May 4, 2008

गीति संग्रह "सार" भित्र टंक सम्बाहाम्फे

टंक वनेम

पुग्नु थियो धेरै टाढा फूल चढाई देउरालीमा
नाँघ्नु थियो डाँडाकाँडा दुःख बिसाई उकालीमा
भोग्नु मात्र रहेछ ब्याथा छाँती पोली पोली
कति सुनाउँ मनको बह दिल खोली खोली ।

उक्त माथिका हृदय स्पर्शी अभिब्यक्तिहरु गीतकार टंक सम्बाहाम्फे द्वारा "सार" नामक आधुनिक गीति संग्रहमा अभिब्यक्त भएको हो । संगीत विश्वको भाषा हो । संगीतका पारखीहरुले रेटेर वा सिर्जना गरेर मात्र संगीत बज्दैन । चराचर जगतका सम्पूर्ण बस्तुहरुमा संगीतको सिर्जना भई रहेको हुन्छ । बलेंसीमा तप्केको तप... तप... तप... तप...पानीको थोपाले निकालेको स्वर संगीत हो । चराहरुको चिर्रबिर्र,हुरी बतासले हल्लाएका सालघारीको सुसाई र नागबेली खोलामा बग्दै गएको साङ्लो पानीको मूर्च्छनायुक्त स्वर पनि संगीत नै हो । मानव मनले गरेका र प्रकृतिबाट सिर्जित संगीत भित्र डुबेर त्यो संगीतहरुलाई सुहाउँदा शब्दहरु कुद्नु कला र परिश्रमको रङ्गनि चित्र हो । गीतको सिर्जना गर्न तिनै प्राकृतिक र सांसारिक संगीतमा डुबेर मात्र गीतको सुमधुर लय साथै शब्द चयन गर्न सकिन्छ । यस्तै कठिन कामको परिश्रमी कलम मध्ये युवा कवि तथा गीतकार श्री टंक सम्बाहाम्फे द्वारा दोश्रो एल्बमको रुपमा "सार" नामक आधुनिक गीति संग्रह प्रस्तुत भएको छ । दुइ गीतमा क्रमश बरिष्ठ संगीतकार दिनेश सुब्बा र हेमन्त शिसिर द्वारा संगीत बद्ध गरेकाछन् भने बाँकी आठ गीतमा गायक स्वयमले संगीत दिएकाछन् । एल्बममा जम्मा दश वटा आधुनिक गीतहरु संगालिएका छन् ।
नेपाली बजारमा गीत सिर्जना गरेर एल्बमकै रुप दिनु भनेको एक प्रकारले ढुङ्गामाथि खेति गर्नु हो । तर गीतकारको आँट र परिश्रमले त्यो उक्तिलाई चुनौति दिँदै दोश्रो आधुनिक गीति संग्रह "सार" प्रस्तुत गरेर उक्त भनाइलाई झुट्टा साबित गरि दिएका छन् । प्रदेशको आकासमुनि बसेर नेपाली सांगीतिक धरातलमा यति सून्दर गीतहरुको फूल रोप्ने हिम्मतलाई सलाम टक्रर्‍याउँनै पर्छ । सुमधुर स्वरका धनी गायक कृष्ण भक्त राईले स्वर दिएको उक्त गीतहरुले श्रोताहरुको मन छुन
संगीतकार टंक सम्बाहाम्फे र उनको आधुनिक दोश्रो गीति संग्रह "सार"
सकेको छ । गीतकारको शब्दहरुमा जीवनकै उतारचढाव र जीवन भोगाईकै आरोह आवरोहहरु प्रतिबिम्बित भएको छन् । हुन पनि एउटा कर्ण प्रिय गीत सिर्जनाको धर्म जीवनको अनुभूति प्रकट गर्नु हो । मान्छेको जन्म र मृत्युको दुरी बीच तानीन्दै गई रहेको जीवनको तार जहाँबाट पनि बाँचे सम्म विभिन्न संगीतका स्वरहरु सिर्जना भई रहेका हुन्छन् । तर कमैले मात्र ति संगीतकार स्वरहरुलाई शब्दमा परिणत गर्ने क्षमता र इच्छा राख्छन् । टंक सम्बाहाम्फे यस्ता कवि तथा गीतकार हुन उनले जीवनको संगीत तानेर नेपालबाट कोरिया,हङ्कङ् हुँदै रेडियो तरङ्गबाट शब्द अभिब्यक्ति विश्वमा पुर्‍याई दिएका छन् । चिनियाँ आकासमुन्तिर बसेर गीतका मधुर शब्दहरुमा लेकाली गुराँस टिप्छन् । लेंक बेंसी,मेलापात र प्रेम विरहले नेपाली जीवन शैलीको नुतन चित्र उतार्छन् । उहाँको लगनशिलताले गीतका मालाहरु उनिन्दै जान्छ र दोश्रो मालाको रुपमा "सार" श्रोताहरुको गलामा माला पहिरिन आइ पुग्छ । यति सून्दर गीतका माला भित्र हजारौं मनका भावनाहरु थोरै शब्दमा अभिब्यक्त भएका छन् ।
भनिन्छ जीवन नैं संगीतको तवला हो जीवन भोगाइकै दौडानमा तवला झैं विभिन्न तालमा बजी रहेका हुन्छौं । शायद त्यही भोगाईबाट मथेर निस्केका शब्दहरु सम्बाहाम्फेका गीतहरु हुन । कुनै समय अतितको गर्भमा गीत गाउँदै रुने गोठाले दाईको स्मृतिले पनि गीत रचनाको बाटोतिर अग्रसर गर्राई रहन्छ । भनौं वाल्यकालमा संगीतको विजारोपण भएको घटना उनको पानसपटलमा बल्झी रहन्छ । शायद त्यही बल्झाई "सार" एल्बम भएर दोश्रो जन्मको रुपमा प्रकट भएको छ । शब्द,भाव, र मन छुने मेलाडीहरुले सजिएको "सार"गीति संग्रह प्रदेशको भिरमा फूलेको नेपाली ढुङ्गे सुनखरी फूल हो भन्दा फरक पर्दैन ।

गीतकार टंक सम्बाहाम्फेकै शब्दमा -

गुराँस टिपी लाएका थियौं हामी सानो छँदा
लुकामारी खेलेका थियौं रानीबन घुम्दा ।

हो हामी यसरी नैं जीवन भोगाइमा अल्झी रहेका छौं बल्झी रहेका छौं । यिनै अल्झाइ र बल्झाइहरु नैं हाम्रो जीवनको साँचो गीतहरु हुन । गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा यस्तै गीतहरुको जन्म भई रहोस भविश्यसम्म निरन्तर शुभकामना ।

वेष्ट मिड्ल्याण्ड - वेलायत

No comments: