमा उठीरहेको अनावश्यक चर्को पहिचानको माग र जारी जातीय उपद्रवलाई निसाना साँधेको मान्न सकिएला । परन्तु, तेस्रो वाक्यले ती सबै सकारात्मकतालाई कूरूप पारेको छ । आफू बलियो भए कसैले राजनीति गरेर दमन गर्न सक्दैन भन्ने शब्द त फेरि पनि ठीकै हो तर जुन शब्दावली उपन्यासकारले जुन ठाउँमा प्रयोग गरेका छन् त्यो एकदमै गलत छ । उनले यो शब्दावली यस ठाउँमा प्रयोग गर्दाको भाव अनुसार, नेपालका आदिवासी जनजातिहरू अहिले पराजित जाति वा समूदायको रूपमा छैनन् । त्यसकारण राष्ट्रिय मुक्ति आन्दोलन लड्नुको सट्टा भाषा, धर्म, लिपि आदिको कर्मकाण्डीय उपक्रममा लाग भन्ने उपदेश बाँडेको छ । जुन कुरा घोर काल्पनिक मात्र होइन असाध्यै दुर्भाग्यपूर्ण पनि छ । यसले वास्तवमै विद्यमान राष्ट्रिय मुक्ति आन्दोलनको पेचिलो अवस्थाप्रति आँखा चिम्म पारेको छ । यसरी वास्तविकताभन्दा पर रहनु भनेको जीवन र जगतबाट कट्नु हो । जीवन र जगतबाट कटेको साहित्य भनेको केवल बौद्धिक विलासिताको साहित्य हो । यसमा जीवनको अंश मात्र खोज्नु पनि अज्ञानता हो । त्यसैले अदिवासी उपन्यासभित्र यथार्थता खोज्नु नै महामूर्खता हो । यद्यपि, आदिवासी जनजातिमा प्रचलित रहँदै आएको बनझाँक्री परम्पराको पोयो पक्रेर उपन्यास कता कता जादूगरी यथार्थवादको धुरी चढ्न खोजेको छ तर पनि समग्रमा उपन्यास भ्रम र कल्पनाको रछ्यानमा पसारिएको छ । परन्तु, यसको कलापक्ष निक्कै मनमोहक छ ।
औपन्यासिक धार
यो उपन्यास उत्तर-आधुनिकतावादी साहित्यिक मूल्य र मान्यतामा लेखिएको कृति हो । जसरी विनिर्माणवादले खाली विध्वंस, विखण्डन, अनियमितता एवं असङगतिका मात्र दर्शन् छाँट्छन् त्यसैगरी यस उपन्यासले पनि सो बाटो पछ्याएको छ । पुष्टिका लागि यौटा सानो उदाहरण हेरौं ।
“……..मलाई अहिले आएर मान्छेको सिद्धान्त खोक्रो लाग्न थालेको छ । मान्छेको सिद्धान्तभित्र पत्करको थुप्रो देख्न थालेको छु ।”
उपन्यासकारले यसरी पात्रमार्फत ऐतिहासिक मूल्य मान्यता र सङगतिलाई निषेध गरेका छन् । सिद्धान्तलाई खोक्रो देख्नु भन्नु मानव समाजका विकासका सम्पूर्ण नियमहरूलाई बेकार देख्नु हो । अतः उपन्यासकारको यस्तो किसिमको घोषणा, उत्तरआधुनिकतावादका एक परवर्तक डेनियल वेलको विचारधाराको अन्त्यको फोटोकपी नै हो ।
उपन्यासले वस्तुगतभन्दा पर रहेर मनोगत भावनामा उडान भरेको छ । यसभित्र आदिवासीलाई ‘सो पिस’को रूपमा सीमित् गर्न खोजेर आफ्नो मुक्तिगामी अभियानप्रति बितृष्णा व्यक्त गरिएको छ । यो घोर पलायन र निराशाको अभिव्यक्ति हो । पलायन र निराशा बढेर अस्तित्ववादमा परिणत हुन्छ । अस्तित्ववादलाई अर्को परिभाषामा अराजकतावाद पनि भनिन्छ । यो अस्तित्ववाद अर्थात् अराजकतावाद अन्त्यमा सून्यवादी हुन्छ भन्ने दार्शनिक मान्यता छ । सून्यवादलाई समेत अहिले संगोलमा उत्तरआधुनिकतावाद भनिँदै आएको छ । तसर्थ, व्यक्तिगत महत्वाकांक्षाको घोडा चढेर बर्कुसी मारेको ‘आदिवासी’ उपन्यास उत्तरआधुनिकतावादी धारमा उभिएको छ । त्यसो त भयवादी सिद्धान्तले पनि यो कुरा प्रष्टै पारेको छ । आफूमा निहित् अन्तरविरोध नै वस्तु या पदार्थको विकासको प्रमूख कारण हो भन्ने द्वन्द्वात्मक भौतिकवादी मान्यताको विपरित मानवीय संवेदना विकासको कारण हो भनी भयवादले व्याख्या गरेको छ । त्यसैले भयवाद एक आदर्शवादी प्रस्थापना हो । यो विज्ञानको विरुद्धमा छ । उत्तरआधुनिकतावादले केन्द्ररहितताको वकालत गर्दै जसरी विज्ञानविरोधी एउटा केन्द्र निर्माण गरेको छ त्यही केन्द्रमा भयवाद मिसिन पुगेको हुनाले स्वतः उपन्यास उत्तरआधुनिकतावादी छ ।
उपन्यासभित्र निहित सौन्दर्य कसको ?
नेपालको सन्दर्भमा उत्तरआधुनिकतावादी साहित्य भनेको शासकीय अर्थात् उच्च हिन्दु खस, ब्राम्हण जातीय साहित्य हो । देश सुब्बा प्रद्दत्त ‘भयवाद’ त्यही उत्तरआधुनिकतावादको यौटा आयाम हो । त्यसकारण भयवाद शासकीय मनोवृत्तिले शाषित्द्वारा निर्मित साहित्यिक दर्शन हो । अतः भयवादी मान्यतामा आधारित ‘आदिवासी’ उपन्यासको सौन्दर्य आदिवासी जनजातिहरूका होइनन् ।
नेपालका आदिवासी जनजातिहरू अढाई सय बर्षदेखि निरन्तर शाषितको रूपमा रहेका छन् । उच्च हिन्दु खस, ब्राम्हण जातीय अधिनायकवादका विरुद्ध आदिवासी जनजातिहरू यतिवेला निर्णयाक संघर्षमा भाग लिईरहेका छन्। अहिलेको नेपाली समाजको वास्तविकता यो, हो । यही कुरा अहिलेको आदिवासी जनजातीय साहित्यमा प्रतिविम्बन् हुनुपर्दछ । तर्सथ, आदिवासी जनजातिहरूको मुक्ति आन्दोलन र त्यसमा होमिन उत्प्रेरणा गर्ने सार बोकेका साहित्य नै खासमा आदिवासी जनजातीय साहित्यिक सौन्दर्य हो । तर ‘आदिवासी’ उपन्यासमा नेपालका आदिवासी जनजातिहरू विजेता रहेको भ्रान्ति पालिएको छ । उपन्यासले आदिवासी आन्दोलनको आवश्यक्ता पुष्टि गर्ने चेष्टा र यसमा सामेल हुने उत्प्रेरणा जगाउने त कुरै छोडौं बरु उल्टै आन्दोलनलाई ‘अनावश्यक पहलु’ भएको तर्फइंगित गरिएको छ । यतिवेला शासकहरूले आदिवासी आन्दोलनमा व्यापक भ्रम सिर्जना गरेर टुक्रा-टुक्रा पारी तहसनहस पार्न खोजीरहेका छन् । प्रस्तुत उपन्यासले यही कुरामा मद्दत पुर्‍याएको छ । मार्क्स, बुद्ध, शंकाराचार्य, डेरिडा, नित्से, फुकोयामालाई एउटै दर्जामा राखेर आदिवासी जनजाति मुक्तिको अचूक विचारलाई उपन्यासले निषेध गरेको छ । त्यसकारण यो आदिवासी जनजातीय साहित्य होइन । उपन्यासको शीर्षक ‘आदिवासी’ भएर के गर्नु ! जसरी आत्मानन्द, ओमनन्द, स्वामी प्रपन्नाचार्यले आदिवासीय सौन्दर्य झल्काउँदैनन् त्यसैगरी यो उपन्यासले आदिवासी जनजातीय सौन्दर्य बोक्दैन ।
बाँकी,
नेपाली समाजमा आदिवासी जनजातिको स्थान कहाँ छ ? सत्ता र आदिवासी जनजातिबीच के कस्ता अन्तरविरोधहरू विद्यमान छन् ? यस्ता कुञ्जी कुराहरूबाट बेखबर बनी केवल बौद्धिक विलासिताको निम्ति लेखिएको हुनाले वर्तमानको पेचिलो स्थितिमा कमजोरीका लस्करै पुडियाहरू भिरेर ‘आदिवासी’ उपन्यास हामीसामू पेश भएको छ । सायद यसो हुनुमा उपन्यासकार लामो समयदेखि मुलूकबाहिर रहनु पनि कारण हुनसक्छ । यद्यपि, शिल्पका हिसाबले उपन्यास निक्कै मजबूद छ । ‘कलाका लागि कला’ भन्ने मान्यता अनुसार उपन्यास जबर्जस्त बनेको छ । राष्ट्रिय मुक्ति आन्दोलन, संघीयता र स्वायत्तताको मुद्दाले देशमा निर्णायक पहलकदमीको माग गरिरहेको यसवेला आदिवासी लेखकबाट यस किसिमको कृति आउनुलाई वस्तुतः निको मान्न सकिँदैन । पछिल्लो समय आदिवासी जनजातिका नाम लिएर शासकहरूका साहित्य लेख्ने प्रचलन नेपालमा तीव्र छ । देश सूब्बा त्यही भङ्गालोमा मिसिएका छन् । यो कुरा आदिवासी जनजातिहरूका निम्ति निक्कै विडम्बनापूर्ण छ। तर पनि व्यैक्तिक प्रगतिका लागि अहिल्यै उनलाई आदिवासी जनजातीय चौडा मनहरूले बधाई दिन कञ्जुस्याँइ गर्ने छैनन् । आखिरी, अपमान जस्तो निक्कै गहकिलो कृतिका लेखक देश सूब्बाको लेखनमा एक सय असी डिग्रीको फरकपना कसरी आउन सक्यो होला ? उनले सबैलाई चकित पारेको छ ।
namhang_krt@gmail.com