अशोक रार्इ
कुनै बेला हङकङमा हामीले गीतमा पुनरसंरचनाको खाँचो र आवश्यक्ता बारे बहशहरू गर्यौ । त्यसपछि आदिवासी गीतकार समाज पनि गठन गर्यौं । त्यति मात्र होईन हामीले 'आदिवासी' नामक गीति एलबम पनि सार्बजनिक गर्यौं । हामीले लेख्ने र गाउँने गीतमा अनि हामीले बनाउँने संगीतमा आदिवासी पीडा, आदिवासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस् भन्ने आग्रह राख्यौं । त्यो आग्रह भनेको गीतमा सचेतनाको कुरा हो । त्यो राजनैतिक या सामाजिक या साँस्कृतिक या जातिय कुनै पनि हुन सक्तछ । कारण गीत संगीत सर्बाधिक सम्प्रेषणीय हतियार हो । यसको प्रत्यक्ष या अप्रत्यक्ष प्रयोगले धेरै देश-ठाउँहरूमा राजनैतिक र सामाजिक आन्दोलनहरू सफल पनि भए । तर हामी त्यसो भन्दैमा आम मानिसले लेख्ने, गाउने र सुन्ने गीत संगीतको बिरोधी भने होईनौं । गीत संगीत संसारमा सबैभन्दा लोकपृय बिधा हो जसलाई मन नपराउने मानिस सायदै होलान् ।
अब सन्दर्भ तिर लाग्दा मसित यतिखेर कृष्णकला वनेमको गीति संग्रह 'बिर्सिएका गीतहरू' छ । कवि तथा गीतकार टंक सम्बाहाम्फेज्यूलाई यसका लागि धन्यवाद । यो संग्रहभित्र गाईएका र नगाइएका गरि १०९ वटा गीतहरू रहेछन् । सबै गीतहरू एकपटक हेरि सकेपछि केही लेख्न मन लाग्यो । एक प्रकारले गीत लेख्नु मनको पीडा पोख्नु अनि आत्मा सन्तुष्टी हासिल गर्नु हो । त्यहि गीतहरूले नै मान्छेको मन जित्छ र कालजयी भएर युगौ बाँचिरहन्छ । गीतले मान्छेको पीडा बोल्छ मनको भाषा बोल्छ मन छुन्छ र आनन्द दिन्छ । त्यसैले यो सर्बग्राह्य छ र लोकपृय छ ।
गीतहरू कति गाइए कति गाइएका छैनन् । कति संगीतबद्ध भए कति भएका छैनन् । त्यसको लेखा जोखा कमैले गरे होलान । पक्कैपनि धेरै गीतहरू गीतकारहरूको मनमा,डायरीहरूमा या गिति संग्रहहरूमा नै रहे होलान् । लेखिएका धेरै गीतहरूमध्ये थोरै संगीतबद्ध भएर श्रोताहरू समक्ष पुग्छन् र बाँकी यस्तै संग्रहमा रहि रहन्छन् । यो संग्रहका गीतहरूलाई हेर्दा नगाईएका तर राम्रा गीतहरू धेरै बाँकी रहेछन् जस्तो लाग्छ । जसलाई गाइएको खण्डमा नेपाली गीत संगीतको क्षेत्रमा निशन्देह थप सुन्दर सृजनाहरू थपिनेछन् ।
तिमी भए पूरा हुन्छ जिन्दगीको सबै आधार
छाती मात्र मेरो हो तर मुटु तिमी
मेरो सारा तिमी हौ तिमी नै जिन्दगानी (त्याग)
एक अर्थमा गीत कविता पनि हो कविता गीत पनि हो । फरक कवितामा जीवन र जगतलाई अलि बृहत ब्याख्या गरिन्छ । गीत छोटोमा मनको बेदना र भाव पोखिने ठाँउ हो । तर त्यहाँ पनि जीवन अटाएको हुन्छ । एउटा राम्रो कवि आफैमा एउटा राम्रो गीतकार पनि हो । यस अर्थमा गीतकार कृष्णकला वनेम एक कवयित्री पनि हो भन्दा फरक नपर्ला । वहाँको नारी कोमल भावना गीतहरूमा प्रष्ट पाउन सकिन्छ । गीत मनको भाव हो यो व्यक्ति अनुसार फरक परे पनि नारीले पोखेको भाव कोमल हुन्छ नारी भावुकता छुट्टै प्रकारको हुन्छ । प्रकृतीले नै नारी करुणा र बेदनालाई पृथक बनाएको छ ।
भूमीकामा गोविन्दराज भट्टराईले उठाउनु भएको आधुनीक मुनाहरूको प्रसंग सान्दर्भिक लाग्यो । आजको समयमा मुनाहरू पनि परदेश जान्छन् मदनले जस्तै दुःख गर्छन् र उताबाट आफ्नो मदन (प्रेमी) को नाममा बिरह पोख्छन् । हुन पनि हाम्रा धेरै नेपाली दिदी बहिनीहरू अरब अनि इजरायल र अन्य धेरै देशहरूमा परदेशीएका छन् । एक्लीएका छन् । घर देखि टाढा परिवार देखि टाढा अनि देशदेखि धेरै टाढा हुँदा पीडा महशुस हुन्छ । उनीहरूलाई समयले दिएको पीडा कविता, गीत र गजल बनेर प्रस्फुटन हुन्छ । गीतकार कृष्णकला वनेम पनि इजराइली भुमीबाट गीत लेख्नुहुन्छ कतै बिरहमा कतै निराशामा कतै गाउँ घर परिवार र देशको तृष्णामा ।
कति बस्नु कल्पनामा मीठो सपना बुनी
परदेशमा बित्ने हो कि दुखियाको जुनी (गृह बिरह)
गीतकार परदेशी भएरै होला धेरै गीतहरूमा परदेश पीडा छ । गाउँ घरको याद छ । मायालुलाई उताबाट सम्झेका शब्दहरू छन् । 'कान्छा’ हाम्रो पूर्बेली समुदायमा एउटा मायालु बिम्ब हो । गीतमा धेरै ठाउँ यसको प्रयोग गरिएकोछ । यसले गर्दा गीतमा आञ्चलिक स्वादहरूपनि पाउन सकिन्छ ।
खोला नालाको सुसाईसँगै बहकिन्छौ होला
न्याउली रुँदा सल्लेरीमा तिमी दुख्यौ होला
दोबाटोको चौतारीमा मेरो बाटो हेरी बस्नु
आाउदैछु म फर्की कान्छा मुटु नदुखाउनु ।
त्यस्तै हाट बजारमा मेलामा धान नाँचेर लगाइने चोखो मायाको कुरा अनि तमोर नदीको संझना गर्दै पोखिएको गीति भावना सुन्दर लाग्छन् । यो पूर्बेली चेलीले मनमा सोचेको कारुणीक प्रेमील भावना हो । जहाँ लोक साँस्कृतिक पक्ष पनि छल्कीएको पाईन्छ । गीतहरू हेर्दा उतै पुगे जस्तो लाग्छ ।
हाटै भर्न जाँऊ कान्छा तमोर सिवा तर्दै
धानै नाची माया गाँसौ बैंश छँदा छँदै
फूल जस्तो ओइली झर्ने हाम्रो जिन्दगानी
बाँचुन्जेल हो नी कान्छा मर्दा के छ लाने ।
खासगरि परदेशमा हुदा देशको धेरै याद आउछ । जे जस्तो भए पनि नेपाल मेरै देश हो भन्ने भावना जागृत हुन्छ । किनकी अन्तरदेशीय नागरिक हुनु अनि त्यहाँ बिविध पीडा भोग्नु अनागरिक हुनु हो । केही गीतमा माटो र देश प्रेमपनि छ । जस्तैः
१. शिरमाथि सगरमाथा पाउमा नेपाल
नेपालीको प्यारो भुमी देश बिशाल
२. हिमालको फेदीमा सुन्दर मेरो गाउँ
नेपालकी छोरी हुँ म गोरी मेरो नाउँ
गीतमा सामान्यतया माया र प्रेम प्रसंगको प्रधानता रहन्छ । यो संग्रहमा संग्रहित अधिकंश गीतहरू पनि माया प्रेमकै बिषयमा केन्द्रीत छन् । प्रेम गीतहरूमा कतै मायालुलाई संझेका बिलौना कतै धोका पाएकोमा गुनासो कतै बिछोडको पीडा कतै षोडषी प्रेमभाव कतै जलन र त्याग अनि कतै गृह बिरहका प्रसंग आउँछन. ।
जस्तै केही गीति हरफहरू हेरौ-
तिम्रो यादमा रुमल्लिदा एक्लै कति रुन्थें
सिरानीको तिम्रो तस्बिर कयौ पटक छुन्थें । (मायालुको याद)
हिड्दै जाँदा पाइलाहरू काँडामा नि पर्दो रैछ
माया गर्ने मुटुहरू त्यही मायामा जल्दो रैछ (धोका)
भेट भयो तिमीसित दुई नदीको संगम जस्तो
छुटी गयो साथ हाम्रो दिन अनि रात जस्तो (बियोग)
नाचौं नाचौं लाग्छ मलाई बन पाखाभरि
वैशालु यी रहरहरू उर्ली आउँछन् भनभरि (षोडषी प्रेमभाव)
