Jun 14, 2012

सम्झन लायक बिर्सीएका गीतहरु

अशोक रार्इ 
कुनै बेला हङकङमा हामीले गीतमा पुनरसंरचनाको खाँचो र आवश्यक्ता बारे बहशहरू गर्यौ । त्यसपछि आदिवासी गीतकार समाज पनि गठन गर्यौं । त्यति मात्र होईन हामीले 'आदिवासी' नामक गीति एलबम पनि सार्बजनिक गर्यौं । हामीले लेख्ने र गाउँने गीतमा अनि हामीले बनाउँने संगीतमा आदिवासी पीडा, आदिवासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस्‌ भन्ने आग्रह राख्यौं । त्यो आग्रह भनेको गीतमा सचेतनाको कुरा हो । त्यो राजनैतिक या सामाजिक या साँस्कृतिक या जातिय कुनै पनि हुन सक्तछ । कारण गीत संगीत सर्बाधिक सम्प्रेषणीय हतियार हो । यसको प्रत्यक्ष या अप्रत्यक्ष प्रयोगले धेरै देश-ठाउँहरूमा राजनैतिक र सामाजिक आन्दोलनहरू सफल पनि भए । तर हामी त्यसो भन्दैमा आम मानिसले लेख्ने, गाउने र सुन्ने गीत संगीतको बिरोधी भने होईनौं । गीत संगीत संसारमा सबैभन्दा लोकपृय बिधा हो जसलाई मन नपराउने मानिस सायदै होलान् । अब सन्दर्भ तिर लाग्दा मसित यतिखेर कृष्णकला वनेमको गीति संग्रह 'बिर्सिएका गीतहरू' छ । कवि तथा गीतकार टंक सम्बाहाम्फेज्यूलाई यसका लागि धन्यवाद । यो संग्रहभित्र गाईएका र नगाइएका गरि १०९ वटा गीतहरू रहेछन् । सबै गीतहरू एकपटक हेरि सकेपछि केही लेख्न मन लाग्यो । एक प्रकारले गीत लेख्नु मनको पीडा पोख्नु अनि आत्मा सन्तुष्टी हासिल गर्नु हो । त्यहि गीतहरूले नै मान्छेको मन जित्छ र कालजयी भएर युगौ बाँचिरहन्छ । गीतले मान्छेको पीडा बोल्छ मनको भाषा बोल्छ मन छुन्छ र आनन्द दिन्छ । त्यसैले यो सर्बग्राह्य छ र लोकपृय छ । गीतहरू कति गाइए कति गाइएका छैनन् । कति संगीतबद्ध भए कति भएका छैनन् । त्यसको लेखा जोखा कमैले गरे होलान । पक्कैपनि धेरै गीतहरू गीतकारहरूको मनमा,डायरीहरूमा या गिति संग्रहहरूमा नै रहे होलान् । लेखिएका धेरै गीतहरूमध्ये थोरै संगीतबद्ध भएर श्रोताहरू समक्ष पुग्छन् र बाँकी यस्तै संग्रहमा रहि रहन्छन् । यो संग्रहका गीतहरूलाई हेर्दा नगाईएका तर राम्रा गीतहरू धेरै बाँकी रहेछन् जस्तो लाग्छ । जसलाई गाइएको खण्डमा नेपाली गीत संगीतको क्षेत्रमा निशन्देह थप सुन्दर सृजनाहरू थपिनेछन् । 
चाहिदैन तिमी भए हिरा मोती सुनको जुहार 
तिमी भए पूरा हुन्छ जिन्दगीको सबै आधार 
छाती मात्र मेरो हो तर मुटु तिमी 
मेरो सारा तिमी हौ तिमी नै जिन्दगानी (त्याग) 
एक अर्थमा गीत कविता पनि हो कविता गीत पनि हो । फरक कवितामा जीवन र जगतलाई अलि बृहत ब्याख्या गरिन्छ । गीत छोटोमा मनको बेदना र भाव पोखिने ठाँउ हो । तर त्यहाँ पनि जीवन अटाएको हुन्छ । एउटा राम्रो कवि आफैमा एउटा राम्रो गीतकार पनि हो । यस अर्थमा गीतकार कृष्णकला वनेम एक कवयित्री पनि हो भन्दा फरक नपर्ला । वहाँको नारी कोमल भावना गीतहरूमा प्रष्ट पाउन सकिन्छ । गीत मनको भाव हो यो व्यक्ति अनुसार फरक परे पनि नारीले पोखेको भाव कोमल हुन्छ नारी भावुकता छुट्टै प्रकारको हुन्छ । प्रकृतीले नै नारी करुणा र बेदनालाई पृथक बनाएको छ । भूमीकामा गोविन्दराज भट्टराईले उठाउनु भएको आधुनीक मुनाहरूको प्रसंग सान्दर्भिक लाग्यो । आजको समयमा मुनाहरू पनि परदेश जान्छन् मदनले जस्तै दुःख गर्छन् र उताबाट आफ्नो मदन (प्रेमी) को नाममा बिरह पोख्छन् । हुन पनि हाम्रा धेरै नेपाली दिदी बहिनीहरू अरब अनि इजरायल र अन्य धेरै देशहरूमा परदेशीएका छन् । एक्लीएका छन् । घर देखि टाढा परिवार देखि टाढा अनि देशदेखि धेरै टाढा हुँदा पीडा महशुस हुन्छ । उनीहरूलाई समयले दिएको पीडा कविता, गीत र गजल बनेर प्रस्फुटन हुन्छ । गीतकार कृष्णकला वनेम पनि इजराइली भुमीबाट गीत लेख्नुहुन्छ कतै बिरहमा कतै निराशामा कतै गाउँ घर परिवार र देशको तृष्णामा । 
कति बस्नु कल्पनामा मीठो सपना बुनी 
परदेशमा बित्ने हो कि दुखियाको जुनी (गृह बिरह) 
गीतकार परदेशी भएरै होला धेरै गीतहरूमा परदेश पीडा छ । गाउँ घरको याद छ । मायालुलाई उताबाट सम्झेका शब्दहरू छन् । 'कान्छा’ हाम्रो पूर्बेली समुदायमा एउटा मायालु बिम्ब हो । गीतमा धेरै ठाउँ यसको प्रयोग गरिएकोछ । यसले गर्दा गीतमा आञ्चलिक स्वादहरूपनि पाउन सकिन्छ । 
खोला नालाको सुसाईसँगै बहकिन्छौ होला 
न्याउली रुँदा सल्लेरीमा तिमी दुख्यौ होला 
दोबाटोको चौतारीमा मेरो बाटो हेरी बस्नु 
आाउदैछु म फर्की कान्छा मुटु नदुखाउनु । 
त्यस्तै हाट बजारमा मेलामा धान नाँचेर लगाइने चोखो मायाको कुरा अनि तमोर नदीको संझना गर्दै पोखिएको गीति भावना सुन्दर लाग्छन् । यो पूर्बेली चेलीले मनमा सोचेको कारुणीक प्रेमील भावना हो । जहाँ लोक साँस्कृतिक पक्ष पनि छल्कीएको पाईन्छ । गीतहरू हेर्दा उतै पुगे जस्तो लाग्छ । 
हाटै भर्न जाँऊ कान्छा तमोर सिवा तर्दै 
धानै नाची माया गाँसौ बैंश छँदा छँदै 
फूल जस्तो ओइली झर्ने हाम्रो जिन्दगानी
बाँचुन्जेल हो नी कान्छा मर्दा के छ लाने । 
खासगरि परदेशमा हुदा देशको धेरै याद आउछ । जे जस्तो भए पनि नेपाल मेरै देश हो भन्ने भावना जागृत हुन्छ । किनकी अन्तरदेशीय नागरिक हुनु अनि त्यहाँ बिविध पीडा भोग्नु अनागरिक हुनु हो । केही गीतमा माटो र देश प्रेमपनि छ । जस्तैः 
१. शिरमाथि सगरमाथा पाउमा नेपाल 
 नेपालीको प्यारो भुमी देश बिशाल 
२. हिमालको फेदीमा सुन्दर मेरो गाउँ 
 नेपालकी छोरी हुँ म गोरी मेरो नाउँ 
गीतमा सामान्यतया माया र प्रेम प्रसंगको प्रधानता रहन्छ । यो संग्रहमा संग्रहित अधिकंश गीतहरू पनि माया प्रेमकै बिषयमा केन्द्रीत छन् । प्रेम गीतहरूमा कतै मायालुलाई संझेका बिलौना कतै धोका पाएकोमा गुनासो कतै बिछोडको पीडा कतै षोडषी प्रेमभाव कतै जलन र त्याग अनि कतै गृह बिरहका प्रसंग आउँछन. । जस्तै केही गीति हरफहरू हेरौ- 
तिम्रो यादमा रुमल्लिदा एक्लै कति रुन्थें 
सिरानीको तिम्रो तस्बिर कयौ पटक छुन्थें । (मायालुको याद) 
हिड्दै जाँदा पाइलाहरू काँडामा नि पर्दो रैछ 
माया गर्ने मुटुहरू त्यही मायामा जल्दो रैछ (धोका) 
भेट भयो तिमीसित दुई नदीको संगम जस्तो 
छुटी गयो साथ हाम्रो दिन अनि रात जस्तो (बियोग) 
नाचौं नाचौं लाग्छ मलाई बन पाखाभरि 
वैशालु यी रहरहरू उर्ली आउँछन् भनभरि (षोडषी प्रेमभाव) 
त्यस्तै अन्य गीतहरूमा बिदेशमा भोगिने दुःख, जन्मीएको ठाँउ र बालापनको याद देशको चिन्ता साँस्कृतिक झल्को जस्ता बिविध कुराहरू छन् । गीतकार आफै गायिका भएकोले होला आफ्ना गीतको गेयात्मकतालाई सहज बनाइएकोछ । गीतहरू सरल र मीठासपूर्ण छन् । ज्यादा जसो गीतहरू एउटै संरचनाको र प्रायजसो दुई अन्तराका छन् जो चलन चल्ती कै कुरा हो । गीतको सम्पूर्ण पक्षमा बहस गर्नु मेरो क्षमता बाहिरको कुरा पनि हो । श्रवण मुकारुंगले घुमाउरो पाराले भने झै नेपालका दिग्गज गीतकारहरू जो गीतको महाबिद्यालय नै हुन् वहाँहरूलाई अध्ययन गर्नु सायद हरेक नयाँ गीतकारको बुद्धिमानी नै होला भन्छु । गीतकारलाई मीठो गीतहरूको लागि बधाई र थप सृजनाको लागि शुभकामना अनि तपाईका गीतहरू अमर बनोस भन्ने सुभेच्छा दिन चाहन्छु ।

Jun 6, 2012

काव्यकृति "कोसेली परदेशबाट" को - कृति समीक्षा

अशोक राई 
कवि नगेन्द्र ईङ्नाम "आठराईली" को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु । कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन,उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा । हरेक लेखकहरुको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा र तरीका हुन्छ । ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पठकको मन छुन्छ । जुनसुकै बिषय र भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ । उनको कवितामा खासगरी स्थानीयता,आञ्चलिकता साँस्क्रिती, जातीधर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संबेदना र प्रेम जस्ता विषयवस्तु प्रसस्तै पाईन्छ । कवितालाई क्लीष्ट बनाउनुपर्छ अन्यथा यो कविता हुन सक्दैन भन्ने आजको सोचलाई कविले पछ्याएका छैनन । आम पाठकलाई सुपाच्छ छ यो कृती । अर्को कुरा कविताले कुनै वाद र धार नै आत्मासात गर्नुपर्छ भन्ने मान्यता पनि यस कृतीले बोकेकोछैन । पाठकको दिल छुने खालको श्रीजना तयार गर्नु भनेको अमर हुनु पनि हो । कविको महत्वपूर्ण पक्ष आफ्नो कलाले पाठकलाई आनन्द दिनु हो, पाठकको मनको भाषा अक्षरले बोल्नु हो र पीडालाई छाम्नु हो । कवि अल्पग्राह्य छैनन सर्वग्राह्य हुन सक्नुपर्छ जुन कुरा ईङ्नामका सरल कवितामा पाईन्छ । अब ऊनका केही कविताहरुलाई केलाउनेतर्फ लाग्नु पर्दा . . जब म तेह्र घण्टाको लामो ड्यूटी सिध्याएर थकित शरीरलाई रेलको डब्बाभित्र थुपार्छु त्यसबेला कवि नगेन्द्र ईङ्नामको कविताँश मनमा आउँछ । 
गहकिलो छ समस्या परदेशीहरुलाई परदेशमा 
प्रतिकूल समय छ फर्कनलाइ आफ्नो देशमा 
घर सम्हाल्न जाउँ बिना कालमै मारिईने डर 
अर्काको देशमा गैर कानूनी भनी लखेटिईने डर . . . .-(परदेशमा) 
परदेशको पीडा परदेशी स्वयमलाई अरुलाई भन्दा बढी ज्ञान हुन्छ । परदेशको पसिना, पराई बचनहरु, अलार्मा समय र परिवारीक दु:ख थुप्रैथुप्रै कुरा हुन्छन परदेशीको छाँतिभित्र । जाने ठाउँ भन्नु स्वदेश हो, उतातिरको बेथिती अस्थीरता र बेरोजगारी सधैं प्रतिकुल रहन्छ । त्यैपनि मान्छेको मनमा एकप्रकारको मायावी रहर हुन्छ डलरको । मनमा त्रिष्णा रहिरहन्छ सपना देख्न मन हुन्छ न्यू योर्क शहरको । काव्यकृति स्वयम् एक परदेशी कविको हो जो दूई दशक समय परदेशमा गुजारीरहेका छन । भोगाईको अभिब्याक्ती पनि हो कविता । कृतिको नामाकरण गरिएको सन्दर्भलाई हेर्दापनि शायद थाहा हुन्छ यी कुराहरु । एउटा कविता छ यस कृतिभित्र जो प्रेममा आधारित छ । 
स्वच्छ सुनौलो बिहानीहरुको पर्खाईमा 
कैयौं दुःखी रातहरु गुजारी रहेको छु 
हाम्रो भावि सुख र मिलनको पर्खाईमा
सयौं बाधा र अड्चनहरु पन्छ्याई रहेछु . . . . -(कोसेली परदेशबाट) 
. . . यो प्रेमा पीडा परदेशीको हो । कविताको पात्र प्रेयसी या प्रिय पत्नी जो कोहि पनि हुन सक्छ जसलाई परदेशीले मार्मिक सम्झना गरेका छन । यी सांकेतिक पीडाहरु कृतिमा धेरै पाउन सकिन्छ । - “यसैको न्यानोपनाले आजसम्म बाँची रहेको छु” । परदेशमा रहंदा स्वदेशको सम्झनापनि अति मार्मिक रुपमा प्रस्तुत गरेका छन यिनले । जब एउटा परदेशीलाई परदेशले छोड्न नसकेपछि उसले गुमाएका अनुभवहरु निम्न कविताँश मार्फत बुझ्न सकिन्छ । 
छोडेको थिएँ सोल्टिनीलाई 
 चिठी पत्रमा भेट्दै गरौंला भनी 
ती क्षणहरु युगमा बदलि सके 
भन्छन्, 
जेठी, माईली र साईंली हुंदै 
मेरी कान्छी सोल्टिनीले पनि 
आफ्नो घरबार जोडिसकिन् रे 
तर मलाई यो पापी परदेशले छोडेको छैन . . –( मलाई परदेशले छोडेको छैन) 
लामो समयसम्म कवि न्यू योर्क शहरमा रहेका हुनाले उनले आफ्नो कवितामा यस शहरको विशेषता, जीउने तरीका, नेपालीले अपनाएको यहाँको जीवनबारे व्याख्या गर्न पनि भ्याएकाछन । धेरै मानिसहरु बाहिरबाट सपनाको गह्रुङ्गो भारी बोकेर यहाँ आउँछन, जीजीबिषा खोज्छन् र संस्कृतिसित रुझ्दैभिज्दै समय बिताउँछन् । सिमाविहीन स्वन्त्रतता, अर्ध पागल गीतहरु, बार-रेष्टुँरा, विधुत्तीय खेलहरु र अंग्रेजी फेसन जस्ता थुप्रै थुप्रै कुरा छन तेश्रो भुगोलका मान्छेलाई रिङ्गटा लगाउने । कविताले भन्छ थोरैमात्र मानिसहरु सुखी धेरैजसो खिन्नछन् यहाँ . . . . 
जागा जागा बत्ति र सडकहरु 
जागै रहन्छ शहर चारै प्रहर 
भिडमाथि भिड थपिँदै थपिँदै 
असिमित हुँदैछ शहरको रहर 
कसैलाई रमाईलो 
कसैलाई, सही नसक्नुको छ 
यो न्यू योर्क शहरको रहर. . .