May 28, 2008

टंक सम्वाहाम्फेको अर्को गीती अल्वम

राई चन्द्र दुमी

" सार,,को सारपक्ष
यौटा सुन्दर संसार थियो मनको वस्तिभित्र
उजाड भयो जीन्दगानी दुख्दा छाती भित्र
-प्रणय प्रिती

बिती रहेछ यसरीनै जीवन यो सारा
दुखियालाई बनाईदिन्छन दोषको तारा
ताप हो की राप हो त्यसै सहनु पर्यो
-बिद्रोह

हंगकंगको नेपाली सांगितिक माहौलमा घरिन,घरि गीत र्सजकहरुले तहल्का मच्चाई रहन्छन । यस्मा लागि परेर गीतकारमा आफुलाई दर्ज गर्ने २ नामहरु हुन राम कृष्ण बान्तवा र टंक सम्बाहाम्फे । भनौँ उनिहरुको एकलराज्य भन्दा फरक नपर्ने अवश्था आईसकेको छ यस क्षेत्रमा । किनभने गीत सिर्जना गर्दा डुबेर सिर्जना गर्नेहरु मध्यमा मलाई लागेको यस क्षेत्रको हंगकंगका हस्ती श्रष्टाहरु यी दुइ हुन । यसपटक कवि टंक सम्वाहाम्फेलाई मैले यसरी यहा किन ल्याईरहेछु भने उनि कममा गीतकार बढीमा कवि लाग्थे मलाई । तर उनि गीत लेखनमापनि अरु मजबुत भईसकेछन, यस्तोकि उनि धेरैबर्षपहिले गीतमा स्थापित भएको हुन जस्तो । पहिलो गीती अल्वम मनोभाव पछि यसै थन्किएलान भन्ठानेको त्यसो भएन अरु उर्जाशिल भएर झुल्केछन उनि "सार,, दोश्रो अल्वममा । उन्को यो सस्तो रहर थिएन रहेछ । आजको अल्पकालिन रहरेहरुले चर्चामा आउनलाई हृवात्त देखा परेर स्वाट्ट हराउने सस्तो लोकप्रियताको नायक होईनन रहेछन धनकुटे श्रष्टा सम्वाहाम्फे । आधुनिक गीतको खास रस भनेकै शब्दमा हुने भएकोले पप, रक जस्तो झ्वाट्ट उत्तेजनामा आएर ढाङ ढुङ हल्ला गरिराखेर स्वाट्ट हराउने कुरा आउँदैन तरैपनि हंगकंगमा गीत विधामा धेरै कलमहरु देखा परेर हराएका छन, विहान उदाएको सूर्य बेलुकी अस्ताएजस्तै । यस्तोकी उस्ले भावनामा रोपेन गीतलाई रहरमा फुलायो र यसै ओइलायो । कसैलेत संगीतरुपी प्राण लगाउने काम समेत गर्न सकेको होईनन, यो यौटा समस्यापनि हो आफ्नो ठाउँमा छ । तर आधुनिक गीत भावपरक हुने भएको कारण कविताकै रुपमा सुन्दामात्रपनि एक किसिम रसमय भने अवश्य हुन्छ ।
पहिलो मनोभाव को सफलतालेपनि उन्लाई गीती लेखन क्षेत्रमा पाईला चाल्न उत्साहित गर्छ,नै र नै यस क्षेत्रलाई दिर्घकालिन रुप दिन्छन भनेर बिगतमा जो कोहीले अनुमान गर्थे जस्ले मनोभाव अलवमलाई सुनेको थिए । कवितामा यथेष्ट नाम कमाएका सम्वाहाम्फेलाई मैले भने मनोभाव थपिथपि सुनेको भएपनि सारै पत्याएको थिईन । त्यतिको उज्वल गीतकारलाई नपत्याउँनुमा के कारण थियो भने त्यो मनोभाव निस्के लगत्तै उनि राजनैतिक कुराहरुमा, हक अधिकारका लेखहरुमा (समग्रमा वैचारिक लेखहरुमा) निकै देखा पर्न थालेका थिए, इभन अहिलेपनि छन । मैले मै संग तुलना गरेर उन्को हक्मा यस्तो निर्णय गर्नुत नहुने हो तर यस्तै सोचेछु । म हिजोआज विचारमा बढी दौडने गरेको छु, यतिसम्मकी पारिजात दिदीले मार्क्सवादी दर्शनको गुदी भेटाउनुभएपछि सिरिशको फूलहरु जो सुन्यवादी धारका उपन्यास थिए लाई बहिस्कार गर्नुभएको थियो । मलाईपनि कहिलेकाँही त्यस्तो फिल हुन्छ मेरो प्रणय प्रितिको कविता गीत र कथाहरु सवै आगो लगाईदिउँ जस्ले निरासावादलाई हुर्काउने काममात्र गरेको छन । तर दुनियाँले देख्दा पारिजात दिदीसंग तुलना गरेको देख्छनकी जस्तो लागेर एक किसिम आफ्नै शंकाको घेराभित्र कैदी भएर लघुतावोध पाल्दै त्यो हिम्मत गर्दिन र एक किसिम प्रणयप्रेम सामाजिक आवश्यक्ता हो मेरो ठम्याईं । जे होस दिदी मेरो लागि आकासको तारा भएपनि म भित्रपनि क्रान्तिकारीपन भने छिप्पिईंदोनै छ ।
फेरी म अलि अनौठो क्रान्तिकारी छु, कि यौटा युवक र युवतीको प्रेमलाईपनि संसारकै प्रेमको दाँजोमा गणना हुनुपर्छ भन्ने मान्यता राख्दछु । वास्तवमा भन्ने हो भने कुनै समयकाल परिस्थितिमा म मेरो यहि धारणाको कारण पछिपनि परेको छु । यहि सिद्धान्तको शिकार भएको छु भन्दा फरक नपर्ला । तर युवा युवतीबीचबाट शंस्लेषित प्रेम मानव आगमनको पहिलो बिन्दू मान्दछु म । जतिसुकै क्रान्तिकारी हौँ हामी प्रणय प्रिती र ब्यवहारलाई फ्युजन गरेर बिचको धारमा हिडाउँन सक्नुपर्छ, मेरो धारणा । कतिभने बि. पि. को कथाको ध्यानाशन्न ऋषि जत्तिनै कर्तब्यलाई भुलिहाल्न भएन । यौटा आवश्यक सिमा रेखा र सभ्यतालाई भुलेर कुण्ठाको रुपमा पेश गर्नु र हुनु भएन भन्नेसम्म हो । टंक सम्वाहाम्फेका गीतहरु मेरो चाहनाको सिमारेखा जत्तिनै छरितो लोभलाग्दो प्रणयप्रेम बोकेर झुल्केको छन, तिनीहरुलाई दिनेश सुब्बाजीबाट आफुजस्तै आफु सुहाउँदो संगित जुरेको छ ।
अँ, टंक सम्वाहाम्फे हंगकंगबाट दोश्रो पटक "सार,, लिएर उदाएको छन । १० गीतको संगालो सार अलवम पहिलेको तुलनामा छरितो छ । पहिलेको कुनै गीतहरु राम्रा भएरपनि लामा लाग्थे । अहिले गीतहरुमा गीतकार वान्तवाले भनेजस्तै मिटर मिलाउँने कोशिष गरिएको छ, गीतकार केशव भट्टर्राईजी (महावाणिज्यदूत)ले भन्नुभएजस्तै थोरै शब्दमा धेरै कुराहरु अटाउँन सकिएको छ । संगीत सम्बन्धि यथेष्ट ज्ञान राख्नुहुने औपचारिक शिक्षानै संगीत अध्ययन गर्नुभएको हंगकंगका चर्चित संगीतकार दिनेश सुब्बाले मेहनत गरेर दिनुभएको संगीत दोश्रो अन्तरा सुन्नेसाथ थाहा हुन्छ शब्दलाई ख्याल गरेर कल्पना गरिएको संगीत । कतिपय संगीतकारहरुले लौत भनुँभने त्यो सम्भुजित वास्कोटाले नै पहिले संगीत कल्पना गरेर अनि त्यसपछि गीत बनाउँछन । भनाईको अर्थ "यस्तो शब्द बोकेको गीतलाई कस्तो संगीत फिट हुन्छ, होईनकी यस्तो संगीतलाई कस्तो शब्द फिट हुन्छ भनेर गीतको रुप दिन्छन । त्यसैले आई लभ यु मोर देन आई क्यान से जस्ता भावनात्मक गीतहरु उछृङखल जस्तो लाग्ने "लाई दिउँ माया लाई दिउँ माया लाईदिउँ,, हुन आईपुग्छन । दिनेश सुब्बाजी पनि हंगकंगमा हुनु यहाको गीतकारहरुसंगको भाग्यको संयोग भन्नमा कुनै अत्युक्ति हुनेछैन । यो निश्चित कुरा हो की गीतकारहरु र संगीतकारहरुको नेपालको भेट यस्तो बराबरी हाराहारीमा कहिल्यै हुन सक्दैन । साँच्चै भनौँ भने दिनेश संगीतकारहरु धेरै ब्यस्त हुनुको कारण मन्त्री भेटनु जस्तै चर्को हुन्छ त्यहा ।
टंक सम्वाहाम्फेको पहिलो अलवम मनोभाव मा दिनेशजीले चाईनीज बाजाको प्रयोग गर्नु भएको छ । मलाई लाग्छ त्यो सेक्सोफोन स्टायलले बजाईन्छ अति सुन्दर लागेको छ मलाई त्यो । सम्भवतः त्यो नै पहिलो पटक हो नेपाली गीतमा चाईनिज बाजाको प्रयोग , यस्पालीपनि त्यस्तै आशा गरेर अन्तिम गीतसम्मै चियो गरें कान ठाडो - चनाखो पारें, पाईएन त्यस्तो । उहाँको पनि मन नभएकोत होईनहोला तर त्यो सव जोडन अर्थ लगायतका हरेक कुराले सम्भवपनित हुनुपर्यो । जे होस टंक सम्बाहाम्फेको नयाँ अल्वम सार मा गायक कृष्णभक्त र दिनेश सुब्बाले भरमग्दुर प्रयत्न गरेको छन त्यसै हुनाले यो दोश्रो अल्वमपनि उच्च छ, कर्णप्रिय लाग्छन गीतहरु । तिनै पक्ष सफल छन । आजको कम्प्युटर युगमा रुप पक्षत यसैपनि सुन्दर भईहाल्छ तर सार पक्षभित्रको सारपक्षपनि मलाई उत्कृष्ट लागेको छ । आगे बिचार गर्नोस तपाईहरुलाई पनि यो उत्कृष्ट लाग्नेछ ।
गीतकारका गीतका शब्दहरुको समिक्षा गर्न मेरो आँट त छैन तरपनि मलाई
नं २ को गीतमा भएको यो लहरः याद छ रुख खोपि हाम्रो नाम लेखेको
नं. १ मा ढल्यो त्यसै दिन मेरो साँझ संगै डुब्न
नं. ५ गीतकोः उजाड भयो जिन्दगानी दुख्दा छातीभित्र
नं. ७ को गीतमाः जुनेलीमा भेटौँ भन्थ्यौ जुन झरिगयो
नं.१० पूणिर्माको जुन हौ की मेरो मनको धुन ।
मन परेको शब्द लहरहरु हुन ।
बाठे पल्टेर बढी बोल्नुपर्दा प्राय गीतहरु कसैलाई समर्पित छ । नम्बर १ देखी लगातार नम्बर ४ सम्मका गीतहरु तिमी भनेर उन्लाई समर्पण गरिएको छ । प्रणय प्रितीको गीतमा प्रायः उनैलाई समर्पण गरिने यो गीतको नियमनै जस्तो हो । नम्बर ५ मा आएर यौटा सुन्दर संसार भन्ने गीतमा गीतकार एक्लो उभिएको छन मानौँकी आफ्नो कहानी सुनाउँन । फेरी नम्बर ६ मा आएर तिमी भनेर कसैलाई सम्वोधन गरिएको छ भने नम्बर ७ र ८ को गीत मा गीतकार फेरी एक्लै प्रश्तुत भएको छन र अन्तिमको दुइ गीतहरुमा उहि रित दोहोरिएको छ तिमी । तर गीत, कथा, कविता, कहानी जो कल्पना कल्पिईन्छ त्यो कसैन कसैको जीवन संग मिल्दो हुन्छ या मिल्न जाने हुनुपर्छ । नत्र त्यो फेन्टासी स्वैर कल्पना हुनजान्छ त्यो वास्तविकताको अंश भरपुर छ सम्वाहाम्फेको रचनाहरुमा । कसैले आफ्नो जीवनमा टंक सम्वाहाम्फेको गीतलाई गाएको छन, त्यो पिंडालाई बोकेको छन, त्यो खुशीलाई अंगालेको छन, त्यो अतितलाई भोगेको छन , बेचैनीलाई खेपेको छन, वास्तविकतालाई बिद्रोहलाई बुझेको छन आत्मसात गरेको छन यो पक्का कुरा हो । यसैलाई अर्को भाषामा भन्नुपर्दा जिवन्तता भनिदो हो । र गीतहरु जिवन्त छन सम्वाहाम्फेको ।
अन्तिममा जेष्ठ (बौद्धिकता होईन उमेर) को हैंसीयतले अरु बाठे पल्टनुपर्दा अव गीतमा ब्रि्रोहपनि बोल्नु पर्यो । सम्वाहाम्फेले सालाखाला आउनु जरुरी देखिन्छ । यहाभन्दा अरु अघि बढेमा त्यो स्वतः निरासावादमै मात्र रुमल्लिईरहने टडकारो सम्भावना देखिन्छ, छनक छ त्यस्तो । लेख्दै नलेख्ने होईन सालाखाल आउनु राम्रो हो की भन्छु । मैले टंक जसरीपनि हिडन, उडन र बढन सक्छन भनेर किन यो माग गरिरहेको छु भने, बीर काङसोरेको सन्तान भूमिपुत्र खाँटी लिम्वु कसैको बपौति किपट होईन खुद आफ्नो भूमि चोख्याउँने संघर्षमा होमिनुपर्ने आहृवान गर्दै कलमी युद्ध छेडिरहेकोपनि भेटेको छु उन्लाई । युद्धभित्र बुद्धलाई उभ्याएर कलमी रणकौशलता देखाउँदै, निर्देशन गर्दै क्रान्ति समयको माग नारावाजी गरेको पनि मेरै आँखाअघि भेटेको हो, यसैले अव सम्वाहाम्फे गीतमापनि स्वाभिमान बोल्नेछन कुरुले तेनुप्पालाई बिरह बिरक्तिमा मात्रै होईन बीरंगनाहरुमा रुपान्तरण गर्दै बीरतामा उतार्नेछन । चारैतिर आदीवासी जनजाति गीतको थाल्नी भएकोछ आशा गरौँ त्यता अवश्य झुल्कनेछन टंक सम्वाहाम्फे गौरवकोसाथ तेश्रो अलवम भनेर ।

May 17, 2008

गीतकार टंक सम्बाहाम्फे र कर्णप्रिय गीतहरूको सार

हाङयुग अज्ञात

कहाँ पुग्यौ छिरिङ तिमी ढुङ्गामाथि नाउँ खोपी
बाटो हेरूँ कुहिरो आउँछ गुम्बा, पाटी, गाउँ छोपी
- टिका चाम्लिङ, सपनाको रङ्ग (नेपाल)

गीतको विषयमा लेख्नुपर्दा मलाई अत्यन्तै गारो पर्छ । तेसमाथि पनि मायापिरतीका गीतहरूमा समिक्षा या भूमिका लेख्नुपर्‍यो भने मेरो मस्तिष्क शून्य हुन्छ । तर, भर्खरै हङकङका गीतकार टंक सम्बाहाम्फेको गीतिएल्बम् सारमा संकलित गीतहरू सुनिसकेपछि मलाई के लागेको छ भने गीतका विषयमा लेख्नुका लागि मस्तिष्क होइन, हृदय चाहिने रहेछ । हङकङेली नेपाली साहित्य (हनेसा)को जग हाल्नेमा पहिलो कविगोष्ठी गर्ने किरात याक्थुङ चुम्लुङका भूपेन्द्र चेम्जोङ र चन्द्र मादेन, नेपाली साहित्य प्रतिष्ठानका पहिलो अध्यक्ष र्राई चन्द्र दुमी, प्रतिष्ठानकै क्रान्ति सुब्बा, देश सुब्बा, शरण सुब्बा, शिव प्रधान, प्रकाशकृष्ण बाक्सिला र नेपाल कुश्शाहरूकै लहरमा प्रतिष्ठानका वर्तमान अध्यक्ष टंक सम्बाहाम्फे उभिएका छन् । अविराम र पूर्वक्षितिजले हालेको जग आज सृजनशील साहित्यसम्म आइपुगेको छ भने विभिन्न ब्लग र बेवपत्रिकाहरूमा हनेसा फैलिरहेको छ । प्रिन्ट मिडिया छोडेर यतिबेला टंकजी पनि ब्लग र वेबपत्रिकाको सञ्चालनतिर छन् । हिजो हनेसाको जग हाल्नेहरू कोही युके पुगे, कोही नेपाल फर्के, कोही मकाउतिर छन् भने केही थोरै मात्र हङकङमा छन् र ती थोरैहरूमा गीतकार टंक सम्बाहाम्फेको नाम बिर्सिनु हुँदैन । टंक सम्बाहाम्फे कविता पनि लेख्छन् र उनका कविताहरूका बारेमा अन्यत्रै विमर्श गरेको छु । यहाँ उनको सार एल्बमका शब्दहरूमाथि मात्रै केन्द्रित हुन चाहन्छु । यथार्थमा म समिक्षात्मक टिप्पणीभन्दा पनि गीतकार टंक सम्बाहाम्फे र उनका प्रकाशित दशवटा गीतहरू बारे भूमिका लेख्न गइरहेको छु । किनभने गीतको सन्दर्भमा समिक्षा र समालोचना गर्ने सामर्थ्य ममा छैन । भूमिका भनेपछि छुट पाउँछु होला, झिनो आस छ ।
गीतकार टंक सम्बाहाम्फेलाई मैले हङकङमै चिनेको हूँ जसरी उनले पनि मलाई यहीँ आएर चिने । यता आउने बेला उता नेपालमा टंकजीको नाम इश्वरवल्लभ, कृष्ण धराबासी र गोविन्दराज भट्टर्राईले सोधिपठाए । यसबीचमा नेपालका शिखर गीतकार

गीतकार टंक सम्बाहाम्फे
इश्वरवल्लभको पार्थिव शरीरले चराचर जगत छोडिसकेको छ । कृष्ण धराबासी पनि झापा छोडी काठमान्डौ भित्रिएका छन् भने गोविन्दराज भट्र्राई त्रिविविमै खुट्टा हल्लाइरहेका छन् । नेपाली साहित्यका यी ठूला स्रष्टाहरूले सोधिपठाएका टंक सम्बाहाम्फेसित हङकङ आएको केही समयपछि नै भेट भइहाल्यो । उनले फोन गरे, भेटौं भने, स्टारफेरीको म्याकडोनाल्डमा भेटेर गफ भयो । नेपालबाट उनका लागि मैल इश्वरवल्लभ, धराबासी र भट्टराईले सोधिपठाएको पार्सल दिएँ । उनी खुशी भए, म पनि रमाएँ । पछि दोश्रो भेटमा उनले आफ्नो कोठामा लगे र एच्के नेपाल डट्कम् आफूहरूले सुरू गर्दै गरेको जानकारी गराए । तेतिबेलै कवि तथा पत्रकार पशन तमुसित पनि भेट गराइदिए । तेश्रो भेट उनको गीतिएल्बम् मनोभावको विमोचन कार्यक्रममा भयो । जहाँ उनले मलाई दुइ शब्द राख्ने मौका दिए । पशन तमु र अन्तराष्ट्रिय साहित्य समाज हङकङलाई धन्यवाद । त्यसपछि निरन्तरनिरन्तर हामी सँगै हिँडिरहेका छौं, एच्केनेपाल डट्कम्ले धेरै प्रगति गरिसकेको छ र टंकजीले धेरै राम्रा राम्रा गीतहरू लेखिभ्याएका छन् ।
आधुनिक गीतिसंग्रह सार
यौटा ग्रीकेली मिथक छ गीतसङ्गीतको विषयमा । सङ्गीतदेव अपोलो र आख्यानात्मक कविताकी देवी कल्लियपका छोरा अर्फेस महान् सङ्गीतकार र गायक हुन्छन् । जब उनले गीत गाउन र ल्युट् (विणाजस्तो बाजा) बजाउन सुरू गर्थे तब मानिसहरूले मात्रै होइन, जनावर र रूखहरू, खोला र ढुङ्गाहरूले पनि उनको गीत सुन्थे अरे । पछि उनले आफ्नी प्रेमिका युरेडाइस (जसलाई बिहेकै दिन सर्पले ठुँगेर मार्छ) लाई गीतै गाएर मर्त्यलोकबाट फर्काई ल्याउँछन् । हिन्दू मिथकमा पनि कृष्णजीले सोर हजार गोपिनी र गाइवस्तुलाई बाँसुरी बजाएर आफ्नो बसमा राखेका थिए अरे । यता हामी लिम्बूहरूको जीवनमा पनि पालाम र हाक्पारेको खुबै सुन्दर संसार छ । सात दिन सात रातसम्म धान नाच्दै पालाम गाउने तरूनीतन्नेरीहरू यहीँकतै छौं । तर, गीतसङ्गीतको विषयमा लिम्बू मिथकहरू हराएका छन्, कवि टंक वनेमले भेटेका छन् भने सप्पैलाई थाहा दिनु होला । तेसोरी, गीतसङ्गीतका विषयमा उहिलेउहिलेबाट नै कथाहरू बुनिएका छन् । र, ती कथाहरूको सार के हो भन्दाखेरि पे्रम नै गीतसङ्गीतको स्रोत हो अनि गीतकार टंक सम्बाहाम्फेको सार एल्बम्को सार पनि प्रेमबिना गीतसङ्गीत हुँदैन भन्ने नै हो । यसरी सार एल्बम्मा समेटिएका गीतहरूले प्रेमकै पूजा गर्छ, अर्चना गर्छ । प्रेमले उत्पन्न गर्ने आशा र निराशा, हाँसो र रोदन, सुख र दुःख, मिलन र विछोड, प्रशंसा र जलन आदिइत्यादि रसहरूलाई नै गीतका शब्दमा टंकजीले सजाएका छन् । जस्तो यी तलका गीतका अंशहरू हेरौं,

ढल्यो त्यसै दिन मेरो साँझ सँगै डुब्न
रह्यो त्यसै चाह मेरो तिमीसम्म पुग्न । १

गुराँस टिपी लाएका थियौं हामी सानो छँदा
लुकामारी खेलेकाथ्यौं रानी वन घुम्दा । २

सँगै हाँस्ने मन थियो विवशताले टाढी गयौ
हात मेरो समाएर फेरि किन छाडी गयौ । ३

माया थियो कति चोखो समुद्रको गहिराइजस्तो
कसम थियो दुइ मुटुको चम्किरहने जूनजस्तो । ४

एउटा सुन्दर संसार थियो मनको बस्तीभित्र
हुरी आई उर्डाई लग्यो मेरो भाग्यसित । ५

डाँडामाथि बादलुले घामै छेक्यो कि ?
सताइरहन्छ सम्झनाले माया बस्यो कि ? ६

वर्षाको मौसम रिमझिम पानी परिरह्यो
जुनेलीमा भेटौं भन्थ्यौ जून झरिगयो । ७

भाग्य सबको चम्किदिन्छ आफू कर्महारा
रम्न खोज्दा यो आँखामा बग्छ आँसु धारा । ८

तिमी थियौ आफ्नो भन्ने एक्लै पारी छोडी गयौ
साँचो माया दिन्छु भनी सारा नाता तोडी गयौ । ९

जहाँ जाउँ पछ्याउँछ तिम्रै छायाँले
जति सम्झूँ लठ्याउँछ तिम्रै मायाले । १०

यसरी सङ्कलित दस गीतहरूको सार प्रेम हो । कृष्णभक्त र्राईको स्वर तथा सङ्गीत कर्णप्रिय छ । दिनेश सुब्बा र हेमन्त शिशिरको सङ्गीत पनि सुन्दर सुनिन्छ । विषेशगरिकन दिनेश सुब्बाले आफ्नो मौलिक पहिचान यसपटक पनि कायम राखेका छन् ।
हङकङेली नेपाली गीतसङ्गीतमा छ्याप्छ्याप्ती भइरहेका गीतिएल्बम्हरूको फेहरिस्तमा मनोभावपछिको उनको यो दोश्रो एल्बम पनि स्तरीय छ । प्रेमबिम्बहरूको घना जङ्गलभित्र उनले गीतहरूलाई घुमाएका छन् । गीतका मिटरहरू ठ्याक्कठ्याक्क मिलाएका छन् । कोमल शब्दहरूको माला पहिर्‍याएर गीतलाई उनले हृदयस्पर्शी बनाएका छन् र पीडाहरूको मह घोलेर शब्दहरूलाई मर्मस्पर्शी बनाएका छन् । तर, कतिपय ठाउँमा मिटर मिलाउनकै लागि मिटर मिलाएको पाइन्छ जसले गर्दा शब्द र भावको सम्बन्ध टुक्रिएर गीतकारले केमा जोड दिन खोजेका हुन् पत्ता लगाउन गारो भइदिन्छ । गायक र सङ्गीतकारलाई सुनेपछि त्यो गारोपन फेरि फुस्किन्छ र गीतको आनन्द लिन सकिन्छ । माथि टिपिएका गीतका अंशहरूले पनि पाठक तथा श्रोताहरूलाई सार गीतिएल्बम्मा समेटिएका गीतहरूको विषयमा थोरै उज्यालो देला । गीत सुन्दा जुन आनन्द आउँछ त्यसलाई शब्दमा उतार्न सकिदैन । मलाई यही अनुभव भइरहेको छ । नेपालका समकालीन गीतकारहरूकै लहरमा उभिएका गीतकार टंक सम्बाहाम्फेबाट नेपाली गीतसङ्गीतले अझै धेरै अपेक्षा गर्दा फरक पर्दैन ।
हङकङेली गीतकारहरूमा रामकृष्ण वान्तवाको नाम उल्लेखनीय छ । सारको प्रकाशनपछि टंक सम्बाहाम्फेलाई उनकै समकक्षमा राख्दा हुन्छ । अन्य गीतकारहरूमा तिलक थापा र डि.बि पालुङ्वा संघर्ष गरिरहेका छन् । गीता पालुङ्वा पनि राम्रै गीत लेख्छिन् । प्रदीप कन्दङ्वा, प्रकाश के.सी., राई चन्द्र दुमीका थोरै गीतहरूमा सङ्गीत भरिएका भए पनि यी स्तरीय गीतकारहरूमा गनिन्छन् । गणेश इजम पुराना गीतकार हुन्, गीतकार टंक सम्बाहाम्फेकै समकालीन पनि । हङकङमा अन्य धेरै गीतकारहरू छन् जसका गीतहरू सङ्गीतबद्घ भएका छैनन् । भोगेन एक्लेको गीतमा पनि सङ्गीत भरिदै छ । मैले सम्झेको गीतकारहरू अहिले यिनै हुन् । देश सुब्बाले पनि दुइचारवटा गीत लेखेका छन् । देवेन्द्र खेरेसको कवितालाई सङ्गीत भर्न भनेर सङ्गीतकार शिव सुब्बाले मेरै आँखा अगाडिबाट लगेका छन् । दिनेश सुब्बा, नागेन्द्र श्रेष्ठ, गणेश पराजुली, विक्रम गुरूङलगायत अरू धेरै सङ्गीतकर्मीहरू हङकङमा क्रियाशील छन् । तेही भएर पनि हङकङमा गीतकारहरूको ठूलो माहौल निर्माण भइसकेको छ । यसैलाई संस्थागत गर्न प्रदीप कन्दङ्वाको अध्यक्षतामा आदिबासी गीतकार समाज हङकङको स्थापना भएको छ र आदिबासी नामको एल्बम निकाल्ने तयारीमा यो संस्था क्रियाशील भइरहेको छ । गीतकार टंक सम्बाहाम्फे आदिबासी गीतकार समाज हङकङका वरिष्ठ सल्लाहकार सदस्यमा छन् । दुइजना हङकङेली गीतकारहरूको नाम लिनुपर्‍यो भने म रामकृष्ण वान्तवा र टंक सम्बाहाम्फेको नाम लिन्छु । अरू गीतकारहरूले चित्त नदुखाउनु होला, सार सुन्नु होला । अन्तमा कवि टंक सम्बाहाम्फेकै कविता अंशबाट यो छोटो भूमिका सकाउन चाहन्छु ।

सधैँसधैँका लागि हातहरू
उठ्नुपर्छ/जुट्नुपर्छ
गाउँबस्ती र सहरबाट
हरेक तह र तप्काबाट
देशका हरेक अङ्गअङ्गबाट
बहुल विचार उठ्नुपर्छ
बहुल जाति, धर्म, सँस्कृति र भाषा उठ्नुपर्छ
समावेशी र संघीयताको पक्षमा जुट्नुपर्छ
किनकी तिनै बहुल हातहरूको संरचनाले
बनेको छ हाम्रो देश ।

May 8, 2008

सारको मन छुने गीतहरू

देश सुब्बा

ढल्यो त्यसै दिन मेरो साँझ सँगै डुब्न
रहृयो त्यसै चाह मेरो तिमी सम्म पुग्न
राख्नु थियो यतैकतै सपना सजाइ विपनीमा
हाँस्नु थियो भित्री कतै तिम्लाई हँसाइ जिन्दगीमा
रुनु मात्र रहेछ आँसु चोट बोकी बोकी
कति सम्झाउ मनको बह भूल देखी देखी

सामवेद, साम् मुन्धुमदेखि वर्तमान हाम्रो समय समयसम्म आइपुग्दा गीत, संगीत चेतना, आवाज, श्रवण हाम्रो कालको ढाँचामा आइपुग्यो । समय केही अगाडि बढ्ने बित्तिकै मीठा गीतहरू रंग उडेको घरजस्तो हुन थाल्दोरहेछ । केही समय अगाडि मात्र उत्तम ठानेको कतिपय गीत केही समयपछि फिक्का लाग्न थालेको हुँदोरहेछ । त्यसमा पनि आफ्नो भावना, अनुभूति, प्रेम नबोकेको गीत कृत्रिम लाग्दोरहेछ ।
अबको साहित्य, गीत, राजनीति पृथक हिँड्न छाडेको आभाष हुँदैछ । त्यस्तै गीत, साहित्यले अहिले पृथक समूह खोजिरहेको छ । पृथक समूह मिलेर सुन्दर पुञ्ज बन्दैछ । ती समूहमा टंक सम्बाहाम्फेका गीत आइपुगेका छन् - छोड्दै काँचुली, छोड्दै पत्रहरू । उनका शब्दहरू यसरी पृथक बनेका छन्

ताप हो कि राप हो त्यसै सहनु पर्‍यो
वाध्यताको ढुङ्गा यहाँ आफैमाथि झर्‍यो

बब मार्लीका कुरा हुन्छन्, मित्रसेनका कुरा हुन्छन्, रवि शंकरका कुरा हुन्छन्, लाजेशा याक्थुङबाका कुरा हुन्छन् । यी सबै समयका उत्पादन लाग्छन् । सम्बाहाम्फेका गीतहरू उत्पादन बन्दैछन् समयका । समयका उत्पादन आफ्नो समयका हिरो/हिरोइन हुन्छन् र आफ्नो समयभन्दा पछाडिसम्म फैलिएर बसिरहन्छन् - हरिभक्तका गीतहरू भएर ।
कतिपय गीतहरू पहिलो पटकमै सुनुँसुनुँ लाग्ने हुन्छ । कतिपय गीतहरू जति सुन्यो उति सुनुँसुनुँ लाग्ने हुन्छ । सम्बाहाम्फेको "सार"का गीतहरू दोस्रो कोटीका गीतहरू लाग्छन् । दोस्रो कोटीका गीतहरू कालजयी हुन्छन् श्रवणहरूमा । मैले पहिलो पटक सुन्दा त्यति सुन्दर ठानेको थिइनँ, उनका गीतहरू । तर जति सुनेँ उति मीठो लाग्दै गयो । अनि पटकपटक सुनिरहेँ ।
दशवटा गीतमा गीतकार टंक सम्बाहाम्फेको सबै गीत र आठ वटा गीतमा कृष्ण भक्त र्राईको संगीत छ । दुइटा गीतमा दिनेश सुब्बा र हेमन्त शिशिरले संगीत गरेका छन् ।

एउटा सुन्दर संसार थियो मनको वस्ती भित्र
हुरी आइ उडाइ लग्यो मेरो भाग्य सित

सामान्यतया श्रोताले रचना, संगीत र स्वरलाई एकै शब्दमा गीत भन्ने गरेको पाउँछौ । गायकले भन्दा पनि "मेरो गीत कस्तो लाग्यो" नै भन्छन् । संग्रहहरूलाई पनि गीति संग्रह नै भन्ने गरिन्छ । टंक सम्बाहाम्फेको गीतमा सबै गीत कृष्ण भक्तले गाएकोले पनि शब्दहरू जीवन्त बनेको पाएँ । उनका गीतहरू व्यवशायिक बन्न खोजिरहेका छन् । त्यसो त सम्बाहाम्फले गीति संग्रह मनोभावबाट गीतकारहरूको समाजमा हस्तक्षेप गरिसकेका छन् र आफूलाई स्थापित गीतकार भन्नेहरूलाई चुनौति दिइसकेका छन् । सारमा आएर झन् सशक्त भएका छन् उनका शब्दहरू

"सार" आधुनिक गीतिसंग्रह र गीतकार टंक सम्बाहाम्फे

पुग्नु थियो धेरै टाढा फूल चढाइ देउरालीमा
नाघ्नु थियो डाँडाकाँडा दुःख बिसाएर उकालीमा

यी शब्दहरू सुन्दर बनेका छन्, गीतहरूको देउरालीमा । कृष्ण भक्तको संगीतको माझ दिनेश सुब्बा र हेमन्त शिशिरको संगीतले सारमा नुन थपिदिएका छन् । कवितामा साहित्य गरिरहेका सम्बाहाम्फेलाई गीतमा यति छिटै जम्नु होला लागेको थिएन, तर मनोभाव र सारले मेरो संदेह भत्काइदिएको छ यसरी

जिन्दगीमा चोट लाग्यो जिउँदा आफैसित
हार्नै थियो सारा दिन काहाँ भयो जित
बुनिरहे सपनाहरू चाहाना भत्काएर
सहिरहे दुःखहरू आत्मा थमाएर
कृष्ण भक्तका प्रिय गीतहरू भएर पनि होला, यी गीतहरूले एउटा तस्बीर बनाएका छन् । त्यसो त कृष्ण भक्तका स्वर र संगीत मार्मिक, भावुक त छनै, त्यसमा सम्बाहाम्फेको प्रणयभिक्षा शब्दहरूले प्रेम नगरीमा प्रसिद्ध अर्थ बोकेको ठानिरहेको छु ।
प्रणयी गीतहरूले प्रेमपात्रहरूलाई नयाँ संसार उभ्याइदिएको छ । सम्बाहाम्फेको गीतहरूमा विशेष गरी प्रेमरसको डाँडापाखा र उकालीओराली छन् । मिलन र बिछोडको जीवन छ । मैले नै पनि प्रेम(कल्पना गर्न पाएँ गीत सुनेर । यसलाई मैले गीतको शक्ति मानेको छु । सम्बाहाम्फेको गीतमा शक्ति छ श्रोतालाई तानिरहने । जति सुन्यो उति तानिरहन्छ । त्यस्ता गीतहरू विरलै आउँछन् । मैले धेरै कम मात्र यस्ता गीतहरूसित अनुभूति साट्न पाएको छु ।
समग्रमा "सार" का गीतहरू सुन्नै पर्ने र मन छुने खालको पाएको छु । गीतकार सम्बाहाम्फेले यस्तै सुन्दर गीतहरू अझै लेख्न सकुन् र फेरि फेरि पनि सुन्न पाऊँ भन्ने कामना गर्दछु ।
अन्त्यमा,

पूणिर्माको जून हौ कि मेरो मनको धुन
दिन रात आइपुग्छौ हृदय छन
जहाँ गए पछ्याउँछ तिम्रै मायाले
जति सम्झे लठ्याउँछ तिम्रै मायाले

May 7, 2008

".........गीत भयो गजल मेरो" एक समीक्षा

अशोक राई
गजलकार वुद्धि तेम्वे 'माइला' जीको गजल संग्रह "गीत भयो गजल मेरो" वारे २,४ कुरा लेख्ने विचार गरे । साहित्यमा गजल विधा खासगरि नयाँ पिडीमा निक्कै लोकप्रिय छ । करीव एकदशक यता गजलको यो लोकप्रियता संगीतमा दोहोरी गीत झैँ वाक्लो देखिएको छ । मेरो जानकारीमा आए सम्म २०५५- ५६ सालतिर फाट्टफुट्ट मात्र प्रकाशित गजलका पुस्तक अहिले आएर साहित्यको र्सार्वधिक प्रकाशित विधा भइसकेको छ । यसरी हेर्दा नेपाली साहित्य दिनदिनै धनी भएर गएको छ । र गजल विधाले नयाँ पिडीलाई साहित्यको विकासमा अग्रसर गराएको छ ।
उमेर २४ वर्षपुगेका 'माइला' भारतीय सेनामा कार्यरत रहेको जानकारी उनको चिनारीवाट थाहा हुन्छ । संग्रहको नाम "गीत भयो गजल मेरो"वाट नै उनको गजलमोह प्रष्टिएकोछ र उनी गजलका पारखी लेखक हुन् भन्ने पुष्टि हुन्छ । प्रकाशोन्मुख कृतिमा अर्को एउटा गजल र कविता कृतीको तयारीले'माइला' कवि पनि हुन् भन्ने जानकारी दिएको छ । जूनकुरा उनी गजल विधामा मात्र होइन अन्य विधामा पनि कलम चलाउँछन् भन्ने कुराको पुष्टि हो। 'माइला' का गजल संग्रह भित्र कतै प्रेमको आग्रह कतै धोका,कतै स्वतन्त्रताको चाहना कतै सैनिक हुनुको दुखद पीडा,कतै राजनैतिक वेथिती कतै मानवताको वकालत र कतै मानवीय स्वार्थ र कतै इश्वरसीतको गुनासा जस्ता विषयहरु समावेश गरिएका छन् । केही सेरहरु हेरौँ

गाउँघरमा अचेल एक्लै रुन्छन् सुसाउदैनन् खोलाहरु
घर घरमा ताला देखि डुलेन मन अझैपनि

यो सेरमा द्वन्दको वेला नेपालमा व्याप्त भएको आतंक र मनको विरक्ती मार्मीक रुपले पस्किएको छ ।

म होइन हामी हाम्रो मानवतालाई साचौँ अव
हातेमालो गर्दै हामी एकअर्कामा वाचौँ अव

प्रस्तुत सेरमा मान्छे मान्छेका वीच देखीने वैयक्तीकता त्यागेर मानवताको नाताले संगै -हामी) वाचौँ भन्ने मानवीय आग्रह छ ।

आयातीत यो कूरितीमा यति चाडै पस्नु हुन्न
आफ्नोमौलीक सँस्कृतिलाई वित्ते छुरी धस्नु हुन्न

यो सेरमा विदेशी सँस्कृती प्रति नतमस्तक नयाँ पिडीलाई उपदेश दिदै हामीले हाम्रो पहिचान हाम्रो सँस्कृतिलाई माया नमारौँ है भनीएको छ ।

औँसीको अधेरी झैँ राती भयो जीवन
चढाएर उभ्रिएको पाती भयो जीवन

यो सेरमा प्रेमीकाले आफ्नो माया लत्याएको विरक्ती भाव पोखीएको छ ।

देशको रक्षा गर्छु भनी हातमा बन्दूक वोकी हिँडे
मेरै जस्तो रगत वग्ने मान्छेलाई ठोकी हिँडे

सैनिक हुनु हाम्रो नियति हो के हातमुख जोर्ने हाम्रा लागि अन्य आधार छैन - आफू जस्तै मानिसहरु मारेर भोग्नु पर्ने सेनाको दुःख र पीडा यो सेरमा पाइएको छ ।
संग्रहभित्रका सवै गजलहरु यहाँ उल्लेख गर्न सकिन्न । यसभित्र 'माइला'का यस्ता धेरै अन्य गजल छन् जहाँ एउटा औसत मान्छेले जीवनमा भोग्ने अनिवार्य एवं आकस्मीक दुख सुखहरु त्यसवाट उब्जिएका थुप्रै भावनाहरु,द्वन्दहरु,विवशताहरु,पोख्न नसकिने कुण्ठाहरु,प्रेमका याचना र धोका पछिको हिनतावोध,खीन्नता जस्ता अनेक कुराहरु अटाएकाछन् । प्रकारान्तरलेमानिसका जीवनमा आइपर्ने आरोह अवरोहहरु उस्तै उस्तै हुन् सवैले जीवनका तीता मीठा कुराहरु भोग्छन् । जीवनका तिनै कुरा हुन् उनका सृजनाहरु । देउरालीको एक विसौनीमा माइलाका गजल लिएर वसौँ झैँ लाग्छ र त्यहीको सीतल हावासीत सुसाउँ जस्तो लाग्छ ।
अव गजलका शास्त्रिय पक्षहरुको उल्लेख नगरी यस्का अन्य पक्ष सीत मात्र भलाकूसारी गरौँ । नेपाली साहित्यमा गजल एउटा विवादित विधा पनि हो । केहि स्थापित कवि एवं आख्यानका लेखकहरु गजललाई वहिस्कार नै गरौँ भन्ने तर्क राख्छन् । यसको पक्षमा गजल आयातीत विधा हो संरचनागत नियममा वाँधिनु पर्ने भएकोले विचार संकुचन हुन्छ स्वतन्त्र भएर लेख्न सकिन्न भन्ने तर्कहरु अगाडी आएका हुन् । त्यसै गरेर गजल राजा महाराजा जस्ता सामन्ती शासकको खोपीमा गाइने,सुसाइने विधा हो जहाँ प्रेमरसले भरिएका विषयहरु मात्र समावेश हुन्छ भन्ने जस्ता तर्कहरु सुन्न पाइन्छ । गजललाई फारसी र उर्दू समाज हुदै नेपालमा प्रवेश गरेको र विश्व साहित्यमा यस्को स्थान नभएकोले यो साहित्यिक विधा मानिनु हुन्न भन्ने तर्कहरु सुन्न पाइन्छ । यी थप्रै तर्कहरुका वावजूद नेपालका नयाँ पुराना पिडीका अत्याधिक श्रष्टाहरु गजल विधा प्रति आकर्षीत भएकाछन् । देश विदेश गजल समूहहरु,गजल मञ्चहरु र मण्डलीहरुको गठन भएको छ । एकाएक नयाँ पिडीहरु गजल लिएर उदाएको उदाएकै छन् । त्यसै गरेर गजलको संरचनागत नियम र प्रयुक्त भाव सर्न्दर्भमा पनि विवाद देखिएको छ । गजलकारहरुमा कोही शास्त्रिय नियम कै पछि लागेर गजल लेख्छन् जहाँ सृंगाररस प्रधान रहन्छ,काफीयार रदिफको परम्परागत नियमलाई आत्मासाथ गरिरहेको हुन्छ । अन्य केहि गजलकारहरु भाव जे रहे पनि गजलमा गेयात्मकता (लय) घात नहोस भनेर वहर (छन्द नियम)मा गजल लेखौँ भ न्ने अभियान नै चलाउँदैछन् । अर्काथरी गजलकारहरु छन् जस्ले गजलको संरचनागत पक्ष मौलीक नियम मानेर नयाँ नयाँ विचार र दर्शन प्रधान गजल लेख्ने काम गरिरहेकाछन् यस्मा काफीयाको परम्परागत नियम केही तोडीएको पाइन्छ । जस्तो स्वरघात र लयघात भए पनि विचार प्रधान गजल लेख्नु आजको आवश्यकता हो भन्ने तर्क हावी छ । यस लहरलाई गजल सम्राट श्री ज्ञानुवाकर पौडेल देखीनु भएको छ भने शास्त्रिय नियम र वहरका प्रवक्ता डा.घनेश्याम परीश्रमी मानिन्छन् । नेपालका गजलकारहरुको नाम लिएर त साध्य नहोला तर पनि अगुवा गजलकारहरुमा ज्ञानुवाकर र परीश्रमी पछि मनु व्राजाकी,वुँद राना,ललीजन रावल र विजय सुब्बाहरुको नाम अग्रपंत्तिमा आउँछ ।
गजल विधालाई साहित्यिक विधा नै नमान्नु एउटा पूर्वाग्रही तर्क हुन सक्छ । लेख्नु नलेख्नु व्यक्तिको विचार हो । तर गजलकारहरुले परम्परागत नियममा रहेर गजल लेख्नुको भने तुक छैन र गजल विधामा मात्रै संकुचित हुनु एउटा र्सजकको काम होइन । गजलकारले गजलमा प्रेमरसले भरिएका सस्ता प्रसंग होइन दर्शन र विचार पोख्ने जमर्को गरेमा गजलको महत्व वढ्नेछ र संख्यात्मक भन्दा गुणात्मक गजलको विकास हुनेछ । र अर्को कुरा गजलमा अव जातिय आन्दोलनका विषय र युक्तिका भावनाहरुको प्रयोग गर्नु पर्ने भएको छ किनकी साहित्यको अपविधालाई उत्तरआधुनिक धारले छोइसकेको छ राज्यको पुनःसंरचनासीतै साहित्य,गीत,संगीत र विचारमा पुनःसंरचनाको कुरा उठेकोछ ।
र अन्तमा माइलालाई मेरा केही सुझावहरु दिन चाहन्छु ।
१.सामान्य काफीया विचलनलाई नियाल्ने चलन हराउँदै गएपनि त्यस्मा वेवस्ता गर्नु हुदैन साथै काफीयाको पुनरुक्ति (दोहारीनु) राम्रो मानिन्न । संग्रहभित्र काफीया दोहोरीएका मात्र हैन तेहरीएका उदाहरण पाईयो । अवको कृतिमा यसवारे ध्यान पुगे राम्रो होला ।
२.गजल गाउने विधा भएपनि साहित्यमा पढीने विधा भएर स्थापीत भएको छ । पढीदा समेत गजलमा सहजलयको आवश्यकता पर्छ नै । संग्रहभित्रको केही गजलमा लय असहजता पाइन्छ । लयघात भएको गजलमा मीठास हराउने भएकोले यो पक्ष सोचनिय छ ।
३.माइलाका करिव १५ देखि १८ वटा गजल प्रेम र धोकासंग सम्वन्धित छन् जहाँ आशा भन्दा नीरासा,कूण्ठा छ र साहसको कमी छ । म माइलालाई सहनुभूति राख्दै एउटा वलीयो प्रेमीको उदाहरण आवोस भन्ने सुझाव दिन्छु ।
४. गजलमा नयाँपन दिनु,प्रयोग गर्नु कलात्मक विम्वको प्रयोग गर्नसक्नु महत्वपूर्ण हो । उर्दू गजलमा एउटै सेरले संसार वोल्छ प्रेम दर्शन दिन्छ । हामी गजलकारले गुणात्मक गजलमा ध्यान दिऔँ । विचार प्रधान गजलको लेखनमा अग्रसर होऔँ ।

May 4, 2008

गीति संग्रह "सार" भित्र टंक सम्बाहाम्फे

टंक वनेम

पुग्नु थियो धेरै टाढा फूल चढाई देउरालीमा
नाँघ्नु थियो डाँडाकाँडा दुःख बिसाई उकालीमा
भोग्नु मात्र रहेछ ब्याथा छाँती पोली पोली
कति सुनाउँ मनको बह दिल खोली खोली ।

उक्त माथिका हृदय स्पर्शी अभिब्यक्तिहरु गीतकार टंक सम्बाहाम्फे द्वारा "सार" नामक आधुनिक गीति संग्रहमा अभिब्यक्त भएको हो । संगीत विश्वको भाषा हो । संगीतका पारखीहरुले रेटेर वा सिर्जना गरेर मात्र संगीत बज्दैन । चराचर जगतका सम्पूर्ण बस्तुहरुमा संगीतको सिर्जना भई रहेको हुन्छ । बलेंसीमा तप्केको तप... तप... तप... तप...पानीको थोपाले निकालेको स्वर संगीत हो । चराहरुको चिर्रबिर्र,हुरी बतासले हल्लाएका सालघारीको सुसाई र नागबेली खोलामा बग्दै गएको साङ्लो पानीको मूर्च्छनायुक्त स्वर पनि संगीत नै हो । मानव मनले गरेका र प्रकृतिबाट सिर्जित संगीत भित्र डुबेर त्यो संगीतहरुलाई सुहाउँदा शब्दहरु कुद्नु कला र परिश्रमको रङ्गनि चित्र हो । गीतको सिर्जना गर्न तिनै प्राकृतिक र सांसारिक संगीतमा डुबेर मात्र गीतको सुमधुर लय साथै शब्द चयन गर्न सकिन्छ । यस्तै कठिन कामको परिश्रमी कलम मध्ये युवा कवि तथा गीतकार श्री टंक सम्बाहाम्फे द्वारा दोश्रो एल्बमको रुपमा "सार" नामक आधुनिक गीति संग्रह प्रस्तुत भएको छ । दुइ गीतमा क्रमश बरिष्ठ संगीतकार दिनेश सुब्बा र हेमन्त शिसिर द्वारा संगीत बद्ध गरेकाछन् भने बाँकी आठ गीतमा गायक स्वयमले संगीत दिएकाछन् । एल्बममा जम्मा दश वटा आधुनिक गीतहरु संगालिएका छन् ।
नेपाली बजारमा गीत सिर्जना गरेर एल्बमकै रुप दिनु भनेको एक प्रकारले ढुङ्गामाथि खेति गर्नु हो । तर गीतकारको आँट र परिश्रमले त्यो उक्तिलाई चुनौति दिँदै दोश्रो आधुनिक गीति संग्रह "सार" प्रस्तुत गरेर उक्त भनाइलाई झुट्टा साबित गरि दिएका छन् । प्रदेशको आकासमुनि बसेर नेपाली सांगीतिक धरातलमा यति सून्दर गीतहरुको फूल रोप्ने हिम्मतलाई सलाम टक्रर्‍याउँनै पर्छ । सुमधुर स्वरका धनी गायक कृष्ण भक्त राईले स्वर दिएको उक्त गीतहरुले श्रोताहरुको मन छुन
संगीतकार टंक सम्बाहाम्फे र उनको आधुनिक दोश्रो गीति संग्रह "सार"
सकेको छ । गीतकारको शब्दहरुमा जीवनकै उतारचढाव र जीवन भोगाईकै आरोह आवरोहहरु प्रतिबिम्बित भएको छन् । हुन पनि एउटा कर्ण प्रिय गीत सिर्जनाको धर्म जीवनको अनुभूति प्रकट गर्नु हो । मान्छेको जन्म र मृत्युको दुरी बीच तानीन्दै गई रहेको जीवनको तार जहाँबाट पनि बाँचे सम्म विभिन्न संगीतका स्वरहरु सिर्जना भई रहेका हुन्छन् । तर कमैले मात्र ति संगीतकार स्वरहरुलाई शब्दमा परिणत गर्ने क्षमता र इच्छा राख्छन् । टंक सम्बाहाम्फे यस्ता कवि तथा गीतकार हुन उनले जीवनको संगीत तानेर नेपालबाट कोरिया,हङ्कङ् हुँदै रेडियो तरङ्गबाट शब्द अभिब्यक्ति विश्वमा पुर्‍याई दिएका छन् । चिनियाँ आकासमुन्तिर बसेर गीतका मधुर शब्दहरुमा लेकाली गुराँस टिप्छन् । लेंक बेंसी,मेलापात र प्रेम विरहले नेपाली जीवन शैलीको नुतन चित्र उतार्छन् । उहाँको लगनशिलताले गीतका मालाहरु उनिन्दै जान्छ र दोश्रो मालाको रुपमा "सार" श्रोताहरुको गलामा माला पहिरिन आइ पुग्छ । यति सून्दर गीतका माला भित्र हजारौं मनका भावनाहरु थोरै शब्दमा अभिब्यक्त भएका छन् ।
भनिन्छ जीवन नैं संगीतको तवला हो जीवन भोगाइकै दौडानमा तवला झैं विभिन्न तालमा बजी रहेका हुन्छौं । शायद त्यही भोगाईबाट मथेर निस्केका शब्दहरु सम्बाहाम्फेका गीतहरु हुन । कुनै समय अतितको गर्भमा गीत गाउँदै रुने गोठाले दाईको स्मृतिले पनि गीत रचनाको बाटोतिर अग्रसर गर्राई रहन्छ । भनौं वाल्यकालमा संगीतको विजारोपण भएको घटना उनको पानसपटलमा बल्झी रहन्छ । शायद त्यही बल्झाई "सार" एल्बम भएर दोश्रो जन्मको रुपमा प्रकट भएको छ । शब्द,भाव, र मन छुने मेलाडीहरुले सजिएको "सार"गीति संग्रह प्रदेशको भिरमा फूलेको नेपाली ढुङ्गे सुनखरी फूल हो भन्दा फरक पर्दैन ।

गीतकार टंक सम्बाहाम्फेकै शब्दमा -

गुराँस टिपी लाएका थियौं हामी सानो छँदा
लुकामारी खेलेका थियौं रानीबन घुम्दा ।

हो हामी यसरी नैं जीवन भोगाइमा अल्झी रहेका छौं बल्झी रहेका छौं । यिनै अल्झाइ र बल्झाइहरु नैं हाम्रो जीवनको साँचो गीतहरु हुन । गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा यस्तै गीतहरुको जन्म भई रहोस भविश्यसम्म निरन्तर शुभकामना ।

वेष्ट मिड्ल्याण्ड - वेलायत