Oct 28, 2008

एउटा सुब्बा बुढो जो समय र आयु किन्न खोजीरहेछ

राजेश राई
writer_bhumiputra@yahoo.com
जीन्दगी ७३ औ बसन्तको उत्तरार्द्धमा छ तर उसलाई कुनै फुर्सद छैन पछाडी फर्केर आजसम्म बाँचेको समयको आत्मसमिक्षा गर्न । उनलाई आजसम्म कुनै फुर्सद भएको छैन बितेको ७३ बसन्तलाई चिहाउने । उनलाई हतारो छ र अझै चिहाईरहेछन् एउटा उज्यालो जीन्दगीको बलेशीबाट नयाँ क्षितिजको उज्यालो । यद्यपी आजसम्म उनी उज्यालै उज्यालो बाटो हिडेर आएका छन् र पनि नयाँ उज्यालोहरु चिहाउँदै दौडिरहेछ एउटा पीरको भारी बोकेर । उनलाई सधै सताउने पीर हो - "कतै लेख्दा लेख्दै वा लेखी नसकी मरिने पो हो की ?" यही पीरको भारी बोकेर दौडीरहेको बेफुर्सदको जीन्दगी हो ७३ बर्षिय साहित्यकार धनहाङ्ग सुब्बाको ।
दार्जीलिङ्गको भारती कालदेखी उदाएका साहित्यकार धनहाङ्ग सुब्बाले बि.स २०१६

स्रष्टा धनहाङ्ग सुब्बा र उनको पछिल्लो कृति लिम्बुवानका लोककथा

मा नै "हसिमा"कथासंग्रह प्रकाशन गरेर जीवनको उज्यालो यात्रा सुरु गरेका हुन् त्यसपछि भविष्य निर्माणको क्रममा जीवनको झन्डै आधा वसन्त बेलायती सेनामा बिताए । बेलायती सेनाबाट अबकाश पछि भबिष्य निर्माणकै क्रममा बेलायती परियोजना लिएर २०/ २१ बर्षअघि नेपाल छिरेका सुब्बाले "सलमत जलान " कथा संग्रह धनकुटामा बसेर लेखे र उत्कृष्ट कथा सग्रहको दर्जामा दर्ता गराए । त्यसो तर इन्द्र बहादुर राई, राधिका राया,लिल बहादुर मुखिया जस्ता वरिष्ठ साहित्यकारहरु उनका समकालिन लेखक हुन् । बि.स २०१६ मा नै हसिमा कथासंग्रह प्रकाशन गर्दा यीनको लेखनमा उनीहरु जतिकै परिस्कृत लेख्ने गर्थे तर भविष्य निर्माणको क्रममा बेलायती सेनामा गएपछि उनका समकालिनहरुले जस्तै नगरी चहि लेख्न उनको ठम्याई छ ।
नेपाली साहित्यको उर्बर भुमी दार्जीलिङ्गमा जन्मिएर जीवनको उज्यालो खोज्दै हिड्दा बेलायतमा आधी जीवन बिताएर बाँकी जीवन धनकुटामा बिताउन आएका यी साहित्यकारलाई यतिबेला हतारो छ आफुले ओढेको आकाश र टेकेको धर्तीसगँको आफ्नो जातीको सम्बन्ध केलाउन र त उनी खोजीरहेछन् लिम्बुवान भित्र पुरिदै गएका लिम्बु जातिहरुको अतितको गौरव गाथा । मर्दै बाचेका ती विगतका गाथाहरुलाई जीवन भरीरहेका छन् । उनले भर्खर मात्र लिम्बुवानका लिम्बुहरुको आदिम इतिहासका ६० वटा प्रमाण बटुलेर प्रकाशन गरेका छन् लोककथा संग्रह "लिम्बुवानका लोककथा" ।
जीन्दगीलाई समिक्षा गरेर बस्ने बेला उनले पूर्वी नेपालको लिम्बुवानको लिम्बु बस्तीको चहारेर संकलन गरेका हुन् लिम्बुवान भित्रका ६० लोककथा । ती लोककथाहरुमा लिम्बु जातिको आदिमा इतिहास छ , आदिम संस्कतिको प्रतिबिम्ब छ लिम्बु जातिहरुले आदिम युगमा बाँचेको जीन्दगीको कथा छ । आज प्रबिधि र विज्ञानको युगमा कसैलाई यी कथाहरु .अकथा वा अरु केही लाग्न सक्ला तर यो कथाहरु लोकवार्ताविज्ञानको निमित्त एक अमुल्य निधि र लिम्बु जातिहरुको लागिको लिम्बु जाति भनिनु वा लिम्बु हुनुको एउटा गर्व हो । लिम्बुहरुले यो कथाहरु पढेर आफुले ओढेको आकाश र टेकेको माटोसगँको आफ्नो आदिम सम्बन्ध खोजी वर्तमानमा एउटा उत्साह बटुल्न सक्नेछन् लिम्ब हुनुको गर्व ।
लौरो टेकेर लिम्बुबस्ती चहादै लिम्बुवानको लोककथा प्रकाशन गरेपछि पनि सुब्बालाई फुर्सदको महशुस भएको छैन र फेरी सताईरहेछ त्यी चिन्ताले - "कतै लेख्दा लेख्दै वा लेखी नसकी मरिने पो हो की ?" आधा जीवन बन्दुक बोकर बिताएका सुब्बाले यो बेला भगवानसगँ प्राथना गरिरहेछ कलमसगँको सयम थपिदेउ भनेर । उनी भन्छन् मलाई अरु केही चिन्ता छैन केही बर्षअझै बाचेर लेख्न पाए हुन्थ्यो । बन्दुक बोक्दा पनि उनले नलेखेको नपढेको त कहाँ हो र बन्दुकको समय चोरेर उनी कहिले हराउँथे लक्ष्मीप्रसादरु र पारिजातहरुमा । डयुटीको सयम बाहेक सबै सयम अध्यान र लेखनमा लगाएको उनी
बताउँछन् । सुब्बा यो उमेरमा पनि दैनिक ५ घन्टा भन्दा पढार्इमा बढी र ४ घन्टा लेखीरहेका छन् । यतिबेला पनि सम्मान पुरस्कार थाप्न जादाँको समय भन्दा सबै लगानी गरीरहेछ लेखनमा । उनी अझ धेरै बाचेर धेरै लेख्न चहान्छ , आफुले आढेको आकाश र टेकेको धर्तीसगँको साईनो पत्ता लगाउन चहान्छ । उनी भन्छन्- "बेफुर्सद छ जीन्दगी , कसैसगँ समय अथवा आयु बिक्रीमा भए म किन्ने थिए ।" यदि कसैसगँ समय र आयु बिक्रीमा भए धनहाङ्ग सुब्बालाई खबर गरिदिनु होला ।

Oct 18, 2008

डीबीको ‘आलाप’, मेरो प्रलाप !

प्रदिप कन्दङवा(लिम्वू)
सँगीतका तीन सँघटकहरु भएको मानिल्याउँदा केन्द्रमा शब्द आसीन भएको मान्नुपर्दछ । शब्दको मियो समातेर संगीत र स्वरले आकार ग्रहण गर्दछन् । स्रष्टाको चेतनामा जब कुनै तार झँकृत हुन्छ तब त्यहाँ सहसा कुनै धुन तरँगित हुन्छ तर पूर्ण चेतनामा नभई अवचेतनमा हुन सक्दछ । तरँगित त्यही धुनको इर्दगिर्द केवल चेतनमा मात्रै होइन परन्तु चेतनाको अटल गहिराइमा थिग्रिएका, अबउप्रान्त भावना मात्र होइन, विचार सहितका शब्दहरु नै गीत बनेर सतहमा उत्रनुपर्दछ भन्ने आग्रह हो, दुराग्रह होइन । यसरी शब्दमा निहित सँगीतका धुनहरु भावनाको कोमल बाटो भएर पहिल्याउँछन् सँगीतकारहरु भनेर दाबी गरिदिँदा के कति होंचो अर्घेलो पर्ने हो भन्न सकिएन । शब्द र सँगीतको संयुक्त प्रयोजनबाट निर्मित गीतको गेडामा स्वर भर्छन् गायकहरु जो प्राकृतिक रुपमा स्वरसम्पन्न हुन्छन् । स्वर एउटा प्राकृतिक गुण हो । जो प्राकृतिक रुपले दरिद्र छ, उसले यो प्रयास गर्नु सोह्रैआना गलत भनिहाल्न पनि सकिँदैन, किनभने यदाकदा बढी मेहनतका कारण या अपवादिक रुपमा त्यस्ता गायकहरु पनि सफल भएको देख्न सुन्नमा आएको कुरा झुटो बुझ्नु हुँदैन । समग्रमा संगीत पनि जीवन जस्तै अपरिभाषित हुनेरहेछ । अथवा संगीतको सर्वमान्य परिभाषा नहुनेरहेछ, भन्ने लागेको छ ।मैले डीबी पालुङ्वालाई एक सशक्त कविको रुपमा लामो समयदेखि सुन्दै, पढ्दै र चिन्दै आएको थिएँ । एकदिन उनले साँगीतिक एलबमको तयारीमा आफू जुटिरहेको बताउँदा मनमा अनेकौं उत्सुकताहरु पलाएका थिए । पलाएका उत्सुकताहरु ओइलाउन ओइलाउन लाग्दा उनले “आलाप” नामको एक साँगीतितक एलबम मेरो हातमा थमाइदिए । त्यतिखेर उनको आँखामा आलोकित हर्षानुभूति मैले ऐकै निमेष अवलोकन गर्न भ्याएको थिएं । कामको थुप्रै चट्टारोबाट जबरजस्ति उम्किएर म आलापको विमोचन समारोहमा सरिक हुन पुगेको थिएं । त्यहाँ आलापबारे केही बोलिरहँदा परोक्षमा एउटा डरले गाँजिरहेको थियो । मैले आलापलाई दोहोर्‍याएर सुन्न भ्याएको थिइँन । कतै आलापउपर प्रलाप पो भइरहेको छ कि भन्ने एउटा धमिलो शंका मनमा हुर्किरहेको थियो । आलापमा आठ गीतहरु समाहित भएका छन् । डीबी पालुङ्वाको एकल रचनामा वरिष्ठ संगीतकार दिनेश सुब्बालगायत नेपालका ख्यातिप्राप्त संगीतकारहरुले संगीत दिएका छन् । त्यसैगरी स्वरका राजा राजेश पायल राई समेतलाई डीबीले आफ्नो एलबममा समेटेका छन् । राजेश पायललगायत अरु पनि ह स्ती गायकहरुले यो एलबममा स्वर भरेका छन् । डीबीले आफूलाई कविताबाट गीततर्फ संक्रमित गराउँदा के कति संकष्टहरु झेले होलान् ? -बेला बखत त्यतातिर मन सर्किरहन्छ । गीत लेखनमा एउटा संकुचनको अवस्था रहन्छ कवितमा जस्तो उन्मुक्ति हुँदैन । लगभग हात-खुट्टा बाँधिएको लाचार अवस्थामा गीतका शब्दहरु कोरलिन्छन् । तर जति कष्ट साध्य गरेर गीतकारहरुले गीत सृजना गर्छन् त्यस अनुपातमा क्रेडिट पाउँदैनन् । यो दुःखद बिडम्बनाबाट गीतकारहरु मुक्त हुन अब गीतमा कला, भावना र विचारको पनि खरो सम्मिश्रण हुनुपर्दछ । गीतमा भावना मात्र हुँदा श्रोताले गीत सुनेर आन्नद उठाउँछ र उसले सीधा स्वरसँग मात्र आफ्नो सम्बन्ध बनाउँछ । जब गीतमा विचारपक्षले आफ्नो ठाउँ बनाउँछ तब विचारले स्वाभाविक रुपमा श्रोताको दिमाग कोतर्न थाल्छ, परिणाममा श्रोता र गीतकारबीच एउटा पुल बाँधिनसक्छ । विचार र सिद्धान्त बोकेका गीतहरु विशुद्ध मनोरन्जनको कित्ताबाट अलग्गै हुनुहुँदैन तर गीत पनि समाज र राष्ट्र परिवर्तनको संवाहक हुनुपर्दछ, केवल मनोरन्जनमात्र गीतको अभीष्ट हुनुहुँदैन । सृजनामा विचार हावी भएपछि त्यसको कलापक्ष कमजोर हुन्छ भन्ने पूरातन मान्यताबाट निर्देशित छौं हामी, त्यो मान्यतालाई भत्काउन सृजनामा सावधानी अपनाउन आवश्यक देखिन्छ ।डीबीले निकै लामो समय, श्रम र पैसासमेत खर्चेर “आलाप” नामक जो गीति एलबम नेपाली संगीतमा भित्र्याएका छन्, विचारेर ल्याउँदा पहिलोजस्तो पटक्कै लाग्दैन । हुन त पहिलो सबै कमसल हुन्छ भन्ने पनि सत्य कुरा होइन । एलबमभित्र समेटिएका शब्दहरु शिल्प र शैलीगत हिसाबले उत्कृष्ट लाग्दछ । सृजनामार्फत आफूलाई अमर बनाउने गीतकारको चेष्टा गीतमा समेत अवतरित भएको छ । एलबम भरिका गीतहरुमध्ये “अजम्बरी” शीर्षकको पहिलो नम्बर गीतलाई शब्द, संगीत र स्वरको हिसाबले यो एलबमकै प्रतिनिधि गीतको रूपमा लिन सकिन्छ । त्यसपछि तीनवटा खुड्किला एकैचोटि चढेर “म त कुनै वस्तु भएछु” बोलको ५ नम्बरको गीतमा नपुगी धरै छैन । यो गीतमा प्रयुक्त भएका शब्दहरुबाट उदभेदन भएका विचारहरु दुई धारबाट नियाल्न सकिन्छ । पुरुष शासित समाजबाट परित्यक्त नारीले आफूलाई खेलौनाको रुपमा अनुभुत गर्दाको बिलौना हुनसक्छ यो । अर्को, समाजका जान्ने बाठाहरु, जाली झेलीहरु, राजनीतिक नेताहरुबाट एउटा आम मान्छे जसरी भकुन्डिन्छ त्यसैको प्रतिरुप हुनसक्छ यो गीत । झट्ट सुन्दा यो गीत पप फ्लेबरमा बनिएको रहेछ जस्तो लाग्छ तर त्यो भ्रम तत्काल निवारण हुन्छ जब श्रोता अन्तरामा प्रवेश गर्छ । यो गीतमा लासमितको स्वर लिम्बूनीको शिरमा शिरबन्दि जत्तिकै सुहाएको छ । फेरि पछाडि फर्केर “सुवास छरी” बोलको ३ नम्बरको गीतमा केही क्षण घोत्लिन मन लाग्छ । यो गीतले बोकेको भाव अमूर्त छ तर छ अभिब्यक्तिको जादुगरी । डीबीको शैली शिल्पको अनुपम नमुना । यो गीत वास्तवमा सुन्नमा जस्तै पढ्नमा पनि आनन्द आउने खालको छ । सुनिता सुब्बाको खारिएको स्वरले यो गीतको वजन केही बढाएको छ । उल्लेखित ३ बाहेक अरु ५ गीतलाई भावार्थ मात्र होइन, स्वर र संगीतको हिसाबले समेत एउटै कित्तामा राख्न सकिन्छ । यद्यपि “कल्पनाको सागरमा” बोलको ३ नम्बरको गीतको बारेमा थोरै चर्चा गर्दा स्वरका राजा राजेश पायल राईको संगीतपक्ष अलिक फितलो महशुस हुन्छ । तारा प्रकाश लिम्बू संगीतमा नयाँ नामजस्तो लाग्छ । नयाँ नाम हुँदैमा नयाँ काम हुन्छ भन्ने कुनै ज्ञारेन्टि हुँदैन । आधुनिक गीतको परम्परागत शैलीलाई उनले छोड्न नसकेको आभास हुन्छ ।आधुनिक संगीत संकटको भुमरीमा फसेको समयमा “आलाप” ले खुट्टा टेकेको छ । अब अगाडि बढ्न हिन्दी, पप, रिमिक्स, रिमेक, इङ्लिस, लोकगीत आदि ईत्यादिजस्ता बारहरु भत्काउनुपर्ने हुन्छ । जसको निम्ति नेपाली संगीतका श्रोताले आफ्नो मौलिकतामा विश्वास गर्न सक्नुपर्छ ।डीबीको प्रथम गीति एलबम आलापले नेपाली संगीतको दुनियाँमा आफ्नो स्थान बनाउला भन्ने कुरामा शँका नरहला । यद्यपि समग्रमा “आलाप” पारम्परित नेपाली आधुनिक गीतको कित्तामा उभिनेछ भनेर भन्दा अर्घेलो नहोला भन्ने आशय मात्र हो । डीबीलाई “आलाप”को निम्ति बधाइको साथमा सफलताको शूभकामना टक्र्याउँछु ।सेवारो आदाङ्वे ।