Jun 22, 2008

जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले पढेपछि

रामकृष्ण बान्तवा
यो समिक्षा होईन । म संग यो कविता कृतिको समिक्षा गर्ने बौद्धिक तागत पनि छैन, यौटा साधरण साहित्यकर्मि साहित्य र्सजक भएको नाताले कविताले भन्न खोजेको सम्म अडकल भने गर्नसक्छु । यसकै साधरण यो छोटो टिप्पणी लेख्न गईरहेको छु । मानिस सामाजिक प्राणी हुनाले आफ्नो पहिचान बोक्ने संस्कार र संस्कृतिहरुसंगै यस धरतीमा बाँचि रहेको हुन्छौँ । संस्कार रहे संस्कृति रहन्छ संस्कृति रहे जाति रहन्छ । प्रत्येक जातजातिको आ आफ्नै अस्तित्व हुन्छ । आफ्नो अस्तित्व गुमाएर बाँच्ने मानिस के मानिस - त्यसैले अवका आउने दिनहरुमा हामीले आफ्नो अस्तित्व खोजौँ , हामी तमाम आदिवासी जनजाति दलित ,महिला र मधिसेहरुलाई कस्ले र कसरी पछाडी पारे, जस्लाई बुझेर त्यसको निकास के हो वा के हुनसक्छ खोज्दै अगाडि बढौँ र आफैलाई पनि बुझ्न खोजौँ किनकी आज मुलुक २१ सौँ शताब्दिमा आईपुगेको छ । हामी आदिवासी जनजाति हिजो रक्सी पिएर मातेको थियौँ तर आज रक्सी नपिईपनि मातिरहेको छौँ , हामीले खोज्नुपर्ने र बुझ्नुपर्ने हाम्रो हक र अधिकार अनि हाम्रो पहिचान कस्ले र कसरी संकटमा पारेक छन ? जस्को खोजी गरौँ । यि र यस्तै कुराहरु कवि नरेश सुनुवारको संग्रहमा ,,जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले,, कविता संग्रहमा समेटिएका छन । अर्को कुरा वहाँको कविता संग्रहमा नयाँ प्रश्तुतिनै भनौँ चित्रात्मक कविता हुनत यस किसिमको केही आंशिक रुपका कविता आईसकेको छन ।
भयवाद प्रतिपादक तथा चर्चित जनजाति उपन्यासकार तथा देश सुब्बाज्युले यो भन्दा अगाडिनै यस किसिमको कविता लेखिसक्नु भएको छ । साँच्चिनै भन्ने हो भने हंगकंगमा साहित्य वौद्धिक र प्रयोगवादी कविताहरुको यसबेला ठुलो लहरनै चलेको छ । यसरी पारस्पारिक काब्य रचना प्रकृया भन्दा पृथक ढंगबाट आफ्नो रचना शिल्पलाई अगाडि बढाउँने श्रस्टाहरुमा चर्चित कवि हाङयुग अज्ञात कवि तथा चर्चित गीतकार टंक सम्वाहाम्फे, कवि तथा प्रदिप कन्दङवा, कवि प्रकास केशी, कवि भोगेन एक्ले, कवि लेखक भुपेन्द्र चेम्जोङ, लेखक मोति चाम्लिङ, फोटो पत्रकार अधिराज र्राई , कवि कमल पौड्याल, कवि तथा गजलकार अशोक र्राई कवि खेरेस देवेन्द्र आदि छन ।
म हंगकंगको लागि दाजु र्राई चन्द्र दुमीलाई बरिष्ट पत्रकार भनेर सम्वोधन गर्छु अहिलेत गीतकारपनि भईसक्नु भएको छ । पत्रकारिताको साथै उहाँ हंगकंगको एकमात्र ब्यंगकार पनि हुनुहुन्छ, यतिसम्मकी अशल कम्सल जे जस्तो होस सवै बिधा लेख्नुहुन्छ भन्दा फरक पर्दैन । उहाँको २ गीतमा चर्चित गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठले संगीत दिनु भएको छ । मैले यो प्रसंग किन उठाएको हो भने दाजु र्राई चन्द्र दुमी र नेपालको चर्चित गीतकार सुभ मुकारुङ हंगकंग आउनु भएकोवेला वहाँहरुले भन्नुभएको थियो ,,हैन बान्तवाले पनि अवत चित्रात्मक गीत लेख्नु पर्यो त्यसपछि दिनेस सुब्बा र नागेन्द्र श्रेष्ठले संगीत गर्नु पर्यो, याहा सवैले यसै गर्दारहेछन,, ।
यो कुरा खास जव नेपालबाट हाम्रो कविताको राजा उहि सृजनशील अराजक कवि हायुग अज्ञात आउनुभयो तव यस प्रकारका कविता लेख्ने हंगकंगमा होडै चल्यो । वहाँहरुले यसैगरी भन्नुभएको थियो । यसो सम्झन्छु दाजु र्राई चन्द्र दुमी र शुभ मुकारुङको कुरा सत्यपनि हो, अझ मन खोलेरै भन्ने हो भने कवि हाङयुग अज्ञात ज्युले हंगकंगमा आउँनुभएपछि धेरैनै हंगकंगगेली नेपाली समाजलाई योगदान दिईसक्नु भएको छ साहित्य क्षेत्रमा ।
सृजनशील साहित्य समाज हंगकंगका अध्यक्ष कवि हाङयुग अज्ञात ज्यु आईकन यस समाजबाट थुप्रै साहित्यिक कृतिहरु प्रकासन भईरहेको छन । म भन्छु मानिसको जीवनमा गरिएको सम्पुर्ण योगदानहरुलाई स्वयंको मृत्युपछि मात्र मुल्यांकन गरेर भाव विभोर हुने चलन राम्रो होईन । यसो गर्न भन्दा स्वयं ब्यक्तित्व जिवित भएकै बखत योगदानलाई मुल्यांकन गरेर जसदिनु तथा उनिहरुको अनुभव र अनुभूतिहरु लिईराख्नु उत्तम हुन्छ, यो दायरामा कवि हायुग अज्ञात संगै अरु थुप्रै ब्यक्तित्वहरु मैले देखिरहेको छु जस्तै र्राई चन्द्र दुमी, किन्दर र्राई भुपेन्द्र चेम्जोङ, आदि छन ।
फेरी कवि नरेश सुनुवारकै कृतिको कुरा गर्छु म, मैले भन्नुपर्दा यस कृतिले कविता लेखनलाई एउटा नयाँ दिशा दिएको छ , यस अर्थमा नेपाली समाजमा काब्य जगतको विर्सनै नसकिने श्रष्टाको रुपमा जन्मिसकेको छन नरेश सुनुवार । यस कृतिले नेपालको बरिष्ट तथा स्थापित मैं हुँ भन्ने समालोचक र अध्येताहरुलाई घाँटीमा पासो लागेभन्दा कम अवश्य नहोला ।
यो कृतिमा चित्रात्मक संयोजन मात्र नभएर आदिवासी मिथक, बिम्वहरुलाई साह्रै राम्रो खेलाईएका छन । काब्यमा मानिसको जीवन दर्शन र सौर्न्दर्यको कलामात्र झल्काईएको छैनन, कतै हृदयको सुक्ष्म र
कोमल भावको मुर्तरुप छ भने कतै क्रान्तिकारी प्रत्युत्पादक शक्ति, कतै फेरी सौन्दर्य, आनन्दात्मक गुणको समष्टी, कतै प्राकृतिक रमणीय तथा मनोरञ्जनात्मक कुराहरु समेटिएका छन, यस्को अर्थ मैले भन्नुपर्दा सौन्दर्यसंगै चमत्कार भन्छु म ।
मुख्य कुरा भावना अनुरुप गुण नभएमा काब्य वा कुनैपनि सिर्जना सुन्दर हुन सक्दैन । अर्को कुरा कविता गीत सिकिनुभन्दापनि भावनात्मक कुरा हो । र यो थोरै गड गिफ्टपनि हो, यो प्राकृतिक पाउन्दारलाई सर्जकहरुले साधना गरेर तिखार्नुपर्छ चाहे त्यो गीत संगीत होस चाहे लेखन क्षेत्रका सवै किसिमको बिद्याहरु । कविता, जहाँ सुत्रको कुरा आउँछ, जस्तै बिना भावनाका संगीत के को संगीत - म भन्छु बिना भावना संगीत बन्नै सक्दैन । जस्मा अलंकार , गुण, जीवन र जगतनै सम्पुर्ण कलाकारिताको मनोरम इन्द्रेणी हो । यी सम्पुर्ण कुराहरु कवि नरेश ज्युको काब्यले आदिवासी जनजातिका गहन भाव तथा सम्पन्न बिचारको कलात्मक प्रश्तुति आफ्नो कृतिमा समेटेका छन ।
प्रत्येक ब्यक्तिले आफ्नो हक र अधिकार आफैले खोज्नुपर्छ, आफ्नो हक र अधिकार अरु कसैले खोजि दिदैन । आफ्नो अस्तित्वको र देशको बारेमा सोच्नुपर्छ र ति कुराहरुको निम्ती सकृय हुनुपर्छ भन्ने सन्देश यस कृतिले दिएको छ । तथापि आदीबासी जनजातिको हक र अधिकार संस्कार, संस्कृतिका प्रमुख रुप देखिएपनि यस्को भित्री भाव भने देश भक्तिनै रहेको छ । अर्कोतिर प्रकृतिका बिम्व र प्रतिकहरुको यति सुन्दर समायोजन , सुमधुर लयात्मक कमै कविताहरुमा पाईन्छन । मैले भन्नुपर्दा यो काब्य साँच्चिनै सुन्दर मात्र नभएर प्रभावकारीपनि त्यतिनै छ ।
जहाँ प्रकृति सुन्दर हुन्छ त्यहि जीवपनपनि सुन्दर हुन्छ त्यसैलेपनि नरेश सुनुवार ज्युको काब्य प्रगतीवादी विचारले यो कृति साँच्चिनै जीवन्त बनेको छ । आदिवासी जनजाति भाषा शैलीमा यो कृति यति सुन्दर लाग्छ कि जहाँ कोमल लालित्य, सरल, सरस र आलंकारिक मनोरम मनमोहक यस कृतिमा नेपाली माटो, नेपाली मन चसक्क हृदयमानै छोईदिन्छ । अन्त्यमा मैले भन्नुपर्दा कवि नरेश सुनुवारको कृति जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले राष्ट्रियता, प्रकृतिप्रेम, आफ्नोपन र कला सौर्न्दर्यले ओतप्रोत उत्कृष्ट कृति हो ।
तथापि झट्ट हेर्दा कृतिको शिर्षक भने लामो र भद्दा झर्को लाग्ने झैं लाग्छ तरैपनि कृतिले आदिवासी जनजातिले बोल्ने भाषा बोलेको हुनाले यस कृतिको शिर्षक जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक सेलेले राख्नु उचित लाग्छ । समग्रमा भन्नुपर्दा झट्ट सुन्न हेर्न पढनलाई जे जस्तो अनुभुत भएपनि भित्री गुदीहरु रस्वास्वादन गरिसकेपछिमात्र कृतिको नाम सार्थक लाग्छन । भने शिर्षकमात्र हेरेर नयाँ पाठकहरुलाई कूतुहलता जाग्छ त्यहि सेकसेलेलेको बारेमा हो नाम उचित छ पढिसकेपछि ।

No comments: