Apr 19, 2008

भयवाद र आदिवासी उपन्यास—एक समिक्षा

अशोक राई

भयवाद:
भय मानिसको जीवनमा सबैभन्दा ठूलो समस्या हो । हाम्रा सबै गतिविधिहरू भयबाट नै संचालित हुन्छन् । मानिस भय निरपेक्ष बाँच्न सक्दैन । आय आर्जन गर्नु, सन्तान उत्पादन गर्नु, प्रतिष्ठा जोड्नु, धार्मिक बन्नु, जातीयताको कुरा गर्नु, राजनैतिक अस्तित्वको कुरा गर्नु जस्ता सबै क्रियाकलापहरूको केन्द्र भय हो । भयवादको कुरा खासै जटिल छैन । मानिसका हरेक क्रियाकलापहरू एक प्रकारले भन्ने हो भने भयबाट नै संचालन भएको पाइन्छ । भोलिको दिनको असुरक्षाको भयबाट मानिस आय आर्जनमा प्रेरित हुन्छ, निसन्तान भइन्छकी भन्ने भयले या आफ्नो सन्तानको आवश्यकताले-भय)सन्तान उत्पादनमा प्रेरित हुन्छ, समाजमा उच्च स्थानका-भय) खातिर मानिस प्रतिष्ठाप्रति सजग रहन्छ, आफ्नो मृत्युपछि र्स्वर्गको -भय) लालसाले धार्मिक हुन्छ, आफ्नो जाति र समुदायको भलाइको -भय) खातिर नश्लीय कुरा गर्छ र राज्यमा आफ्नो समावेशीता र सम्मानजनक उपस्थितिका लागि-भय) राजनीति गर्छ । यसरी हाम्रा हरेक क्रियाकलापहरू भयबाट प्रेरित भएको हामी पाउँछौं । मानिस भय कै कारण सामाजिक भयो, भयकै कारण सभ्यतातिर लम्कियो र यो आजको दुनियाँ सम्म आइपुग्यो । भय नहुँदो हो त मानिस पंक्षी झैं आकासमा कावा मात्र खाइरहेको हुने थियो होला । यसरी मानिसको जीवनका हरेक क्रियकलापलाई कुनै न कुनै भयले प्रभाव पारिरहेको हुन्छ । भय एक प्रकारको चेतना हो जसको निर्देशनमा मानिस निर्देशित छ भन्ने दृष्टिकोण नै भयवाद हो भन्ने मैले बुझेको छु ।

उपन्यासको कथानक पक्षः
नायक निसाम् निकै जिज्ञासु, बौद्धिक र तीक्ष्ण बुद्धिको मानिस हुन्छ । हरेक विषयलाई गहन रूपमा बुझ्ने र केलाउने उसको बानी हुन्छ । आफ्नो बुबा लगायतका मानिसहरूले चलाएको जातीय आन्दोलनलाई हर्ने फरक दृष्टिकोणले गर्दा उसले हप्कि खानुपरेको छ । आदिवासी र जनजातिहरूको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास र पुरातात्विक महत्वलाई नबुझी राजनैतिक नारा लाउनुमात्र
आदिवासी उपन्यास र उपन्यासकार देश सुब्बा
बुद्धिमानी हैन भन्ने उसको तर्क छ । निसाम्लाई एकदिन अनौठो लक्षणसहितको बिराम शुरू हुन्छ जसले गर्दा रुने कराउने हुन्छ । उसले शरीरबाट एउटा अनौठो छायाँ निस्केर गएको देख्छ । त्यस पछि ऊ विक्षिप्त बन्दै जान्छ । यो अनौठो कुराले खैलाबैला मच्चाए पछि त्यसको निदान खोज्न र ऊभित्र उब्जिएको भय निवारण गर्न एक दिन सिर्द्धार्थ गौतम जस्तै घरबाट ऊ बाहिर निस्किन्छ । मनमा छायाँले पारेको गहिरो प्रभाव र भयको कारण ऊ भौतारिदै जाँदा यस्तो ठाउँमा पुग्छ जुन ठाउँ आदिवासी गाउँ हुन्छ । त्यहाँ आदिवासीहरूको आस्थाको केन्द्र आदिम रूख र सावाला खोला पनि फेला पर्छन् । त्यो ठाउँको नाम सुम्दो गाउँ हुन्छ जहाँ आदिवासीहरू वर्षोनी आदिम रूखको पूजा गर्छन र सावाला खोलामा नुहाइधुवाइ गर्ने गर्छन् । धेरै वर्षअघि त्यो आदिम रूख भएको स्थानमा आदिवासी दरबार थियो भन्ने विश्वास गरिन्छ । निसाम् ती आदिवासी समाजमा पुग्दा आफूलाई केही हल्का महसुस गर्छ । उसले त्यहाँ आदिवासी सम्बन्धी प्रशस्त प्राचीन सभ्यता र संस्कारहरू, पूजाआजा गर्ने तरिका र प्रकृतिका सम्बन्धमा धेरै कुराहरू जान्ने मौका पनि पाउँछ । आदिवासीहरूका तुत्तु र आदिवासी बालासित निकै कुरा बुझ्न पाउँछ र ऊ प्रकृतिप्रेमी बन्दै जान्छ । आदिवासीहरू सभ्य, शालीन र भद्र हुन्छन् । निसाम्ले छायाँको बारेमा जिज्ञासा राख्दा आदिवासी बालाले "आदिम रूखलाई हर्नु त्यसबाट तिम्रो जिज्ञासा पूरा हुन्छ" भनेकीले उसको मनोबल बढ्छ । एकदिन उसले त्यो ठाउँ छोड्छ । अघि बढ्दै जाँदा जङ्खलको बीचमा ऊँ उच्चारण गर्दै होम गरिरहेको मान्छेहरू भएको ठाउँमा पुग्छ । त्यहाँ उसले सिद्ध पुरूषहरूलाई भेट्छ र छायाँको बारेमा जिज्ञासा राख्छ । उनीहरूले "त्यो आध्यात्मिक आत्माको खेल हो" भन्छन् । त्यो जवाफले चित्त नबुझे पछि ऊ फेरि घुम्दैघुम्दै सुम्दो गाउँ नै आइपुग्छ । अनि ऊ त्यहीँ रमाउँछ । नयाँ वर्षो अघिल्लो दिन आदिवासीहरू त्यहाँ जाग्रम बस्छन् । नाच्ने नाच्छन्, कुरा गर्ने गर्छन्, सुत्ने सुत्छन् । निसाम् भने जुनेली रातमा आदिम रूखलाई हर्न थाल्छ । त्यहाँ उसले तिलस्मिक कुराहरू देख्न थाल्छ । आदिम रूखका पातहरू ठूला ठूला हुन थाल्छ । त्यहाँ "ङ" मन्त्र लेखिएको हुन्छ । चाख लिएर हेर्दै जाँदा त्यहाँ त उसले कला, दर्शन, साहित्य सबै देख्न थाल्छ । उसको छायाँको पनि विभिन्न रूप देख्न थाल्छ । विभिन्न दिशामा फर्केको रूखको हाँगाले पानीजस्तै, बादलजस्तै, मान्छेजस्तै, अर्ध दृश्य मान्छेजस्तै आकार बनाउँदैबिगार्दै गरेको देख्छ । र त्यो किरिङ्गमिरिङ्ग मान्छेले बोल्न थालेको भान हुन्छ । ऊ अचेत भएपनि त्यो किरिङ्गमिरिङ्ग मान्छेले बोलेको कुरा सुनिरहेको हुन्छ । त्यो भन्दै जान्छ "तिमीमा मात्र हैन हरेक मानिसमा भयको बास हुन्छ यो कताबाट आउँछ र कता जान्छ थाहा हुँदैन । जब यो सक्रिय हुन्छ चेतनशील मान्छेहरू डराउने र काम्ने गर्दछन् । तर यसबाट भागेर कहिले भाग्न सकिदैन । यसको रूप पनि छिनछिनमा बदलिरहन्छ । समस्या, चिन्ता, अहम्ताजस्ता कुराहरू मिलेर यो ठूलो हुन्छ । शरीर यसको अधिनमा हुन्छ र शरीर भएर यो ब्रम्हाण्डमा घुम्छ । चेतनाको आधारबाट जीवन चल्छ र जीवनको आधारबाट संसार । जीवन र जगत "प्रकट"को नटुङ्गिने श्रृंखला हो । यो अविरल हुन्छ । तिमीले देखिरहेको छायाँ छायाँमात्र नभएर भय संग्रहित एउटा ग्रह हो जंगलजंगल भौतारिएर यो सानो हुँदैन यसलाई सानो बनाउन यसको रूप चिन्नु पर्छ र नयाँ प्रकटमा लैजानु पर्छ । भयजति कम हुन्छ उति जीवन सहज हुन्छ ।" अर्ध बेहोसीमै पनि निसाम्ले उक्त अर्ध दृश्य मान्छेको कुराहरू सुन्छ । उसमा एक्कासी ताजगी देखा पर्छ र उ भित्रका सबै भ्रमहरू सकिन्छन् । यसरी उसले खोजी गरेको छायाँको रहस्य भय नै रहेछ भन्ने उसलाई चेतना-प्रकट) हुन्छ । त्यो ज्ञानको प्राप्ति पछि निसाम् घर फर्किन्छ ।
उपन्यासमा प्रयुक्त भाव:
उपन्यासकारले बडो कलात्मक तरिकाले उपन्यासको कथावस्तु तयार गरेका छन् । यसको प्रमुख उद्देश्य भन्नु भयवादकै व्याख्या हो तथापी उपन्यासको पृष्ठभूमिमा खासगरिकन लिम्बू किराँती आदिवासीहरूको ऐतिहासिक पक्ष, सभ्यता र विविध साँकृतिक पक्षहरू, भाषा, लिपि र धर्मप्रतिको महत्व दर्शिएकोछ । मलाई लाग्छ यो लेखकको विचार र आस्था दुवैको मेल हो र नस्लीय चेतनाबोध हो । उपन्यास भित्र किराँती आदिवासी सम्बन्धी धेरै पुराना सभ्यता, रीतिरिवाजहरू, प्रकृति र उनीहरूका रहनसहन बीचको वास्तविकताहरू उल्लेख गरिएका छन् । लेखकले सोझा आदिवासी जनजातिहरूको आदिम सभ्यतालाई इतिहासको कुनै काल खण्डमा हतियारधारी कुनै समूहले धोका दिएको कुरा उल्लेख गरेका छन् । यो धेरै हदसम्म सत्य हो । किराँती आदिवासीहरू प्रकृति पूजक हुन उनीहरू प्रकृतिसँगै रमाउँछन् । उनीहरू रूख, ढुंगा, माटो र हावापानीको पूजा गर्दछन् । आदिवासी भनेको रूख, बिरूवा, हिमाल, फूल, आकाश जस्तै धर्तीका सौर्न्दर्य हुन् । फूल नहुँदा धर्ती सुन्दर देखिदैन भन्ने सन्देश दिइएको छ । उपन्यासले एउटा महत्वपूर्ण कुरा जातीय मुद्दाहरूको कुरा गर्दा उक्त जातिका भाषा, लिपि, धर्म र संस्कृतिलाई कहिले बिर्सनु हुन्न भन्ने सन्देश दिएको छ भने आदिवासी जनजातिहरूले जाँड रक्सी जस्ता मादक चीजहरू त्याग गर्दै जानु पर्ने अर्को सन्देश पनि छ ।
आदिवासी शब्दावलीहरूः
आदिम रूख त उपन्यासमा एउटा केन्द्रीय पक्ष भएरै आएको छ । यसको खास ऐतिहासिक र प्राचीन महत्व पनि छ । नायकले भयत्व पनि यही आदिम रूखबाट पाएको छ । सावाला खोला, सुम्दो गाँउ, तुङ्वादेन गाउँहरूपनि आदिवासीहरूको आस्थाका स्थलहरू हुन् । तरूल, साप्सिङ्ख, चिराइतो, ओखर, कटुस, रूद्राक्ष, अदुवा, जाँडरक्सी, अछेता पाती, अम्लिसो, घुङ्गरिङ्ग, तीतेपाती, जडिबुटी, पत्थर, कालो ढुंगा, शिलालेख, किनिमा, सारग्याम्मा, याङ्खवेन, फादोको अचार, फिलिङ्खेको अचारजस्ता थुप्रै शब्दहरूले आदिवासी उपन्यासको शोभा बढाएको छ । जो आदिवासीहरूको दैनिक जीवनमा अभिन्न अंशहरू भएर रहेका छन् । त्यसै गरेर बनदेउता, जलदेउता, अग्निदेउता, रूखदेउता, बाँदरदेउता, र्सपदेउता र सिकारीदेउताहरूले उपन्यासलाई आदिवासीमय बनाएका छन् ।
छायाँ:
वास्तवमा उपन्यासकारले बुझाउन खोजेको मुख्य कुरा भयवाद हो । यो कुरालाई उपन्यासमा छायाँको माध्यमले बुझाउन खोजिएको छ । नायकलाई आफ्नो शरीरबाट निस्केर गएको जस्तो लाग्ने, दुःखपिडा दिने वस्तु अन्ततः छायाँरूपी भय नै रहेछ भन्ने चेतना भएको छ जसलाई उपन्यासकारले "प्रकट" भनेका छन् । यसरी उपन्यासमा छायाँ एउटा बिम्ब नै बनेर आएको छ । अथवा छायाँलाई दार्शनिक हिसाबले मानिसको जीवनमा व्याप्त भइरहने भयको प्रतिनिधि बनाइएको छ ।
देश सुब्बाले व्याख्या गरेको भयवादलाई मैले कति बुझेँ कसरी बुझेँ अनि अरूले कसरी बुझ्छन त्यो मलाई थाहा छैन । आखिर सिद्धान्त र विचार एउटा मानक पनि हो । मानिदिए मान्यता पाउँछ नमान्नेहरूले अर्को तर्क राखिदिन्छन् । भयवादलाई आत्मासात गर्ने हो भने यो ब्यवहारिक छ । साँच्चै नै मानिसहरू एउटा न एउटा डर र भयले प्रेरित भएकै छ । तर भय आफैमा एउटा नकारात्मक वस्तु भएकोले विचारको तर्कलाई यसले केही हानी पु-याउँदो रहेछ । जस्तो मानिसका सबै क्रियाकलापहरू भयले मात्र प्रेरित हुन्छ भन्नु नकारात्मक विचारको उपज हो भन्ने तर्क पनि आउन सक्छ । किनकी मानिसले हर्ष र खुशी अनि आनन्दका साथ पनि धेरै कामहरू गरिरहेका हुन्छन् । जीवनमा भयमात्र व्याप्त छ भन्नु सतप्रतिशत सही त नहोला । जे होस भयलाई अर्को शब्दमा मानिसलाई निर्देशित गर्ने एउटा अपरिहार्य चेतनाको रूपमा बुझ्ने हो भने राम्रै होला ।
मलाई लागेका अन्य केही कुराहरू पनि उल्लेख गर्नै पर्छ । "मान्छेका शरीरमा भएका लवणहरू, आवाजहरू उसको मृत्युपछि यसै पृथ्वीको वरिपरि छरिएर बसेको हुन्छ जो अन्य लवणहरूसित मिसिएर नयाँ वस्तुहरू बन्दछ । मान्छेको सोचाइहरू मान्छे मरेपछि कतै छरिएर बसेको हुन्छ ।"
"संसार युद्धमय छ ।"
"आत्मालाई शास्त्रीय भाषामा सत्य भन्छौं ।" जस्ता केही कुराहरू मेरा लागि केही अमुर्त लागे।
"ङ" मन्त्रको तथ्य सप्रमाण प्रष्ट भइदिएन ।
नायकलाई छायाँको पछि लगाइदिएर भयको अवधारणा प्रष्टयाउन खोजेको भान हुन्छ । भयवादले जीवनलाई हेर्ने खास दृष्टिकोण प्रष्ट भएन भयको पछि हिँडिरहनु मात्र मानिसको काम हो की जस्तो लाग्ने हुन्छ ।
उपन्यासको नाम "आदिवासी" राखिनुमा कति नस्लीय सौर्न्दर्यबोधमा आधारित छ भन्ने कुराले प्रेरित गरेको देखिन्छ ।
अन्तमा, उपन्यासको भाषाशैली खारिएको र मीठो छ । प्रशस्त आदिवासी किराँती मिथकहरू छन् । एक प्रकारले यो एउटा आदिवासी प्राचीनताको उत्खनन् पनि हो । जहाँ पुराना किवदन्तीहरू, संस्कारहरू अनि ऐतिहासिक पक्षहरूको ज्ञान पनि पाइन्छ । त्यसै गरेर पुस्तक आकर्ष छ । आवरणको तस्बीरले उपन्यासकै गरिमा बोकेकोछ । भूमिका नेपाली साहित्यका लोकप्रिय साहित्यकारहरूले लेखिदिएका छन् । कागजको स्तरियता राम्रो छ तैपनि मूल्य-हङ्खकङ्ख डलर तीस र ने.रू. एक सय पचास मात्र) सस्तो राखिएको छ । यति राम्रो कति प्रकाशन गर्ने सृजनशील साहित्य समाज धन्यवादको पात्र छ । लेखकको उचाइलाई "अपमान" उपन्यास पछि "आदिवासी" उपन्यासले अझ माथि लाने कुरामा कुनै शंकै छैन । मेरो उत्तोरोत्तर प्रगतिको कामना लेखकलाई ।

1 comment:

Unknown said...

The article on the novel deserves appreciation. I would like to say 'keep on writing, ashok g.'
Sudip samip