अशोक राई
कवि नगेन्द्र ईङ्नाम "आठराईली" को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु ।
कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन,उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा । हरेक लेखकहरुको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा र तरीका हुन्छ । ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पठकको मन छुन्छ । जुनसुकै बिषय र भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ । उनको कवितामा खासगरी स्थानीयता,आञ्चलिकता साँस्क्रिती, जातीधर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संबेदना र प्रेम जस्ता विषयवस्तु प्रसस्तै पाईन्छ ।
कवितालाई क्लीष्ट बनाउनुपर्छ अन्यथा यो कविता हुन सक्दैन भन्ने आजको सोचलाई कविले पछ्याएका छैनन । आम पाठकलाई सुपाच्छ छ यो कृती । अर्को कुरा कविताले कुनै वाद र धार नै आत्मासात गर्नुपर्छ भन्ने मान्यता पनि यस कृतीले बोकेकोछैन । पाठकको दिल छुने खालको श्रीजना तयार गर्नु भनेको अमर हुनु पनि हो । कविको महत्वपूर्ण पक्ष आफ्नो कलाले पाठकलाई आनन्द दिनु हो, पाठकको मनको भाषा अक्षरले बोल्नु हो र पीडालाई छाम्नु हो । कवि अल्पग्राह्य छैनन सर्वग्राह्य हुन सक्नुपर्छ जुन कुरा ईङ्नामका सरल कवितामा पाईन्छ ।
अब ऊनका केही कविताहरुलाई केलाउनेतर्फ लाग्नु पर्दा . . जब म तेह्र घण्टाको लामो ड्यूटी सिध्याएर थकित शरीरलाई रेलको डब्बाभित्र थुपार्छु त्यसबेला कवि नगेन्द्र ईङ्नामको कविताँश मनमा आउँछ ।
गहकिलो छ समस्या परदेशीहरुलाई परदेशमा
प्रतिकूल समय छ फर्कनलाइ आफ्नो देशमा
घर सम्हाल्न जाउँ बिना कालमै मारिईने डर
अर्काको देशमा गैर कानूनी भनी लखेटिईने डर . . . .-(परदेशमा)
परदेशको पीडा परदेशी स्वयमलाई अरुलाई भन्दा बढी ज्ञान हुन्छ । परदेशको पसिना, पराई बचनहरु, अलार्मा समय र परिवारीक दु:ख थुप्रैथुप्रै कुरा हुन्छन परदेशीको छाँतिभित्र । जाने ठाउँ भन्नु स्वदेश हो, उतातिरको बेथिती अस्थीरता र बेरोजगारी सधैं प्रतिकुल रहन्छ । त्यैपनि मान्छेको मनमा एकप्रकारको मायावी रहर हुन्छ डलरको । मनमा त्रिष्णा रहिरहन्छ सपना देख्न मन हुन्छ न्यू योर्क शहरको । काव्यकृति स्वयम् एक परदेशी कविको हो जो दूई दशक समय परदेशमा गुजारीरहेका छन । भोगाईको अभिब्याक्ती पनि हो कविता । कृतिको नामाकरण गरिएको सन्दर्भलाई हेर्दापनि शायद थाहा हुन्छ यी कुराहरु । एउटा कविता छ यस कृतिभित्र जो प्रेममा आधारित छ ।
स्वच्छ सुनौलो बिहानीहरुको पर्खाईमा
कैयौं दुःखी रातहरु गुजारी रहेको छु
हाम्रो भावि सुख र मिलनको पर्खाईमा
सयौं बाधा र अड्चनहरु पन्छ्याई रहेछु . . . . -(कोसेली परदेशबाट)
. . . यो प्रेमा पीडा परदेशीको हो । कविताको पात्र प्रेयसी या प्रिय पत्नी जो कोहि पनि हुन सक्छ जसलाई परदेशीले मार्मिक सम्झना गरेका छन । यी सांकेतिक पीडाहरु कृतिमा धेरै पाउन सकिन्छ । - “यसैको न्यानोपनाले आजसम्म बाँची रहेको छु” ।
परदेशमा रहंदा स्वदेशको सम्झनापनि अति मार्मिक रुपमा प्रस्तुत गरेका छन यिनले । जब एउटा परदेशीलाई परदेशले छोड्न नसकेपछि उसले गुमाएका अनुभवहरु निम्न कविताँश मार्फत बुझ्न सकिन्छ ।
छोडेको थिएँ सोल्टिनीलाई
चिठी पत्रमा भेट्दै गरौंला भनी
ती क्षणहरु युगमा बदलि सके
भन्छन्,
जेठी, माईली र साईंली हुंदै
मेरी कान्छी सोल्टिनीले पनि
आफ्नो घरबार जोडिसकिन् रे
तर मलाई यो पापी परदेशले छोडेको छैन . . –( मलाई परदेशले छोडेको छैन)
लामो समयसम्म कवि न्यू योर्क शहरमा रहेका हुनाले उनले आफ्नो कवितामा यस शहरको विशेषता, जीउने तरीका, नेपालीले अपनाएको यहाँको जीवनबारे व्याख्या गर्न पनि भ्याएकाछन । धेरै मानिसहरु बाहिरबाट सपनाको गह्रुङ्गो भारी बोकेर यहाँ आउँछन, जीजीबिषा खोज्छन् र संस्कृतिसित रुझ्दैभिज्दै समय बिताउँछन् । सिमाविहीन स्वन्त्रतता, अर्ध पागल गीतहरु, बार-रेष्टुँरा, विधुत्तीय खेलहरु र अंग्रेजी फेसन जस्ता थुप्रै थुप्रै कुरा छन तेश्रो भुगोलका मान्छेलाई रिङ्गटा लगाउने । कविताले भन्छ थोरैमात्र मानिसहरु सुखी धेरैजसो खिन्नछन् यहाँ . . . .
जागा जागा बत्ति र सडकहरु
जागै रहन्छ शहर चारै प्रहर
भिडमाथि भिड थपिँदै थपिँदै
असिमित हुँदैछ शहरको रहर
कसैलाई रमाईलो
कसैलाई, सही नसक्नुको छ
यो न्यू योर्क शहरको रहर. . .
No comments:
Post a Comment