May 8, 2008

सारको मन छुने गीतहरू

देश सुब्बा

ढल्यो त्यसै दिन मेरो साँझ सँगै डुब्न
रहृयो त्यसै चाह मेरो तिमी सम्म पुग्न
राख्नु थियो यतैकतै सपना सजाइ विपनीमा
हाँस्नु थियो भित्री कतै तिम्लाई हँसाइ जिन्दगीमा
रुनु मात्र रहेछ आँसु चोट बोकी बोकी
कति सम्झाउ मनको बह भूल देखी देखी

सामवेद, साम् मुन्धुमदेखि वर्तमान हाम्रो समय समयसम्म आइपुग्दा गीत, संगीत चेतना, आवाज, श्रवण हाम्रो कालको ढाँचामा आइपुग्यो । समय केही अगाडि बढ्ने बित्तिकै मीठा गीतहरू रंग उडेको घरजस्तो हुन थाल्दोरहेछ । केही समय अगाडि मात्र उत्तम ठानेको कतिपय गीत केही समयपछि फिक्का लाग्न थालेको हुँदोरहेछ । त्यसमा पनि आफ्नो भावना, अनुभूति, प्रेम नबोकेको गीत कृत्रिम लाग्दोरहेछ ।
अबको साहित्य, गीत, राजनीति पृथक हिँड्न छाडेको आभाष हुँदैछ । त्यस्तै गीत, साहित्यले अहिले पृथक समूह खोजिरहेको छ । पृथक समूह मिलेर सुन्दर पुञ्ज बन्दैछ । ती समूहमा टंक सम्बाहाम्फेका गीत आइपुगेका छन् - छोड्दै काँचुली, छोड्दै पत्रहरू । उनका शब्दहरू यसरी पृथक बनेका छन्

ताप हो कि राप हो त्यसै सहनु पर्‍यो
वाध्यताको ढुङ्गा यहाँ आफैमाथि झर्‍यो

बब मार्लीका कुरा हुन्छन्, मित्रसेनका कुरा हुन्छन्, रवि शंकरका कुरा हुन्छन्, लाजेशा याक्थुङबाका कुरा हुन्छन् । यी सबै समयका उत्पादन लाग्छन् । सम्बाहाम्फेका गीतहरू उत्पादन बन्दैछन् समयका । समयका उत्पादन आफ्नो समयका हिरो/हिरोइन हुन्छन् र आफ्नो समयभन्दा पछाडिसम्म फैलिएर बसिरहन्छन् - हरिभक्तका गीतहरू भएर ।
कतिपय गीतहरू पहिलो पटकमै सुनुँसुनुँ लाग्ने हुन्छ । कतिपय गीतहरू जति सुन्यो उति सुनुँसुनुँ लाग्ने हुन्छ । सम्बाहाम्फेको "सार"का गीतहरू दोस्रो कोटीका गीतहरू लाग्छन् । दोस्रो कोटीका गीतहरू कालजयी हुन्छन् श्रवणहरूमा । मैले पहिलो पटक सुन्दा त्यति सुन्दर ठानेको थिइनँ, उनका गीतहरू । तर जति सुनेँ उति मीठो लाग्दै गयो । अनि पटकपटक सुनिरहेँ ।
दशवटा गीतमा गीतकार टंक सम्बाहाम्फेको सबै गीत र आठ वटा गीतमा कृष्ण भक्त र्राईको संगीत छ । दुइटा गीतमा दिनेश सुब्बा र हेमन्त शिशिरले संगीत गरेका छन् ।

एउटा सुन्दर संसार थियो मनको वस्ती भित्र
हुरी आइ उडाइ लग्यो मेरो भाग्य सित

सामान्यतया श्रोताले रचना, संगीत र स्वरलाई एकै शब्दमा गीत भन्ने गरेको पाउँछौ । गायकले भन्दा पनि "मेरो गीत कस्तो लाग्यो" नै भन्छन् । संग्रहहरूलाई पनि गीति संग्रह नै भन्ने गरिन्छ । टंक सम्बाहाम्फेको गीतमा सबै गीत कृष्ण भक्तले गाएकोले पनि शब्दहरू जीवन्त बनेको पाएँ । उनका गीतहरू व्यवशायिक बन्न खोजिरहेका छन् । त्यसो त सम्बाहाम्फले गीति संग्रह मनोभावबाट गीतकारहरूको समाजमा हस्तक्षेप गरिसकेका छन् र आफूलाई स्थापित गीतकार भन्नेहरूलाई चुनौति दिइसकेका छन् । सारमा आएर झन् सशक्त भएका छन् उनका शब्दहरू

"सार" आधुनिक गीतिसंग्रह र गीतकार टंक सम्बाहाम्फे

पुग्नु थियो धेरै टाढा फूल चढाइ देउरालीमा
नाघ्नु थियो डाँडाकाँडा दुःख बिसाएर उकालीमा

यी शब्दहरू सुन्दर बनेका छन्, गीतहरूको देउरालीमा । कृष्ण भक्तको संगीतको माझ दिनेश सुब्बा र हेमन्त शिशिरको संगीतले सारमा नुन थपिदिएका छन् । कवितामा साहित्य गरिरहेका सम्बाहाम्फेलाई गीतमा यति छिटै जम्नु होला लागेको थिएन, तर मनोभाव र सारले मेरो संदेह भत्काइदिएको छ यसरी

जिन्दगीमा चोट लाग्यो जिउँदा आफैसित
हार्नै थियो सारा दिन काहाँ भयो जित
बुनिरहे सपनाहरू चाहाना भत्काएर
सहिरहे दुःखहरू आत्मा थमाएर
कृष्ण भक्तका प्रिय गीतहरू भएर पनि होला, यी गीतहरूले एउटा तस्बीर बनाएका छन् । त्यसो त कृष्ण भक्तका स्वर र संगीत मार्मिक, भावुक त छनै, त्यसमा सम्बाहाम्फेको प्रणयभिक्षा शब्दहरूले प्रेम नगरीमा प्रसिद्ध अर्थ बोकेको ठानिरहेको छु ।
प्रणयी गीतहरूले प्रेमपात्रहरूलाई नयाँ संसार उभ्याइदिएको छ । सम्बाहाम्फेको गीतहरूमा विशेष गरी प्रेमरसको डाँडापाखा र उकालीओराली छन् । मिलन र बिछोडको जीवन छ । मैले नै पनि प्रेम(कल्पना गर्न पाएँ गीत सुनेर । यसलाई मैले गीतको शक्ति मानेको छु । सम्बाहाम्फेको गीतमा शक्ति छ श्रोतालाई तानिरहने । जति सुन्यो उति तानिरहन्छ । त्यस्ता गीतहरू विरलै आउँछन् । मैले धेरै कम मात्र यस्ता गीतहरूसित अनुभूति साट्न पाएको छु ।
समग्रमा "सार" का गीतहरू सुन्नै पर्ने र मन छुने खालको पाएको छु । गीतकार सम्बाहाम्फेले यस्तै सुन्दर गीतहरू अझै लेख्न सकुन् र फेरि फेरि पनि सुन्न पाऊँ भन्ने कामना गर्दछु ।
अन्त्यमा,

पूणिर्माको जून हौ कि मेरो मनको धुन
दिन रात आइपुग्छौ हृदय छन
जहाँ गए पछ्याउँछ तिम्रै मायाले
जति सम्झे लठ्याउँछ तिम्रै मायाले

No comments: