Aug 4, 2009

अशली वनेम र उन्को गिती अलवम

राई चन्द्र दुमी
संगीतको आफ्नै भाषा हुन्छ जस्लाई जस्लेपनि बुझ्छ भनिन्छ, भनिन्छ मात्रै तर सवैले होईन बुझ्नेहरुलेमात्र बुझ्छन, अझ भनौँ बुझ्ने कोशिष गर्नेहरुलेमात्र बुझ्दछन । चराहरुसंग कविहरु दोहोरो बात गर्छन, खोला खोल्सीसंग प्रेमीलो बार्तालाप गर्दै कविहरु बहकिन्छन, सल्लाको सुसाई, फूलहरुको फूलाई, झुकाई, बिजुलीको चम्काई सवै सवैको अर्थ खोलीदिन्छन कविहरु, लेखकहरु । आफुले बुझेको ति मानवभिन्न प्राकृतिक आवाजहरु हामीसमक्ष राखिदिन्छन एक किसिम हाम्रो दोभाषेहरु हुन कविहरु लेखकहरु । म संग अहिले असली वनेमको यौटा गीती अलवम छ लिम्वु भाषाको, यस्लाई यहि अगाडि बजाईरहेको छु । म लिम्बुभाषा सवै बुझ्दिन फेरी कविहरुले चराहरुको भाषा बुझेजस्तै संगीतको भाषा बुझ्ने म त्यस्तो कवि लेखकपनि होईन तर डुबियोभने कवि भएर होईन संगीतले कवि बनाएर आफ्नो भाषा बुझाउँदो रहेछ । त्यसैले बहिनी अशली वनेमको गीती संग्रह पक्कन्दी मैले भित्रैदेखी बुझीरहेको छु । मलाई यस्ले कवि बनाएरै छाड्यो जो कोहीलाई सुरुको कोरसलेनै आफ्नो प्रभावमा पारेर लिम्वुवानको रमाईलो डाँडापाखा खोलानाला,झारजंगल, छहराछाँगा, भिर पहरा घुमाईदिनेछ ।
लिम्बु लोकसँस्कृतिक संगीतको अशल पहरेदार गायक संगीतकार धनबीर साँवासंग मैले पहिलेपनि सनर्राईजबाट अन्तर्वार्ता गरेको छु संगीत गायन र लेखन समेतमा उनैको भूमिका बढि छ पक्कन्दीमा । पक्कन्दी (उपरखुट्टी लगाएर एक किसिम आरामी बसाई) नाम जुराईएको यस संगालोमा असली वनेमले स्वरमात्र दिएकी छैनन, पैसा लगानीपनि गरेकीछिन क्यारे, यस्लाई म भाषा सँस्कृति सम्बर्द्धनको कित्तामा राखेर उन्लाई धन्यवाद दिन्छु । हंगकंगमा गीत संगीतप्रति लगाव राख्नेहरु रहरले पैसा खर्च गर्छन तर त्यो रहरनै आज आवश्यक्ता हुनआएको छ । दुखले कमाई गरेको पैसा संगीतमा लगानी गरेर उनिहरुले मनोरञ्जन र सँस्कृति संरक्षणको दोहोरो सेवा गरेको छन । फेरी उनिहरु आर्थिक घोटालाबाट तर्सेर संगीतबाट भागेकापनि छैनन अलग्गिन सकेका छैनन, साहित्य बिशेष गरेर कविता क्षेत्रमा एकताका ७०, ७५ नाम थिए पलायन भएर गए, अहिले १२,१५ बाँचेको छन, आर्थिक अभावलाई स्विकारेर उत्कृष्ट जीवन बाँचिरहेको छन । तर संगीत, गीत गायन,बजान क्षेत्र बढी रिस्क भएरपनि त्यस्तो भएको छैन । कुनैपनि कुरालाई जव निन्तरता दिईन्छ, साधना सामना गरिन्छ तव त्यस्ले पुर्णरुप लिन्छ पुर्णकार लिन्छ भोली सुन्दर फूल भएर फक्रन्छ । सौन्दर्यको लागि फूल समाजको आवश्यक्ता हो, त्यो सौन्दर्यको अर्को नामनै सभ्यता हो । नेपालतिर फर्केर हेर्दा बिरक्त लागेपनि हंगकंगमा हरेस खाएको छैनन, साधकहरु संघर्ष गर्दैछन निरन्तर ।
पक्कन्दीमा पहिलो गीत पक्कन्दी छैन, लिम्बुवान लाजे (लिम्बुवान राज्य) शिर्ष कको गीत छ । यस्मा एकहुल नारी स्वरहरुले च्याब्रुङबाजा (ढोल) संग यति सुन्दर कोरस तानीदिएको छन । हामी गैहृलिम्बुहरुलाई शब्दहरुसंग अल्सि लाग्दालाग्दैपनि मलाई यी दुइ कुराहरुले ताने चुइ.या हा हा. हो हो । ख्यालीमा तयार पारेको यो गीतको बिचबिचमा जति ति स्वरहरु आउदै गए म २०, २२ बर्षअगाडिको लिम्बुवान भ्रमण गर्दै गएँ । अघि बढने क्रममा फोक्सोङ, खाम्वेक, इक्सा जस्ता शब्दहरु आउन थालेपछित मैले सवै गीतहरु बुझिसकेको थिएँ । त्यही ताप्लेजुङको गुरुङहरुले हेर्वेट भन्ने सेक्मुरी सिङजावोहरुसंग म लिम्बुनीहरुलाई तुलना गर्थें त्यतिबेला । तेहृथुमको तम्फुलामा बिष्णु लुंगा (सवैले नाम परिवर्तन गर्छन भन्छन म गर्दिन, भन्दिन उनी बिष्णुमाया नै हुन बोल्दा हामी मायालु लुंगा हुन्थ्यौँ) गीतले मलाई उनीसंग धान नाचेकोसम्म पुर्यायो चुइ........हो हो हा हा । साँच्चिकै लिम्बुवान लाजे पहिलो गीतनै जादुमय छ जस्लाई धनबीर आफैले लेखेर संगीत गरेर स्वर दिएका छन ।
दोश्रो गीतमा आफ्नै कल्पनामा डुबिन्छ "र्छुइ र्छुइ पक्कन्दी,,। लिम्बुवान यतिबेला डाँडापाखा पर्वतनै उचालेर रमाएको छ । उत्ताउलिएन, उचाटिएन, आत्तिएन, मात्तिएन र पात्तिएनभने उनिहरुको रगतले कोरिएको यो गर्विलो सिमा उनिहरुको रगतले धर्तीको केही भाग जगमात्र होईन केन्द्रसम्मै छिचोलेर स्थाई जग बसाल्नेछ, कहिल्यै नढल्ने, ढाल्न नसकिने । सम्पूर्ण लिम्बुवान यस्तरी उन्मुक्तिएर रमाएको छ उभिएको छ जताततै उनिहरुको सँस्कृतिको परम्पराको गीत नाचहरु घन्कन थालेको छ स्वतन्त्र । म सोच्दछु लिम्बुहरुले आज पाएको यो हर्षोल्लासमा ने.क.पा. माओवादीलाई जोडेर हेरेको छन की छैननहोला । मलाई राम्रैगरी थाहा छ हिजो स्व. भक्त बहादुर कन्दङवाहरुले जातीय अस्तित्व बचावकोलागि एक हुनुपर्ने कुराहरु उठाउँदा आफ्नो धर्मकर्म संरक्षणको सरसल्लाह गर्दा हिन्दूधर्म नमान्ने साम्प्रदायिक, अतः भनेर महिनौँ जिल्ला धाउँनु परेको थियो तारिक खेप्न र स्पष्टिकरणदिन । सूर्य बहादुर जिउँदै रहेछन अस्ति बि. बि. सि.मा भुक्दै थिए । खैर, यी कुराहरु छाडिदिउँ स्वर संगीत शब्द तिनैओटा बिधामा धनबीर सावाँले मेहनत गरेको यहा यस्तै परिकल्पना गर्दै गीतको मर्मलाई खासै पक्डनेतिर गईनछु म । गीतलाई सवैले सुन्नैपर्छ अझ याक्थुम्वाहरुले मनमा खिल्ने गरेर बुझ्नुपर्छ "र्छुइ .........पक्कन्दी........।
चासोक तङनाम लिम्बुहरुको एक महान पर्व उधौली हो । नयाँ अन्नबाली उठाउँने र आफ्नो पितृ पूर्खाहरुलाई चढाउँने यस पर्वको वरिपरि केन्द्रित रहेर भुपेन्द्र चेम्जोङ (मुक्कुम)ले यस गीतलाई रचना गरेका छन । असली वनेम र स्वयं धनबीर साँवाले युगलस्वर दिएको यो गीत सुन्दा असलीको स्वरले दंग परें म । अशलीले म्युजिक ट्रयाकमा त्यसरी आफुलाई कुधाउन सक्लिन जस्तो पटक्कै लागेको थिएन । तर सावाँले संगीत दिएको समला तालको यस युगल गीतमा यस्तरी मेलोडी पक्रेर सुर लगाएकीछिन की यस्ता हजारौँ गीत उन्ले रेकर्ड गरिसकेकीछिन जस्तो । अशलीले सोझो पालममात्र होईन इन्स्ट्रुमेनको घुमाउँरो तालमापनि सुर लाउँन सक्दीरहिछन म छक्क परेको यहानै हो, यस्लेनै हो । झट्ट हेर्नलाई आजको आधुनिक युगमापनि ताप्लेजुंगको कुनै दुर्गम भेगमै छिन जस्तो बोल्ने हाँस्ने अशली स्टुडियोमा उभिएर त्यस्तो गीत गाउलिन जस्तो जो कोहीलाई लाग्दैन तर उनी आफ्नो सँस्कारगत ब्यवहारलाई जिवन्त राख्दै आजको युगलाई राम्रैसंग कब्जामा राख्न सफल ब्यक्तित्व रहेछिन । मैले मेरै अगाडिपनि गाउँन भनें, एक किसिम अर्डर, उन्ले अप्ठ्यारा बिटको गीतहरुपनि सहज उर्ठाईन । नेपालको लामो बसाईमा संगीत कक्षापनि लियौकी के हो ? होईन, छैन, भियाईन, दिनेशजी हंगकगमै भएकोले यो चाही ढाँटीन्नकी........ ।
भिमा खजुमले लेखेकीछिन आतन केवे (कहाँ गयौ) खजुम भन्नेसाथ मलाई कवियित्री बहिनी गीता सन्तापको याद आउँछ । भिमा यौटा योद्धा बहिनीपनि छिन (नाम परिवर्तन) चुलाचुली क्याम्पमा, तर उनि चाही याक्सो । पारिजात दिदीलाई आदर्स मान्ने गीताले यतिबेला हो लेख्नुपर्ने, खई कता छे गीता खजुम । याक्थुङबा याक्थुम्माहरु यतिबेला जर्मुराएका छन भाषा सँस्कृति संरक्षणकोलागि । केही गीतहरु ६,७ बर्ष अघि देखेको छु मैले गीताको, जस्मा प्रणय प्रिती र देशभक्ति दुवै थिए, दुवै कुराहरु समाजको आवश्यक्ता र प्राकृतिक कुराहरुनै हुन । तर आज सौन्दर्यवोध गरेर नश्लीय चेतनामा लेख्नुले छुट्टै महत्व राख्दछ मुलुकमा । चाहे त्यो देशभक्तिको होस चाहे प्रणय प्रितीको तर यता जनजाति गीत समुह समेत सकृय भईसकेको हुनुपरेको यो घडी हो छुट्टै महत्व राख्दछ भाषागत शब्द रचनाहरुले । खेताला लगाएर शब्द बुझ्दा भिमा खजुम राम्रो जमेकी छिन, उन्ले फेरी फेरीपनि उपस्थिति जनाईरहन पर्छ सम्भवत माग मेरो होईन सप्पै सप्पै संगीत पारखी प्रेमीहरुको नेतृत्व गरेर बोलिरहेको छु ।
समला बिटलाई काटेर फास्ट बिटमा संगीत दिइएको छ बिष्णु याक्सोले लेखेको गीत सोरेओ सोरेओ (ब्युझ है, उठ है) त्यसैले गीतै नबुझेपनि नाचौँ नाचौँ लाग्छ जो कोहीलाई । करिव पुलिस आर्मीले कवाज खेल्ने स्टायलको बिटमा बनेको कुनैपनि पार्टी फंक्सनतिर नाच्न अति सुट दिने खाल्को यो गीत भविष्यमा कुनै कवाज खेल्ने धुन बन्नसक्छ । लिम्बुवान स्वतन्त्रताको दिन मार्चपासको लागि छनौट गर्छु सावाँको यो संगीतलाई । त्यो दिन यो नै गीत बजाउन र नाच्नुपर्छ है असली बहिनी..........। लिला सिंघकले स्वरमा साथ दिएको यो युगल गितमा सावाँ र लिलालाई सुन्दा भविष्यमा अरुपनि धेरै गीतहरु रेकर्ड गरुन उनिहरुले भन्नेजस्तो लाग्छ, ६ नम्बरको गीत ।
बल्लमात्रै आए कोरस समुहहरु तक्संघो लेप्साङ स्वप्निल स्मृतिको गीतमा । बेहुलीभन्दा बेहुलीको साथी राम्री लागेजस्तै साँच्चिनै सुनमा सुगन्ध खुलेको छ यहापनि कोरसवालाहरुको प्रश्तुतिले । सुरुमा १ नम्बरको गीतमा म यो समिक्षाकोलागि यहि समुहबाट आकषिर्त भएर तानिएको हुँ समिक्षा लेख्न । संगीत हो, भाषा यति बलवान हुन्छ यस्को, त्यस्को पृथक आफ्नो भाका हुदैन संगीत साम्प्रदायिक छैन । संसारमै त्यहि हो सारेगम । स्वप्निल स्मृतिको यो गीतमापनि धनवीरको एकल स्वर र सगीत रहेको छ, थाहै नपाई खुट्टाहरु चल्न थाल्छन छमछम गरेर ।
मैले चाहेजस्तै कोरस परिहरु छिटोछिटो उदाउँन थाले । आदाङमे हो गीतमा धुलो उडाउँदै आए फेरी लिम्बुवानकी मेरी उर्वसी, रम्भा, तिलोत्तमाहरु । माथि भनेजस्तै कम्बर मर्काई मर्काई नाचुँ नाचुँ लाग्ने समला फास्ट बिटमा बनाईएको यो गीत भविष्यमा लिम्बु जातिहरुको पार्टी सुभकार्यहरुमा नाच्नकोलागि अनिबार्य गीत हुनेछ र छिट्टै गैहृ लिम्बुजातिहरुमा सरुवा हुनेछ । हाजिकेको रोलपनि दिन सकिने बाँसुरीको धुन र यस्स.....यास्स.......क्यारीकेचर स्वरहरु दिईएको यो गीत कुनै फिल्मलाई नृत्यको लागि बनाईएको जस्तो महसुस हुन्छ । या कुनै फिल्मले त्यस्तो बनाउँन सक्छन, त्यसरी प्रयोग गर्नसक्छन भविष्यमा । मौका पाएँ भनेर लुड्याउँनेतिर नजानु है असली र सावाँ ? लिम्बुहरु जोकरलाई हँसाउँनेलाई या रमाईलो मान्छेलाई हाजिके भन्दछन । यौटा वस्तिमा गाउँमा एकदुइ हाजिके भएनन भने सुन्य फिलिङ हुन्छ । बिचबिचमा यास..... यास्स.... जस्ता हाँस्यरसका लयबद्ध आवाजहरुले गीतभरीनै हाजिकेलाईमात्र स्टेजमा उतार्दापनि रमाईलै हुन्छ तर ..............खोजेको गीत उत्ताउलो भने होईन । स्वस्फर्त हाँसोभरी दर्द बोक्ने चार्ली चाप्लिन जस्तो अभिनय हुनपुग्छ, तिनै बिधा धनवीरले सम्हालेको ७ नं को गीत ।
तुत्तुदिन हेना सवै क्षेत्रमा धनवीरको बर्चस्व रहेको यो ८ नम्बरको गित उदियमान गायिका कविता बेघाले स्वरमा साथ दिएकी छिन । सुस्त समला (ढिलो) विटको यो गीत बल्लमात्र लिम्बु शैलीको संगीतमा आयो यो यौटामात्र गीत । शब्दत थियोनै यसरी शैलीपनि आफ्नोपन बोकेको गीत बज्दा लिम्बुवान आफ्नो सँस्कृति बोकेर जुरुक्कै उठेको अनुभूति हुन्छ फेरी अर्को एकपल्ट । साँच्चि यो दिन ल्याउँन कतिधिला गरेछौँ हँ हामीले ? आज डाँडा पाखाभरी च्याब्रुङको केलाङ माङलाङ घन्कँदा लिम्बुवाननै उजेलिएको छ । मनै खाएर, तनै जलेर आउँछ यस किसिमको कुराहरुले गर्दा यसअघि खुल्ला आफ्नो भाषा सँस्कृतिमा रम्न पाईएको थिएन । हामीले धिला गरेछौँ बन्दुक उठाउँन, अवपनि धिला गर्यौँ भने आउँदै गरेको पुस्ताहरु खासै भरलाग्दा छैनन ।
बिदेशिनु वंशाणुगत नियम जस्तो भईसकेको र त्यहिमाथि आजको टिन एजहरुमा फेसनको रुप लिईरहेको यस अवश्थामा अमेरिका जान्छस - भनेर सोध्योभने यति छिटो बुर्कुसी मार्छन, हेरौँन भुटानमा आफ्नो माटोको माया गरेर झापामा खर्केको शरणार्थीहरु अमेरिकाको लागी लामलागेको । माटोको माया गर्नेहरुपनि थिएभने त्यो भौतिक सुखमापनि कति भुटानी रोईरहेको होलान अमेरिकामा भुटानको माटो सम्झेर । के खान पाउँनकैलागि आफ्नो रगत पसिनाले सिंचेको माटो माया मार्न सकिन्छ -
हामी जति बुढ्यौलींदै जान्छौँ उति पिरोलिंदै जान्छौँ म मेरो शरिरलाई मेरो गाउँको माटोमा मिलाउँन पुग्छु होलाके,त भनेर । तर हाम्रो शन्ततीहरुलाई अगुवाई गर्नेहरु म मेरो प्राण बणारसको गंगामा पुरयाउँछु होलाके,त भनेर चिन्ता गर्नेहरु छन । मरिसकेरपनि भारतपुग्ने चिन्तामा डुब्नेहरुको यो हुलमा, नेपाललाई सिर्फ रमाईलो लुटने र कमाई गर्ने थलोको रुपमा प्रयोग गर्दै आएकाहरुले नेपाल राज्यप्रति सक्दो बितृष्णा बढाउँने मनोवैज्ञानिक रोल प्ले गरिरहेका छन हाम्रा जनजाति थेप्चोहरुलाई । यर्सथ हामीले हाम्रो यो पुस्ताले यसरी असली वनेम, धनवीर सावाँहरुले जस्तै, लाजेसा याक्थुम्वाहरुले जस्तै भक्त बहादुर कन्दङवा, धर्मचन्द्र लावतीहरुले देखाएको बाटोमा नहिडेर प्रतिदिन नाङ्गीदै गएको ईण्डियन आईडल र अनेकका सिरियलमै डुब्दै गयौँ भने, नाङ्गएिर जंगलनै पसिसकेको हलिउडलाईनै कथित आधुनिक सँस्कृतिको रुपमा पिछा गरिरहने हो भने त्यो भन्दा ठूलो अर्को कुनै भुल हुनेछैन अस्तित्वको लर्डाईमा सिधा पराजित हुनेछौँ । अर्को शताब्दितिर कुनै वैज्ञानिक निस्केर खोज्दा चन्द्र समसेरले जस्तै जलाई सकेको हुनेछ आजसम्म दुखले संकलन गरिएको टिप्पणीहरु । तर्सथ आजै तयार हौँ, गीत संगीत साहित्य राजनीति जताततै आफ्नो पकड कायम गरौँ जस्ले जानेको छ ।
आसेवारो

No comments: