Apr 26, 2009

हंगकंगमा टंक सम्बाहाम्फे र उनको "युद्धभित्र उभिएका बुद्धहरु"

अशोक रार्इ
परिचयः
टंक सम्बाहाम्फे हंगकंगमा एक लोकप्रिय तथा कृयाशील साहित्यकर्मी हुन् । उनी कवि मात्र होइनन् राम्रा गितकार पनि हुन् । उनको आफ्ना गीतहरुको दुर्इ वटा गीति संगालो मनोभाव र सार बजारमा आईसकेका छन् । हंगकंगमा सम्बाहाम्फेले गरेका बैचारीक, साँस्कृतिक, राजनैतीक एबं सामाजिक प्रयत्नहरु निकै महत्वपूर्ण छन् । नेपाली साहित्य प्रतिष्ठान हंगकंगका वर्तमान अध्यक्ष तथा अनेसास हंगकंग च्याप्टरका महासचिव सम्बाहाम्फेले प्रतिष्ठानको स्थापनार्थ सुरुदेखि नै अटुट् संङ्गठानीक प्रयासहरु गर्नुका साथै हंगकंगमा नेपाली साहित्यको उत्थानका लागि महत्वपूर्ण योगदान दिदै आएका छन् । बिगतमा प्रतिष्ठानको प्रयासमा बिविध साहित्यिक प्रकाशनका कामहरु हुनुका साथै www.srasta.blogspot.com एबं www.kavitakusum.blogspot.com जस्ता साहित्यिक लिंकहरु सञ्चालन भएकाछन् । त्यसै गरेर सम्बाहाम्फेको निजी प्रयासमा लिम्बूवान श्रष्टाहरुको प्रतिभालाई संगठित र सम्बर्धन गर्ने हेतुले साहित्य, कला र सँस्कृति सम्बन्धी ब्लग www.limbuwan.blogspot.com सञ्चालित छ ।
"युद्धभित्र उभिएका बुद्धहरु"
श्रृजनशील अराजक कवि हांगयुग अज्ञात् भन्नुहुन्छ "युद्ध नै ठीक छैन ।"
हो कबि लेखकहरु कहिले पनि अशान्तिको पक्षमा छैनन् । ध्वंस र बिनासको पक्षमा छैनन् अनि अमानवीयताको पक्षमा छैनन् । उनीहरु जहिले पनि प्रतिपक्षी कित्तामा छन् सत्ताको, शक्तीको, बन्दुकको, बिकृती र बिसंगतिको । युद्धलाई कुनै पनि हिसाबले जायज भन्न सकिन्न । किनकी युद्ध ध्वंस र बिनासको कारक हो र मानवीयताको बर्खिलाप् हो ।
कवि टंक सम्बाहाम्फेको कविता कृति "युद्धभित्र उभिएका बुद्धहरु" लिएर म घोत्लिरहेछु । ४१ थान अमूर्त चित्र सहितका कविताहरुको संग्रह हो यो । जहाँ जीवन र जगतलाई हेर्ने दृष्टिकोण, डायस्पोरीक भावना, नोस्टाल्जीया देखि लिएर देश प्रेमका गाथाहरु पढ्न पाइन्छ । झण्डै दुर्इ दशक परदेशमा जीवन बिताएका कवि सम्बाहाम्फेको मनभरि सधै देशको मायाँ र गाँउ घरको संझना छाउँदो रहेछ । कवि कतै देशको अथाह सौर्न्दर्यको बयान गर्छन् । कतै गुँराससित रमाउँछन र हिमफेदीमा पुग्छन अनि कतै आस्थाको धरातलबाट देशको ब्यथाहरु ओकल्छन् । कतै "एक गाँस"भित्रको यथार्थहरु केलाउँछन भने कतै क्षितिज पारिको कुरुले तेनुपा गाँउलाई सम्बोधन गर्दै बालापनको याद गर्छन । यस कृतिभित्रको बिशेष कविता "युद्धभित्र उभिएका बुद्धहरु"मा कविले युद्धको पीडाहरु पोख्दै बुद्धलाई सम्झेकाछन् । कृतिको नाम पनि यहि कविताको शिर्षकबाट राखिएकोछ । कवि स्वयमलाई पनि यो कविता निकै मन परेको हुनुपर्छ । "बुद्ध" शान्तिको यस्तो बिम्ब हो जसको नेपाली काब्य दुनियाँमा सर्बाधिक प्रयोग भएकोछ । यसबाट कवि तथा लेखकहरुले शान्तिको खातिर कस्तो कामना गरिरहेछन् भन्ने कुरा ज्ञात हुन्छ ।
केही कवितांशहरुलाई हेरौं ।
उठ
जाग
युद्धभित्र उभिएका
ए ! बुद्धहरु हो !
जन्मन सक्छ अबश्य
तिमी उभिएको भूमिमा पनि अर्को बुद्ध
"युद्धभित्र उभिएका बुद्धहरु"
यस कवितामा भातृत्व र शान्तिको आग्रह छ । नेपाल बुद्धको जन्मभूमी हो । तर त्यही देशमा युद्ध र ध्वंशको पराकाष्ट पनि देख्नु पर्यो । के शान्ति हराएकै हो ? बुद्धको भूमिमा संग्राम कहिले सम्म ? जस्ता प्रश्नहरुले कविलाई चिमोटेको हुनुपर्छ । त्यसैले कविले उनैलाई तिमी नै बुद्ध पनि हौ । आफुभित्रको बुद्धलाई जगाऊ भन्ने संकेत गरेका छन् जो युद्धरत छन । यहाँ दङ्गा फसाद र अणु परमाणुहरुको बिरोध गरिएकोछ । सन्त्रासमय समयहरुलाई सम्बोधन गर्दै कवि उदगार गर्छन्
अस्तित्वको देशमा
युद्ध बिभिषिकाको बिज्ञप्ती भएका भएकाछन्
निर्दोष मान्छेहरु ।
"युद्धभित्र उभिएका बुद्धहरु"
दिन उज्यालोको बिम्ब हो । उज्यालो भन्नु सुख र हर्षको प्रतीक हो । तर यो उज्यालोभित्र धेरै भ्रमहरु छन् । तिनै भ्रमहरुभित्र मान्छेहरु बाँचीरहेका छन् आफ्नै तरिकाले । या त भ्रम सत्य हो या सत्य भ्रम हो ।
उभ्याउन खोजेँ दिन
बचाउन खोजेँ दिन
कहिल्यै उभेनन् सामुन्ने
बगीरहे नदी झैं
पग्ली रहे हिँउ झैं
"दिन"
दुनियाँका अनेक आकृतिहरुलाई मुर्त रुप दिन खोज्दै क्यानभासमा उतार्छन् कवि सबैलाई तर अमूर्त बन्न खोज्छ तस्वीरहरु । तस्बीरहरु बोल्दैनन् मुस्कान छर्दैनन् । जगतका बिम्ब र प्रतिबिम्बहरु, बिवशता र आभाषहरु भावनाको क्यानभासमा सधै अमूर्त लाग्छन् । अनि बिचारमात्र जन्माउन खोज्छन् कवि क्यानभाषमा ।
अर्जाप्दै बिचारका धारहरु
पुनः जन्माउन खोज्छु क्यानभासमा
असिमीत प्रतिबिम्बहरु
"भावनाको क्यानभाषमा दुनियाँलाई पोत्दा"
परदेशी कविको देशप्रेम कविताहरुमा शब्द भएर पोखिएकाछन् । जहाँ पुगेपनि आखिर देशप्रेम त मर्दैन । देश मनको अपनत्व हो । आस्थाको धरोहर हो । नेपाली हुनुको गौरवमा, गुँरास र डाँफेको मनमोहकतामा कविको भावना यसरी कुदेकोछ ।
मेरो देश हिम फेदीमा
गुँरास भएर फूल्छ
डाँफे भएर हाँस्छ
असीम आस्थाभरि नेपाली भएर बाँच्छ ।
"मेरो देश"
तर देशको अस्तब्यस्तताले हायलकायल छन् जनहरु । असमानता, घटना र दुर्घटनाहरुको शिकार छ देश । उता देशका नाइकेहरु भने उत्सवमा रमाइरहेकाछन् सधैं । यो असन्तुष्टी कवितामा पोख्छन् कवि,
पोखिएर असमानता छ्यालब्याल्
घाइते भएको देश
चर्मराइरहेछ प्रत्येक दुर्घटनाहरुले
आर्तहरुको घाउ झैं
छट्पटाइ रहेछ बेदनाहरुले
"कुन उत्सवको तयारीमा ?"
जिन्दगीको उतरचढाव प्रति हरेकको आ-आफ्नै बितृष्णा छ । अनेक सपना छन् , आशाहरु छन् र तृष्णाहरु छन् । तर परिस्थितीको चोट्ले मानिस आहत् छन् । जिन्दगी फगत एउटा नशा जस्तो बेमञ्जुर पिउनु पर्ने ।
................
समयको रित्तो प्याला भरी भरी
झुल्दै यथार्थको वरिपरी
बेमञ्जुर पिइरहेछु म
यो जिन्दगीको नशा
"यो जिन्दगीको नशा"
समय एउटा बिम्ब पनि हो । समयको डुंगा शिर्षकमा कविले यथार्थपरक काब्य रचना गरेका छन् । यात्रामा समयको डुंगा खियाउनु ज्वारभाटाको सामना गर्नु, आँधीबेहरीको चपेटा आइलाग्नु, ब्यवधान सहनु सामान्य हो । केवल डुंगा खियाउने माझी कै दशामा बाँच्छौ हामीहरु ।
अठोट् बाँधेर
अभीभारा बोकेका छौं डुंगा चढ्नुको
त्यसैले हामी
माझी मात्र भएका छौं
समय खियाउनुको ।
"समयको डुंगा"
बेस्वादिला बर्तमानहरुमा अतितका पाना पल्टाएर बैंश खोज्छन् कवि । स्वप्नील बैंशहरु समयसँगै बोझिलो भएर बूढो भएकोछ । आफैबाट टाढिएको बैंशलाई खोज्दै भन्छन् ।
फूलेको छ की भनेर........
आफैबाट परदेशीएको बैंश
सोधिरहन्छु मूलबाटोमा हिड्ने
प्रत्येकलाई
देख्यौ की भनेर......
"बैंशको खोजीमा"
यस कृतिमा भएका कविताहरु आकाश मान्छे र ब्याँसाहरु, युद्धभित्र उभिएका बुद्धहरु, कुन उत्सवको तयारीमा ?, अस्मिताको खातिर, कृतिम ब्रम्हाजीहरु, बिपत्तीमा परेकाछन चराहरु, बिभाजित छन् आकाशहरु जस्ता कविताहरुमा यथास्थितीको चिरफार छ । बिसंगति र अराजकताहरुको प्रत्यक्ष अप्रत्यक्ष बिरोध र त्यसप्रति बिद्रोह छ । समय, समयको डुंगा, एक छाक, जिउनुको अनकौं छालहरु, म एउटा यात्री, सपना, बिडम्बना भित्रको म, आत्मा बिश्वासको उज्यालोमा जस्ता थुप्रै कविताहरु जिन्दगीका अनेक पाटाहरुलाई चित्रण गर्ने, अनुभव र अनुभूती ब्यक्त गर्ने र यथार्थको उजागर गर्ने कविताहरु हुन् । त्यसै गरेर इहलीला, दुनियाँभित्रको नाटक, अथाह प्रश्न चिन्हहरु, भावनाको क्यानभासमा दुनियाँलाई पोत्दा जस्ता कविताहरुले जीवन र जगतलाई अर्थ्याएका छन् ।
कविको भावना न हो कहिले कता पुग्छ कहिले कता । भावनाको खेती हो कविता । मनको सुन्दर भाषा नै कविता हो । प्रत्येक कविले आफ्नै भाषामा कविता पोख्छन् । जे होस् समग्रमा सम्बाहाम्फेका सृजनाहरु सुन्दर छन् मौलिक छन् । सबै कविताहरुको चिरफार गर्न पनि सम्भव भएन । उनका कुनै पनि कविताहरु क्लिष्ट छैनन् । चित्र सहितका कविता पढ्दा पाठकको मनमा एक प्रकारको छाप बस्छ । आफ्नै शब्द र बिम्बहरुको संयोजन छ यो कृतिभित्रका सृजनाहरुमा । उनको कविता लेखनको दौरान यस कृति पछि पनि निकै वर आइ सकेको छ । अव त उनीबाट अझ सुन्दर र बैचारीक कविताहरु आइसकेका होलान् । म त सन २००१ अघिका कविताको कुरामात्र गर्दैछु ।
अस्तु

Apr 9, 2009

‘शब्दघोष जिजीविषाको’ भित्र के.सी.का कथाहरु

अशोक राई
"शब्दघोष जिजीविषाको” कथा संग्रह प्रकाश के. सी. र प्रदीप कन्दङ्गवा (’प्र’द्वय)को सयुंक्त कथा संग्रह हो । यसमा जम्मा दुबै कथाकारका आठ-आठवटा गरी जम्मा सोह्रवटा कथाहरु संकलित छन् । कथा संग्रहमा भएका कथाहरुले मूलतः हङकङको परिबेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एबं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट एचके वेब मिडियाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गीतकार साथै कवि प्रदीप कन्दङ्वा भने याक एण्ड यती रेष्टुरेन्टका मालिक बनेका छन् । दुबै कथाकार लामो समयदेखि हङकङमा बस्दै आएका भएर पनि होला, उनीहरुले भोगेको जीवनलाई कथाको बिषय बनाइएको हुन सक्छ । तर यो संग्रहमा केवल हङकङ मात्र छैन । यसमा समाजमा घटित र विद्यमान घटना, परिस्थिति र विसंगति, राज्यका बेथितीले उब्जाएका प्रश्नहरु, प्रेम र यौनिकतालगायत जीवन र जगतका थुप्रै पाटाहरु उजागर गरिएका छन् । आफ्नै शब्द शील्पले सिँगारेकाछन् प्रकाश के. सी. र प्रदीप कन्दङ्वाले आफ्ना कथाहरुलाई । जे होस्, प्रकाश के.सी. र प्रदीप कन्दङ्वा हङकङका प्रतिनिधि कथाकारहरु हुन् ।यहाँ म प्रकाश के.सी.का कथाहरुलाई केलाउने प्रयास गर्दछु ।
१. चोटका लयहरु :- यस कथामा एउटा पुरुष पात्रले आफ्नी अर्धाङ्गिनीको माइतीबाट पिटिइनु परेको दुःखलाई भावुक भाकामा चित्रित गरिएकोछ । पीडित पुरुष पात्र पिटाइ खाएर शारीरिक र मानसिक दुबै हिसाबले घायल भुइँमा लडेकोछ । पिट्नेहरु उसलाई बाटैमा छोडेर गएका छन् । यसबखत पीडित पात्रको मनोसम्वादको शैलीमा कथा शुरु र अन्त भएकोछ । श्रीमान श्रीमतीबीच हुने र भइरहने सामान्य झै-झगडामा पहिले लोग्नेले स्वास्नी पिट्ने, त्यसपछि स्वास्नीले माइती खन्याइदिने घटनाहरु हाम्रो समाजमा देखिँदै आइएकोछ । कथाको पुरुष ‘म’ पात्रले पुरुष प्रधान अहमलाई बोलेकोछ । पुरुषले महिलामाथि आफूले गरेको सबै ठीक, उनीहरुले गरेकोचाँहि बेठीक ठान्ने प्रवृति हाम्रो समाजमा विद्यमान जो छ, त्यसलाई ‘म’ पात्रले बोलेको सम्बादमा पाउन सकिन्छ ।
२. नेपथ्यभित्र र बाहिरको एक दृश्य :- यो कथाले हङ्गकङ्गमा नेपालीले बाँचेको जीवनलाई भिन्न प्रकारले प्रस्तुत गरेकोछ । म पात्र हङकङको ब्यस्तता र जटिलतामा बाँच्ने एउटा नेपाली प्रतिनिधि हो । उसले बाटामा भेटेको इङ्ल्याण्ड नागरिकले ‘हङकङभित्रका नेपाली समुदाय’ नामक पुस्तकका लागि नेपालीहरुको बारेमा खोजी गरिरहेकोछ तर उसले नेपालीलाई बुझ्न सकिरहेको छैन । ऊ नेपालीलाई नङ्ग्याउन चाहन्छ । यता घर पुग्दा श्रीमतीको खटन-आदेश र खजमज्जिएका लुगा अनि अस्त ब्यस्त कोठा हेर्दा उसलाई जीवन वाक्क लाग्छ, छरपस्ट जिन्दगीका सपनाझैं । ब्यस्त सडक र गाडीहरुको कर्कश आवाज, इमर्जेन्सी साइरेन र ट्राफिक क्रसिङका बेसुरे ताँतीहरुमा जीवनको कालो आभास, अध्याँरो आभा, शून्य अनुभूति, ब्यापक कोलाहल र प्रखर हतारोले जिजीविषा निष्पृह छ । हङकङभित्र नेपालीको दिनचर्या, पारिवारिक खण्डिकरण, शहरभित्रका कुरुपता आदि थुप्रै कुराको वर्णन गरिएकोछ यस कथामा ।
३. जीत र जीवनका भोगाइहरु :- यो कथा पनि हङ्गकङ्गकै परिवेशमा लेखिएकोछ । यो कथा पनि मनोसम्वादकै शैलीमा छ । रजनी र प्रकाश एक आपसमा छुट्टिएको चार वर्षपछि आमनेसामने भएकाछन् । तर बोल्न भने सक्दैनन् र मौन मनोसम्बाद गर्छन् । पूर्व कथाअनुसार दुबैले एक अर्कालाई औधी माया गरे पनि प्रकाशको एउटा गल्तीले भएको असमझदारीले रजनी उसलाई छोडेर लण्डन जान्छिन् । तर उसको मनमा प्रकाशप्रति माया मरेको भने हुँदैन । पछि आफ्ना आफ्ना गल्ती महशुस गर्दै सहर्ष उनीहरुको पुनरमिलन हुन्छ । यसरी हङ्गकङ्गको व्यस्त समयले लोग्ने स्वास्नीको सम्बन्धमा कसरी असमझदारी पैदा हुन्छ र सुखी दाम्पत्य जीवनसमेत धरापमा पर्छ अनि आफ्ना गल्तीहरु थाहा भए पछिको पुनरमिलन मीठो हुन्छ भन्ने कुरा यो कथामा चित्रित छ ।
४. त्यसपछिको अर्को कथा :- यस कथामा एउटा अपाहिज दाजु र आफ्नो परिवार बीचको अप्ठ्यारोमा जिइरहेको एक पात्रको जीवन चित्रण गरिएकोछ । मुख्य पात्रलाई “उसको” या “उसलाई” जस्ता सर्वनामी शब्दले मात्र सम्बोधन गरिएकोछ । “उसको” आफ्नो श्रीमती र एक छोरा छ । विपिन “उसको” साख्खे दाइ हो जो दुर्घटनामा परेर अपाहिज र अर्ध विक्षिप्त छ । विपिनको स्वास्थ्य वीमाको पैसाले परिवार धानिएकोछ । तर श्रीमती र छोरामा विपिनप्रति पूर्ण विकर्षण छ । “भोग्नेलाई भन्दा स्याहार्नेलाई पीडा” भनेझैं विपिनलाइ स्याहार्न गाह्रो छ । सँधैको पिरलोले “उसको” जीवन खिन्न छ । एक दिन उसले आन्दोलनकारी र पुलिसहरुको घातक भीडभित्र विपिनलाई एक्लै छोडेर भाग्छ तर वाल्यकालको स्मृतिले पुनः दाइको माया पलाउँछ र ऊ फर्केर दाइलाई खोज्न थाल्छ । विपिनलगायत केही आन्दोलनकारीहरुलाई पुलिसले भ्यानमा कोच्याइरहेको देख्छ । विपिनतिर लम्किन खोजेको “उसलाई” पुलिसले चलाएको तातो गोली लाग्छ र उसको ईहलीला समाप्त हुन्छ ।
५. दुःखै दुःखले झ्याँङ्गिने मनका थाँक्राहरु :- माओवादी द्वन्द्वमा आधारित यो एउटा अर्को सामाजिक कथा हो । पात्रहरु सबै गाउँले परिवेशकै छन् । गाँउको सुख-दुःखको संसार माओवादी द्वन्द्वको कारण त्रासदीय बनेकोछ । युद्ध विराम भए पनि धरपकड र मारामारी निरन्तर छ । कोही विदेश भासिने विचारमा छन्, कोही युद्धमा छन् । नेपालीको लागि विदेश रहर कि वाध्यता ? के मानिसले सहज बाँच्नु पाउनु पर्दैन ? बालबालिकाले पढ्न पाउनु पर्दैन ? जस्ता प्रश्नहरु यावत उठेकोछ । परिवारहरुमा आतंक र बिरक्ती छ । आठ वर्षपछि घर फर्कँदै गरेको रमेशको स्वागतार्थ घरमा एउटा समारोहको आयोजना गरिएकोछ । सबै खुशी छन् । रमेश पूर्व माओवादी कार्यकर्ता हो । गाउँमा उसको बाँच्ने आशा कम हुँदै गएकोले रमेशका बा हरेले उसलाई अरब पठाएको हो । तर आठ वर्षसम्म मरे-बाँचेको खबर नगरी रमेश घर फर्कँदैछ । उसको आगमनलाई शुभ र अर्थपूर्ण बनाउन घरमा सत्यनारायण तथा कूल देवताको पूजा हुँदैछ । तर रमेश भने कसैले चिन्न र आशा गर्न नै नसक्ने हिसाबले एक बटुवाको रुपमा देखा पर्दछ, जसलाई उसको हजुर आमाले माात्र चिन्दछिन् । कथाकारले रमेश साँच्ची नै विदेश गएको थियो या भूमिगत हिसाबले देशभित्रै संघर्ष गर्दै थियो भन्ने कुराको कौतूहलता छाडिदिएर कथा सकेकाछन् । कथा यथार्थवादी सामाजिक धरातलमा लेखिएकोछ । यो कथा पढ्दा गुरु प्रसाद मैनालीका सामाजिक कथा पढेको स्वाद पाउन सकिन्छ ।
६. मृगतृष्णा :- यो एउटा प्रेम कथा हो । हङ्गकङ्गमा बस्दै आएको समीर एउटा बिवाहित लोग्ने मानिस हो । यहाँको ब्यस्तताले श्रीमतीसित उसको निकटता बञ्चित छ । यत्तिकैमा समीर र किट्टीको अनलाइन च्याटको सम्बन्ध अन्ततः प्रेममा परिणत भएकोछ । थाइल्याण्डको आबाक यूनिभर्सीटीमा अध्ययनरत बेइजिङकी किट्टी समीरको मायामा यस्तरी डुबेकी छे कि उसको निम्ति मर्न पनि डराउँदिन । धेरै पटकको भेटघाट र अबउप्रान्त एक अर्कामा टाढा हुने वाचाहरु टोडेर किट्टीले एक हप्ताको लागि समीरलाई थाइल्याण्ड बोलाउँछे, त्यहाँ उनीहरुबीच प्रणयशील क्षणहरु बित्छन् । समीर र किट्टीबीच यति भएर पनि लोग्ने स्वास्नीको सम्बन्ध भने दुरुस्त नै कायम छ । घर नै मायाको भरपर्दो आश्रयस्थल सम्झेर उसले किट्टीसितको प्रेम सम्बन्धलाई त्यागेको छ । साइबर दुनियाँले फरक-फरक सँस्कार र फरक-फरक संसारका मान्छेको सम्बन्ध विकास गराएको छ भन्ने कुरा यस कथामा उल्लेख छ । प्रेम र यौनको मृगतृष्णा उत्कट छ, तथापि लोग्ने स्वास्नी बीचको मौलिक सम्बन्ध महत्वपूर्ण छ भन्ने कुराको संकेत पनि गरेकोछ यस कथाले ।
७. प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु :- प्रयोग र कथा वस्तुको हिसाबले यो कथा कथाकार के.सी.को उत्कृष्ठ कथा हो । हङकङको यान्त्रिक र भावानाशून्य संसारमा बाँचिरहदा कथाकारलाई यस्तो चाखलाग्दो कल्पनाशीलता आएको हुनुपर्छ, जो कथामा प्रयोग गरिएकोछ । स्टारफेरीनजिक पुग्दा ‘म’ पात्रले एकदिन यति ब्यस्त शहरमा मानव रिक्तताको अनुभव गर्छ । परेवालाई चारो दिइरहेकी चिनीँया बूढी पनि अदृश्य भएपछि ऊ आफू पनि बेहोस हुन्छ । आँखा खोल्दा उसले आफूलाई एउटा ठूलो हलमा बसिरहेको पाउँछ । त्यहाँ हङकङका पूर्व चीफ एक्ज्यूकेटिभ तुङ ची हृवालगायत आफ्नै श्रीमती चेरीको मुटु रोबोटले झिकेर प्लेटिनम स्प्रे गरिरहेको देख्छ । अघि आफ्नैसामु अदृश्य भएकी चिनीँया बूढीसमेत लाइनमा हुन्छिन् । उसलाई पनि क्रेनले उचालेर अगाडि लान्छ तर मेशिनको खराबीले प्लेटिनम स्प्रे भने गरिँदैन । फर्केर घर आउँदा उसले आफ्नी श्रीमतीलाई अर्कै रुपमा पाउँछ । कपाल छोटो पारेर काटिएको छ । आफूप्रति उदासीन र कर्कश छ उसको ब्यबहार । सडकका मानिसहरु आफ्नै तालमा हिँडिरहेका छन् । वास्तवमा त्यहाँ विज्ञानको सहाराले हृयुमन अपडेट गरिएको हुन्छ । सारा तथानामका विसंगतिहरुबाट मानवीय सम्भावनाहरुलाई बचाउनको लागि र यसको विकास गर्नको लागि मुटुमा प्लेटिनम स्प्रे गरिएको हुन्छ । समवेदनाहीन प्लेटिनम मुटु लिएर बाँच्ने मान्छेहरुको दुनियाँलाई यो एउटा ब्यंग्यात्मक कथा हो ।
८. माया मिरेज हो माया मिरेज होइन :- हङ्गकङ्गको परिबेश र यथार्थलाई समेटिएको यो अर्को कथा हो । हङ्गकङ्गमा मानिसले भोग्दै आएको भित्री जीवनहरुको यसमा चित्रण छ । क्षणिक माया देखाउने देह व्यवसायी किशोरीहरु र त्यसलाई भोग्ने पुरुषको मनोदशालाई यो कथामा देखाइएकोछ । क्याथी नामको केटीलाई पर्खेर बसेको एक युवकले बजारभरि छरिएका थुप्रै यौनिक पसलहरुको दृश्यपान गर्छ । अर्को एउटा नेपाली युवक राम छ जसलाई आमेई नामकी वेश्याले मन पराएकी छ तर राम भने लज्जालु स्वभाव देखाउँछ र ऊदेखि भाग्छ । पछि त्यही आमेईसित उक्त युवकले रात बिताउनका लागि लाने क्रममा अनेक तर्कनाहरु गर्छ । बाटोमा म पात्रसँगै आमेईले सुतिरहेको रामलाई भेट्छे । रामको गाला छामिरहँदाका भावनात्मक मनोवृतिहरु ऊसित मोलमोलाई गरिरहँदा कता गए होलान् ? एउटा नारीले अर्को अपरिचित लोग्ने मानिससामु कसरी निर्वस्त्र हुन सक्छे ? जस्ता कुराहरु ‘म’ पात्रको मनमा खेलिरहन्छ । आमेई रामसँग नै रहन्छे र यसरी अचानक आउने अचानक जाने प्रेमीकाहरुलाई भर्खरै दर्केको पानीसित दाज्दछ ‘म’ पात्र, ती दुईलाई त्यहीँ छोडेर पानीमा रुझ्दै आफ्ना बाटो लाग्ने क्रममा ।यी यथार्थहरुमा ‘म’ पात्र, कतै मिरेज(भ्रम) देख्छन् कतै देख्दैनन् । कथामा रात्रि बजारका सस्ता सामंग्रीहरुका नेपाली ग्राहक र घोडा रेसका नम्बर दाँजिरहेका मान्छेहरु पनि छन् । ब्रोकन अँग्रेजी, क्यान्टोनिज र म्याम्दोरिनको प्रयोगले कथामा रमाइलोपन थपेका छन् कथाकारले ।
प्रकाश के.सी.का अधिकांश कथाहरु हङकङको परिवेशमा आधारित छन् । जसले हङकङको जीवन शैली र यहाँ बाँचिएको र बाँच्ने तरिकाहरुको अवगत गराउँछ । कन्दङ्वाका जस्तै के. सी.का कथाहरु पनि प्राय आत्मकेन्द्रित शैली (’म’ पात्रको चयन)मा कथाहरु लेखिएका छन् । उनको आफ्नै शैलीमा कथाहरु बगेका छन् । कथाहरुमा अंग्रेजी र क्यान्टोनिज भाषाको मिश्रण के.सी.का कथाहरुमा पनि पाइन्छन् । प्रकाश के.सी.का भाषा शैली मीठो छ तथापि के.सी.का केही कथाहरु क्लीष्ट पनि छन् जसलाई बुझ्न दोहोरो अध्ययन गर्नुपर्छ । उनका कथाभित्र भएका केही शब्दावलीहरु यस्ता छन् ।
पीडाले गलेर निथ्रुक्क भएको मनलाई मान्छेसँगै निचोरेर हृयांङ्गरमा सुकाउन मिल्ने भए, ….
यस्तो लाग्छ, आफूलाई त्यसरी हृयाङ्गरमा झुण्डाए जस्तै ……………..
एउटी बूढी ठेलागाडीभरि कागज, क्यानहरु थुपारेर घस्रिरहन्छे, मर्न नसक्नुको वाध्यता या जीवनको मोह ! क्यान जस्तै कुच्चिएका, कागज जस्तै जताततै कोरिएका उसको मुखाकृति, पानी सुकेका आँखाहरु……………….
आकार बिग्रन थालेको देशलाई इँट्टाले ठोकेर सकार पार्न खोज्ने ठिटाहरु आदर्श हातमा बटारेर दगुर्दै गए भित्रतिर………...

Mar 4, 2009

गीतकार डि.बि.पालुङवा र आलाप गीतिसंग्रह

टंक सम्वाहाम्फे
लामो मेहनत र परिश्रम पछि कवि तथा गीतकार डि.बि.पालुङवाले सन् २००८ को मध्यतिर 'आलाप' नामक आधुनिक गीति एल्वम नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको सामु प्रस्तुत गर्नु भएको छ । उक्त गीति संग्रह नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वाषिर्कोत्सवको सुखद अवशरमा विमोचन गरिएको थियो । अहिले 'आलाप' गीति संग्रह धेरै नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको हातमा परिसकेको छ । सञ्चारका बिभिन्न माध्यमहरुबाट आलापका गीतहरु गुञ्जिरहेकाछन् । गीतकार डि.बि.पालुङवाद्वारा सिर्जीत गीतहरु सुन्न थाले पछि विचैमा बन्द गर्न वा छोडेर कतै जान मन लाग्दैन । यसो हुनुको प्रमुख कारण गीत संगीत र स्वरको संयोजन सोचे भन्दा उत्कृष्ठ खालकाछन् त्यसैले श्रोताहरुलाई गीतले आकर्षित गरिरहन्छ । कवि तथा गीतकार डि.बि.पालुङवा यो पङतिकारको पुरानो मित्र हुन् । बैदेशिक रोजगारी कै क्रममा डेढ दशक अगाडी हाम्रो चिनाजानी भएको हो । मैले चिन्दा र जान्दा उनी गीत कविताका असल श्रोता तथा पाठक मात्र थिए । हङकङको बसाई क्रममा मैले वहाँ साहित्यिक भावना भएको ब्यक्तित्व थाहा पाएर कविता लेख्न अनुरोध गरेको थिए । प्राय हाम्रो भेटघाटमा साहित्यिक विषय बस्तुमाथि धेरै चर्चापरिचर्चा हुन्थ्यो यहि कारणले पनि वहाँलाई यहि लाईन आउँनु पर्छ भनेर कुरा गर्थे । अन्तत मेरो अनुरोधलाई मानेर एउटा कविता मेरो हातमा थमाई दिनु भयो । सायद वहाँको त्यो पहिलो रचना नै हुनु पर्छ तर कविता भने सिकारु कविले लेखेको भन्दा उत्कृष्ठ थियो । सो कविता मैले चौविसे समाज हङकङद्वारा प्रकाशित चौविसेका गोरेटाहरुमा प्रकाशित
गरिदिएको छु । त्यसपछि मैले वहाँलाई साहित्यमा गम्भिर भएर लाग्न आग्रह गरेको थिए । सायद आग्रह कै कारणले हुनुपर्छ वहाँलाई प्रतिवद्ध लेखकको रुपमा पाउँन थाले । किनकी समय समयको भेटघाट र फोनवार्तामा समेत गीतसंगीत र साहित्यका प्रसंगहरु निकाल्नु हुन्थ्यो । समय वित्दै जादा डि.बि.पालुङवा प्रखर कवि तथा गीतकारको रुपमा कहिल्यै नअस्ताउँने उज्यालो घाम भएर उदाउँनु भयो । अहिले वहाँ नेपालीहरुको माझमा एउटा सशक्त कवि तथा गीतकारको रुपमा स्थापित भै सक्नु भएको छ । तर विचार र भावनाको यात्रा भने सोचे अनरुप सजिलो हुँदैन । धेरै अध्यायन पाश्चात सोचेर लेख्नु पर्ने भएकोले कवि तथा गीतकार डि.बि.पालुङवाले अवका दिनहरुमा लेखनका अरु चुनौतिहरु सामना गर्दै अघि बढ्नु पर्ने देखिन्छ । किनकी हिड्नु पर्ने यात्राहरु अझै बाँकी छन् । आलाप गीति संग्रह यात्राको शुभारम्भ हो । जहाँ सम्म मलाई लाग्छ यात्राको शुभारम्भ सम्म आईपुग्नलाई पनि धेरै समस्याहरु ब्यहोर्दै आएको हुनुपर्छ । विभिन्न खाले विषम परिस्थितिहरु पन्छाउँदै आएको हुन सक्छ । किनकी ती कुराहरु हामी पाठक तथा श्रोताहरुलाई थाहा हुने कुरा भएन । आलाप गीति संग्रहमा कुल आठ गीतहरु नेपालका चर्चित गायक गायिकाहरुको स्वरमा आवद्ध गरिएका छन् । यो संग्रहको निर्माण कालमा मैले पनि सानोतिनो सल्लाह सुझाव पेश गर्दै आएको हुनाले अप्रत्यक्ष रुपले कवि तथा गीतकार डि.बि.पालुङवासँग नजिकिएको महशुस गरेको छु । अहिले आएर नेपाली गीतसंगीतको विकास नेपालमा मात्र नभएर विदेशमा समेत हुन थालेको छ । त्यसको प्रत्यक्ष उदाहरणको रुपमा आलाप गीति संग्रहलाई लिन सकिन्छ । आलाप गीति संग्रहको रेकर्डिङ प्रकृया नेपालमा भए पनि गीतहरुको सिर्जनाभूमि,समय र परिवेश हङकङ हो । स्थानन्तरले गर्दा गीतका भावहरु नेपाली माटोमा लेखिएका गीतहरु भन्दा फरक छन् । त्यसैले गीत सुन्दा पनि केहि फरक आभाष हुन्छ । फरक ठाउँले केहि फरक भावना र बिचार जन्माउँदछ जस्ले गर्दा गीत पनि फरक ढङ्गले लेखिन जान्छ । मानिसलाई नयाँ वस्तुस्थिति र परिस्थितीले प्रभाव पार्दछ । तिनै प्रभावको असरले गीत जन्मने हुँदा आलाप गीति संग्रहका गीतहरु नेपाली परिवेशमा रचिएका गीतहरु भन्दा फरक छन् । गीतका शब्दहरुलाई केलाएर हेर्दा विदेशी भूमिमा दुखेका मनका ब्यथाहरु पोखीएको पाईन्छ भने मेशीन झैं कुनै बस्तुको रुपमा आफुलाई उपभोग गरिरहेको गीतकार स्वयमले अनुभव गर्छन् र गीतमा भन्छन्
म त कुनै बस्तु भएछु
एउटा जीउँदो औजार भएछु
वास्तवमा जीवन कसैको अजम्बरी हुदैन किनभने मानव जीवन मरणशील छ । तर मान्छेलाई भने सदासदा अजम्बरी भएर बाँच्न मन लाग्छ । त्यसैले गीतकार डि.बि. पालुङवा गीतमा आफ्नो स्वरुप बदलेर अजम्बरी बन्न चाहान्छन् र गीतमा यसरी ब्याक्त गर्छन् ।
अजम्बरी को छ र ? मान्छे सबै दुइ दिनको पाहुना
अमर भई बाँची रहने मेरो गीतको सपना
गीतहरुमा कतै प्रेमीकाको हात आफ्नो छातीमा राख्न पाए हुन्थ्यो भन्ने सोच्छन् । कतै सप्तरङ्गी फूलमा भमरा बनेर उड्न चाहान्छन् । विदेशमा गीतकारको बसार्इले नै होला विदेशको पीडामा जले पनि नेपालमा रहेकी आफ्नी खसमलाई धैर्यताका साथ प्रतिक्षा गर्न आग्रह गर्न पुग्दछन् । अल्लारे समयको झझल्कोले होला आफुले नै प्रेमीका तिर प्रेमील हातहरु बढाएको कुरा नसर्माई लेख्छन् ।
तिमी देउ या नदेउ ति म्रो हात मैले हात बढाए
सम्झी फूल हो जीवन मैले तिमीलाई चढाए
समग्रमा गीति संग्रहमा सग्रहित गीतहरुलाई सुन्दा वेग्ला वेग्दै स्वाद दिने खालका गीतहरु समेटिएकाछन् । त्यसैले श्रोताहरु एकपछि अर्को गीत सुन्न ललायित भै रहेका हुन्छन् । गीतहरु सुन्दै लैजादा गीतको गहिरो मर्मले श्रोताहरुलाई पगाल्न थाल्दछ र आफ्नै प्रकारको नयाँ अनुभूति दिन पुग्दछ । त्यसैले आलाप गीति संग्रहमा संग्रहित आठ गीतले वेग्लावेग्लै स्वाद पस्केको छ । हरेक नयाँ स्वादले श्रोताहरुलाई मनोरञ्जन दिईरहन्छ । यदि कुनै पनि गीतले श्रोताहरुको मन छोएन र मनोरञ्जन दिएन भने त्यो राम्रो गीत हुन सक्दैन । तर गीतकार डि.बि. पालुङवाका गीतहरुले हरेक श्रोताहरुको मानविय संवेदनालाई सुम्सुम्याई रहन्छ । आलाप गीति संग्रह पहिलो प्रस्तुति भए पनि पहिलो जस्तो लाग्दैन । नयाँ गीतकार भएर पनि उनको खारीएको गीति सिर्जनाले सिद्धहस्त अथवा पारङ्गत देखिन्छन् । पुरानै गीतकारको हाराहारीमा उभेर गीत लेख्नु भनेको पक्कै पनि सजिलो कार्य होईन । कतिपय गीतहरु पुरानै गीतकारलाई समेत चुनौति दिने खालका छन् । आलाप गीति संग्रहलाई मूल्याङ्कन गर्दा आउँदा संग्रहहरु यो भन्दा पनि राम्रो प्रकारको आउँने नै छन् भन्ने कुरामा आशावादी हुन सकिन्छ । किनभने विहानीले दिनको छनक दिन्छ भने झैं पहिलो प्रस्तुतिमा नै उनी माझिएर आएकाछन् । यो निश्चय नै नेपाली गीत संगीतको श्रीवृद्धिको कुरा हो । यस्तै प्रकारका गीतहरु नै र्सवकालिन हुन्छन् जो आलाप गीति संग्रहमा समावेश गरिएकाछन् । गीत संगीतलाई सुन्ने र बुझ्ने श्रोताहरुको आआफ्नै तौरतरिकाहरु हुन्छन् । त्यसैले आलाप गीति संग्रह सुनि सकेपछि कुनै न कुनै गीतले श्रोतालाई छोएरै छाड्दछ । हङकङ जस्तो ब्यस्त ठाउँमा रहेर खाली कामलाई मात्र ध्यान नदिई गीत संगीतमा पनि आफ्नो योगदान दिदा त्यसै पनि उदाहरणीय काम गर्नु भएको छ कवि तथा गीतकार डि.बि. पालुङवाले । त्यसैको फलस्वरुप नेपाली महासंघ हङकङद्वारा सम्मानित पनि भै सक्नु भएको छ । यसरी निरन्तर श्रोताहरुको माझ यस्ता गीति संग्रहहरु आईरहुन र मानसम्मान पाई रहुन् भन्ने कामना गर्दछु । अन्त्यमा सांगीतिक आलापलाई शब्दहरुको आलापले मीठो सुरमा आलाप्न चाहन्छु ।

Feb 22, 2009

“आलाप”को आलाप

अशोक राई
अजम्बरी को छ र ! मान्छे सबै दुई दिनको पाहुना
अमर भइ बाँचिरहने मेरो गीतको सपना
डी बी पालुङ्गाको आधुनीक गीतहरुको सङ्गालो “आलाप” गीति एलबम बजारमा आएको करीब एक वर्ष पुग्न लाग्यो । यस कृतिको बारेमा केही अबश्य लेखौंला भन्दा-भन्दै यत्रो समय गएछ । यस्तै त हो मान्छेलाई परिस्थितिले वाध्य बनाएर हिडाउँछ तर पनि मानिस यो गर्छु, त्यो गर्छु भन्न छाड्दैन । अनेक दुःखहरुमा पनि जीवन त बाँचेकै हुन्छ । दुःख र सुखको बीचमा जीवनको लय मिलाउनु र आत्मा सन्तुष्टी लिएर जिउनु नै जीवनको सौन्दर्य हो । जिन्दगीका यिनै सौन्दर्यलाई शब्दमा उनेर “आलाप” मार्फत सजाएकाछन् कवि तथा गीतकार पालुङ्गाले । सुमधुर तथा कर्णप्रिय गीतहरुको एउटा मीठो संगम हो यो “आलाप” एलबम ।डी.बी. पालुङ्गा हङकङका एक राम्रा कवि पनि हुनु हुन्छ । कुनै दिन संगीतकार नागेन्द्र श्रेष्ठले मलाई एउटा राम्रो कवि, एउटा राम्रो गीतकार पनि हुन्छ भन्नु भएको थियो । साँच्ची नै हो रहेछ डि.बी. पालुङ्गाका गीतहरु हेर्दा र सुन्दा मलाई यो कुरा सत्य लाग्यो । खासगरी आफू हङकङमा लामो समयदेखि रहेर भोगेका डायस्पोरिक भोगाइ, जीवनका अनेक अनुभूति र कोमल प्रेमका भावहरुलाई उनेका शब्दहरु छन् यस एलबममा । संगीतको मीठो कलाले सजाइएका यी सुमधुर गीतहरुलाई सुन्दा जुनसुकै श्रोताको मन मदमस्त हुन्छ र एउटा सुखद आनन्द प्राप्त हुन्छ ।भनिन्छ, बिछोडको बेलामा मात्र हामी प्रेमको गहिराइ महशुस गर्न सक्छौं । एउटा नारीले आफ्नो प्रियतमको अभावमा भोग्ने प्रणय समवेदनालाई गीतकारले भावपूर्ण शब्दमा केलाएका छन् । परदेशमा भएको प्रेमीको यादमा दिन गन्ने एउटा मायालु प्रेमीकाको मनोदशालाई मीठो भावमा पोखेका छन् गीतकारले । जो हामीबीचकै कथाहरु पनि हुन सक्छ । यसरी भोगाइवरपरकै कथाहरुलाई कविले गीतमा पोख्न सकेका छन् यस एलबममा । एउटा विवश र मायालु प्रेमीकाको आलापलाई यी शब्दहरुमा पाउन सकिन्छ ।
बगेर जाने खोलाको के भर कतै निहाल्यौ भने
क्षितिजमा उदाउँला घाम बनेर गोधूलिमा रोयौ भने
मनमा आई कसैले बास मागे तर्काउनु त्यो मन
बाँच्ने मेरो आधार तिमी मेरो धड्कन
मान्छेले न सोचे जस्तो भोग्न सक्छ न भोगे जस्तो सोचेको हुन्छ । जीवनलाई कहिले नसोच्नु वेश, किनकि यो यथार्थमा अर्कै हुन्छ । एउटा इतर भूगोल र सानो स्पेसमा बाँचेका तीतो भोगाइहरु पालुङ्गाका गीतमा भेटिन्छन् । यी आलापहरु औसतमा सबैको हो ।
म त कुनै बस्तु भएछु ज्यूँदो औजार भएछु
चलाऊ मलाई जसरी यहाँ त्यसरी नै म चलिदिन्छु
राजेश पायल राई, दीपक लिम्बू, सुनिता सुब्बा, जगदिश समाल, लासमीत राई, अन्जना गुरुङ, रुपक डोटेल र दिनेश सुब्बा जस्ता स्थापित गायक गायिकाहरुको सुमधुर स्वर रहेको यो एलबममा महेश खड्का, राजेश पायल राई, दिनेश सुब्बा, शीला बहादुर मोक्तान र तारा प्रकाश लिम्बूको संगीत रहेकोछ ।आठ वटा गीतहरु संगालिएको यस एलबममा स्वर संगीत दुबै दिने गायकहरुमा राजेस पायल राई र दिनेश सुब्बा
छन् भने एउटा गीत युगल गायनमा छ । दिपक लिम्बूको स्वरमा रहेको शुरुको गीत अजम्बरी को छ र ? ले श्रोतालाई अत्याधिक आनन्द दिन्छ । त्यसै गरेर जगदिश समालको स्वरमा रहेको तिमीलाई सम्झदा यो तन र मनले भावुक बनाइ दिन्छ भने सुनिता सुब्बाको स्वरमा रहेको सुवास छरी ऋतुहरुमा र लासमीत राईको स्वरमा रहेको म त कुनै बस्तु भएछु गीत बढी कर्णप्रिय छन् । बाँकी गीतहरु पनि कम भने छैनन् तर भन्नै पर्दा सर्वाधिक चर्चित र स्थापित गायक तथा संगीतकार राजेश पायल राईबाट सोचे जति आशा पूरा भएको छैन । ब्यबसायिक तथा स्थापित भइसकेका गायक/संगीतकारहरुबाट नव प्रतिभाहरुले केही राम्रा आशाहरु राख्ने गर्छन् । गीतकारहरुले गरेको दुःख र सोचेको लक्ष्यलाई बुझिदिएर झारो टार्ने हिसाबले मात्र काम नगरी दिए उहाँहरुको लोकप्रियता पनि अझ बढ्दै जाने थियो ।अन्तमा गीतकार पालुङ्गालाई बधाइ दिँदै उनको अमर भई बाँचिरहने आफ्नो गीतहरुको चाहना पूरा होस् र यस्तै राम्रा कृतिहरु भविष्यमा फेरि आइरहोस् भन्ने शुभकामना दिन चाहन्छु
मेरो गीत कुनै उपहार होइन
मेरो गीत कुनै श्रृंगार पनि होइन
प्रीतिको वहार हो मायाको संसार हो

Oct 28, 2008

एउटा सुब्बा बुढो जो समय र आयु किन्न खोजीरहेछ

राजेश राई
writer_bhumiputra@yahoo.com
जीन्दगी ७३ औ बसन्तको उत्तरार्द्धमा छ तर उसलाई कुनै फुर्सद छैन पछाडी फर्केर आजसम्म बाँचेको समयको आत्मसमिक्षा गर्न । उनलाई आजसम्म कुनै फुर्सद भएको छैन बितेको ७३ बसन्तलाई चिहाउने । उनलाई हतारो छ र अझै चिहाईरहेछन् एउटा उज्यालो जीन्दगीको बलेशीबाट नयाँ क्षितिजको उज्यालो । यद्यपी आजसम्म उनी उज्यालै उज्यालो बाटो हिडेर आएका छन् र पनि नयाँ उज्यालोहरु चिहाउँदै दौडिरहेछ एउटा पीरको भारी बोकेर । उनलाई सधै सताउने पीर हो - "कतै लेख्दा लेख्दै वा लेखी नसकी मरिने पो हो की ?" यही पीरको भारी बोकेर दौडीरहेको बेफुर्सदको जीन्दगी हो ७३ बर्षिय साहित्यकार धनहाङ्ग सुब्बाको ।
दार्जीलिङ्गको भारती कालदेखी उदाएका साहित्यकार धनहाङ्ग सुब्बाले बि.स २०१६

स्रष्टा धनहाङ्ग सुब्बा र उनको पछिल्लो कृति लिम्बुवानका लोककथा

मा नै "हसिमा"कथासंग्रह प्रकाशन गरेर जीवनको उज्यालो यात्रा सुरु गरेका हुन् त्यसपछि भविष्य निर्माणको क्रममा जीवनको झन्डै आधा वसन्त बेलायती सेनामा बिताए । बेलायती सेनाबाट अबकाश पछि भबिष्य निर्माणकै क्रममा बेलायती परियोजना लिएर २०/ २१ बर्षअघि नेपाल छिरेका सुब्बाले "सलमत जलान " कथा संग्रह धनकुटामा बसेर लेखे र उत्कृष्ट कथा सग्रहको दर्जामा दर्ता गराए । त्यसो तर इन्द्र बहादुर राई, राधिका राया,लिल बहादुर मुखिया जस्ता वरिष्ठ साहित्यकारहरु उनका समकालिन लेखक हुन् । बि.स २०१६ मा नै हसिमा कथासंग्रह प्रकाशन गर्दा यीनको लेखनमा उनीहरु जतिकै परिस्कृत लेख्ने गर्थे तर भविष्य निर्माणको क्रममा बेलायती सेनामा गएपछि उनका समकालिनहरुले जस्तै नगरी चहि लेख्न उनको ठम्याई छ ।
नेपाली साहित्यको उर्बर भुमी दार्जीलिङ्गमा जन्मिएर जीवनको उज्यालो खोज्दै हिड्दा बेलायतमा आधी जीवन बिताएर बाँकी जीवन धनकुटामा बिताउन आएका यी साहित्यकारलाई यतिबेला हतारो छ आफुले ओढेको आकाश र टेकेको धर्तीसगँको आफ्नो जातीको सम्बन्ध केलाउन र त उनी खोजीरहेछन् लिम्बुवान भित्र पुरिदै गएका लिम्बु जातिहरुको अतितको गौरव गाथा । मर्दै बाचेका ती विगतका गाथाहरुलाई जीवन भरीरहेका छन् । उनले भर्खर मात्र लिम्बुवानका लिम्बुहरुको आदिम इतिहासका ६० वटा प्रमाण बटुलेर प्रकाशन गरेका छन् लोककथा संग्रह "लिम्बुवानका लोककथा" ।
जीन्दगीलाई समिक्षा गरेर बस्ने बेला उनले पूर्वी नेपालको लिम्बुवानको लिम्बु बस्तीको चहारेर संकलन गरेका हुन् लिम्बुवान भित्रका ६० लोककथा । ती लोककथाहरुमा लिम्बु जातिको आदिमा इतिहास छ , आदिम संस्कतिको प्रतिबिम्ब छ लिम्बु जातिहरुले आदिम युगमा बाँचेको जीन्दगीको कथा छ । आज प्रबिधि र विज्ञानको युगमा कसैलाई यी कथाहरु .अकथा वा अरु केही लाग्न सक्ला तर यो कथाहरु लोकवार्ताविज्ञानको निमित्त एक अमुल्य निधि र लिम्बु जातिहरुको लागिको लिम्बु जाति भनिनु वा लिम्बु हुनुको एउटा गर्व हो । लिम्बुहरुले यो कथाहरु पढेर आफुले ओढेको आकाश र टेकेको माटोसगँको आफ्नो आदिम सम्बन्ध खोजी वर्तमानमा एउटा उत्साह बटुल्न सक्नेछन् लिम्ब हुनुको गर्व ।
लौरो टेकेर लिम्बुबस्ती चहादै लिम्बुवानको लोककथा प्रकाशन गरेपछि पनि सुब्बालाई फुर्सदको महशुस भएको छैन र फेरी सताईरहेछ त्यी चिन्ताले - "कतै लेख्दा लेख्दै वा लेखी नसकी मरिने पो हो की ?" आधा जीवन बन्दुक बोकर बिताएका सुब्बाले यो बेला भगवानसगँ प्राथना गरिरहेछ कलमसगँको सयम थपिदेउ भनेर । उनी भन्छन् मलाई अरु केही चिन्ता छैन केही बर्षअझै बाचेर लेख्न पाए हुन्थ्यो । बन्दुक बोक्दा पनि उनले नलेखेको नपढेको त कहाँ हो र बन्दुकको समय चोरेर उनी कहिले हराउँथे लक्ष्मीप्रसादरु र पारिजातहरुमा । डयुटीको सयम बाहेक सबै सयम अध्यान र लेखनमा लगाएको उनी
बताउँछन् । सुब्बा यो उमेरमा पनि दैनिक ५ घन्टा भन्दा पढार्इमा बढी र ४ घन्टा लेखीरहेका छन् । यतिबेला पनि सम्मान पुरस्कार थाप्न जादाँको समय भन्दा सबै लगानी गरीरहेछ लेखनमा । उनी अझ धेरै बाचेर धेरै लेख्न चहान्छ , आफुले आढेको आकाश र टेकेको धर्तीसगँको साईनो पत्ता लगाउन चहान्छ । उनी भन्छन्- "बेफुर्सद छ जीन्दगी , कसैसगँ समय अथवा आयु बिक्रीमा भए म किन्ने थिए ।" यदि कसैसगँ समय र आयु बिक्रीमा भए धनहाङ्ग सुब्बालाई खबर गरिदिनु होला ।

Oct 18, 2008

डीबीको ‘आलाप’, मेरो प्रलाप !

प्रदिप कन्दङवा(लिम्वू)
सँगीतका तीन सँघटकहरु भएको मानिल्याउँदा केन्द्रमा शब्द आसीन भएको मान्नुपर्दछ । शब्दको मियो समातेर संगीत र स्वरले आकार ग्रहण गर्दछन् । स्रष्टाको चेतनामा जब कुनै तार झँकृत हुन्छ तब त्यहाँ सहसा कुनै धुन तरँगित हुन्छ तर पूर्ण चेतनामा नभई अवचेतनमा हुन सक्दछ । तरँगित त्यही धुनको इर्दगिर्द केवल चेतनमा मात्रै होइन परन्तु चेतनाको अटल गहिराइमा थिग्रिएका, अबउप्रान्त भावना मात्र होइन, विचार सहितका शब्दहरु नै गीत बनेर सतहमा उत्रनुपर्दछ भन्ने आग्रह हो, दुराग्रह होइन । यसरी शब्दमा निहित सँगीतका धुनहरु भावनाको कोमल बाटो भएर पहिल्याउँछन् सँगीतकारहरु भनेर दाबी गरिदिँदा के कति होंचो अर्घेलो पर्ने हो भन्न सकिएन । शब्द र सँगीतको संयुक्त प्रयोजनबाट निर्मित गीतको गेडामा स्वर भर्छन् गायकहरु जो प्राकृतिक रुपमा स्वरसम्पन्न हुन्छन् । स्वर एउटा प्राकृतिक गुण हो । जो प्राकृतिक रुपले दरिद्र छ, उसले यो प्रयास गर्नु सोह्रैआना गलत भनिहाल्न पनि सकिँदैन, किनभने यदाकदा बढी मेहनतका कारण या अपवादिक रुपमा त्यस्ता गायकहरु पनि सफल भएको देख्न सुन्नमा आएको कुरा झुटो बुझ्नु हुँदैन । समग्रमा संगीत पनि जीवन जस्तै अपरिभाषित हुनेरहेछ । अथवा संगीतको सर्वमान्य परिभाषा नहुनेरहेछ, भन्ने लागेको छ ।मैले डीबी पालुङ्वालाई एक सशक्त कविको रुपमा लामो समयदेखि सुन्दै, पढ्दै र चिन्दै आएको थिएँ । एकदिन उनले साँगीतिक एलबमको तयारीमा आफू जुटिरहेको बताउँदा मनमा अनेकौं उत्सुकताहरु पलाएका थिए । पलाएका उत्सुकताहरु ओइलाउन ओइलाउन लाग्दा उनले “आलाप” नामको एक साँगीतितक एलबम मेरो हातमा थमाइदिए । त्यतिखेर उनको आँखामा आलोकित हर्षानुभूति मैले ऐकै निमेष अवलोकन गर्न भ्याएको थिएं । कामको थुप्रै चट्टारोबाट जबरजस्ति उम्किएर म आलापको विमोचन समारोहमा सरिक हुन पुगेको थिएं । त्यहाँ आलापबारे केही बोलिरहँदा परोक्षमा एउटा डरले गाँजिरहेको थियो । मैले आलापलाई दोहोर्‍याएर सुन्न भ्याएको थिइँन । कतै आलापउपर प्रलाप पो भइरहेको छ कि भन्ने एउटा धमिलो शंका मनमा हुर्किरहेको थियो । आलापमा आठ गीतहरु समाहित भएका छन् । डीबी पालुङ्वाको एकल रचनामा वरिष्ठ संगीतकार दिनेश सुब्बालगायत नेपालका ख्यातिप्राप्त संगीतकारहरुले संगीत दिएका छन् । त्यसैगरी स्वरका राजा राजेश पायल राई समेतलाई डीबीले आफ्नो एलबममा समेटेका छन् । राजेश पायललगायत अरु पनि ह स्ती गायकहरुले यो एलबममा स्वर भरेका छन् । डीबीले आफूलाई कविताबाट गीततर्फ संक्रमित गराउँदा के कति संकष्टहरु झेले होलान् ? -बेला बखत त्यतातिर मन सर्किरहन्छ । गीत लेखनमा एउटा संकुचनको अवस्था रहन्छ कवितमा जस्तो उन्मुक्ति हुँदैन । लगभग हात-खुट्टा बाँधिएको लाचार अवस्थामा गीतका शब्दहरु कोरलिन्छन् । तर जति कष्ट साध्य गरेर गीतकारहरुले गीत सृजना गर्छन् त्यस अनुपातमा क्रेडिट पाउँदैनन् । यो दुःखद बिडम्बनाबाट गीतकारहरु मुक्त हुन अब गीतमा कला, भावना र विचारको पनि खरो सम्मिश्रण हुनुपर्दछ । गीतमा भावना मात्र हुँदा श्रोताले गीत सुनेर आन्नद उठाउँछ र उसले सीधा स्वरसँग मात्र आफ्नो सम्बन्ध बनाउँछ । जब गीतमा विचारपक्षले आफ्नो ठाउँ बनाउँछ तब विचारले स्वाभाविक रुपमा श्रोताको दिमाग कोतर्न थाल्छ, परिणाममा श्रोता र गीतकारबीच एउटा पुल बाँधिनसक्छ । विचार र सिद्धान्त बोकेका गीतहरु विशुद्ध मनोरन्जनको कित्ताबाट अलग्गै हुनुहुँदैन तर गीत पनि समाज र राष्ट्र परिवर्तनको संवाहक हुनुपर्दछ, केवल मनोरन्जनमात्र गीतको अभीष्ट हुनुहुँदैन । सृजनामा विचार हावी भएपछि त्यसको कलापक्ष कमजोर हुन्छ भन्ने पूरातन मान्यताबाट निर्देशित छौं हामी, त्यो मान्यतालाई भत्काउन सृजनामा सावधानी अपनाउन आवश्यक देखिन्छ ।डीबीले निकै लामो समय, श्रम र पैसासमेत खर्चेर “आलाप” नामक जो गीति एलबम नेपाली संगीतमा भित्र्याएका छन्, विचारेर ल्याउँदा पहिलोजस्तो पटक्कै लाग्दैन । हुन त पहिलो सबै कमसल हुन्छ भन्ने पनि सत्य कुरा होइन । एलबमभित्र समेटिएका शब्दहरु शिल्प र शैलीगत हिसाबले उत्कृष्ट लाग्दछ । सृजनामार्फत आफूलाई अमर बनाउने गीतकारको चेष्टा गीतमा समेत अवतरित भएको छ । एलबम भरिका गीतहरुमध्ये “अजम्बरी” शीर्षकको पहिलो नम्बर गीतलाई शब्द, संगीत र स्वरको हिसाबले यो एलबमकै प्रतिनिधि गीतको रूपमा लिन सकिन्छ । त्यसपछि तीनवटा खुड्किला एकैचोटि चढेर “म त कुनै वस्तु भएछु” बोलको ५ नम्बरको गीतमा नपुगी धरै छैन । यो गीतमा प्रयुक्त भएका शब्दहरुबाट उदभेदन भएका विचारहरु दुई धारबाट नियाल्न सकिन्छ । पुरुष शासित समाजबाट परित्यक्त नारीले आफूलाई खेलौनाको रुपमा अनुभुत गर्दाको बिलौना हुनसक्छ यो । अर्को, समाजका जान्ने बाठाहरु, जाली झेलीहरु, राजनीतिक नेताहरुबाट एउटा आम मान्छे जसरी भकुन्डिन्छ त्यसैको प्रतिरुप हुनसक्छ यो गीत । झट्ट सुन्दा यो गीत पप फ्लेबरमा बनिएको रहेछ जस्तो लाग्छ तर त्यो भ्रम तत्काल निवारण हुन्छ जब श्रोता अन्तरामा प्रवेश गर्छ । यो गीतमा लासमितको स्वर लिम्बूनीको शिरमा शिरबन्दि जत्तिकै सुहाएको छ । फेरि पछाडि फर्केर “सुवास छरी” बोलको ३ नम्बरको गीतमा केही क्षण घोत्लिन मन लाग्छ । यो गीतले बोकेको भाव अमूर्त छ तर छ अभिब्यक्तिको जादुगरी । डीबीको शैली शिल्पको अनुपम नमुना । यो गीत वास्तवमा सुन्नमा जस्तै पढ्नमा पनि आनन्द आउने खालको छ । सुनिता सुब्बाको खारिएको स्वरले यो गीतको वजन केही बढाएको छ । उल्लेखित ३ बाहेक अरु ५ गीतलाई भावार्थ मात्र होइन, स्वर र संगीतको हिसाबले समेत एउटै कित्तामा राख्न सकिन्छ । यद्यपि “कल्पनाको सागरमा” बोलको ३ नम्बरको गीतको बारेमा थोरै चर्चा गर्दा स्वरका राजा राजेश पायल राईको संगीतपक्ष अलिक फितलो महशुस हुन्छ । तारा प्रकाश लिम्बू संगीतमा नयाँ नामजस्तो लाग्छ । नयाँ नाम हुँदैमा नयाँ काम हुन्छ भन्ने कुनै ज्ञारेन्टि हुँदैन । आधुनिक गीतको परम्परागत शैलीलाई उनले छोड्न नसकेको आभास हुन्छ ।आधुनिक संगीत संकटको भुमरीमा फसेको समयमा “आलाप” ले खुट्टा टेकेको छ । अब अगाडि बढ्न हिन्दी, पप, रिमिक्स, रिमेक, इङ्लिस, लोकगीत आदि ईत्यादिजस्ता बारहरु भत्काउनुपर्ने हुन्छ । जसको निम्ति नेपाली संगीतका श्रोताले आफ्नो मौलिकतामा विश्वास गर्न सक्नुपर्छ ।डीबीको प्रथम गीति एलबम आलापले नेपाली संगीतको दुनियाँमा आफ्नो स्थान बनाउला भन्ने कुरामा शँका नरहला । यद्यपि समग्रमा “आलाप” पारम्परित नेपाली आधुनिक गीतको कित्तामा उभिनेछ भनेर भन्दा अर्घेलो नहोला भन्ने आशय मात्र हो । डीबीलाई “आलाप”को निम्ति बधाइको साथमा सफलताको शूभकामना टक्र्याउँछु ।सेवारो आदाङ्वे ।

Aug 14, 2008

''आलाप'' लाई छोटो चिनारी

विमल राई
हङकङको कोलाहलमय कर्कष आवाजहरुलाई विस्थापित गर्दै भर्खरै आम् नेपालीहरुको समुदायमा एउटा गीति संगालो 'आलाप' सप्रेम् भेटको लागी आएको छ । सबै आधुनिक गीतहरु एउटा शुन्दर कृतिको रुपमा । हङकङकै मोफसलमा रहेर दिनचार्यबाट बचेखुचेको समयको पलहरुलाई सदुपयोग गर्दै आफ्नो भावनाको वाकटे हान्ने उही गीतकार डि.वी. पालुङ्वाको शब्दहरुमा सजिएको 'आलाप' । हङकङ नेपाली साहित्य प्रतिष्ठानले जुलाई एक तारिकका दिन जोर्डन स्थित नेपाली कलवको सभाकक्षमा आफ्नो नवौं वाषिकउत्सवको दिन हङकङका लागी नेपाली महाबाणिज्यदूत श्री केशव प्रसाद भट्टराईद्धारा लोकार्पण गरिएको थियो । यहांको साहित्यीक उर्वर भूमिमा श्रृजनाहरु एक पछि अर्को गर्दै जन्मिने क्रममा फेरी अर्को श्रृजनाको फ्ल फुलेको छ । सन्देह छैन गीतकार हङकङमा
गीतको क्षेत्रमा कलम चलाउने संग कुम दोजाउन आई पुग्नु भएको छ । वहांले आठ वटा गीतहरुलाई आफनो पहिलो कृतिको रुपमा संग्रह गर्न पुग्नु भएको छ । हामी नेपालीहरु प्रवासीए पछि गांउघरको लोकभाका र आधुनिक गीतहरुबाट करिव करिव वन्चितै हुन पुगेको अवस्थामा यस्ले हामीमा खटकिएको आभासलाई केही हद सम्म पुरा गरि दिएको छ ।
गीतहरुमा फरक फरक वान्की र स्वाद पस्कनु गीतकारको शिल्पमा निखारपन्को आभास पाईन्छ । गीत र संगीतको तालमेलमा ब्यापक सामन्जस्य छ । गीतकार भन्नुहन्छ एउटा पूर्ण गीत लेख्न त्यति सजिलो छैन , विषय वस्तुको गहिराइमा डुवेर आदी मध्य र अन्त्यमा एउटा सिङगो कथा अटेको हुनु पर्दछ । वास्तवमा वगुन्द्र शब्दहरुको थुप्रोबाट मात्रै गीतको स्वरुप बन्न सक्दैन । जसमा मौलिकताले सजाएर संगीतले स्वरुप दिनु पर्छ अनि स्वरले सिगार्नु पर्छ ।
माया, पिरती, र मिलन, विछोडको समानन्तरमा यथार्थपरक ''अजम्वरी को छ र'' - जस्ता शब्दहरुमा ''मान्छे संगै मरेर नजाओस कुनै श्रृजना'' भन्ने गीतकारको उत्वेगहरु अव्वल दर्जाका रचनाकार वन्नुका मापक हुन् । चार नम्वरको गीतमा प्रवासीनुको पीडाले गीतकार रुनु रुन्छन् । जुन यो सवै विदेशिएका प्रदेशीहरुको पीडाको प्रतिविम्व हो यो । संझदा संझदैं गाउमा आफनो खसम्लाई पर्खि वसेकी प्रियसीलाई अंगालोमा बांध्ने सपना बुनेर आस्वासन दिन्छ यसरी कि ''हत्तार छ मलाई पनि खुसी लिई आउन'' भन्ने उदघोषले प्रियसीको वहकिएको मनलाई बांध्ने मन्त्रको जाल फयांकेर भए पनि केही दिनको लागी धैर्य धारण गर्ने आश्वासन दिन सफल भएका छन् गीतकार यहां । सायद येही हो परदेशीहरुको मन बुझाउने आधार । धुनहरुले श्रृगार पटार गरेर चिटीक्क पारेका छन् । संगीतका हस्तीहरु दिनेश सुब्बा , शीला बहादुर मोक्तान , राजेश पायल राई , महेश खड्का , र तारा प्रकाश लिम्बुले नेपाली संगीतलाई कति पनि खति नगरीकन मौंलिक धुन भरेका छन् । पाश्चात्य संगीतको आंधीले नेपाली मौलिक संगीतलाई विस्थापित गर्लाकी भन्ने आजको अवस्थामा यस सांगीतिक संगालोले आम नेपाली चिन्तकको शंका केही हद सम्म निवारण गरीदिएको छ । स्वरका सगरमाथाहरु दिनेश सुब्बा , राजेश पायल राई , दीपक लिम्बु , लासमित राई , जगदीश समाल , सुनिता सुब्बा , अन्जु गुरुङ ,र रुपक डोटेलको आवाजहरुको बारेमा श्रोताहरुले नै मुल्याङकन गर्नु हुनेछ ।
गधताबाट पुरै अलग नगएर छन्दको पुरै कित्तामा नपरेर माझधारहरुमा अन्तराहरुको मिठासमा कता कता नौलो आभाष पाईन्छ । श्रोताहरुले श्रवण गर्दै जांदा भावनाको सम्प्रेसण आफैमा अन्त्यको महसुस हुन्छ । शब्द , संगीत , र स्वरको तादत्म्यता विशिष्टको छ भन्दा अतिरन्जित नहोला । श्रष्टाको श्रृजना
श्रेष्ठ भएर पनि र्सवश्रेष्ठ हुन सकेको पाइएन । म त कुनै वस्तुको वोलको गीत अरुको तुलनामा केही कमजोर छ र गीतहरु बज्नु भन्दा अघि गीतकार गीती संगालोको बारेमा एउटा चिनारी उदघोषण हुनु पर्थ्यो । जुन नेपाली परम्परा हो । श्रष्टाले आफनो श्रृजना जनसमक्ष ल्याउने सवालमा संभवत वहां नै प्रथम हुनुहुन्छ साक्षात्कार मार्फत आफना मनका मिठा शब्दहरु पोख्नुहुने । साक्षत्कारको विषय राखेर गीतकारले आफनो कवित्वको पहिचान दिएका छन् । उक्त अभिब्यक्तिले गीतकारबाट भबिष्यमा पुन अरु पनि केही आशा राख्नु पर्ने सम्भावना श्रृजना भएका छन् । मेरो तर्फबाट श्रध्दाका फूलहरु उनै डि.वी.पालुङवाका '' आलाप '' भित्रका शब्दहरुलाई , जसले श्रोताहरुको मन जित्न सकोस् ।