Aug 9, 2014

गीतकार ईशा लावतीलाई मैले फेसबुकमार्फत चिनेको हुँ ।

अशोक चामलिंग राई
पारङ्गत लेखक नभएपनि कवि एबं गितकार टंक सम्बाहाम्फेले कहिलेकाँही कविता, गजल, गीती संग्रह र गीती एल्बमहरू समीक्षार्थ मेरो हात
लगाइदिनु हुन्छ । म 'हुन्छ'बादि मान्छे 'हुन्छ' भनिदिन्छु । कनिकुथि एक दूई कुरा लेख्नै पर्यो । यसपटक गीतकार ईसा लावतीको नेपालमा भरखरै बिमोचित गिती एलबम "पहिलो माया" मेरो हात परेकोछ । यसैको बारेमा केही कुरा लेख्दैछु ।

गीतकार ईशा लावतीलाई मैले फेसबुकमार्फत चिनेको हुँ । फेसबुकमा दिनहु जस्तो वहाँको गीत पोष्ट हुने गर्थ्यो अहिले पनि हुन्छ । वहाँले आफ्ना केही गीतहरू छानेर संगीतबध्द गर्नु भएछ । दूई सरो
सुनेँ निकै मीठो गीतहरूको संग्रह बनेको रहेछ वहाँको यो एलबम 'पहिलो माया' ।
शब्द तब जिवन्त बन्छ जब स्वर र संगितले उस्लाई साथ दिन्छ । नगाइएसम्म गीतहरू मुर्झाएर बसेको बिरूवा झैं हुन्छन स्वर र संगित भरेपछि शब्दहरू अनन्त बाँच्ने पिपल जस्तै बन्छ । जस्तै की भुपी सेरचनको गीत "अल्झेछ क्या रे पछ्यौरी तिम्रो चियाको बुट्टामा......
यो एलबममा श्रेयसी चेम्जोंङ्को एकल स्वरमा तिन बटा गीत, प्रमोद खरेल, शिव परिवार, अन्जू पन्त र रीमा गुरूङ्को स्वरमा एक एक गीत अनि दिपक लिम्बू र श्रेयसी  चेम्जोंङ्को युगल स्वरमा एक गीतगरि जम्मा आठ वटा गीतहरू रहेकाछन । तर "जलि सक्यो दिल मेरो" र "आँसु झारेँ धेरै धेरै" गीतलाई क्रमश प्रमोद खरेल र श्रेयसीले छुट्टाछुट्टै अनि शिव परिवार र श्रेयसीले छुट्टाछुट्टै एकल स्वर दिएका छन । दुबै गीत दुबै कलाकारका स्वरमा निकै मीठो र उत्कृष्ट छ ।
श्रेयसी र दिपक लिम्बूको एक मात्र युगल गीत "पहिलो माया हो हाम्रो पहिलो भेटघाट" र स्थापित गायिका अन्जू पन्तको स्वरको गीत "निष्ठूरीले हाँसी हाँसी" लाई अलि कमज़ोर पाएँ । नव गायिका तर सुमधुर स्वरका घनी श्रेयसीले राम्रो गाएकी छिन । तर श्रेयसीलाई प्रमोद खरेल र शिब परियारले गाइसकेको दूई गीत नै किन फेरी गाउन लगाईयो त्यो बुझ्न सकिन । उनलाई छुट्टै गित दिइएको भए राम्रो हुन्थ्यो की । तर यस्मा मलाई  थाहा नभएका अरू प्राविधिक पक्षहरू होलान । प्रमोद खरेल, शिव परियार र रिमा गुरूङ्को स्वरमा रहेका गितहरू कर्णपृय छन । संगीततर्फ महेश खड्काले दूई गितमा, मनोज चौलागाँईले दूई गीतमा, लक्ष्मण शेष, बशन्त सापकोटा, राजुसिंह र अशोक लोहरूंगले एक एक गितमा संगित दिएका छन ।
गीतकार ईसा लावती परदेसी भुमी ईजरायलमा रहेरपनि श्रृजनामा लागिरहनु भयो । बिशेषत वहाँ गितकार नै हो । अन्य बिधामा वहाँको रूची के छ थाहा भएन । यो सानो समीक्षा लेख्दै गर्दा पुरानो गीतकार तथा गायिका कृष्ण कला वनेमको याद आयो । वहाँ पनि त्यहि इज़रायली भुमीमा रहेर श्रृजना गर्नु हुन्छ । मैले वहाँको गीति संग्रह "बिर्सिएका गीतहरू" बारे पहिला केही लेखेको थिएँ । तर वहाँ त कथाकार पनि उत्री सक्नु भएछ । वहाँको कथा संग्रह "अबिश्वासको तरंग" मेरोमा आईसकेकोछ । पढ्न बाँकी छ । ईसालाई पनि वहाँ जस्तै श्रृजनाको फाँटमा फैलिन आग्रह गर्दछु ।
यो एलबममा भएका सबै गीतहरू परम्परागत ढाचा कै छन । भाव माया प्रिती कै छन । शब्दहरू सलल बगेका छन । भाषा सहज छ । कवितामा जस्तै गीतमा पनि बिम्बको प्रयोग गरे त्यो गीत सुन्दर हुन्छ ।
जस्तै:
"जिन्दगी यो फूलै फूलको थुंगो हुदैन
फक्रने र ओईलाउनेको टुंगो हुदैन ।"
अर्को कुरा कम्तिमा केही गीतमा भावान्तर गरि नयाँ शैलीका गितहरू लेख्ने कुरा गीतकारहरूले नै सोच्ने हो की । जस्तो माथि उल्लेखित 'अल्झेछ क्यारे पछ्यौरी' माइतीले चेली संझिएको भावमा छ । अब अहिले त पहिचानको बिषयलाई सालिन भाषामा गीतमा उल्लेख गर्न पनि सकिन्छ ।
जस्तै:
"सिन्के धुलो सगै खेल्यौं साकेलामा नाँच्यौं
सिली जस्तै रहरहरू कति कति साँच्यौं ।"
यसको मतलब माया पिरतीका गीत राम्रो हुन्न भनेको पनि हैन । हरेक प्रकारका गीतमा मिठास हुन्छ मीठास भर्न सकिन्छ ।
र अब अन्तमा गीत र गजल गेयात्मक बिधा हुन । फरक यति हो की सबै गीत र गजलहरू गाइन संम्भब हुदैन । नगाइएका शब्दहरू नराम्रा भन्ने पनि हुदैन ।  गीतकार ईसा लावतीको कुरा गर्दा वहाँको सयौं गीत मैले पढेकोछु । तर केहि गीतमात्र संगितबध्द हुन सफल भए । वहाँसग यस्ता गितको अनन्त भन्डार छन् । आसा छ अन्य गीतहरू भविष्यमा पुनः संगितबध्द हुनेछन । वहाँको सबै गीतहरू अमर बनुन । शुभकामना ।

तिमी त सारै बैगुनी रैछौ गुनैले मारूँला
दिएको धोका मलाई तिम्ले संगाली राखुला

Jun 14, 2012

सम्झन लायक बिर्सीएका गीतहरु

अशोक रार्इ 
कुनै बेला हङकङमा हामीले गीतमा पुनरसंरचनाको खाँचो र आवश्यक्ता बारे बहशहरू गर्यौ । त्यसपछि आदिवासी गीतकार समाज पनि गठन गर्यौं । त्यति मात्र होईन हामीले 'आदिवासी' नामक गीति एलबम पनि सार्बजनिक गर्यौं । हामीले लेख्ने र गाउँने गीतमा अनि हामीले बनाउँने संगीतमा आदिवासी पीडा, आदिवासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस्‌ भन्ने आग्रह राख्यौं । त्यो आग्रह भनेको गीतमा सचेतनाको कुरा हो । त्यो राजनैतिक या सामाजिक या साँस्कृतिक या जातिय कुनै पनि हुन सक्तछ । कारण गीत संगीत सर्बाधिक सम्प्रेषणीय हतियार हो । यसको प्रत्यक्ष या अप्रत्यक्ष प्रयोगले धेरै देश-ठाउँहरूमा राजनैतिक र सामाजिक आन्दोलनहरू सफल पनि भए । तर हामी त्यसो भन्दैमा आम मानिसले लेख्ने, गाउने र सुन्ने गीत संगीतको बिरोधी भने होईनौं । गीत संगीत संसारमा सबैभन्दा लोकपृय बिधा हो जसलाई मन नपराउने मानिस सायदै होलान् । अब सन्दर्भ तिर लाग्दा मसित यतिखेर कृष्णकला वनेमको गीति संग्रह 'बिर्सिएका गीतहरू' छ । कवि तथा गीतकार टंक सम्बाहाम्फेज्यूलाई यसका लागि धन्यवाद । यो संग्रहभित्र गाईएका र नगाइएका गरि १०९ वटा गीतहरू रहेछन् । सबै गीतहरू एकपटक हेरि सकेपछि केही लेख्न मन लाग्यो । एक प्रकारले गीत लेख्नु मनको पीडा पोख्नु अनि आत्मा सन्तुष्टी हासिल गर्नु हो । त्यहि गीतहरूले नै मान्छेको मन जित्छ र कालजयी भएर युगौ बाँचिरहन्छ । गीतले मान्छेको पीडा बोल्छ मनको भाषा बोल्छ मन छुन्छ र आनन्द दिन्छ । त्यसैले यो सर्बग्राह्य छ र लोकपृय छ । गीतहरू कति गाइए कति गाइएका छैनन् । कति संगीतबद्ध भए कति भएका छैनन् । त्यसको लेखा जोखा कमैले गरे होलान । पक्कैपनि धेरै गीतहरू गीतकारहरूको मनमा,डायरीहरूमा या गिति संग्रहहरूमा नै रहे होलान् । लेखिएका धेरै गीतहरूमध्ये थोरै संगीतबद्ध भएर श्रोताहरू समक्ष पुग्छन् र बाँकी यस्तै संग्रहमा रहि रहन्छन् । यो संग्रहका गीतहरूलाई हेर्दा नगाईएका तर राम्रा गीतहरू धेरै बाँकी रहेछन् जस्तो लाग्छ । जसलाई गाइएको खण्डमा नेपाली गीत संगीतको क्षेत्रमा निशन्देह थप सुन्दर सृजनाहरू थपिनेछन् । 
चाहिदैन तिमी भए हिरा मोती सुनको जुहार 
तिमी भए पूरा हुन्छ जिन्दगीको सबै आधार 
छाती मात्र मेरो हो तर मुटु तिमी 
मेरो सारा तिमी हौ तिमी नै जिन्दगानी (त्याग) 
एक अर्थमा गीत कविता पनि हो कविता गीत पनि हो । फरक कवितामा जीवन र जगतलाई अलि बृहत ब्याख्या गरिन्छ । गीत छोटोमा मनको बेदना र भाव पोखिने ठाँउ हो । तर त्यहाँ पनि जीवन अटाएको हुन्छ । एउटा राम्रो कवि आफैमा एउटा राम्रो गीतकार पनि हो । यस अर्थमा गीतकार कृष्णकला वनेम एक कवयित्री पनि हो भन्दा फरक नपर्ला । वहाँको नारी कोमल भावना गीतहरूमा प्रष्ट पाउन सकिन्छ । गीत मनको भाव हो यो व्यक्ति अनुसार फरक परे पनि नारीले पोखेको भाव कोमल हुन्छ नारी भावुकता छुट्टै प्रकारको हुन्छ । प्रकृतीले नै नारी करुणा र बेदनालाई पृथक बनाएको छ । भूमीकामा गोविन्दराज भट्टराईले उठाउनु भएको आधुनीक मुनाहरूको प्रसंग सान्दर्भिक लाग्यो । आजको समयमा मुनाहरू पनि परदेश जान्छन् मदनले जस्तै दुःख गर्छन् र उताबाट आफ्नो मदन (प्रेमी) को नाममा बिरह पोख्छन् । हुन पनि हाम्रा धेरै नेपाली दिदी बहिनीहरू अरब अनि इजरायल र अन्य धेरै देशहरूमा परदेशीएका छन् । एक्लीएका छन् । घर देखि टाढा परिवार देखि टाढा अनि देशदेखि धेरै टाढा हुँदा पीडा महशुस हुन्छ । उनीहरूलाई समयले दिएको पीडा कविता, गीत र गजल बनेर प्रस्फुटन हुन्छ । गीतकार कृष्णकला वनेम पनि इजराइली भुमीबाट गीत लेख्नुहुन्छ कतै बिरहमा कतै निराशामा कतै गाउँ घर परिवार र देशको तृष्णामा । 
कति बस्नु कल्पनामा मीठो सपना बुनी 
परदेशमा बित्ने हो कि दुखियाको जुनी (गृह बिरह) 
गीतकार परदेशी भएरै होला धेरै गीतहरूमा परदेश पीडा छ । गाउँ घरको याद छ । मायालुलाई उताबाट सम्झेका शब्दहरू छन् । 'कान्छा’ हाम्रो पूर्बेली समुदायमा एउटा मायालु बिम्ब हो । गीतमा धेरै ठाउँ यसको प्रयोग गरिएकोछ । यसले गर्दा गीतमा आञ्चलिक स्वादहरूपनि पाउन सकिन्छ । 
खोला नालाको सुसाईसँगै बहकिन्छौ होला 
न्याउली रुँदा सल्लेरीमा तिमी दुख्यौ होला 
दोबाटोको चौतारीमा मेरो बाटो हेरी बस्नु 
आाउदैछु म फर्की कान्छा मुटु नदुखाउनु । 
त्यस्तै हाट बजारमा मेलामा धान नाँचेर लगाइने चोखो मायाको कुरा अनि तमोर नदीको संझना गर्दै पोखिएको गीति भावना सुन्दर लाग्छन् । यो पूर्बेली चेलीले मनमा सोचेको कारुणीक प्रेमील भावना हो । जहाँ लोक साँस्कृतिक पक्ष पनि छल्कीएको पाईन्छ । गीतहरू हेर्दा उतै पुगे जस्तो लाग्छ । 
हाटै भर्न जाँऊ कान्छा तमोर सिवा तर्दै 
धानै नाची माया गाँसौ बैंश छँदा छँदै 
फूल जस्तो ओइली झर्ने हाम्रो जिन्दगानी
बाँचुन्जेल हो नी कान्छा मर्दा के छ लाने । 
खासगरि परदेशमा हुदा देशको धेरै याद आउछ । जे जस्तो भए पनि नेपाल मेरै देश हो भन्ने भावना जागृत हुन्छ । किनकी अन्तरदेशीय नागरिक हुनु अनि त्यहाँ बिविध पीडा भोग्नु अनागरिक हुनु हो । केही गीतमा माटो र देश प्रेमपनि छ । जस्तैः 
१. शिरमाथि सगरमाथा पाउमा नेपाल 
 नेपालीको प्यारो भुमी देश बिशाल 
२. हिमालको फेदीमा सुन्दर मेरो गाउँ 
 नेपालकी छोरी हुँ म गोरी मेरो नाउँ 
गीतमा सामान्यतया माया र प्रेम प्रसंगको प्रधानता रहन्छ । यो संग्रहमा संग्रहित अधिकंश गीतहरू पनि माया प्रेमकै बिषयमा केन्द्रीत छन् । प्रेम गीतहरूमा कतै मायालुलाई संझेका बिलौना कतै धोका पाएकोमा गुनासो कतै बिछोडको पीडा कतै षोडषी प्रेमभाव कतै जलन र त्याग अनि कतै गृह बिरहका प्रसंग आउँछन. । जस्तै केही गीति हरफहरू हेरौ- 
तिम्रो यादमा रुमल्लिदा एक्लै कति रुन्थें 
सिरानीको तिम्रो तस्बिर कयौ पटक छुन्थें । (मायालुको याद) 
हिड्दै जाँदा पाइलाहरू काँडामा नि पर्दो रैछ 
माया गर्ने मुटुहरू त्यही मायामा जल्दो रैछ (धोका) 
भेट भयो तिमीसित दुई नदीको संगम जस्तो 
छुटी गयो साथ हाम्रो दिन अनि रात जस्तो (बियोग) 
नाचौं नाचौं लाग्छ मलाई बन पाखाभरि 
वैशालु यी रहरहरू उर्ली आउँछन् भनभरि (षोडषी प्रेमभाव) 
त्यस्तै अन्य गीतहरूमा बिदेशमा भोगिने दुःख, जन्मीएको ठाँउ र बालापनको याद देशको चिन्ता साँस्कृतिक झल्को जस्ता बिविध कुराहरू छन् । गीतकार आफै गायिका भएकोले होला आफ्ना गीतको गेयात्मकतालाई सहज बनाइएकोछ । गीतहरू सरल र मीठासपूर्ण छन् । ज्यादा जसो गीतहरू एउटै संरचनाको र प्रायजसो दुई अन्तराका छन् जो चलन चल्ती कै कुरा हो । गीतको सम्पूर्ण पक्षमा बहस गर्नु मेरो क्षमता बाहिरको कुरा पनि हो । श्रवण मुकारुंगले घुमाउरो पाराले भने झै नेपालका दिग्गज गीतकारहरू जो गीतको महाबिद्यालय नै हुन् वहाँहरूलाई अध्ययन गर्नु सायद हरेक नयाँ गीतकारको बुद्धिमानी नै होला भन्छु । गीतकारलाई मीठो गीतहरूको लागि बधाई र थप सृजनाको लागि शुभकामना अनि तपाईका गीतहरू अमर बनोस भन्ने सुभेच्छा दिन चाहन्छु ।

Jun 6, 2012

काव्यकृति "कोसेली परदेशबाट" को - कृति समीक्षा

अशोक राई 
कवि नगेन्द्र ईङ्नाम "आठराईली" को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु । कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन,उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा । हरेक लेखकहरुको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा र तरीका हुन्छ । ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पठकको मन छुन्छ । जुनसुकै बिषय र भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ । उनको कवितामा खासगरी स्थानीयता,आञ्चलिकता साँस्क्रिती, जातीधर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संबेदना र प्रेम जस्ता विषयवस्तु प्रसस्तै पाईन्छ । कवितालाई क्लीष्ट बनाउनुपर्छ अन्यथा यो कविता हुन सक्दैन भन्ने आजको सोचलाई कविले पछ्याएका छैनन । आम पाठकलाई सुपाच्छ छ यो कृती । अर्को कुरा कविताले कुनै वाद र धार नै आत्मासात गर्नुपर्छ भन्ने मान्यता पनि यस कृतीले बोकेकोछैन । पाठकको दिल छुने खालको श्रीजना तयार गर्नु भनेको अमर हुनु पनि हो । कविको महत्वपूर्ण पक्ष आफ्नो कलाले पाठकलाई आनन्द दिनु हो, पाठकको मनको भाषा अक्षरले बोल्नु हो र पीडालाई छाम्नु हो । कवि अल्पग्राह्य छैनन सर्वग्राह्य हुन सक्नुपर्छ जुन कुरा ईङ्नामका सरल कवितामा पाईन्छ । अब ऊनका केही कविताहरुलाई केलाउनेतर्फ लाग्नु पर्दा . . जब म तेह्र घण्टाको लामो ड्यूटी सिध्याएर थकित शरीरलाई रेलको डब्बाभित्र थुपार्छु त्यसबेला कवि नगेन्द्र ईङ्नामको कविताँश मनमा आउँछ । 
गहकिलो छ समस्या परदेशीहरुलाई परदेशमा 
प्रतिकूल समय छ फर्कनलाइ आफ्नो देशमा 
घर सम्हाल्न जाउँ बिना कालमै मारिईने डर 
अर्काको देशमा गैर कानूनी भनी लखेटिईने डर . . . .-(परदेशमा) 
परदेशको पीडा परदेशी स्वयमलाई अरुलाई भन्दा बढी ज्ञान हुन्छ । परदेशको पसिना, पराई बचनहरु, अलार्मा समय र परिवारीक दु:ख थुप्रैथुप्रै कुरा हुन्छन परदेशीको छाँतिभित्र । जाने ठाउँ भन्नु स्वदेश हो, उतातिरको बेथिती अस्थीरता र बेरोजगारी सधैं प्रतिकुल रहन्छ । त्यैपनि मान्छेको मनमा एकप्रकारको मायावी रहर हुन्छ डलरको । मनमा त्रिष्णा रहिरहन्छ सपना देख्न मन हुन्छ न्यू योर्क शहरको । काव्यकृति स्वयम् एक परदेशी कविको हो जो दूई दशक समय परदेशमा गुजारीरहेका छन । भोगाईको अभिब्याक्ती पनि हो कविता । कृतिको नामाकरण गरिएको सन्दर्भलाई हेर्दापनि शायद थाहा हुन्छ यी कुराहरु । एउटा कविता छ यस कृतिभित्र जो प्रेममा आधारित छ । 
स्वच्छ सुनौलो बिहानीहरुको पर्खाईमा 
कैयौं दुःखी रातहरु गुजारी रहेको छु 
हाम्रो भावि सुख र मिलनको पर्खाईमा
सयौं बाधा र अड्चनहरु पन्छ्याई रहेछु . . . . -(कोसेली परदेशबाट) 
. . . यो प्रेमा पीडा परदेशीको हो । कविताको पात्र प्रेयसी या प्रिय पत्नी जो कोहि पनि हुन सक्छ जसलाई परदेशीले मार्मिक सम्झना गरेका छन । यी सांकेतिक पीडाहरु कृतिमा धेरै पाउन सकिन्छ । - “यसैको न्यानोपनाले आजसम्म बाँची रहेको छु” । परदेशमा रहंदा स्वदेशको सम्झनापनि अति मार्मिक रुपमा प्रस्तुत गरेका छन यिनले । जब एउटा परदेशीलाई परदेशले छोड्न नसकेपछि उसले गुमाएका अनुभवहरु निम्न कविताँश मार्फत बुझ्न सकिन्छ । 
छोडेको थिएँ सोल्टिनीलाई 
 चिठी पत्रमा भेट्दै गरौंला भनी 
ती क्षणहरु युगमा बदलि सके 
भन्छन्, 
जेठी, माईली र साईंली हुंदै 
मेरी कान्छी सोल्टिनीले पनि 
आफ्नो घरबार जोडिसकिन् रे 
तर मलाई यो पापी परदेशले छोडेको छैन . . –( मलाई परदेशले छोडेको छैन) 
लामो समयसम्म कवि न्यू योर्क शहरमा रहेका हुनाले उनले आफ्नो कवितामा यस शहरको विशेषता, जीउने तरीका, नेपालीले अपनाएको यहाँको जीवनबारे व्याख्या गर्न पनि भ्याएकाछन । धेरै मानिसहरु बाहिरबाट सपनाको गह्रुङ्गो भारी बोकेर यहाँ आउँछन, जीजीबिषा खोज्छन् र संस्कृतिसित रुझ्दैभिज्दै समय बिताउँछन् । सिमाविहीन स्वन्त्रतता, अर्ध पागल गीतहरु, बार-रेष्टुँरा, विधुत्तीय खेलहरु र अंग्रेजी फेसन जस्ता थुप्रै थुप्रै कुरा छन तेश्रो भुगोलका मान्छेलाई रिङ्गटा लगाउने । कविताले भन्छ थोरैमात्र मानिसहरु सुखी धेरैजसो खिन्नछन् यहाँ . . . . 
जागा जागा बत्ति र सडकहरु 
जागै रहन्छ शहर चारै प्रहर 
भिडमाथि भिड थपिँदै थपिँदै 
असिमित हुँदैछ शहरको रहर 
कसैलाई रमाईलो 
कसैलाई, सही नसक्नुको छ 
यो न्यू योर्क शहरको रहर. . . 

Mar 6, 2012

सरल गीतहरु बिर्सिएका गीतहरु

स्वप्नील स्मृति
कृष्णकला वनेम जीवनको अठ्तीस हिउँदमा 'बिर्सिएका गीतहरु' कृति लिएर नेपाली साहित्यमा उदाएकी छिन् । सामाजिक सञ्जाल 'फेसबुक'ले आफूलाई गीतकार बनाएको उनले पुस्तकको 'मेरो भन्नु' महलमा उजागर गरेकी छिन् । उनी लेख्छिन्, 'आजको साइबर युगमा विभिन्न नेटवर्क मनोरञ्जन र आनन्दको माध्यम भएको छ । म पनि २००९ बाट फेसबुकमार्फत धेरै साथीहरुसँग रम्ने गर्दथेँ । मन भुलाउने गर्दथेँ । आफ्ना भावना र लेख रचनाहरु साथीहरुसँग आदानप्रदान गर्दथेँ । यस्तै क्रममा २०१० अक्टुबरमा फेसबुकमार्फत कवि तथा गीतकार टङ्क सम्बाहाम्फेज्यूसँग मेरो भेट हुन पुग्यो । त्यसपछि उहाँले मेरा गीतहरु हेर्न थाल्नुभयो ।' भनाइबाट प्रष्ट हुन्छ, कृष्णकलाभित्रको 'गीतकार कृष्णकला' लगभग चार वर्षीय हुन् । त्यसैले पनि होला उनले गीतमा अझै निखारपन ल्याउनुपर्ने देखिन्छ ।
टङ्क सम्बाहाम्फेको गीती साधना निक्कै लामो छ । नेपाली गीत लेखनमा सम्बाहाम्फे एक स्थापित गीतकार र कवि दुवै हुन् । बिर्सिएको गीतहरुमाथि टङ्क सम्बाहाम्फे लेख्छन्, 'गीतको सम्पादनदेखि लिएर प्रकाशनसम्म मैले सहयोग गर्ने बाचा गरेको थिएँ...' गीतकार सम्बाहाम्फेले यति भन्दाभन्दै पनि वनेमका गीतमा सख्त सम्पादन नपुगेकै देखिन्छ । वनेमका गीतहरु पढिसकेपछि एउटा आंशिक पाठकलाई अवश्य आँट आउनेछ, गीत यस्तै हुन्छ भने त जसले पनि किन लेखिदिन्छ तर एक सचेत पाठकलाई भने गीतकार वनेमले अझै यी गीतलाई काँटछाँट गरेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नै लाग्छ ।
फेसबुक नेपाली साहित्यका पाठक र लेखकबीचको भरपर्दो साँघु बनेको छ । लेखकले 'हातहाती' प्रतिक्रिया अथवा फेसबुककै भाषामा 'कमेन्ट' र 'लाइक' पाठकबाट तुरुन्तै पाउनु यसको फाइदा छ । त्यो सेकेण्डको भरमा गरिने 'लाइक' र मिनेटको भरमा लेखिने 'कमेन्ट'ले गम्भीर पठन र जिम्मेवारपूर्वक प्रतिक्रिया जनाउने प्रक्रियालाई 'रिमुभ' गरिरहेको छ । गीतहरु पढिसकेपछि वनेमभित्रको एक गम्भीर र शक्तिशाली लेखक कतै त्यसैको शिकार भएको त होइन शंका उब्जिए पनि नेपाली गीतिसाहित्यले एउटा आशालाग्दो कृति भने प्राप्त गरेको छ ।
निराशाको बादल लाग्यो साथ छुटेपछि
कसलाई खुशी साचूँ मैले माया टुटेपछि
अक्सर उनका गीत यस्तै अन्त्यानुप्रास मिलाएर लेखिएका छन् । गीतमा भावना पक्षकै प्रधान हुन्छ संगै विचार पनि अन्तर्घुलित भएर आउनुपर्छ । उनका गीतहरु पढिसकेपछि उनको विचारभन्दा उनको भावनात्मक पक्ष छताछुल्ल देखिन्छ । र केही गीतले उनीभित्रको प्रतिभाशाली गीतकारितालाई पनि उद्घाटन गरेको छ ।
पहरामा फुले पनि मन पर्ने सुनाखरी
टिपेर लाउँ भने आकाशको जूनसरी
जम्मा एक सय बीस वटा गीत समाविष्ट 'बिर्सिएका गीतहरु'भित्र सम्झन लायक केही गीतहरु अवश्य छन् । समग्र गीतहरु पढिसकेपछि कृष्णकला वनेम संवेदनाकी प्रचुर खानी व्यक्तित्व पाइए पनि संवेदनालाई गीतिकलामा ढाल्न सक्ने शिल्पी कृष्णकला भने हुर्कदो अवस्थामा देखिन्छ । जरुर गीतमा संवेदना पक्षको उपल्लो महत्व हुन्छ तर त्यसलाई कलात्मक, लयात्मक र सताङ्गो ढर्रामा प्रस्तुत गर्न सक्नु गीतकारकै क्षमताको प्रश्न हो ।
गीतकार कृष्णकलाले आफ्ना गीतहरु कुनै न कुनै लयमा, प्यारोडीमा गाउँदै रचे कि ! गीतलाई भाकामा गुन्गुनाउँदै लेख्नु र पाठकले एक्कासी पुस्तकमा पढ्नुमा धेरै फरक हुन्छ । फेरि त्यसलाई संगीतमा ढालिएपछि भने गीतको मर्म गीतभित्रबाट बाहिर आउँछ । भाकामा गाउँदै रचिएको गीतले गीतकार स्वयंलाई त 'राम्रो'को प्रशस्त भ्रम दिन्छ तर श्रोता र पाठकमा पुग्दा त्यो राम्रो साँच्चिकै भ्रममा मात्र रुपान्तरण हुन्छ ।
आफ्नो गीति लेखनमा लिम्बु संस्कृति र संवेदनालाई प्रवेश गराउनु गीतकार कृष्णकला वनेमका सकारात्मक पक्षहरु हुन् । आफ्नो स्थानीयता र आञ्चलिकतालाई गीतमा नउनी नसक्नु एक भावुक गीतकारको नियती र कर्तव्य दुवै हो । उनका केही देशभक्तिपूर्ण गीत पनि संग्रहमा समाविष्ट छन् तर उनले गीतमा प्रयुक्त गरेको भाषा, विम्ब र प्रतीकमा नवीनता छ्रैन । त्यसैले उनका गीत पहिले नै पढि/सुनिसकिएका गीत जस्ता छन् जो अहिलेको नेपाली गीतसंगीतको बजारमा बारबार दोहोरिइरहेका सस्ता गीतहरु नै किन नहुन् । तर सँगै उनको औँलामा गन्न सकिने यस्ता गीत पनि छन् जसले उनलाई अलगधारको गीतकारको पहिचानतिर उन्मुख गराएको छ ।
दीपावली मेला जाँदा भयो चिनाजानी
धानै नाचौँ भन्यौ कान्छी मेरो हात तानी
सायद गीतकार कृष्णकला रोजगारीका रुपमा इजरायलमा बसेर पनि होला, उनले आफ्ना गीतमा स्वदेश, गाउँ फर्किआउने वाचाहरु गर्छिन् । गाउँमा धान नाचेको मेलाहाट, भीरपाखा, भञ्ज्याङलाई सम्झीन्छिन् । तमोर, शिवा, फुङ्नाम गाउँ, दोभान, मंशीरे पूर्णे, फोलेलुङ डाँडा, छातेढुङ्गा, अमरपुर, हेँवा दोभान, सङ्क्रान्तिबजार, चुवानडाँडा, इवा गाउँ, सल्लेरी पाखाका भाकाहरु उधिनेकी छिन् । यसले सम्बन्धित गीतहरुलाई जीवन्तता दिएको पाइन्छ ।
नेपाल विविधतायुक्त संस्कृतिले सजिएको मुलुक हो । वनेम लिम्बु जातिबाट नेपाली गीतसंगीतमा प्रवेश गरेकी प्रतिभा हुन् । अहिले आफ्नो स्वत्वको मुद्दा साहित्य, संगीत, राजनीति सबै क्षेत्रमा व्याप्त छ । तर वनेमले कतिपय गीतमा हिन्दू संस्कृतिका मूल्य मान्यतालाई दोहोर्याएकी छिन् । ती मूल्य मान्यता कृष्णकला वनेमका लागि धेरै 'भारी' छन् किभने आदिकवि भानुभक्त, राष्ट्रकवि माधव घिमिरेहरुले बोकाएको उक्त भारीलाई कृष्णकला वनेम लिम्बुहरुले बोकिरहनु आवश्यक छैन ।
संसारमा मायाका धेरै 'लाख' गीतहरु लेखिए होलान् कृष्णकलाकै सङ्ग्रहमा गन्ने हो भने दुइ तिहाइ गीत त मायाकै छन् । भनिन्छ, संसारमा माया छ र लेखिन्छ गीत । प्रेमका, विछोडका, मिलनका अनेक गीतहरु । तर साँचोमा त माया-प्रेमले पीडित र मायाप्रेममा अनुबन्धित मनुवाहरुले गाउने, सम्झीने गीत उतार्न सक्नु चाहिँ गीतकारको असली सामार्थ्य हो कि, खै र जेहोस् आफूलाई लागेको जानेको लेख्ने छुट सबैलाई छ ।
अन्तमा, नेपाली साहित्य प्रतिष्ठान हङकङले प्रकाशन गरेको बिर्सिएका गीत कृतिले जे भए पनि कृष्णकला वनेमलाई नेपाली साहित्यमा एउटा जिम्मेवारी थपिदिएको छ, त्यो हो, आइन्दा कृष्णकला वनेमलाई गीतिलेखनबाट भाग्ने छुट छैन । सरल र मध्यम खालका गीत सिर्जना गरेर पाठकमाझ उपस्थित कृष्णकलालाई आफ्नो कृष्णकला नामको 'कला'लाई गीत पक्षमा खरो रुपले प्रयोग गरेर अर्को सुन्दर कृतिका साथ आउनेमा पाठकहरु आशावादी छन् । यही आशा जगाउनु नै 'बिर्सिएका गीतहरु'को सफलता हो ।

Jul 2, 2011

कवि खेमनाथ दाहाल द्वारा लिखित "श्वेतपत्र" मा एक दृष्टिकोण

अर्जुन प्रधान
कवि खेमनाथ दाहाल द्वारा लिखित,उषा दाहाल द्वारा प्रकाशित "श्वेतपत्र" महाकाव्य हालसालै राष्ट्र कवि माधव घिमिरेद्वारा काठमाण्डौमा विमोचित भएको छ । वास्तवमा साधारण अर्थमा भन्ने हो भने एक सेतो कागतमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्तिलाई श्वेतपत्र भन्ने गरिन्छ तर कवि खेमनाथ दाहालले श्वेतपत्रलाई ऐतिहासिक र वर्तमान यथार्थताका तानाबानाले सजाएर देशको सिमाना, राष्ट्रको अस्मिता ,छिमेकीको सम्बन्धको स्थिति,अझ प्रष्ट शब्दमा भन्ने हो भने नेपालको अग्रगमन, सिक्किम स्वतन्त्रताको लागी पथप्रदर्शन र भुटानमा गणतन्त्र स्थापनाको प्रस्थान विन्दु र छिमेकी ठूला मुलुकले साना मुलुकप्रति गरेको हैकमवादको उजागर गर्दै दक्षिण एशियाको सामुहिक उत्पिडन प्रति सचेत गराउने उद्देश्यले रचना गरिएको आभास पाइने कृति हो श्वेतपत्र महाकाव्य भन्नमा अत्युक्ति होला ।
श्रद्धाञ्जलि(कविता सग्रह)रश्मि (खण्डकाव्य )योद्धा(काव्य)र हावर्डको चौतारीमा (कविता सग्रह)कृतिहरु रचना गरिसकेका कवि दाहालको लेखाइमा आफ्नै वैशिष्टता छ । उनका हरेक कृतिमा अन्य,अत्याचार,शोषण,उत्पीडन सितको भीडन्त छ । श्रद्धाञ्जलीमा गोर्खाल्याण्डको अस्तित्वको लर्डाई लड्नेहरुप्रति श्रद्धा सुमन र नेपाल भित्रका विकृति विसंगति माथि तिखो प्रहार,रश्मिमा सामन्तवाद विरुद्धको आवाज ,योद्धामा ब्रिटिश साम्राज्यले नेपाली गोर्खाली माथि गरेको अत्याचार विरुद्धको शंखनाद छ भने हावर्डको चौतारीमा अमेरिकाले तेश्रो मुलुक प्रति गर्ने व्यबहारको यथार्थता छ ।
पन्घ्र सर्गमा विस्तारित श्वेतपत्र महाकाव्य पूरै अनुष्टुप् छन्दमा रचना गरिएको छ । नाटकीय शैलीमा हिमालपुत्रीहरु नेपाल,सिक्किम र भुटानलाई तीन दिदी बहिनीको रुपमा चित्रण गरी तीन मध्ये माइली सिक्किमलाई कसरी नव साम्राज्यवादीले हडप गर्यो । अरु बांकी दुर्इलाई कसरी अस्तित्वहीन बनाउन प्रयत्न गरिदैछ भन्ने मार्मिक यथार्थताको एकपक्षबाट यस कृतिमा बर्णन गरिएको छ भने अर्को तरवबाट सशक्त रुपमा प्रतिकार गर्दै चेतावनी दिइएको छ ।
मशाल जब सल्कन्छ झण्डा बोकेर स्वत्वको
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको
जनता शक्ति हो मान प्रलय छालको सरि
जस्तै शक्तिहरु ढल्छन् वशमा त्यसको परी ।।
पृष्ठ ८
आफ्नो लेखनीलाई राष्टबादको ढलानमा ढालेर कुदेको श्वेतपत्रमा कवि दाहाल प्रगाढ राष्ट्रवादको पृष्ठ पोषण गर्दै राष्ट्र रक्षाका लागि सबैलाई एक हुनु पर्छ भन्ने सन्देश सम्प्रेषण गर्न किञ्चित पछि पर्दैनन् र आफ्नु स्वाधिनता बाँधिएको नेललाई खोल्न सडघर्ष गर्न आग्रह गर्दै भन्छन्
नखाऔं अब भिक्षाका द्रब्य अन्नहरु पनि
नलाऔं दानका वस्त्र जस्तै नांगै भए पनि
भोकभोकै बरु बाँच गरी संघर्ष स्वत्वको
फुकाल नेल यो मेरो अर्काका परतन्त्रको ।।
पृष्ठ १००
भुटानमा विभिन्न समयमा उठेका प्रजातान्त्रिक आन्दोलनहरुका वारेमा व्यापक चर्चा गरिएको श्वेतपत्र महाकाव्यमा महाकवि आफू नै संलग्न भएको आभाष हुने गरी सत्य तथ्य घटनाका स-साना बिवरणलाई पस्कन सफल छन् । महासुर क्षेत्रीलाई काँचो छालाकोधोक्रामा बाँधेर सुनकोश नदीमा फालेको जघन्य अपराधको घटनालाई यसरी गरेको वर्णनले कसको हृदय पग्लन्न ।
काढेर वृषको चर्म जननायकले भरी
सियोले चर्म धोक्राको मुख सिएर बेस्सरी
सुनकोश नदीभित्र डुबाएको कुकृत्यता
सम्झँदा अहिलेसम्म ज्वाला बल्छ कता कता पृष्ठ १३४
भुटानी राजतन्त्रले गरेको कठोर दमन ,जनतालाई मातृभूमि छाड्न पारिएको बिवशता माथि प्रहार गर्दै कवि नेपाल र विश्वका कुना कुना सम्म पुर्याइएका शरणार्थीलाई आफ्नो अधिकार शान्ति अथवा क्रान्तिको जुन सुकै मार्गबाट भए पनि पुन प्राप्त गरी निर्वाध रुपले स्वदेश प्रवेशका लागी भुटान आमाबाट गरिएको आहृवानलाई यसरी व्यक्त गछन् ।
कदा नबिर्स हे मेरा कर्णधार तिमीहरु
भत्केका घर तिम्रा र निमुखा स्वजनैहरु
हेर्दै छन् पथ तिम्रै त्यो फर्कनेछौ भनीकन
क्रान्तिको पुञ्ज बोकेर आउँदै छौ भनीकन ।।
पृष्ठ १६७
आज दक्षिण एशियाका साना राष्ट्रका निम्ति भारतको भूमिका सन्तोष जनक नरहेको कुरा जग जाहेर छ ।पाकिस्तान विभाजन देखि लिएर श्रीलंका को गृहयुद्ध होस् अथवा भुटानमा जातीय सफाया अभियान ,नेपाल का आन्तरीक मामलामा अनावश्यक हस्तक्षेप ,सिक्किमको अन्याय पूर्ण विलय सबैमा भारतको तानाशाही प्रवृत्तिको नांगो नाचप्रति लक्षित गर्दै कवि लेख्छन्
लियो दक्षिणले आमा नीति दुष्ट प्रवृत्तिको
बाली छिमेकमा आगो ताप्छ ज्वाला अशान्तिको
तर्सथ कहिल्यै आमा शान्ति छैन छिमेकमा
बड्गलादेश,बर्मा र पाकिस्तान सिलोनमा ।।
पृष्ठ १४१
सिक्किमलाई भारतमा गाभिएको कुरालाई कतिपय भारतीय विव्दानहरुलेनै निन्दनीय कर्म भनेका छन् । सुनन्दादत्त रायले स्म्यास् एण्ड ग्रैव जस्तो कृति जसमा सिक्किमकेा भारतमा विलयनको वस्तुनिष्ठ तथा सन्तुलित अन्तरकथा लेखेर विश्व समक्ष राखी सकेका छन् भने श्वेतपत्र महाकाव्य मार्फत कवि खेमनाथ दाहाल गाभ्न के देश अर्काको सक्छ अर्कै विदेशले ,विधेयकहरु ल्याई गाभ्न मिल्छ विधानले,त्यसै हो, हुन्छ यो मान्य भने के अन्य देशले, गाभ्यौ भारत भन्दैमा मान्छ भारतवर्षे भन्दै विश्व सामु यस्तो यक्ष प्रश्न राख्दछन् ।त्यतिमात्र होइन सिक्किम आमाका सन्ततिलाई आफ्नो गुमेको अस्मिता फर्काउन उठ जाग भन्दै भन्दछन् ।
झुप्पा सुनाखरीका र हिमाली टाकुराहरु
भगवान् बुद्धका आँखा घण्ट मन्दिरकाहरु
तिमीलाई सधै भन्छन् जाग रे अब सिक्किमे
नहोऊ अब मुर्दाझैँ आफ्नो अस्तित्व बिर्सने ।।
पृष्ठ १०४
सुगौली सन्धि वास्तबमा बलका भरमा लादिएको सन्धि हो । यसको नेपालको तर्फबाट अनुमोदन भएकै छैन भन्दै कवि दाहालले यस असमान सन्धिलाई चाडो भन्दा चाडो खारेज गर्नु पर्ने कुरामा जोड दिदै सन्धिको दुर्गन्ध नामक शीर्षकमा यावत् वृत्तान्तको अति मार्मिक तरवबाट उत्खनन गरेका छन् । साथै नेपाली मूल भूमिबाट छुट्याइएका भू भाग र सन्ततिलाई नेपाल आमा र उनका सन्ततिले कदापि भुल्न,त्याग्न सक्तैनन् भन्ने कुरालाई यसरी नेपाल आमाको कथनबाट प्रष्ट पारेकाछन् ।
सिरमौर म सम्झन्छु गोर्खाल्याण्ड झनै अझ
मबाट दूर पार्नाले टुहुराझैँ भए सब
हरिव्दार र अल्मोडा,कुमाउ,देहरादुन
गड्गा र जमुना सम्झी काट्तै छु तड्पँदै दिन ।।
पृष्ट १११
राष्ट्रिय स्वाभिमानको कुरा,राष्ट्रको अखण्डता ,देशप्रेम तथा राष्ट्रवादकै सेरोफेरोबाट ओतप्रोत भई लेखिएका यस कृतिका हरेक श्लोकहरु आफैमा ओजपूर्ण र उपमेय छन्,। सायद यिनै कुरालाई दृष्टिगत गरी श्वेतपत्रको भूमिकामा प्रा. गोपिकृष्ण शर्मा लेख्नुहुन्छ समाजबाट बिषय लिएर कलात्मक ढंगले काव्यिक रुप दिइएको श्वेतपत्र महाकाव्यमा युगबोधका साथै प्रगति र रुपान्तरणका सन्देशहरु पाइन्छन् ।श्वेतपत्रको घोषणाले अब हिँड्ने यात्रा पथको निर्देश गरेको छ । इतिहास र वर्तमानमा वर्णनप्रधान विषय यहाँ आएर काव्यिक बनेका छन् र साहित्यिक मूल्यवत्ता कायम गरेका छन् । र्इर्ष्यालाग्दो कृति श्वेतपत्र भन्दै भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल यस कृतिको भूमिकामा लेख्नुहुन्छ नेपाली मूलको भएर हामीले संसारका जुनसुकै कुनामा रहे पनि आफ्नो जात,धर्म र संस्कृतिको बचावटका लागि गरेका संघर्षको कथा हो यो महाकाव्य । कवि दाहालबाट अझ महत्वपूर्ण कृतिहरुको अपेक्षा गर्दै शुभकामना
अन्त्यमा
नेपालको सबै भुमि सुगौली सन्धि पूर्वको
भुटानको सबै भाग कुचविहारसम्मको
मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमे प्रति
बनौं उत्तरदायी र लियौं यौटा नयाँ गति ।।
पृष्ट २३०

Dec 10, 2010

मोडल तथा गीतकार गीता पालुङवाको हाङनेर्इल्ले

दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"
हङकङमा गीता पालुङवा "ईक्शा"लाई परिचय गरार्इहाल्नुपर्ने आवश्यकता छैन । नेपाल लिम्वुवानमा पनि गीता पालुङवाको चर्चा उतिकैछ । यद्धपी गीताको छोटो परिचय प्रस्तुत गर्न चाहान्छु । ताप्लेजुङ वजारसंगै जोडिएको दोखु गाउकी गीता प्राविको शिक्षक चर्चित स्व. तुलसी पालुङवाकि एक्ली छोरी हुन् । उनी पनि स्थानीय स्तरका कलाकार थिए । गीताको एकजना भाई छन् । गीता ताप्लेजुङ वजारको भानु स्कुलवाट एसएलसी दिएर १६ वर्षो कलिलै उमेरमा हङकङ प्रवेश गरेकि थिईन । उनलाई हङकङ आएतापनि यहाको आधुनिकताले छोएन । छोटो फ्रक तथा छोटो हापेनले लोभ्याएन । डिस्कोले मन तानेन । वरु आफ्नै जातिय भाषा, पहिरन प्यारो लाग्यो । संस्कार संस्कृतिको मोह रहयो । त्यसैले उनले गुन्यू चोली सारी लगाईन । गहनामा सिरवन्दी, कण्ठ, सुनको फूल लगाईन । उनले गीत कवितावाट जनजातिय आवाजहरु उठार्इन । उनी जनजातिय संगठनहरुमा रहेर जानजातिय कुराहरुलाई उजागर गर्ने व्यक्तित्व पनि हुन् । उनी सम्पादक तथा पत्रकार पनि हुन् । गीता पहिले कवयत्रि हुन । त्यसपछि गीतकार । उनी उद्घोषिका पनि हुन् । उनले अन्य २ वटा नेपाली गीती भिसिडिहरु पनि यस अगाडिनै निकालीसकेकी थिईन् । हङकङमा यीनै विषयहरुमा स्थापित गीता अहिले आएर मोडल पनि भएकि छिन् । उनी राम्रो डान्सर पनि हुन् । त्यस्तै गीत प्रस्तुत कर्ता भएकिछिन् । यसरी गीत संगीतमा रमाउने गीता पालुङवाले भर्खरै लिम्वु भिसिडी तथा त्यसको म्यूजिक भिडियो "हाङनेर्इल्ले" वजारमा ल्यएकी छिन् । जुन हेरेर लिम्वु म्यूजिक भिडियो, कलाकारहरुको स्तर पनि गहकिलो भएको महसुस भएको छ । कलाकारहरुको अभिनय खारिएको छ । विशेष गरेर गीता पालुङवा मोडल र हेमराज अङछङवो मोडल को भूमिका प्रसंसनीय छ । हङकङका याक्थुङ सामाजिक कार्यकर्ताहरु यी दुवैले लिम्वुहरुको वारेमा गरेको कार्य सह्रानीय मान्नुपर्दछ । यसमा अभिनित अन्य कलाकारहरुको अभिनयमा पनि शंका गर्ने ठाउ छैन । लिम्वुवानको पवित्र तथा रमणीयस्थल मेन्छ्यायेम गुफा पोखरी क्षेत्र -तेरथुम संखुवासभा), ताप्लेजुङ चांगेको गोर्जा तथा चागे गाउ तथा फक्ताङलुङ-कुम्भकर्ण) क्षेत्रको सम्पूर्ण दृश्यहरु समेटेर खिचिएको छ । ताप्लेजुङको रमणीय स्थल सुकेटार र त्यहांवाट समेटिएर खिचिएका पाथीभरा, फकताङलुङ तथा वरिपरिको हिमाली पहाडि दृश्ष्य लगायत ताप्लेजुङ वजार, भानु स्कूल, दोखु गाउ लगायत ताप्लेजुङको अन्य क्षेत्रहरु तमर र अन्य नदीहरुको कलकल वगाईहरु तथा पाचथर क्षेत्रका विविध स्थानहरु समेटिएको उक्त म्यूजिक भिडियोले लिम्वु र लिम्वुवानको सुवास भरमन्दुर वोकेको पाईन्छ । यी रमणीय दृश्यहरुको रसास्वादन गर्न पाउने जो कोही पनि मन्त्रमुग्ध नभईरहन सक्दैनन । फिल्मी निर्माण क्षेत्रमा लाग्नेहरुले अवश्य आगामी दिनहरुमा यी क्षेत्रहरुलाई समेट्ने देखिन्छ । यासेली योङयाङको हाक्पारे ख्याली तथा खारिएको अभिनय, हेमराज लिम्वु र सावित्रा र्इङनामको धान नचाईले साच्चै याक्थुङ समाजको जीवन्त अनुभूति गराउदछ । गीता पालुङवाको पढार्इ, शिक्षिका र स्वास्थ्य कर्मीले पेशागत कुराहरुलाई उजागर गरेको पाईन्छ । यसले लिम्वु सांगितिक विकासलाई आधुनिकतातिर मोडेको पाईन्छ । यो एल्वमको अभिनय हेरेर गीता पालुङवाको मोडलिङ क्षेत्र तथा अभिनय क्षमता स्थापित भएको छ । उनी लिम्वु भिडियो म्यूजिक क्षेत्रको अभिनय क्षेत्रकि चर्चित मोडल भएकी छिन । यसमा समेटिएका अन्य गीतहरुले पनि माया पिरती तथा रोमाञ्चकतालाई उजागर गरेको पाईन्छ । गीतकार, मोडल तथा एल्वम प्रस्तुतकर्ता गीता पालुङवाको आंटिलो प्रयासलाई प्रसंशा गर्नैपर्दछ । उनी लिम्वु महिलाहरुमा पहिलो भिडियो निर्माण गर्ने हुन । उनी जुझारु युवती हुन् । उनको यस्तै कार्यक्षमता देखेर पहिलेनै किरात याक्थङ चुम्लुङ हङकङले प्रसंशा पत्र प्रदान गरेको थियो । उनवाट लिम्वु समाजले धेरै आश गर्ने ठाउहरु छन् भने उनको कार्यहरुलाई पछ्याउनुपर्ने पनि हुन्छ । आगामी दिनहरुमा पनि उनवाट यस्तै अति राम्रा गीतहरु तथा भिडियो म्युजिकहरु आउन सकुन् । यस हाङनेर्इल्लेमा अभिनय गर्ने अन्य कलाकारहरुमा सिर्जना पन्धाक, उपासना नेम्वाङ, साहारा सेर्मा, अर्जुन मादेन, सविन तुम्वाहाम्फे, सुरेश नेयोङ छन् भने गायक गायिकामा मनु नेम्वाङ, विष्णु चेम्जोङ, सीता सिंगक, सरिता अङछङवो, दिपक लिम्वु, यासेली योङयाङ, सुसन साम्सोहाङ रहेका छने । निर्देशक रवि सेर्मा, सागर सुव्वा, छायाङकन वावु श्रेष्ठ, उत्पादक तथा वितरक र्इना क्यासेट सेन्टर रहेको यो सातवटा गीत समेटिएको भिडियो म्यूजिकको निर्मात्री आलमाया आङवुहाङ(पालुङवा)को रहेको छ । सेवारो ।

Oct 16, 2010

लिम्बुवान राज्यको सँक्षिप्त र्इतिहास र पुनः स्थापना पुस्तकभित्र

सुरेश सुव्वा
भनिन्छ फलाम तातिएको बेला त्यसलाई ठिक आकार दिन ठिक समयमा घन चलाउनु पर्दछ । हो त्यस्तै दिल बहादुर पालुङवा नेपाल कुश्शाद्धारा लिखित "लिम्बुवान राज्यको सँक्षिप्त इतिहास र पुनः स्थापना" पुस्तक सही समयमा लेखिएको एउटा दस्तावेज हो । लिम्बुवान पुनः स्थापनाका लागी भनौ वा लिम्बुवान राजनीतीमा होमीएका राजनितीकर्मी (राजनितीशास्त्रमा स्नातकोत्तर, अर्थशास्त्र र अंग्रेजी साहित्यमा स्नातक गरेका) साहित्यकार, इतिहासकार तथा लेखक दिल बहादुर पालुङवाले उपन्यासहरु त्यान्द्रो, छोटो पmक र किरात लाजे लिम्बुवान सामान्य ज्ञान लगायतका कृतिहरु प्रकाशीत गरी सक्नु भएको छ । ति अघिल्ला पुस्तकहरुमा भन्दा यसमा उहाले धेरै खोज सोध तथा अनुसन्धान र मेहेनत गर्नु भएको छ । यस पुस्तकलाई लेखकले तिन खण्डमा बिभाजन गर्नुभएको छ । खण्ड क मा- लिम्बुवानको इतिहास, सिमाक्षेत्र, लिम्बुवानका राजाहरु, व्यक्ती वयक्तीत्वहरु, र ऐतिहासीक स्थलहरु समाबेस गरीएको छ । खण्ड ख मा- लिम्बुवान राज्यको पुनः स्थापना सम्बन्धी आफ्नो अमुल्य बिचारहरु, लिम्बुवान स्वायत्त अधिकार पुनः स्थापित हुनु पर्छ भन्ने तर्कहरु र लिम्बुवानमा स्थापित गर्न सकिने पक्षहरु अघि सारिएको छ । त्यस्तै खण्ड ग मा- लिम्बु जातीहरुको आकृति, स्वभाव र बिशेषताहरु, भेषभुषाहरु, चार्डपर्वहरु र लालमोहरहरु लगायत बिभिन्न सामाग्रीहरु राखीएको छ । समग्रमा उहाँले छैटौ शताब्दी देखि एक्काईशौ शताब्दी सम्मको लिम्बुवानको अवस्थिती समेट्नु भएको छ । पुस्तकमा यिनै लिम्बुवानको ऐतिहासीक बिशेषताहरु, ऐतिहासीक स्थलहरु, धर्म सँस्कार र सँस्कृतीहरु, ऐतिहासीक अन्दोलन र घटनाहरु, लिम्बुवानको राजाहरु, योद्धाहरु सहिदहरु र बिर पूर्खाहरुलाई प्रमाणको रुपमा पेस गर्दै लिम्बुवानको औचित्य अनि महत्वमाथि प्रकाश पार्नुभएको छ । जसले लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाको कुरा उठाउदा लिम्बुवानमा लिम्बुजातीहरुको जनसँख्या खोज्नेहरुलाई जवाफ दिएको छ । जसले कथित नेपाल एकिकरणको समय देखि दशबर्षो जनआन्दोलन सम्म आईपुग्दा लिम्बुवानका लागी लिम्बुवानी जनताहरुले बिभिन्न समयहरुमा गरेको आन्दोलनहरु, सघर्षहरु, उनिहरुले निभाएका भुमिकाहरु र आवाजहरु नसुन्ने, नबुझ्ने वा सुनेर, बुझेर पनि बुझ पचाउनेहरुलाई जवाफ दिएको छ । अनि हाल लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाका लागी सघर्षरत सम्पुर्ण लिम्बुवानबादी नेता, कार्यकर्ता र लिम्बुवानबासी जनताहरुका लागी यो पुस्तक एउटा दरिलो प्रमाण बनेको छ । लिम्बु र लिम्बुवानको बारेमा पुस्तक भन्छ, लिम्बु पूर्खाहरुले प्राचीनकाल छैटौ शताब्दीदेखि र्इसापूर्व पाँचहजार बर्षम्म बिभिन्न काल खण्डमा किरात राज्यको रुपमा बिशाल क्षेत्रमा राज्य गरेका थिए । यहि जातीको एक शाखा कालान्तरमा लिम्बु भएर निस्कियो । उनिहरुले राज्य गरेको तथा बसोबास कायम गरेको भुःभाग लिम्बुवान भयो । त्यस्तै-छैटौ शताब्दीतीर लिम्बुवान क्षेत्रमा आठ राजाहरुले राज्य गर्दथे । तर उनिहरुले जनताहरुलाई बढी अन्याय गर्न थाले । जनताले अन्याय महसुस गरी क्रान्ती छेड्ने भए । धनुकाण द्धारा युद्धको आहृवान गरी आठ राजाहरु बिरुद्ध लड्दा लड्दै जनताको बिजय भयो । त्यसपछि उनिहरुको चुम्लुङ्ग बसी धनुकाणले जितेको त्यो भुमिलाई लिम्बुवान नामाकरण गरे । र धनुधारी उनिहरुलाई लिम्बु घोषित गरे । उनिहरुले जितेको भुःभागलाई दश थुम -संघ) मा बिभाजीत गरी सँघीय अवधारणामा राज्य सँचालन गरे । पछि सात उपथुमहरु छुट्याईयो भनि उल्लेख गरीएको छ । यसलाई लिम्बुवानमा हालसम्म जुनसुकै ठाँउहरुमा प्रयोग हुदै आएको सत्र थुम दश लिम्बुवान भन्ने वाक्याँसले समेत पुष्टी गर्दछ । यसैगरी गोर्खाका राजा पृथ्बी नारायण शाहाले लिम्बुवानसँगको लर्डाईमा सत्र पटक भन्दा बढी हारखानु परेपछि लिम्बुवानको केन्द्रिय राजधानी बिजयपुरमा १८३१ साउन २२ गते गरीएको द्धिपक्षीय सम्झौता पत्र -तसल्ली लालमोहर) लगायतका कागजी प्रमाणहरुले यस पुस्तकलाई अझ गहकिलो बनाएको छ । पुस्तकमा भनिएको छ । यसरी १८३१ भन्दा अघि स्वतन्त्र तथा १८३१ पछि स्वायत्त राज्यको रुपमा रहेको लिम्बुवान राज्यलाई केन्द्रीय सरकारले गिद्धे नजर लगाउन छाडेन । अनेकौँ बाहानामा एकपछि अर्को गर्दै लिम्बुवानको अधिकारहरु खोसिदै लगीयो । र्सबप्रथम त लिम्बुवानमा लिम्बुहरुलाई भुमीको अधिकारबाट अलग गराउन १९६३ तिर लिम्बुवानमा नापी गर्ने कार्य भयो । त्यस्तै लिम्बुवानलाई दबाउन लिम्बुवानको धनकुटा, र्इलाम, ताप्लेजुङ्ग, तेह्रथुम लगायतका ठाँउहरुमा केन्द्र सरकारले अड्डा अदालतहरु राख्न तयारी सुरु गर्यो । यसै शिलशिलामा १९५२ मा ताप्लेजुङ्गमा अमिनी अड्डा राख्ने सवालमा लिम्बुवानी जनताहरुबाट ब्यापक बिरोध गरीएको थियो । यही बिरोध कार्यमा सहभागी आठर्राई हाङ्गपाङ्गका लिम्बुवानबादी होनहार ब्याक्ती बाजहाङ्ग आङ्गबुहाङ्ग लिम्बुको हत्या गरीएको थियो । यसरी लिम्बुवानमा केन्द्रीय सरकारले हत्याहिँसा सँगसँगै आफ्नो र गैर लिम्बुहरुको बाक्लो उपस्थिती सहीत बस्ती बसाल्न थालियो । सरकारको यस्तो कार्यप्रति लिम्बुवानी जनताहरुले १८३१ को सम्झौता उलङ्गघन नगरीयोस भनी बिभिन्न समयहरुमा बिभिन्न खालको बिरोध पत्रहरु, मागपत्रहरु र आन्दोलनहरु गरीएको थियो । समयको गतीसगै केन्द्र सरकार र लिम्बुवान बिच यो क्रम जारी रहदा २००७ सालमा काङ्गग्रेसले राणा शासन बिरुद्ध शसत्र क्रान्ती सुरु गर्यो । सरकारसँग रुष्ट लिम्बुवानका लिम्बुहरुले तत्कालीन काङ्गग्रेस पार्टीमा आबद्ध भई क्रान्तीबाट नै १८३१ को सम्झौता अनुसार लिम्बुवान पुन स्थापना कठोर निर्णय गर्दै, जी बी याक्थुङ्गबा बी बी चेम्जोङ्ग लगायतको अगुवाईमा लिम्बुवान सशत्र आन्दोलनमा होमीयो फलस्वरुप क्रान्ती सफलताकै क्रममा लिम्बुवान क्षेत्रका जनमुक्ति सेनाका कमाण्डर जी बी याक्थुङ्गबाको नेत्तृत्वमा राणाहरुलाई खेदाई, धनकुटामा ललीत बाहादुर तुम्बाहाङ्गफे प्रमुख रहेको लिम्बुवान प्रान्तीय सरकार गठन गरीएको थियो । उक्त सरकारमा - प्रेम बाहादुर माबोहाङ्ग- गृहमन्त्री, कप्तान कमान सिँ लिम्बु- रक्षामन्त्री, चन्द्रमान कन्दङ्गवा- वन मन्त्री, सेर बाहादुर लिम्बु- स्थानीय बिकाश मन्त्री, स्व काजीमान कन्दङ्गवा- शिक्षा मन्त्री, र स्व गुञ्जमान आङ्गबुहाङ्ग- स्वास्थ्य मन्त्री रहेका थिए । तर क्रान्ती सफलता सँगै काङ्गग्रेसले उक्त प्रान्तीय सरकार बिगठन गरी लिम्बुवान र लिम्बुवानी जनताहरुलाई धोका दिएका थिए । लेखकले यसरी २००७ सालमा लिम्बुवान र लिम्बुहरुमाथी गरेको षडयन्त्र अर्थात आफ्नो स्वार्थको लागी लिम्बुहरुलाई प्रयोग गरेको कुराहरुलाई स्मरण गर्दै गराउर्दै, आज देश सँघिय लोकतान्त्रीक गणतन्त्रको सस्थागत बिकासका लागी अघि बढीसकेको अवस्थामा समेत सँघियतामा जादा देश टुक्रीन्छ भन्ने काङ्गग्रेस पार्टीको बिगत र वर्तमानको उसको राजनीतीक पृष्ठभुमीलाई केलाउदै काङ्गग्रेस लिम्बुवानका लागी मात्र नभई सम्पूर्ण सँघियबादी पार्टी र जनताहरुका लागी धोकेबाज भनिएको छ । त्यस्तै १० बर्ष लामो जनयुद्ध लडेको माओबादीले जनयुद्धको बेला सँघात्मक शासन ब्यावस्थाको वकालत गर्दै, आत्मानिर्णयको अधिकार सहीत जातीय राज्यहरु, क्षेत्रिय राज्यहरु, अनि जातीय मुक्तीका कुराहरु, लिङ्गीय मुक्तीका कुराहरु, बर्गीय मुक्तीका कुराहरु लगायत सबैखाले मुक्तीका कुराहरुलाई महत्वका साथ अघि सार्यो । त्यसर्थ सम्पूर्ण मुक्ती चाहाने नेपालीहरुले माओबादीलाई साथ दिएको जीउदो र्इतिहास छँदाछदै, आज ऐतिहासीक पृष्ठभुमीको आधारमा लिम्बुवान स्वायत्त राज्यको पुन स्थापना हुनुपर्छ भन्दा भन्दै लिम्बुवानी जनताको चाहाना बिपरीत झापा मोरङ्ग र सुनसरीलाई टुक्राएर कुनै र्इतिहासमा नभएको कोचिला राज्यको अवधारणा ल्याउनु र लिम्बुवानलाई ५ जील्लामा खुम्चाउनु खोज्नु लिम्बुवानी जनताका लागी अन्याय र सरासर गलत भएको कुरा यो पुस्तकमा स्पस्ट लेखिएको छ । पुस्तकमा धेरै ठाँउहरुमा सत्यको नजीक रहेर लिम्बुवानको सिमानाको कुरा उर्ठाईएको छ । जहाँ अलग अलग समयमा अलग अलग सिमाहरुको चर्चा गरीएपनि हालको सिमाना- पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/सँखुवा खोला, अरुण हुदै सप्तकोशी, उत्तरमा हिमालय तिब्बत चीन, दक्षिणमा भारत पर्दछ भनिएको छ । त्यस्तै जनसँख्याको सवालमा पनि बिभिन्न काल खण्डको इतिहासहरु, रितिथितिहरु, धर्म सँस्कार र सँस्कृतीहरु अनि बिभिन्न थरीका लिम्बुहरुको वँशावली लगायत धेरै धेरै प्रमाणहरु पेस गर्दै ऐतिहासीक पुष्ठभुमीको आधारमा लिम्बुवान राज्यको पुन स्थापना हुनु पर्छ भनिएको छ । यसैगरी चाहे त्यो उनिहरुको (लिम्बुहरुको) मुलुकमा एक जना मात्र लिम्बु हुन् या नहुन् इतिहास इतिहास हो यसलाई कसैले मोड्ने चेष्टा गर्नुहुदैन र मोडीदैन पनि । त्यसर्थ यही र्इतिहासको खुड्किलो टेक्दै ऐतिहासीक पृष्ठभुमीको आधारमा लिम्बुवान पुन स्थापना हुनुपर्छ भन्ने जस्ता तर्कसँगत बिचारहरु अघि सारीएको छ । अन्त्यमा, पुस्तक सानो भएपनि यसमा समेटीएका लिम्बुवान सम्बन्धी अनेकौ सामाग्रीहरुले यसलाई निकै महत्वपूर्ण बनाएको छ । पुस्तकले लिम्बुवान पुन स्थापनाको कुरा लिम्बुहरुमा अञ्जान जन्मिएको भावना या रहर होईन भनि प्रमाणीत गर्दछ । अनि लिम्बुवान स्वायत्त राज्य पुन स्थापनाका लागी सँघर्षरत लिम्बुवानबादी पार्टी र सँगठनहरुलाई महत्वपूर्ण सहयोग पुर्याउने कुरामा दुइमत छैन् ।