Apr 9, 2009

‘शब्दघोष जिजीविषाको’ भित्र के.सी.का कथाहरु

अशोक राई
"शब्दघोष जिजीविषाको” कथा संग्रह प्रकाश के. सी. र प्रदीप कन्दङ्गवा (’प्र’द्वय)को सयुंक्त कथा संग्रह हो । यसमा जम्मा दुबै कथाकारका आठ-आठवटा गरी जम्मा सोह्रवटा कथाहरु संकलित छन् । कथा संग्रहमा भएका कथाहरुले मूलतः हङकङको परिबेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एबं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट एचके वेब मिडियाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गीतकार साथै कवि प्रदीप कन्दङ्वा भने याक एण्ड यती रेष्टुरेन्टका मालिक बनेका छन् । दुबै कथाकार लामो समयदेखि हङकङमा बस्दै आएका भएर पनि होला, उनीहरुले भोगेको जीवनलाई कथाको बिषय बनाइएको हुन सक्छ । तर यो संग्रहमा केवल हङकङ मात्र छैन । यसमा समाजमा घटित र विद्यमान घटना, परिस्थिति र विसंगति, राज्यका बेथितीले उब्जाएका प्रश्नहरु, प्रेम र यौनिकतालगायत जीवन र जगतका थुप्रै पाटाहरु उजागर गरिएका छन् । आफ्नै शब्द शील्पले सिँगारेकाछन् प्रकाश के. सी. र प्रदीप कन्दङ्वाले आफ्ना कथाहरुलाई । जे होस्, प्रकाश के.सी. र प्रदीप कन्दङ्वा हङकङका प्रतिनिधि कथाकारहरु हुन् ।यहाँ म प्रकाश के.सी.का कथाहरुलाई केलाउने प्रयास गर्दछु ।
१. चोटका लयहरु :- यस कथामा एउटा पुरुष पात्रले आफ्नी अर्धाङ्गिनीको माइतीबाट पिटिइनु परेको दुःखलाई भावुक भाकामा चित्रित गरिएकोछ । पीडित पुरुष पात्र पिटाइ खाएर शारीरिक र मानसिक दुबै हिसाबले घायल भुइँमा लडेकोछ । पिट्नेहरु उसलाई बाटैमा छोडेर गएका छन् । यसबखत पीडित पात्रको मनोसम्वादको शैलीमा कथा शुरु र अन्त भएकोछ । श्रीमान श्रीमतीबीच हुने र भइरहने सामान्य झै-झगडामा पहिले लोग्नेले स्वास्नी पिट्ने, त्यसपछि स्वास्नीले माइती खन्याइदिने घटनाहरु हाम्रो समाजमा देखिँदै आइएकोछ । कथाको पुरुष ‘म’ पात्रले पुरुष प्रधान अहमलाई बोलेकोछ । पुरुषले महिलामाथि आफूले गरेको सबै ठीक, उनीहरुले गरेकोचाँहि बेठीक ठान्ने प्रवृति हाम्रो समाजमा विद्यमान जो छ, त्यसलाई ‘म’ पात्रले बोलेको सम्बादमा पाउन सकिन्छ ।
२. नेपथ्यभित्र र बाहिरको एक दृश्य :- यो कथाले हङ्गकङ्गमा नेपालीले बाँचेको जीवनलाई भिन्न प्रकारले प्रस्तुत गरेकोछ । म पात्र हङकङको ब्यस्तता र जटिलतामा बाँच्ने एउटा नेपाली प्रतिनिधि हो । उसले बाटामा भेटेको इङ्ल्याण्ड नागरिकले ‘हङकङभित्रका नेपाली समुदाय’ नामक पुस्तकका लागि नेपालीहरुको बारेमा खोजी गरिरहेकोछ तर उसले नेपालीलाई बुझ्न सकिरहेको छैन । ऊ नेपालीलाई नङ्ग्याउन चाहन्छ । यता घर पुग्दा श्रीमतीको खटन-आदेश र खजमज्जिएका लुगा अनि अस्त ब्यस्त कोठा हेर्दा उसलाई जीवन वाक्क लाग्छ, छरपस्ट जिन्दगीका सपनाझैं । ब्यस्त सडक र गाडीहरुको कर्कश आवाज, इमर्जेन्सी साइरेन र ट्राफिक क्रसिङका बेसुरे ताँतीहरुमा जीवनको कालो आभास, अध्याँरो आभा, शून्य अनुभूति, ब्यापक कोलाहल र प्रखर हतारोले जिजीविषा निष्पृह छ । हङकङभित्र नेपालीको दिनचर्या, पारिवारिक खण्डिकरण, शहरभित्रका कुरुपता आदि थुप्रै कुराको वर्णन गरिएकोछ यस कथामा ।
३. जीत र जीवनका भोगाइहरु :- यो कथा पनि हङ्गकङ्गकै परिवेशमा लेखिएकोछ । यो कथा पनि मनोसम्वादकै शैलीमा छ । रजनी र प्रकाश एक आपसमा छुट्टिएको चार वर्षपछि आमनेसामने भएकाछन् । तर बोल्न भने सक्दैनन् र मौन मनोसम्बाद गर्छन् । पूर्व कथाअनुसार दुबैले एक अर्कालाई औधी माया गरे पनि प्रकाशको एउटा गल्तीले भएको असमझदारीले रजनी उसलाई छोडेर लण्डन जान्छिन् । तर उसको मनमा प्रकाशप्रति माया मरेको भने हुँदैन । पछि आफ्ना आफ्ना गल्ती महशुस गर्दै सहर्ष उनीहरुको पुनरमिलन हुन्छ । यसरी हङ्गकङ्गको व्यस्त समयले लोग्ने स्वास्नीको सम्बन्धमा कसरी असमझदारी पैदा हुन्छ र सुखी दाम्पत्य जीवनसमेत धरापमा पर्छ अनि आफ्ना गल्तीहरु थाहा भए पछिको पुनरमिलन मीठो हुन्छ भन्ने कुरा यो कथामा चित्रित छ ।
४. त्यसपछिको अर्को कथा :- यस कथामा एउटा अपाहिज दाजु र आफ्नो परिवार बीचको अप्ठ्यारोमा जिइरहेको एक पात्रको जीवन चित्रण गरिएकोछ । मुख्य पात्रलाई “उसको” या “उसलाई” जस्ता सर्वनामी शब्दले मात्र सम्बोधन गरिएकोछ । “उसको” आफ्नो श्रीमती र एक छोरा छ । विपिन “उसको” साख्खे दाइ हो जो दुर्घटनामा परेर अपाहिज र अर्ध विक्षिप्त छ । विपिनको स्वास्थ्य वीमाको पैसाले परिवार धानिएकोछ । तर श्रीमती र छोरामा विपिनप्रति पूर्ण विकर्षण छ । “भोग्नेलाई भन्दा स्याहार्नेलाई पीडा” भनेझैं विपिनलाइ स्याहार्न गाह्रो छ । सँधैको पिरलोले “उसको” जीवन खिन्न छ । एक दिन उसले आन्दोलनकारी र पुलिसहरुको घातक भीडभित्र विपिनलाई एक्लै छोडेर भाग्छ तर वाल्यकालको स्मृतिले पुनः दाइको माया पलाउँछ र ऊ फर्केर दाइलाई खोज्न थाल्छ । विपिनलगायत केही आन्दोलनकारीहरुलाई पुलिसले भ्यानमा कोच्याइरहेको देख्छ । विपिनतिर लम्किन खोजेको “उसलाई” पुलिसले चलाएको तातो गोली लाग्छ र उसको ईहलीला समाप्त हुन्छ ।
५. दुःखै दुःखले झ्याँङ्गिने मनका थाँक्राहरु :- माओवादी द्वन्द्वमा आधारित यो एउटा अर्को सामाजिक कथा हो । पात्रहरु सबै गाउँले परिवेशकै छन् । गाँउको सुख-दुःखको संसार माओवादी द्वन्द्वको कारण त्रासदीय बनेकोछ । युद्ध विराम भए पनि धरपकड र मारामारी निरन्तर छ । कोही विदेश भासिने विचारमा छन्, कोही युद्धमा छन् । नेपालीको लागि विदेश रहर कि वाध्यता ? के मानिसले सहज बाँच्नु पाउनु पर्दैन ? बालबालिकाले पढ्न पाउनु पर्दैन ? जस्ता प्रश्नहरु यावत उठेकोछ । परिवारहरुमा आतंक र बिरक्ती छ । आठ वर्षपछि घर फर्कँदै गरेको रमेशको स्वागतार्थ घरमा एउटा समारोहको आयोजना गरिएकोछ । सबै खुशी छन् । रमेश पूर्व माओवादी कार्यकर्ता हो । गाउँमा उसको बाँच्ने आशा कम हुँदै गएकोले रमेशका बा हरेले उसलाई अरब पठाएको हो । तर आठ वर्षसम्म मरे-बाँचेको खबर नगरी रमेश घर फर्कँदैछ । उसको आगमनलाई शुभ र अर्थपूर्ण बनाउन घरमा सत्यनारायण तथा कूल देवताको पूजा हुँदैछ । तर रमेश भने कसैले चिन्न र आशा गर्न नै नसक्ने हिसाबले एक बटुवाको रुपमा देखा पर्दछ, जसलाई उसको हजुर आमाले माात्र चिन्दछिन् । कथाकारले रमेश साँच्ची नै विदेश गएको थियो या भूमिगत हिसाबले देशभित्रै संघर्ष गर्दै थियो भन्ने कुराको कौतूहलता छाडिदिएर कथा सकेकाछन् । कथा यथार्थवादी सामाजिक धरातलमा लेखिएकोछ । यो कथा पढ्दा गुरु प्रसाद मैनालीका सामाजिक कथा पढेको स्वाद पाउन सकिन्छ ।
६. मृगतृष्णा :- यो एउटा प्रेम कथा हो । हङ्गकङ्गमा बस्दै आएको समीर एउटा बिवाहित लोग्ने मानिस हो । यहाँको ब्यस्तताले श्रीमतीसित उसको निकटता बञ्चित छ । यत्तिकैमा समीर र किट्टीको अनलाइन च्याटको सम्बन्ध अन्ततः प्रेममा परिणत भएकोछ । थाइल्याण्डको आबाक यूनिभर्सीटीमा अध्ययनरत बेइजिङकी किट्टी समीरको मायामा यस्तरी डुबेकी छे कि उसको निम्ति मर्न पनि डराउँदिन । धेरै पटकको भेटघाट र अबउप्रान्त एक अर्कामा टाढा हुने वाचाहरु टोडेर किट्टीले एक हप्ताको लागि समीरलाई थाइल्याण्ड बोलाउँछे, त्यहाँ उनीहरुबीच प्रणयशील क्षणहरु बित्छन् । समीर र किट्टीबीच यति भएर पनि लोग्ने स्वास्नीको सम्बन्ध भने दुरुस्त नै कायम छ । घर नै मायाको भरपर्दो आश्रयस्थल सम्झेर उसले किट्टीसितको प्रेम सम्बन्धलाई त्यागेको छ । साइबर दुनियाँले फरक-फरक सँस्कार र फरक-फरक संसारका मान्छेको सम्बन्ध विकास गराएको छ भन्ने कुरा यस कथामा उल्लेख छ । प्रेम र यौनको मृगतृष्णा उत्कट छ, तथापि लोग्ने स्वास्नी बीचको मौलिक सम्बन्ध महत्वपूर्ण छ भन्ने कुराको संकेत पनि गरेकोछ यस कथाले ।
७. प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु :- प्रयोग र कथा वस्तुको हिसाबले यो कथा कथाकार के.सी.को उत्कृष्ठ कथा हो । हङकङको यान्त्रिक र भावानाशून्य संसारमा बाँचिरहदा कथाकारलाई यस्तो चाखलाग्दो कल्पनाशीलता आएको हुनुपर्छ, जो कथामा प्रयोग गरिएकोछ । स्टारफेरीनजिक पुग्दा ‘म’ पात्रले एकदिन यति ब्यस्त शहरमा मानव रिक्तताको अनुभव गर्छ । परेवालाई चारो दिइरहेकी चिनीँया बूढी पनि अदृश्य भएपछि ऊ आफू पनि बेहोस हुन्छ । आँखा खोल्दा उसले आफूलाई एउटा ठूलो हलमा बसिरहेको पाउँछ । त्यहाँ हङकङका पूर्व चीफ एक्ज्यूकेटिभ तुङ ची हृवालगायत आफ्नै श्रीमती चेरीको मुटु रोबोटले झिकेर प्लेटिनम स्प्रे गरिरहेको देख्छ । अघि आफ्नैसामु अदृश्य भएकी चिनीँया बूढीसमेत लाइनमा हुन्छिन् । उसलाई पनि क्रेनले उचालेर अगाडि लान्छ तर मेशिनको खराबीले प्लेटिनम स्प्रे भने गरिँदैन । फर्केर घर आउँदा उसले आफ्नी श्रीमतीलाई अर्कै रुपमा पाउँछ । कपाल छोटो पारेर काटिएको छ । आफूप्रति उदासीन र कर्कश छ उसको ब्यबहार । सडकका मानिसहरु आफ्नै तालमा हिँडिरहेका छन् । वास्तवमा त्यहाँ विज्ञानको सहाराले हृयुमन अपडेट गरिएको हुन्छ । सारा तथानामका विसंगतिहरुबाट मानवीय सम्भावनाहरुलाई बचाउनको लागि र यसको विकास गर्नको लागि मुटुमा प्लेटिनम स्प्रे गरिएको हुन्छ । समवेदनाहीन प्लेटिनम मुटु लिएर बाँच्ने मान्छेहरुको दुनियाँलाई यो एउटा ब्यंग्यात्मक कथा हो ।
८. माया मिरेज हो माया मिरेज होइन :- हङ्गकङ्गको परिबेश र यथार्थलाई समेटिएको यो अर्को कथा हो । हङ्गकङ्गमा मानिसले भोग्दै आएको भित्री जीवनहरुको यसमा चित्रण छ । क्षणिक माया देखाउने देह व्यवसायी किशोरीहरु र त्यसलाई भोग्ने पुरुषको मनोदशालाई यो कथामा देखाइएकोछ । क्याथी नामको केटीलाई पर्खेर बसेको एक युवकले बजारभरि छरिएका थुप्रै यौनिक पसलहरुको दृश्यपान गर्छ । अर्को एउटा नेपाली युवक राम छ जसलाई आमेई नामकी वेश्याले मन पराएकी छ तर राम भने लज्जालु स्वभाव देखाउँछ र ऊदेखि भाग्छ । पछि त्यही आमेईसित उक्त युवकले रात बिताउनका लागि लाने क्रममा अनेक तर्कनाहरु गर्छ । बाटोमा म पात्रसँगै आमेईले सुतिरहेको रामलाई भेट्छे । रामको गाला छामिरहँदाका भावनात्मक मनोवृतिहरु ऊसित मोलमोलाई गरिरहँदा कता गए होलान् ? एउटा नारीले अर्को अपरिचित लोग्ने मानिससामु कसरी निर्वस्त्र हुन सक्छे ? जस्ता कुराहरु ‘म’ पात्रको मनमा खेलिरहन्छ । आमेई रामसँग नै रहन्छे र यसरी अचानक आउने अचानक जाने प्रेमीकाहरुलाई भर्खरै दर्केको पानीसित दाज्दछ ‘म’ पात्र, ती दुईलाई त्यहीँ छोडेर पानीमा रुझ्दै आफ्ना बाटो लाग्ने क्रममा ।यी यथार्थहरुमा ‘म’ पात्र, कतै मिरेज(भ्रम) देख्छन् कतै देख्दैनन् । कथामा रात्रि बजारका सस्ता सामंग्रीहरुका नेपाली ग्राहक र घोडा रेसका नम्बर दाँजिरहेका मान्छेहरु पनि छन् । ब्रोकन अँग्रेजी, क्यान्टोनिज र म्याम्दोरिनको प्रयोगले कथामा रमाइलोपन थपेका छन् कथाकारले ।
प्रकाश के.सी.का अधिकांश कथाहरु हङकङको परिवेशमा आधारित छन् । जसले हङकङको जीवन शैली र यहाँ बाँचिएको र बाँच्ने तरिकाहरुको अवगत गराउँछ । कन्दङ्वाका जस्तै के. सी.का कथाहरु पनि प्राय आत्मकेन्द्रित शैली (’म’ पात्रको चयन)मा कथाहरु लेखिएका छन् । उनको आफ्नै शैलीमा कथाहरु बगेका छन् । कथाहरुमा अंग्रेजी र क्यान्टोनिज भाषाको मिश्रण के.सी.का कथाहरुमा पनि पाइन्छन् । प्रकाश के.सी.का भाषा शैली मीठो छ तथापि के.सी.का केही कथाहरु क्लीष्ट पनि छन् जसलाई बुझ्न दोहोरो अध्ययन गर्नुपर्छ । उनका कथाभित्र भएका केही शब्दावलीहरु यस्ता छन् ।
पीडाले गलेर निथ्रुक्क भएको मनलाई मान्छेसँगै निचोरेर हृयांङ्गरमा सुकाउन मिल्ने भए, ….
यस्तो लाग्छ, आफूलाई त्यसरी हृयाङ्गरमा झुण्डाए जस्तै ……………..
एउटी बूढी ठेलागाडीभरि कागज, क्यानहरु थुपारेर घस्रिरहन्छे, मर्न नसक्नुको वाध्यता या जीवनको मोह ! क्यान जस्तै कुच्चिएका, कागज जस्तै जताततै कोरिएका उसको मुखाकृति, पानी सुकेका आँखाहरु……………….
आकार बिग्रन थालेको देशलाई इँट्टाले ठोकेर सकार पार्न खोज्ने ठिटाहरु आदर्श हातमा बटारेर दगुर्दै गए भित्रतिर………...

No comments: